विकासन्युज

पहिराले गल्छी–देवीघाट सडकखण्ड अवरुद्ध, टोखा छहरेको सडक प्रयोग गर्न आग्रह

त्रिशूली । ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ । नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए । चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडाैं पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे । ‘गल्छी–देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो । उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूर्णरूपमा अवरुद्ध बनाएको छ । सडक खुलाउन ‘गल्छी–रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् । ठूलो भिरमा माथिबाट थप ढुङ्गासहितको माटो खसिरहेकाले सडक खुलाउन चुनौतीपूर्ण बनेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी योजना’ कार्यालयका सूचना अधिकारी सन्तराम पाण्डेले जानकारी दिनुभयो । पहिरो गएको स्थानमा नुवाकोबाट धादिङ लगिएको विद्युतीय प्रसारण लाइन र केही खम्बामा समेत क्षति पुगेको छ । रासस

एनसेलको ६० जीबी डेटा मात्रै ५९९ रुपैयाँमा

काठमाडौं । चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि डेटा सेवा लिन सक्ने गरी एनसेल आजियाटाले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ । एनसेलका ग्राहकले चाडपर्वको अवसरमा अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरि ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमंग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने बताइएको छ । एनसेलका ग्राहकहरुले यो प्याक करसहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउने कम्पनीले जनाएको छ। डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा बसेर यो प्याक सुचारु हुन्छ त्यही स्थानलाई होम लोकेसन मानिने र अन्य स्थानलाई अवे लोकेसन मानिने एनसेलले स्पष्ट पारेको छ । यो प्याक एनसेलले बिहीबारबाट सञ्चालनमा ल्याइसकेको छ । एनसेलका ग्राहकले *१७१२३*३०# डायल गरेर यो प्याक सजिलै किन्न सक्ने बताइएको छ । यसैगरि एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक किन्न सकिने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्ने सुविधा एनसेलले दिएको छ। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहने छ । यो डेटा प्याकको विशेषता प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु नहुने एनसेलले जनाएको छ। होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरि डेटा चलाउन सक्छन् । डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएकोमा हर्षित भएको एनसेलले जनाएको छ ।

समस्याग्रस्त सहकारीमा बचत गर्नेको पैसा धमाधम फिर्ता हुँदै, कतिले पाए ?

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले माग दावी गर्ने बचतकर्तालाई धमाधम पैसा फिर्ता गर्न थालेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी सहकारी ऐनअनुसार ती सहकारीको व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सरकारले घोषणा गरेका १२ समस्याग्रस्त सहकारीमध्ये एउटाको सबै बचतकर्ताको पैसा फिर्ता गर्ने गरी काम भइरहेको समितिका अध्यक्ष काशीराज दाहालले जानकारी दिए । समस्याग्रस्त लुःनिभा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थासँग दुई सय १४ जना बचतकर्ताले माग दावी गरेका छन् । तीमध्ये ७६ जनाको पैसा फिर्ता दिएको उनले सुनाए । बाँकी एक सय ३८ जनाको पैसा पनि फिर्ताको क्रममा रहेको छ । लुःनिभाका तत्कालीन सञ्चालक र ऋणीको जग्गा रोक्का राखिएको छ । त्यही जग्गा लिलामी गरेर बाँकी बचतकर्ताको पनि पैसा फिर्ता गर्न लागिएको हो । सोसाइटल बचत तथा ऋण सहकारी संस्थासँग दुई सय ४० जना बचतकर्ताले पैसा माग गरेका थिए । तीमध्ये एक सय ३३ बचतकर्तालाई बचत फिर्ता गरिएको छ । बाँकी एक सय सात जनालाई पनि पैसा दिने गरी तयारी भइरहेको छ । संस्थाका सञ्चालक र ऋणीका नाममा चितवन र भक्तपुरमा रहेको जग्गा लिलामीको प्रक्रियामा रहेको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले बताए । स्टाण्डर्ड मल्टिपर्पोज कोअपरेटिभ लिमिटेडसँग १६ जनाले बचत माग गरेका थिए । तीमध्ये १४ जनाको बचत फिर्ता भएको छ । बाँकीको बचत कात्तिक मसान्तसम्म फिर्ता गरिसक्ने पनि उनले जानकारी दिए । यो सहकारीको फर्छ्यौट चालु आर्थिक वर्षको पहिलो चौमासिकमै गर्ने गरी सबै काम भइरहेको समितिले जनाएको छ । कुबेर वचत तथा ऋण सहकारी संस्थासँग १० जनाले बचत फिर्ता गरिपाऊँ भनी निवेदन दिएका छन् । तीमध्ये दुई जनाको पैसा समितिले फिर्ता गरिदिएको छ । आठ जनाको पैसा सञ्चालक र ऋणीको जग्गा लिलामी गरी दिइने भएको छ । त्यसका लागि समितिले कानूनी प्रक्रिया अघि बढाएको छ । प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट कोअपरेटिभ लिमिटेडसँग तीन सय ५२ जना बचतकर्ताले माग दावी गरेका छन् । एक सय ४१ जना बचतकर्ताको ३६ करोड रुपैयाँ समितिले मिलान गरिसकेको छ । दुई सय ११ जनाको बाँकी बचत पनि फिर्ता गर्ने क्रममा रहेको जनाइएको छ । प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग १३८ जना बचतकर्ताले माग दावी गरेका छन् । यो सहकारीका सञ्चालक र ऋणीको जग्गा रोक्का गरी लिलामीको प्रक्रियाबाट बचतकर्ताको पैसा फिर्ता दिन लागिएको छ । कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभसँग ५१ जनाले बचत गरेको भन्दै पैसा फिर्ता पाउन निवेदन दर्ता गराएका छन् । यस विषयमा अध्ययन भइरहेको समितिले जनाएको छ । कञ्जुमर बचत तथा ऋण सहकारी संस्थासँग ५६ जनाले बचत गरेको भन्दै माग दावी पेश गरेका छन् । यसको छानबिनमा समितिले काम गरिहेको छ । स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट कोअपरेटिभसँग एक सय ७५ जनाले बचत गरेको भन्दै माग दावी पेश गरेका छन् । यसका सञ्चालक र ऋणीको जग्गा खोजी रोक्का गर्ने क्रममा समिति लागेको कार्यालय प्रमुख पौडेलले बताए । ओरेण्टल कोअपरेटिभलाई दोस्रोपटक समस्याग्रस्त घोषणा ओरेण्टल कोअपरेटिभ लिमिटेडलाई सरकारले दोस्रोपटक समस्याग्रस्त सहकारी घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले असोज ७ गते शुक्रबार मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरे । यसअघि २०७४ कात्तिक २० गते सरकारले ओरेण्टललाई पहिलोपटक समस्याग्रस्त घोषणा गरेको थियो । घोषणाका विरुद्ध सर्वोच्च अदालतमा ओरेण्टल मुद्दा लिएर गएको थियो । मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७६ फागुन ११ गते सहकारी पूर्ववत् सञ्चालन गर्न र समस्याग्रस्त सहकारी समितिले नहेर्ने भनी फैसला गरेको थियो । सर्वोच्चको आदेशबमोजिम सहकारी पूर्ववत् सञ्चालन नभएको, साधारणसभा नराखेको, लेखापरीक्षण नगराएको, बचतकर्ताको पैसा फिर्ता नगराएको, सरकारलाई प्रतिवेदन पेश नगरेको भनी सहकारी विभागले पटकपटक जवाफ माग गरेको थियो । विभागलाई समेत अटेर गरेपछि मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई दोस्रोपटक समस्याग्रस्त घोषणा गरिएको हो । ओरेण्टलका तत्कालीन अध्यक्ष सुधीर बस्नेतले घरमा पुजारी राखेकाको समेत १८ लाख रुपैयाँ बचत लिएर भागेको उजुरी समितिमा परेको छ । ओरेण्टलसँग सात हजार छ सय ४६ जनाले बचत फिर्ता माग गरी पाऊँ भनी समितिमा निवेदन दर्ता गराएका छन् । सरकारले समस्याग्रस्त भनी घोषणा गरेका १२ सहकारीमध्ये अन्य तीन सहकारी पनि ओरेण्टलसँग जोडिएको छानबिनका क्रममा भेटिएको कार्यालय प्रमुख पौडेलले बताए । कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओरेण्टलकै छाताबाट सञ्चालनमा रहेको छानबिनका क्रममा पुष्टि भएको हो । रासस

प्रभु क्यापिटलले क्वेस्ट कलेजका विद्यार्थीलाई विशेष छुटसहित सेयर तालिम दिने

काठमाडौं । प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बीबीए डाईरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका हुन् । दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्ने गरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो । सो सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बीबीए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्न सेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने छ । साथै, कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने लगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने सम्झौता भएको छ ।

नर्भिकमा ‘एनएबिएल आइएसओ सर्टिफाइड’ ल्याब, सर्वसाधारणको आकर्षण बढ्दो

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अस्पतालस्तरमा देशकै पहिलो र एकमात्र नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबिएल) आइएसओ सर्टिफाइड ल्याब्रोटरी सञ्चालन गरिरहेको छ । अस्पताल स्तरको पहिलो र एकमात्र एनएबिएल आइएसओ सर्टिफाइड प्रयोगशाला भएका कारण समेत यसको गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्न थालेको छ । प्रयोगशाला प्रमुख डा. सुशीलराम श्रेष्ठकाअनुसार एनएबिएलले तोकिदिएको मापदण्डअनुसारको गुणस्तरीयता कायम गरेका कारण पनि नर्भिक ल्याब्रोटोरीले सर्वसाधारणहरुको मन जित्न सफल भएको हो । ‘नर्भिकको ल्याब त्यस्तो ल्याब हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन्, अरुमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ ।’ डा. श्रेष्ठले भने- ‘हामीसँग ५ जना त प्याथोलोजिष्ट मात्र हुनुहुन्छ, एकजना माइक्रोबायोलोजिष्टसहितको करिब ३५ जनाको टिमले नर्भिक ल्याब्रोटरीलाई ‘बी क्याटेगोरी’मा देशकै नमूना प्रयोगशाला बनाउने महत्वपूर्ण सफलता पाएको छ ।’ डा. श्रेष्ठकाअनुसार नर्भिकको प्रयोगशालाअन्तर्गत सञ्चालित विभिन्न विधाहरुमध्ये ५ वटा स्पेशल टेस्टले समेत आइएसओ सर्टिफिकेट पाएका छन् । ‘हेमाटोलोजी, बायोकेमेस्ट्री-हर्मोन, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हिस्थो प्याथोलोजी, साइको प्याथोलोजी जस्ता सेवामा हामी आइएसओ सर्टिफाईड हो ।’ डा. श्रेष्ठले भने- ‘धेरै सेक्टरमा आइएसओ सर्टिफाई प्राप्त गर्ने सम्भवतः नर्भिकको ल्याब पहिलो र एक हो ।’ उच्च गुणस्तर कायम गरेकै कारण नर्भिकको प्रयोगशालाबाट वार्षिक हजारौंले सेवा लिने गरेका उनले सुनाए । डा. श्रेष्ठले भने- ‘नर्भिकले आफ्नो ल्याब्रोटोरीको क्वालिटी कन्ट्रोलमा जति ठूलो लगानी गरेको छ, अरुले सायदै गरेका होलान् । यहीकारण पनि हामीले दिने रिपोर्ट सधैं अब्बल हुन्छ, सेवाग्राहीको फिडब्याक पनि राम्रो छ ।’ नियामकले तोकेका र एनएबिएलका मापदण्ड समेत पूरा गर्दै अगाडि बढी जनविश्वास कमाएकै कारण पछिल्लो समय गत असारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नर्भिकको ल्याब्रोटोरीलाई दिएको सञ्चालन अनुमति ५ वर्षका लागि पुनः नवीकरण गरिदिएको छ । ‘धेरै कम अस्पतालमध्ये नर्भिक पनि त्यस्तो अस्पतालमा पर्छ, जसले ल्याब सञ्चालनका लागि छुट्टै अनुमति लिने गरेको छ ।’ डा. श्रेष्ठले भने- ‘नभए त कतिपयले भर्याङमुनि ल्याबको नाममा नमूना कलेक्सन सेन्टर सञ्चालन गर्ने गरेका छन्, पर्याप्त र फराकिलो ठाउँ हुनुपर्ने, अनुकुल वातावरणमा मसिनहरु राख्नुपर्नेजस्ता सामान्य मापदण्ड पनि पूरा नगर्ने ठाउँमा ल्याब परीक्षण गर्न जाँदा सही रिपोर्ट नआउनसक्छ ।’ डा. श्रेष्ठकाअनुसार आइएसओले बनाएको मापदण्डअनुसार नर्भिक ल्याब्रोटोरीमा काम हुन्छ । ‘प्रत्येक दिन बिहान, दिउँसो र बेलुका क्वालिटी कन्ट्रोल र जाँचको काम हुन्छ, हाम्रा मसिनले निकालेको भ्यालू ठीक छ वा छैन भनेर प्रत्येक दिन ३ पटक हेर्छौ ।’ उनले भने- ‘यो क्रममा कुनै मसिनले ठीक भ्यालू निकालेको छैन भने पहिला नै थाहा हुन्छ, डेटामा पनि उत्तिकै काम हुन्छ ।’ उनकाअनुसार इन्टरनलसँगै एक्सटर्नल क्वालिटी कन्ट्रोलको काम पनि हुन्छ । त्यो चाहिँ प्रत्येक महिना हुन्छ । ‘एक्सटर्नल क्वालिटी कन्ट्रोल चाहिँ हामीसँग सम्बन्ध नभएको कुनै थर्ड पार्टीले गर्छ, उसले प्रत्येक महिना स्याम्पल पठाउँछ । त्यसलाई हामीले मसिनमा रन गर्छौं, डेटा अनलाइनबाट सबमिट गर्छौं, नेपालका धेरै ल्याबहरुबाट उत्पादन भएको डेटा समेत राखेर थर्ड पार्टीले मिन भ्यालू निकाल्छ, मेरो रिजल्ट अरुसँग कत्तिको फरक आयो भन्ने कुरा समेत हेरेर गुणस्तरीयता कायम गरिन्छ ।’ डा. श्रेष्ठले भने । एक्सटर्नल र इन्टरनल क्वालिटी कन्ट्रोलपछि मात्रै ल्याब रिपोर्ट बिरामीको हातमा पुग्ने गर्छ । कुनै रिपोर्टमा केही अस्वभाविक जस्तो देखियो भने त्यसको अलग्गै म्यानुअल जाँच हुने गरेको समेत उनले जानकारी दिए । ‘मसिनले दिएको भ्यालू हरदम चेक भइरहन्छ, यसकारण समेत हामीले लामो समयदेखि लगातार गुणस्तरीयता पूर्ण रुपमा कायम गराउने सफलता पाइरहेका छौं ।’  उनले भने । नर्भिकको ल्याबमा नमूना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरु एफडिए अप्रूभ र सिए सर्टिफाइड छन् । मसिन ल्याउनेबित्तिकै त्यसलाई चलाएर त्यहाँबाट आउने रिपोर्ट बिरामीलाई दिइन्न । ‘मसिनलाई समेत केही दिनसम्म ट्रायलमा राखेर हेरिन्छ, केही प्यारामिटर्सहरु पूरा गरिन्छ र हामी ढुक्क भएपछि मात्र त्यसलाई पूर्ण सञ्चालनमा ल्याई रिपोर्टहरु बनाउन थाल्छौं ।’ डा. श्रेष्ठले भने- ‘क्वालिटी कन्ट्रोलका प्यारामिटरहरु पास नभएसम्म हामी रिपोर्ट नै दिंदैनौं ।’

हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिँदै भिस्तारा एयरलाइन्स

काठमाडौं । भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका कार्डबाहकलाई विशेष सुविधा दिने भएको छ । सो सम्बन्धमा हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच असोज १३ गते सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ । यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका महाप्रबन्धक उज्जवल राजभण्डारी र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले हस्ताक्षर गरेका हुन् । बैंकले हाल कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटीएम र ६ हजारभन्दा बढी पीओएस टर्मिनल्सबाट सेवा प्रदान गर्दै आएको छ । विश्वभर प्रचलनमा रहेको प्रसिद्ध कार्ड ब्राण्डहरु जस्तै अमेरिकन एक्सप्रेस, मास्टरकाड, भीसा, युनियन पे, जेसिबी, डाइनरस् डिस्कभर, आदि आफ्नो नेटवर्कमा स्वीकार गर्ने हिमालयन बैंक नेपालको एक मात्र बैंक हो । यसैगरी, भिस्तारा एयरलाइन्स भारत भित्र तथा बाहिर गरी ३९ गन्तव्यहरुमा आफ्ना ५० वटा वायुयानहरु बाट दैनिक २५० भन्दा बढी उडानहरु संचालन गर्दै आएको छ ।

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टिका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा सर्वसाधारणलाई टिका लगाइदिने भएकी छिन् । उनले यस वर्षको विजयादशमीको अवसरमा असोज १९ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टिका लगाइदिने भएकी हुन् ।

भृकुटीमण्डपमा जुत्ता मेलाको प्रतिस्पर्धा, फाइदामा ग्राहक

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघका नाममा एउटा र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अबसरमा मेला गरेको भनिए पनि यस्तो मेला नयाँ बर्ष लागेपछि साउनको एक महिनाबाहेक अविछिन्न रुपमा चलिरहेका छन् । मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच लामो समयदेखि विवाद छ । मेलाले सर्बसाधारण उपभोक्ता भने फाइदामा छन् । मेलाले जुत्ताचप्पलको च्यानल ब्रेक भएको छ । जुत्ताचप्पल उत्पादक र विक्रेताबीचकाले खाने कमिसन नलाग्दा उत्पादकले सिधै उपभोक्तालाई बेच्न पाएका छन् । त्यसले गर्दा उपभोक्ताले मेलामा विभिन्न ब्राण्डका छानीछानी सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् । केही जुत्ताचप्पल उत्पादकले मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्दै आएका छन् । उनीहरु दुई महिना जुत्ता उत्पादन गर्छन् । अनि एक महिना मेलामा बस्छन् । जुत्ता मेला हुने स्थल भनेर भृकुटीमण्डपको सानो चौरको बाण्डिङ नै भइसकेको छ । थोरै नाफा हुँदा पनि उद्योगीहरु फाइदामा छन् । घाटा चाहिँ के भयो भने मेलामा बिकिहाल्छ भनेर जस्तो पनि जुत्ता चप्पल बनाउने उद्योगीहरु थपिएका छन् । शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैं विरोधमा उत्रियो । संघका तत्कालीन अध्यक्ष रविन श्रेष्ठले त्यसको नेतृत्व गरेका थिए । केही जुत्ता उत्पादकहरु बजारमा बेच्नेभन्दा मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्थे । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । त्यसमा ३,४ वटा गुट बने । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग तेस्रो उद्योग मिलेर मेलामा सहभागिता जनाउन थाले । यसरी सदाबहार मेला हुन थालेपछि मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने औपचारिक निर्णय गर्यो । सबैले नलगाउने भए ठिकै छ भनेर मेलामा सहभागिता जनाउनेहरुले पनि मेला गर्न छाडे । विशेष गरी शिखर सुजले सानो चौरमा एकल मेला गर्दै आएको थियो । गत बर्ष शिखर सुजले मेला गर्ने भनेर सानो चौर बुक गरेको थियो । मेला विरोधीहरुले उक्त मेला रोक्नै लगाएका थिए । नेपाली जुत्ताघरमा शिखरसँग जोडिएका विएफ डियरहिल, कोसेलीलगायतका ब्राण्डका जुत्ता उत्पादकहरु आफूहरुलाई मेलामा छुटाएको भनेर शिखरको मेला विरुद्ध उत्रिए । विरोधको नेतृत्व तत्कालीन अध्यक्ष होमनाथ दाहाल, रविन श्रेष्ठ, ज्ञानेन्द्र दाहाललगायतले गरेका थिए । केही समय मेला रोकिए पनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । अहिले भृकुटी मण्डपको दुवै चौरमा दशैं लक्षित जुत्ताचप्पल मेला चलिरहेका छन् । भृकुटीमण्डप प्रवेशद्वारमै अहिले शिखर सुजको नेतृत्वमा प्राइड स्वदेशी, हाइलाइफ, वन वल्र्ड, फुट स्टेप, बोस, बेम्बो, एसलगायतका ब्राण्डको प्रदर्शनी छ । सानो चौरको मेलालाई बिकृति भन्छन् ठूलो चौरमा मेला गर्नेहरु । ठूलो चौरमा मेला गर्र्नेहरु चाहिँ आफ्नो मेलालाई संस्कृति भन्छन् । ठूलो चौरमा रन, विएफ डियर हिल, फस्र्टवाकलगायतका कम्पनीका जुत्ताचप्पल प्रदर्शनीमा छन् । ठूलो चौरमा मेला लगाउनेहरुले कोभिडको असर सकिनासाथ सेल मेला गरे । संघको पूर्व अध्यक्षसमेत रहेका शिखर सुजका रामकृष्ण प्रसाईँलाई भाडामा लिएको सानो चौर चार दिनअघि नै छाड्न बाद्य बनाएर ठूलो चौरमा मेला गरे । त्यसपछि उनीहरुले बैशाखमा मेला गरे । त्यसपछि सानो चौरमा ६,७ वटा कम्पनीले डेढ महिनाजति मेला गरे । साउन १ महिना भृकुटीमण्डपको चौरले जुत्ता मेलाबाट बिश्राम पायो । उनीहरुले दशैं अघि एउटा समुहले भृटुटीमण्डपको सानो चौरमा मेला लगाउने घोषण गरेका थिए । त्यही अबसर पारेर संघका अध्यक्षलगायतका पदाधिकारीले ठूलो चौरमा भदौ १ गतेबाटै मेला सुरु गरे । भृकुटीमण्डपको ठूलो चौर २० गतेपछि फर्निचर एक्स्पोलगायतले बुक गरेका थिए । त्यही बुकिंगमा पनि संघका पदाधिकारीले अनुनय विनय गरेर आफ्नो स्टलहरु राखे । समाज कल्याण परिषदले फर्निचर एक्स्पोका आयोजकलाई किन अरुलाई ठूलो चौरको स्पेस अरुलाई नाफा खाएर बेचेको भनेर पत्र काट्यो । त्यसपछि संघका पदाधिकारीहरुले आफ्नो स्टल छोपेर बसे । तैपनि उनीहरुले ठूलो चौर छाडेनन् । उनीहरु जसले स्पेस बुक गरे पनि आफ्नो लागि ठाउँ दिन अनुरोध गर्छन् र जुत्ताचप्पलको स्टल राखिहाल्छन् । अहिले त झन् ठूलो चौर पूरै ओगटेर संघ पक्षीय जुत्ता उत्पादकहरुले मेला गरिरहेका छन् । सानो चौरमा मेला लगाउनेहरु ठूलो चौरकै किनबेच भएको बताउँछन् । सानो चौरमा मेला लगाउँदा विकृति भएको भन्नेहरुले त्यसकै १० मिटर पर संघका अध्यक्षलगायतका पदाधिकारीहरु आफैंले मेला लगाउनुमा नैतिक दम नभएको सानो चौरमा मेला लगाउनेहरु बताउँछन् ।’कि दुवै मेला गलत हुन् भन्नु पर्यो,’ उनी भन्छन्, ‘कि मेला गरेर उपभोक्तालाई फाइदा दिएका छौं भन्नु पर्यो ।’ मेलामा प्रतिस्पर्धाले जुत्ताचप्पल उत्पादकहरु एक अर्कालाई खुइल्याउन थाले । उसले त चाइनामा बनाएर ल्याउँछ र मेलामा राखेर नेपाली उत्पादन भनेर बेचिरहेको छ भनेर एक अर्कालाई आरोप लगाउँन थाले । यसले गर्दा नेपाली ब्राण्डमा आएका जुत्ताचप्पलप्रति पनि सर्बसाधारणले शंका गर्न थाले । यसले नेपाली उद्योग नै संकटमा पर्न थाले । यस्तो प्रश्न आफूले धेरै पटक सामना गर्नु परेको एक जुत्ताचप्पल उत्पादक बताउँछन् । अहिले नेपालमा १८ करोडदेखि २० करोड जोर जुत्ताउत्पादन गर्न सक्ने पूर्वाधार रहेको जुत्ताचप्पल उत्पादकको दावी छ । नेपाली जुत्ताचप्पलले ६० प्रतिसत बजार धान्ने उत्पादकहरुको दावी छ । एक अनुमान अनुसार हरेक ब्यक्तिले नेपालीले हरेक बर्ष ४ जोर जुत्ताचप्पल लगाउँछन् । यस हिसावले हरेक बर्ष ११ करोड जोरजति नेपालीले जुत्ताचप्पल खपत गर्छन् । हरेक बर्ष औपचारिक अनौपचारिक माध्यमबाट दुईदेखि अढाइ करोड जोरसम्म जुत्ताचप्पल विदेश निर्यात हुन्छ । नेपाली जुत्ताचप्पल विदेशीको तुलनामा गुणस्तरीय रहेको उत्पादकको दावी छ । उत्पादकहरुले जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी नै दिने गरेका छन् । राज्यले समेत जुत्ताचप्पल उद्योगीलाई संरक्षण गरेको छ । ‘जुत्ताचप्पल उत्पादकहरु आफैं जुधेर उद्योग धरासायी बनाउँदैछन्,’ एक उत्पादक भन्छन्, ‘राज्यले हाम्रो लागि दाहिना छ । गर्न नसकेको हामीले नै हो । धेरैको वर्किंङ क्यापिटल कोभिडले सकियो । बैंकहरुले लगानी गरेका छैनन् ।’ जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक सँघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नु पर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । ‘हामीले उद्योगको संरक्षण गर्ने अभिभावक नपाएको अनुभूति भएको छ,’ एक उत्पादकले भने । कुनै ब्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने कुरा उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । ‘यसमा जुत्ता उत्पादक सँघ आफैं लबिंग गरेर हिड्ने हैन । संघले प्रदर्शनी गर्ने हो, बायर, सेलरलाई बोलाउने हो । सेल मेला संघ आफैंले गर्ने होइन् । ती १० जना संघको नाममा सेल मेलामा किन बस्नु रु आफ्नै ब्राण्ड राखेर बसे भै गयो नि ।’ कोभिड सकिएको एक बर्षमा ५ वटाभन्दा बढी मेला संघकै नाममा भइसकेका छन् । संघले विधानमै २ वटाभन्दा बढी सेल मेला नगर्ने भनेको छ । मेलामा प्रतिस्पर्धा हुँदा सर्वसाधारण उपभोक्ताले भने सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् ।