गरिमा विकास बैंकको संस्थापक सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । गरिमा विकास बैंकको संस्थापक सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको एक लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर आइतबार नेप्सेमा थपिएको हो । लिलामीमार्फत बैंकको सो मात्राको सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर दोश्रो बजारमा किनबेच हुने छ ।
विप्लव नेतृत्वको नेकपासहित साना ३ बामपन्थी पार्टीले निर्वाचन बहिष्कार गर्ने
काठमाडाैं । विप्लव नेतृत्वको नेकपासहित साना ३ बामपन्थी पार्टी ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् । आईतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी तीन वटा साना बामपन्थी राजनीतिक दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन । बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रुपमा विरोध प्रर्दशन र कोणसभा समेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले जानकारी दिए । उनले दलालहरुले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरुले चुनाव बहिष्कार गर्ने नीति लिनु परेको बताए । नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसदवादको अन्त्य गर्नका लागि आफूहरुले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताए । उनले नेपाली क्रान्तिलाई सफल बनाउन पनि सो चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गरे । वैज्ञानिक समाजवादी पार्टी, नेपालले चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको बताएको छ । पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरुबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरुले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाएको उल्लेख गरे । तीन वटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनघढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गरेका छन । सो कार्यक्रम स्थानीय स्तरमा पनि आवश्यक्ताको आधारमा तय गरिएको पनि नेकपाका नेता प्रकाण्डले बताए ।
४३ अंकले बढ्यो सेयर बजार, कारोबार डेढ महिना यताकै उच्च
काठमाडौं । साताको पहिलो दिन सेयर बजार ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ । यस्तै, आज असोज २ गते यताकै सबैभन्दा धेरै कारोबार भएको छ । असाेज २ गते एक अर्ब ६० कराेड काराेबार भएकाे थियाे भने आज एक अर्ब ५४ करोडको कारोबार भएकाे छ । यसरी सेयर बजार बढ्दा म्युचल फण्ड बाहेक सबै उप-समुहहरूमा हरियाली छाएको छ भने लगानीकर्ताहरु सबैभन्दा धेरै लघुवित्तको सेयरमा झुम्मिएका छन् । नेप्सेको अनुसार आज ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् । शनिबार जाल्पा लघुवित्तले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लघुवित्तहरुमा लगानीकर्ताको आकर्षण देखिएको जानकारहरु बताउँछन् ।
चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं ६ चोभारमा १३२ केभीको सबस्टेसन निर्माणमा भइरहेको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले हिमाल सिमेन्टको स्वामित्वको चोभार, भूतखेलस्थित १२ रोपनी १२ आना जग्गामा १३२/११ केभीको सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएपछि स्थानीय बासिन्दाले अवरोध गर्दै आएका थिए । उक्त स्थानमा खेल मैदानको रुपमा प्रयोग हुँदै आएको भन्दै स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्दै आएका थिए । मन्त्रिपरिषद्को १७ माघ २०७८को बैठकले हिमाल सिमेन्टको स्वामित्वमा रहेको जग्गा सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई भाडामा उपलब्ध गराउने निर्णय गरेको थियो । प्राधिकरणले सर्वे, माटो परीक्षण, डिजाइन जस्ता निर्माण पूर्वका प्रारम्भिक कार्यहरु सकिएको र सरकारले जग्गा उपभोग गर्न दिइसकेको अवस्थामा त्यस स्थानको विकल्पमा अन्य ठाउँमा सबस्टेसन सार्न नसकिने प्रष्ट पार्दै आएको थियो । किर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उप–प्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खीरमान सिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय बासिन्दाका प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ । प्राधिकरणले स्थानीयले उठाएको मागलाई सम्बोधन गर्ने र त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्ने सहमति भएको छ । कीर्तिपुर नगरपालिका, स्थानीय क्लब, संघसंस्था र भद्रभलादमीहरुसँगको छलफल र सहमतिमा मागलाई सम्बोधन गरिने छ । चोभारस्थित शुख्खा बन्दरगाहको प्रवेशद्धारबाट सुरु भएको करिब २ किलोमिटर ११ केभी लाइन तथा पोल सुरक्षित नदेखिएकोले स्थानीयको माग बमोजिम लाइनलाई भूमिगत गरी प्राधिकरणले व्यवस्थापन गरिदिने सहमति भएको छ । प्राधिकरणले सबस्टेसन निर्माण तत्काल अगाडि बढाउने छ । विद्युत आपूर्तिको अत्यावश्यकतालाई ध्यान दिएर सबस्टेसन निर्माणमा अवरोध नगर्ने र यसका लागि सम्बन्धित वडाले आवश्यक सहयोग गर्ने बैठकबाट निर्णय भएको छ । बैठकमा नगर प्रमुख नकर्मीले विकास निर्माणका कामहरुमा नगरपालिकाको सँधै सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो,‘सबस्टेसन निर्माणमा जारी अवरोध हटाउनु ज्यादै अप्ठ्यारो र जटिलता थियो, यसलाई समाधान गर्न सफल भएका छौं, सबस्टेसन निर्माण तत्काल अगाडि बढाएर तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ ।’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणका लागि ठेक्कापट्टा लागिसकेकोले जाँडै निर्माण सुरु गर्ने बताए । ‘काठमाडौं उपत्यका विशेषता कीर्तिपुर तथा आसपासका क्षेत्रमा विद्युतको मागलाई सम्बोधन गर्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन चोभार सबस्टेसन ज्यादै महत्वपूर्ण छ’, उनले भने । ‘यस्ता सबस्टेसन बनाउन सकिएन भने केही वर्षमा विद्युत उपलब्ध भएर पनि प्रवाह गर्न नसकी काठमाडौं उपत्यकामा लोडसेडिङ गर्नु पर्ने अवस्था आउने छ ।’ काठमाडौं उपत्यकाको विद्युत आपूर्तिमा सुधार गर्न महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन निर्माणमा ललितपुरको खोकना, बुंमती, हरिसिद्धी र लामाटार क्षेत्रका स्थानीय बासिन्दाले अवरोध गरिरहेका छन् । स्थानीयको अवरोधका कारण प्रसारण लाइन बनाउन नसकिएपछि प्राधिकरणले विकल्पको रुपमा चोभारमा सबस्टेसन निर्माण अगाडि बढाएको हो । थानकोटबाट चोभारसम्मको काठमाडौं खण्ड र भक्तपुरतर्फको निर्माण भने सकिएको छ । एसियाली विकास बैंकको काठमाडौं उपत्यका प्रसारण क्षमता सुदृढीकरण आयोजनामार्फत प्राप्त हुने सहुलियतपूर्ण ऋणमा चोभार सबस्टेसन निर्माण गर्न लागिएको हो । सबस्टेसनमा ४५ एमभिए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरहरु रहने छन् । काठमाडौं उपत्यकाको सन् २०३० सम्ममा ९२५ मेगावाट, २०४० सम्ममा १८२५ मेगावाट र २०५० सम्ममा ३१६९ मेगावाट उच्चतम माग हुने प्रक्षेपणका आधारमा प्राधिकरणले प्रसारण तथा वितरण पूर्वाधार सञ्जालका संरचनाहरु योजनावद्ध रुपमा अगाडि बढाएको छ ।
सात वर्षसम्म पनि अधुरै कञ्चनपुरको राजमार्ग
कञ्चनपुर । निर्वाचनका बेला कञ्चनपुरको दक्षिणि क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग निकै चर्चामा आउने गरेको छ । निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुङ्गोमा पु¥याएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन । तर, निर्वाचन सकिएपछि राजमार्ग कालोपत्र गर्ने कार्य सबैले बिर्षने गरेका छन् । राजमार्ग स्तरोन्नति गरी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको सात वर्ष बित्नै लागेपनि अधुरोनै रहेको छ । राजमार्गको केही भाग कालोपत्र गरिए पनि सडक पूरै कालोपत्र हुनसकेको छैन । ‘सडक निर्माणका लागि पटक–पटक निर्माण कम्पनीको म्याद थप्ने कार्य मात्रै हँुदै आएको छ’, स्थानीय कालुराम चौधरीले भने,’सडक कालोपत्रको कार्य पूरा हुनसकेको छैन ।’ विगतमा निर्वाचनका बेला राजमार्ग निर्माण गरेरै छाड्ने राजनीतिक दलका उम्मेदवारले मतदाता समक्ष गरेका अहिलेको निर्वाचनमा पनि त्यही पुरानै वाचा लिएर उम्मेदवार घरदैलोमा पुगेको उनले बताए । ‘सडक पूरै कालोपत्र हुन नपाउँदै खाल्डाखुल्डी भएर जीर्ण बन्न थालेको छ’, उनले भने, ‘गुणस्तरीय कार्य गरी सडक निर्माणको कार्य निर्धारित समयमै पूरा गर्ने प्रतिवद्धता आउनुपर्छ ।’ सडक कालोपत्र गर्ने कार्यलाई अगाडि बढाउनका लागि स्थानीय बासिन्दाले पटक–पटक सडक अवरुद्ध गरेर दबाब दिदै आएका छन् । स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि केही दिन सडक कालोपत्र गर्ने कार्य अगाडि बढाए जस्तो गरेर निर्माण व्यवसायीले पुनःकार्यमा ढिलासुस्ती गर्ने गरेको स्थानीय सियाराम रानाले बताए । ‘कहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले रोकेको भन्छन्, कहिले केन्द्रबाट प्रदेश मातहतमा कार्य आउँदा विलम्ब भएको हो भन्छन्’,उनले भने, ‘निकुञ्जले रोकेको भए पनि समस्या समाधान गरेर कार्य अगाडि बढाउनुपर्ने हो, यसका लागि कोही अगाडि आउँदैन, समस्या देखाएर पन्छिने कार्य मात्रै हुँदै आएको छ ।’ शुक्लाफाँटा नगरपालिकाको कलुवापुरदेखि जिल्लाको दक्षिणि क्षेत्र बेलौरी जोड्ने एक मात्रै मार्ग निर्माणको कार्य तत्कालीन पञ्चायतीकाल बाट सुरु भएको हो । पञ्चायतीकाल निर्माण भएको सडक कालोपत्र भएको हेर्नका लागि यस क्षेत्रका बासिन्दाले वर्षौँसम्म कुर्नुपर्ने भएको स्थानीय बासिन्दाको भनाइ छ । राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि कालागौंँडीसम्मको तीन किलोमिटर सडक र कलुवापुरदेखि बन्साहसम्मको झण्डै तीन किलोमिटर सडक बहुवर्षीय ठेक्का भए पनि अहिलेसम्म कालोपत्र हुनसकेको छैन । कालोपत्र गरिएको सडक निर्माणकार्य पूरा नहुँदै खाल्डाखुल्डी हुन थालेपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक स्तरोन्नति गरी तीन वर्षभित्रै कालोपत्र गर्नका लागि विसं २०७३ को भदौ महिनामा सन्तोष थेगिम जेभीसँग १८ करोड २० लाख रुपैयाँमा सम्झौता गरिएको थियो ।
नाङ्लो ग्रुपले दरबारमार्गमा संचालनमा ल्यायो ‘द चाइनिज रुम’ रेष्टुरेण्ट
काठमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रुम रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लोले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आजबाट सञ्चालनमा ल्याएको हाे । आईतबार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लोका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भएपनि यसले दिने सेवामा कुनै कम्परमाइज नहुने बताए । उनले यसअघि पनि नाङ्लोले ५ सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताए । ‘नाङ्लो ग्रुपले पुनः द चाइनिज रेष्टुरेण्ट शुरु गर्दैछौँ, नाङ्लो प्रा.लि.१९७६ मा स्थापना गरेका हौँ । त्यो बेला सानो क्षमताको रेष्टुरेण्ट नै शुरु गरेका थियौँ, हामीले पछिल्ला दिनहरुमा ५ सय सिट क्षमताको रेष्टुरेण्टसम्म सञ्चालन ग¥यौं, यो रेष्टुरेण्टमा ५४ सिटको क्षमता छ, दरबारमार्गमा रहेको छ, इण्डो चाइनिज खाना यहाँ धेरै पाइन्छ, इण्डो चाइनिजसँगै स्वेचन खाना पनि हामी यहाँ उपलब्ध गराउनेछौँ,’ उनले भने । रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाएको छ । अध्यक्ष कक्षपतीले धेरैको माग पुरानै स्वादमा परिकारहरु उपलब्ध गराउनुपर्ने आएकाले त्यही अनुसार रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए ।
स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छ : राष्ट्रपति भण्डारी
सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छिन् । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ श्ययाको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्र्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन् । स्थापित यस असपतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने पनि उनले बताइन् । अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन् । यसका लागि स्थानीय तहको सहयोग जरुरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो । सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले बताइन् । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन् । सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै उनले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन् । पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेत जरुरी रहेको उल्लेख गरिन् । वैज्ञानिक अध्ययन अनुसन्धानका साथै आफ्नै आँखाले पनि जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा देख्न पाइएको उनको भनाइ थियो । वातावरण जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सबैले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिइन् । राष्ट्रियसभाका सदस्य सोनाम गेल्जेन शेर्पा स्वास्थ्य सेवा सबैको मौलिक अधिकार भएको बताइन् । अबका दिनमा उपचारमा मात्र ध्यानकेन्द्रित नगरी स्वास्थ्य शिक्षामा ध्यान आवश्यक भएको उनले बताइन् । नागरिकलाई बिरामी हुन नदिनु नै प्रमुख कुरा भएको उल्लेख गर्दै त्यसतर्फ सबै सचेत हुन आवश्यक भएको बताइन् । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले विकट क्षेत्रमा अस्पतालको आवश्यकता रहेका बेला हिमालयन शेर्पा फाउण्डेशनले स्थापना गरेको यस अस्पतालबाट नागरिकलाई ठूलो राहत पुगेको बताइन् । यसबाट गाउँपालिकाका ११ वटा गाउँका १० हजारभन्दा बढी नागरिकलाई उपचार गर्न सहज हुने बताइन् । आर्थिक अवस्था कमजोर भएको गाउँपालिकामा बिरामी उपचार गर्न समस्या भएका बेला अस्पताल स्थापना हुँदा स्थानीयलाई राहत मिलेको उनले उल्लेख गरिन् । सबैभन्दा बढी फाइदा स्थानीयका साथै यहाँ घुम्न आउने पर्यटकलाई भएको उनको भनाइ थियो । सो अवसरमा अस्पतालका संस्थापक हिमालयन शेर्पा फाउण्डेशनका अधयक्ष पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले अस्पताल स्थापना गर्नुको उद्देश्यबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएकी थिइन् । स्थानीय र पर्यटकले उपचार अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल स्थापना गरेको उनको भनाइ थियो । पर्यटक लेक लागेर बीचमै भ्रमण गर्ने इच्छा त्यागेर आफ्नो देश फर्किने गरेका तथा स्थानीय लेक लागेर ज्यानै गुमाउनुपर्दाको अवस्थाबारे उनले राष्ट्रपति भण्डारीसमक्ष अवगत गराएकी थिइन् । बिरामीलाई घण्टौँ टाढा लुक्ला अस्पताल लैजानुपर्दाको पीडाबाट प्रभावित भई अस्पताल स्थापना गरेको उनले बताइन् । यसका लागि विदेशी दाताहरुको सहयोग महत्वपूर्ण रहेको उनले उल्लेख गरिन् । पर्यटन व्यवसायी शेर्पा परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायूक्त १५ श्ययाको अस्पताल निर्माण गरेको हो । यो अस्पताल निर्माण गर्न करिब २० करोड लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिइन्। अस्पताल कोङ्दे हिमालको काखमा दुई हजार ६१० मिटर उचाइमा अवस्थित छ । सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो । स्थानीयलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर उपचारको थालनी आजैदेखि गरिएको संस्थापक शेर्पाले बताइन् । नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन खोलेको शेर्पाको भनाइ छ । अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ । उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने र सोही रकमबाट चिकित्सकलाई तलबसहित अन्य सेवासुविधा उपलब्ध गराइनेछ । यस अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुनेहुँदा यस क्षेत्रको पर्यटन पनि लाभान्वित हुने अपेक्षा गरिएको छ । अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो । जुलाई, २०१७ मा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको शेर्पाले बताइन् । जर्मनीका नागरिक डा मथेस बाउमेनले पाँच करोड रुपैयाँ र अन्य दाताबाट थप दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको संस्थापक शेर्पाले जानकारी दिइन् । हाल अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन् । अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ । त्यसका लागि ५० लाख रुपैयाँ रकम खर्च हुने बताइएको छ । एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातफै मौसम खराबी हुँदा काठमाडौँसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो ।
आयात प्रतिबन्धले अधिकांश गाडीका सब-डिलर बन्द, ऋण लिएर तलब खुवाइँदै
काठमाडौं । सरकारले विदेशी मुद्राको सञ्चितीलाई देखाउँदै गत बैशाखदेखि डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने चारपाँग्रे सवारी साधनमा प्रतिबन्ध लगाएपछि अधिकांश डिलरहरु बन्द भएका छन् । लामो समयदेखि गाडी आयातमा सरकारले प्रतिबन्ध लगाउँदा काठमाडौं उपत्यका बाहिर सञ्चालित गाडीका अधिकांश डिलर तथा सबडिलरहरु बन्द हुन थालेका हुन् । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले सरकारी प्रतिबन्धका कारण काठमाडौं उपत्यकाका डिलरलाई समेत समस्या पर्न थालेको जनाएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती लामो समयदेखि गाडी आयातमा लगाइएको प्रतिबन्ध नहट्दा गाडी व्यवसाय नै धरापमा परेको बताउँछन् । ‘लामो समयदेखि गाडी आयातमा लागेको प्रतिबन्ध निरन्तर छ, सरकारले तत्काल खोल्ने अवस्था देखिएको छैन, आयात रोकिँदा काठमाडौं बाहिरका डिलरहरु बन्द भएका छन्, यही अवस्था निरन्तर रहेका (मंसिर पछि पनि आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिएमा) काठमाडौंका समेत अधिकांश डिलरहरु बन्द हुने अवस्थामा पुगिसकेका छन्’, उनले भने, ‘गाडीको बिक्री वितरण ठप्प छ, ऋण लिएर कर्मचारीलाई तलव खुवाउने अवस्था आएपछि डिलरहरु बन्द हुन थाले ।’ उनले आयातकर्ता बाहेक अधिकांश डिलरहरु बन्द हुने अवस्थामा रहेको बताउँदै ठूला इम्पोटर समेत समस्यामा पर्न थालेको बताए । उनले हाल केही डिलरले अल्टरनेटमा काम गराएर कर्मचारीको व्यवस्थापन गर्न थालेका छन् भने अधिकांश डिलरले पछि राख्ने सहमतिमा कर्मचारी कटौती गर्न थालेका छन् । देशभरका गाडीका डिलरहरु बन्द भएसँगै १ हजारभन्दा बढी कर्मचारी जागिरबाट निकालिएको नाडाले जनाएकोे छ । महासचिव उप्रेतीले डिजेल पेट्रोलका गाडी आयातमा रोक लगाएपछि विद्युतीय सवारीको आयातमा बृद्धि भएतापनि बजारको माग धान्न सक्ने अवस्था नरहेको बताए । ‘अहिले सबै कम्पनीसँग विद्युतीय गाडी छैनन्, देशको अवस्था अनुसार सबै स्थानमा विद्युतीय गाडी पुग्न समेत सक्दैनन् ।’ उनका अनुसार ८ हजार बढी कर्मचारीको रोजगारी पनि गुमेको छ भने अझै धेरैले रोजगारी गुमाउन सक्ने देखिएको छ । नाडाका अनुसार अहिले देशभरका विभिन्न सवारीका सोरुम बन्द हुने अवस्थामा पुगेका छन् भने अधिकांश बन्द पनि भइसकेका छन् । नाडाले ५० बढी सोरुम बन्द भइसकेको बताएको छ भने एक सय बढी सोरुमहरु बन्द हुने अवस्थामा पुगेको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत बैशाख १३ गते देशमा विदेशी मुद्रा सञ्चितिमा कमी आएको भन्दै राजपत्रमा सूचना प्रकाशन गर्दै विभिन्न दश वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । पछिल्लो समय सरकारले उक्त वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिदै आगामी मंसिर मसान्तसम्मका लागि प्रतिबन्धलाई निरन्तरता दिएको छ । अन्य वस्तुको प्रतिबन्धलाई खुलाएपनि सरकारले सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चा पदार्थ), ३ सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान एवं १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयात मंसिर मसान्तसम्म रोकेको छ । अन्य वस्तुको आयात खुलाएपनि गाडी आयात नखुलाएको भन्दै नाडाले आन्दोलनका तयारी थालेको छ । सरकारलाई दबाब दिन नाडाको नेतृत्वमा देशभर रहेका दुई तथा चार पाँग्रे सवारीका शोरुम तथा डिलर बन्द गर्ने तयारी थालिएको छ । सम्बन्धित सामग्री : सवारी साधनका सब-डिलरको व्यापार धरापमा