विकासन्युज

सानिमा बैंकको एपबाट फोनपे क्युआर गरी भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाडौं । सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना ल्याएको छ । यस योजना अनुसार दशैंं र तिहारको अवसरमा सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्युआरमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट पाउनेछन् । यो योजना असोज १६ देखि २२ गते र कात्तक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुने बैंकले जनाएको छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम। संचालनमा रहेका छन् ।

दशैंभर तीन प्रकारको सेवा दिँदै आईएमई जनरल इन्स्योरेन्स

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दशैंभर विभिन्न प्रकारको बीमा सेवा दिने भएको छ । दशैंको अवसरमा असोज १६ गतेदेखि २१ गतेसम्म शाखा बन्द भएपनि इन्स्योरेन्सले भने भर्च्युअल रुपमा बीमालेख, बीमादावी र औषधोपचार बीमा दावी सम्बन्धमा सेवा दिने भएको हो । जसको लागि कम्पनीले विभिन्न कर्मचारीहरुको नामसहित सम्पर्क नम्बर र इमेल उपलब्ध गराएको छ । इन्स्योरेन्सले बीमालेख सम्बन्धमा विभिन्न प्रदेशका ११ जनाको सम्पर्क नम्बर उपलब्ध गराएको छ । त्यस्तै, बीमा दावीको समस्या परेमा बीमितले कम्पनीका तीन जना कर्मचारीलाई सम्पर्क गर्न सक्ने छन् । त्यसैगरी, औषधोपचार बीमा दावीको लागि पनि कम्पनीले दुई जना कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराएको छ । यससँगै यी सेवा लिन केही समस्या परेमा वा यसको बारेमा बुझ्नु परेमा बीमित तथा सेवाग्राहीहरुले कम्पनीले उपलब्ध गराएको सम्पर्क नम्बरबाट सम्बन्धित कर्मचारीलाई कल गर्न सक्ने छन् । कुन सेवा लिन कसलाई सम्पर्क गर्ने ?

आइएमई दशैं अफर : चौथो हप्ताको विजेता घोषणा

काठमाडौं । चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दशैं अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् । विजेताहरुले जनही २ ५ हजार प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम वि.क, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।

‘प्रतिस्पर्धी मर्चेन्ट बैंकहरुलाई पछि पार्दै मेगा क्यापिटल अगाडी बढेको छ’

काठमाडौं । मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले प्रतिस्पर्धी मर्चेन्ट बैंकहरुलाई पछि पार्दै मेगा क्यापिटल अगाडी बढेको बताएका छन् । उनले ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा मेगा बैंक अगाडी बढेको बताएका हुन् । आर्थिक वर्ष २०७८र०७९ मा मेगा क्यापिटल २४।५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गरेको उनले जानकारी दिए । ‘मेगा क्यापिटलले हाल सम्म करिब १ लाख ८० हजार डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८ करोडको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ,’ उनले भने । यस्तै, उनले क्यपिटल ५ वर्ष पुरा गरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको बताए । मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न सेवाका साथ साथै नयाँ कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । क्यापिटलले विभिन्न कम्पनीहरुसँग आइपीओ र अन्डरराइटिङ सम्झौता पनि गरेको छ । संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । सीइओ श्रेष्ठले काठमाण्डौं उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको बताएका छन् ।  

दुग्ध विकास संस्थानद्धारा चाडपर्वका अवसरमा उपभोक्तालाई छुट

काठमाडौं । विकास संस्थान लैनचौरले चाडपर्वका अवसरमा उपभोक्तालाई दुग्धजन्य पदार्थमा छुट दिएको छ । संस्थानले चाडपर्वको समयमा उपभोक्तालाई सहुलियत प्रदान गर्ने नीतिअनुसार देशभर संस्थानका बिक्रीकक्ष रहेका स्थानमा दुग्ध पदार्थ किन्दा विशेष छुटको व्यवस्था गरेको हो । संस्थानका सूचना अधिकारी एवं प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले दसैँ, तिहार तथा छठपर्वको अवसरमा डिडिसी घ्यूमा ५० रुपैयाँ, पनिरमा २० रुपैयाँ, चिज सबैमा २० रुपैयाँ र दहीमा १० रुपैयाँ सहुलियत प्रदान गरिएको जानकारी दिए । ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विस २०७९ भदौ १६ गते बसेको दसैँ, तिहार र छठलगायतका नेपालीका ठूला चाडपर्वलाई लक्षित गरी सामानमा छुटको व्यवस्था गर्ने निर्णयअनुसार संस्थानले उक्त सामानमा छुटको व्यवस्था गरेको हो’, अधिकारीले भने । उपभोक्ताले असोज १ देखि कात्तिक १५ गतेसम्म उक्त सामान खरिद गर्दा छुट पाउनेछन् । प्रवक्ता अधिकारीका अनुसार हाल देशभर दैनिक एक लाख लिटर दूध तथा दही बिक्रीवितरण हुँदै आएको छ । उपभोक्ताको माग भने दैनिक एक लाख ३० हजार लिटर रहेको उनको भनाइ छ । रासस

जग्गाको कित्ताकाट नक्सा बोकेर बैंक जानु नपर्ने, अब डिजिटल प्रणालीबाटै काम हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुको जग्गाको कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल प्रणाली प्रयोगमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै अनलाइन प्रणाली ‘मेरो कित्ता प्रणाली’मार्फत् सेवा लिन निर्देशन दिएको हो । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स , लघुवित्त र पूर्वाधार विकास बैंकलाई एक निर्देशन जारी गर्दै बैंकिङ्ग प्रयोजनका लागि नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा लिने कार्यलाई डिजिटल प्रणालीमार्फत सम्पन्न गर्न निर्देशन दिएको हो । ‘कुनै वित्तीय संस्थाबाट जग्गाको पूर्ण विवरणसहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भइ नियमानुसार राजश्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्यूटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएको थियो, नापी विभागबाट हालै सञ्चालनमा ल्याइएको अनलाईन प्रविधिमा आधारित मेरो कित्ता प्रणालीमार्फत् सेवा लिन सक्ने व्यवस्था मिलाइएकाले उक्त प्रणालीमार्फत् सेवा लिन सम्बन्धित संस्थाहरुले यूजर एकाउन्ट लिई ‘डिजिटल प्रणालीमार्फत् जग्गाको नापनक्सा तथा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह निर्देशिका, २०७८’ को अनुसूची ४ बमोजिमको ढाँचामा निवेदन अपलोड गरी अनलाइन प्रणालीमार्फत् कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टर प्रिन्ट तथा राजश्व भुक्तानीलगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ,’ परिपत्रमा भनिएको छ ।

बैंकहरुले कर्मचारीलाई भन्न थाले : पहिलो त्रैमासको चटारो छ, दशैंमा बढी विदा नबस्नु

काठमाडौं । बैंकहरुलाई दशैंसँगै पहिलो त्रैमासको चटारो थपिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमास समाप्त हुने समयमै दशैं परेपछि बैंकहरुलाई दशैंसँगै पहिलो त्रैमासको चटारो पनि थप बढेको हो । सबै बैंकहरुलाई नयाँ आर्थिक वर्षको सुरुवातसँगै पहिलो त्रैमासलाई पनि राम्रै बनाउने प्रयास गर्छन् । सकेसम्म कर्जा असुलीमा ध्यान दिएर पहिलो त्रैमासमा बढी नै नाफा गर्ने योजना अधिकांश बैंकहरुको हुन्छ । तर, यही समयमा दशैं र लगत्तै तिहार परेपछि बैंकहरुलाई एक किसिमको दबाब सिर्जना भएको हो । एक बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार धेरै बैंकहरुले कर्मचारीलाई दशैंमा धेरै बिदा नबस्न पनि आग्रह गरिसकेका छन् । पछि ‘फोर्स लिभ’ मा बढी विदा बस्ने गरी दशैंमा धेरै विदामा नबस्न बैंकका कर्मचारीलाई आग्रह गरिरहेको बुझिएको हो । ‘अहिले दशैं लगत्तै पहिलो त्रैमासको वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ, कात्तिक पहिलो सातातिर वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ, त्यही समयमा फेरि तिहार परेको छ, त्यसैले पनि बैंकहरुको वित्तीय विवरण प्रभावित हुने होकि भन्ने चिन्ता छ तर धेरै बैंकहरुले कर्मचारीलाई धेरै विदामा नबस्न आग्रह गरेको सुनेको छु, हामीले पनि त्यही भनेका छौं,’ ती सीईओले विकासन्युजसँग भने । उनका अनुसार उनीहरुको विदा मिलान हुने किसिमले दशैंमा केही सीमित दिनमात्रै विदामा बस्ने किसिमले काम भइरहेको छ । नेपाल राष्ट्र बैंकले दशैंमा ६ दिन मात्रै बिदा निर्धारण गरेको छ । असोज १६ गतेदेखि असोज २१ दिनसम्म दशैंको विदा दिइएको छ । यस्तै, तिहारमा पाँच दिन विदा दिइएको छ । दशैं र तिहारमा बैंकर्सले ११ दिन विदा पाउनेछन् । तर, बैंकहरुले ११ दिन पनि घर नबस्न कर्मचारीहरुलाई आग्रह गरिरहेका छन् । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल यस पटक दशैं पहिलो त्रैमासको क्लोजिङमै परेको कारणले पनि बैंकहरुलाई एक किसिमको दबाब रहेको बताउँछन् । उनले विदा पनि धेरै भएकोले क्लोजिङ गर्न केही दबाब हुने धारणा राखे । ‘बैंकहरुले कर्मचारीलाई धेरै विदामा नबस्न भन्नु अहिले स्वभाविक हो, क्लोजिङकै समय परेकोले रिकभरीमा समय दिनु पर्ने हुन्छ, वित्तीय विवरण तयार पार्नु पर्ने हुन्छ, त्यस कारणले पनि कर्मचारीहरुलाई आग्रह गरेका हुन्,’ उनले भने ।

सञ्चालनमा नआउँदै बिग्रियो नौ करोडको बसपार्क

गलकोट । आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चँुइएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको छ । बसपार्कको दायाँबाँया चर्किएको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर सञ्चालनमा आइनसेको आधुनिक बागलुङ बसपार्कको हो । नौ करोड लागतमा निर्माण सम्पन्न गरिएको बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको छ । निर्माण व्यवसायीको लापारबाहीका कारण सञ्चालनमा नआउँदै बसपार्क मर्मत गर्नुपर्ने अवस्था आइपुगेको छ । आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको एक वर्ष मात्रै बित्यो । बसपार्क सञ्चालनमा नआउँदै मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीले बसपार्क निर्माण सम्पन्न गरे पनि बसपार्क हस्तान्तरण भने भएको छैन तर बसपार्कको संरचना भने बिग्रिएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट अन्डरग्राउन पार्किङस्थलमा पानी जमेको छ भने केही भाग प्लास्टरसमेत उप्किएको पाइएपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र नै काटेर मर्मत गर्न लगाएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । ‘बसपार्क हस्तान्तरण त भएको छैन, तर निर्माण भइसकेका संरचना कतै चर्किएको त कतै उप्किएको प्राविधिकबाट जानकारी आएपछि निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मत गर्न भनेका छौँ’, नगर प्रमुख श्रेष्ठले भने, ‘अहिले निर्माण कम्पनीले बसपार्क मर्मत गरिरहेको छ, तर निर्माण भइसकेको संरचना कसरी बिग्रन पुग्यो, त्यो नगरपालिकाका प्राविधिकले अध्ययन गरिरहेका छन्, पूरै मर्मत नभए अन्तिम भुक्तानी रोक्छौँ ।’ बागलुङ–४ स्थित दाबगरामा स्थानीयवासीले निःशुल्क दिएको जग्गामा बसपार्क निर्माण भए पनि गुणस्तरमा भने प्रश्न चिन्ह उठेको छ । बागलुङ बजारमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा भए पनि बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको हो । बसपार्कको यात्रु प्रतिक्षालयको जस्ता हावाले उडाएपछि बसपार्क टिकाउ नहुने स्थानीयवासीको आशङ्का छ । अहिले बसपार्कको बिग्रको भाग मर्मत निर्माण कम्पनीबाटै भइरहेको नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले जानकारी दिए । ‘स्टमेट अनुसार निर्माण सम्पन्न भइसकेको संरचनामा क्षति पुगेको देखियो, तत्कालै निर्माण व्यवसायीलाई अन्तिम भुक्तानी रोकेर मर्मतमा खटाएका छाँै, बसपार्क पूरै मर्मत नभएसम्म बाँकी रहेको रकम भुक्तानी रोकिनेछ’, गिरीले भने, ‘हस्तान्तरण नहुँदै बसपार्क मर्मत गर्न थालिनु दुःखद् विषय हो, हस्तान्तरणको एक वर्ष समेत निर्माण व्यवसायीले बिग्रे वा भत्केमा मर्मत गर्नुपर्दछ ।’ निर्माण व्यवसायीले अन्तिम किस्ता रु ३८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । रासस