विकासन्युज

‘नो नट अगेन’ अभियन्तालाई कारबाही नगर्न सर्वोच्चको अल्पकालीन आदेश

काठमाडाैं । सर्वोच्च अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आईतवार न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए । गत कार्तिक ८ गते निर्वाचन आयोगले विभिन्न दलका शीर्ष नेताको फोटो राखेर ‘नो, नट अगेन’ को प्रचार रोक्न निर्देशन दिँदै तत्काल पोस्ट हटाउन, फेसबुक पेज बन्द गर्न चेतावनी दिएको थियो । साथै आयोगले तत्काल पोस्ट नहटाए विद्युतीय कारोबार ऐनको दफा ४७ अन्तर्गत ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिबाना हुनसक्ने बताएको थियो । निर्वाचन आयोगको कदम असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ‘नो, नट अगेन’ अभियान चलाउने अभियान्ताहरूलाई कारबाही गर्ने निर्वाचन आयोगको निर्देशनबिरूद्ध सर्वोच्च अदालतमा गत कार्तिक १४ गते रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै अदालतले ‘नो नट अगेन’ अभियान चलाउने अभियन्तालाई कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको बताए । उनले निर्वाचन आयोगको कदमले आम मानिसमा आतंक पैदा भएको बताए । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानकोविरुद्धमा सूचना जारी गर्नु नागरिकको लोकतान्त्रिक अधिकारको स्वतन्त्रतालाई निषेध गर्ने र निर्वाचनको स्वच्छता, निष्पक्षतालाई कुण्ठित गर्नु रहेको बताए । वरिष्ठ अधिवक्ता त्रिपाठीले अदालतको निर्देशन नागरिकको स्वतन्त्रता, निर्वाचनको स्वच्छताको पक्षमा आएको जिकिर गरे । निर्वाचन आयोगले गत कार्तिक ८ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दलहरुको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेनका फेसबुक पेज र ग्रुपहरुबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारेमा लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्यदृष्य सामग्री प्रकाशन गरिएको भन्दै कसुर गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना र पाँच वर्षसम्म जेल सजाय हुनसक्ने भन्दै यस किसिमका गतिविधि नगर्न विज्ञप्ती जारी गरेको थियो । साथै आयोगले उक्त फेसबुक पेज र ग्रुपहरु तत्काल नहटाए प्रचलित कानून बमोजिम कारबाही हुने उल्लेख गरेको थियो । आयोगले झुट, फेसबुक पेज/ग्रुपहरु सिर्जना गरी दलका नेताहरु बिरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहीता, २०७९ को दफा ४ को खण्ड (ञ) (ट) (ठ) र (ड) प्रतिकुल रहेको जनाएको थियो ।

कुमारी बैंकका सीईओले बुझे ४ करोड रुपैयाँ तलब

काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एक वर्षको अवधिमा ४ करोड रुपैयाँ तलब भत्ता बुझेका छन् । कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्तामा वापत भुक्तानी गरेको हो । उक्त रकममध्ये बैंकका पूर्व कायमुकायम सीईओ अनुजमणी तिमिल्सेनाले ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ र बैंकका सीईओ रामचन्द्र खनालले ४९ लाख ७३ हजार रुपैयाँ बुझेका हुन् । बैंकले तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११ रुपैयाँ, संचय कोष बापत ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८० रुपैयाँ, बिदा बापत ४० लाख ६३ हजार ७३६ रुपैयाँ, उपदान बापत २ लाख ४३ हजार ३६२ रुपैयाँ, बोनस बापत ३९ लाख ९२ हजार ४८१ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ भुक्तानी गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा सीईओलाई २ करोड ३५ लाख ४५ हजार ९६८ रुपैयाँ तलब भत्ता वापत भुक्तानी गरेको थियो । यस्तै बैंकले व्यवस्थापकहरुलाई ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ खर्च गरेको छ । जसमा तलब बापत १ करोड १४ लाख ७६ हजार ६९४ रुपैयाँ, भत्ता बापत ३५ लाख ३९ हजार ३५३ रुपैयाँ, संचयकोष बापत ११ लाख ४७ हजार ६६९ रुपैयाँ, गाडी मर्मतका लागि ५६ लाख २७ हजार १८ रुपैयाँ, औषधी उपचारबापत ७ लाख २७ हजार ७८३ रुपैयाँ, दशैं भत्ता बापत १४ लाख ३४ हजार ९८६ रुपैयाँ, बिदाका लागि २८ लाख ४५ हजार ३२१ रुपैयाँ, उपदान बापत २६ लाख ५७ हजार ३४४ रुपैयाँ, कर्मचारी बोनस बापत ५० लाख ९८ हजार ७७३ रुपैयाँ र अन्य (स्वेच्छिक अवकाश भुक्तानी) बापत १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकले तलब तथा भत्ता कार्यकारी अधिकृत तहदेखि सहायक महाप्रवन्धक तह सम्मका लागि प्रदान गरेको बताएको छ । जसमा आर्थिक वर्ष २०७८/७९ मा बैंक छोडेर जाने तथा नयाँ भर्ति भइ आउने कर्मचारीहरुले आफ्नो कार्यकालमा प्राप्त गरेको तलब तथा भत्ता समेत समावेस गरिएको बैंकले जनाएको छ । गत माघ २४ गतेसम्म अनुज मणि तिमिल्सिना कायमुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए । त्यसपछि बैंकले गत बैशाख १३ गते रामचन्द्र खनाललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । गत वर्षको माघ २४ गतेदेखि गत बैशाख १३ गतेसम्म खनाल कायमुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।

चन्द्रग्रहणबाट ६ राशीलाई हानी, के गर्दा फलदायी हुन्छ ?

काठमाडौं ।  कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । कात्तिक २२ गते बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरूपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने समितिले जनाएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए । कात्तिक २२ गते मङ्गलबार बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले बताए । ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लाग्ने समितिले जनाएको छ । औँसीमा सूर्यग्रहण र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

मिडिया हबले कमाउँदैछ एक महिनामा ५० करोड

एजेन्सी । हरेक चार वर्षमा धेरैको नजर टेलिभिजनको पर्दामा तान्ने विश्वकप फुटबल प्रतियोगिता हेर्न नेपालमा उपभोक्ताहरूले यसपालि ५०० रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। यसअघि नियमित शुल्कमै विश्वकप हेरिरहेका उपभोक्ताहरूले अतिरिक्त शुल्क लिइनुको कारणबारे प्रश्न गरेका छन्। विश्वकप फुटबल प्रतियोगिता प्रत्यक्ष प्रसारणको अधिकार लिएको मिडिया हबले नेपालमा विश्वकप फुटबलको प्रसारण अधिकारका लागि तिर्नुपर्ने शुल्क महँगो भएका कारण उपभोक्ताबाट रकम उठाउन लागिएको दाबी गरेको छ। तर, वितरककै अनुसार विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क उठाउने अनुसार प्रसारण अधिकार र प्रचारप्रसार खर्च बाहेक थप १० करोड रुपैयाँभन्दा बढी रकम उपभोक्ताहरूबाट जम्मा हुनसक्छ। यो पटकको विश्वकप फुटबल यही महिना कतारमा सुरु हुँदै छ। किन लिइयो शुल्क ? भारतीय कम्पनी भायकमबाट प्रसारण अधिकार खरिद गर्न र विश्वकपको प्रचार प्रसार गर्न समेत गरी ४० देखि ४१ करोड रुपैयाँसम्म खर्च हुने मिडिया हबको दाबी छ। तर, यो खर्चको नेपालको टेलिभिजनलाई प्रसारण अधिकार बिक्री र विज्ञापनबाट मात्रै लागत नउठ्ने भएपछि ग्राहकहरूसँग रकम उठाउन लागिएको मिडिया हबका अध्यक्ष सोम प्रसाद धितालले बताए । ‘विश्वकपलाई विज्ञापनको मोडलबाट मात्रै व्यावसायिक बनाउन सकिएन। दर्शकहरूसँग नचाहँदा नचाहँदै पनि केही पैसा लिनुपर्ने निर्णयमा हामी पुग्यौँ’, धितालले भने। अब दर्शकहरूले विश्वकप हेर्न एउटा सेट अप बक्स बापत ५०० रुपैयाँ तिर्नपर्छ। नेपालमा २० देखि २१ लाखसम्म टेलिभिजन सेट अप बक्सहरू रहेको र त्यसमध्ये १० देखि १२ लाख टेलिभिजन प्रयोगकर्ताहरूले विश्वकपको प्रत्यक्ष प्रसारण हेर्न सक्ने अनुमान मिडिया हबले गरेको छ। नाफा कति हुन्छ ? मिडिया हबको प्रक्षेपण अनुसार १० लाख प्रयोगकर्ताहरूले मात्रै विश्वकप हेर्न शुल्क तिरे ५० करोडसम्म उठ्ने देखिन्छ। त्यसबाहेक विश्वकपको बिचमा प्रसारण गरिने विज्ञापन र टेलिभिजनलाई प्रसारण अधिकार दिन मिडिया हबले थप शुल्क लिन्छ। मिडिया हबका अध्यक्ष धितालका अनुसार नेपालमै प्रसारण अनुमति लिइएपछि विश्वकप फुटबल प्रसारण गर्ने विदेशी च्यानलहरू नेपालका टेलिभिजनहरूमा नआउने भएका छन्। ‘हामीले हिमालय टेलिभिजनलाई प्रसारण अधिकार दिँदै छौँ। त्यहाँबाट मात्र विश्वकप प्रसारण हुन्छ। अरू विदेशी च्यानल हाम्रोमा आउँदैन’, मिडिया हबका अध्यक्ष धितालले भने। फुटबलको अन्तर्राष्ट्रिय सङ्गठन फिफाले दक्षिण एसियाका लागि प्रसारण एकाधिकार दिएको भायकमले नै प्रसारण अधिकार नलिएका देशहरूमा विश्वकप आउने च्यानल उपलब्ध नगराउने धितालको दाबी छ। मिडिया हबले विश्वकप फुटबलको लागि अतिरिक्त शुल्क पठाउने जिम्मा केबल र डिस टेलिभिजन प्रसारकहरूलाई दिने भएको छ। ‘उपभोक्तामाथि ठगी हो’ एक जना उपभोक्ता अधिकारकर्मीले विश्वकप फुटबलको प्रसारणका लागि उपभोक्ता र विज्ञापन दुवैबाट शुल्क उठाएर मुनाफा कमाउने कार्य ठगी भएको दाबी गरेकी छिन्। ‘विज्ञापन पनि लिने अनि उपभोक्ताबाट पैसा पनि उठाउने काम चाहिँ ठगी हो। यसलाई सरकारले हस्तक्षेप गरेर नियमन गर्नुपर्छ’, कन्जुमर आई नेपालकी अध्यक्ष विमला खनालले भनिन्। ‘नियमन नभए त कुनै सूचना दिन पनि उहाँहरूले अतिरिक्त शुल्क लिने दिन आउँछ।’ तर प्रसारण अधिकार लिएको मिडिया हबका अध्यक्ष धिताल यस्तो आरोप अस्वीकार गर्छन्। ‘उपभोक्ताहरूले यसअघि सित्तैमा हेर्न पाउनुभएकाले यो पटक पनि सित्तैमा हेर्न पाउनुपर्छ भन्ने उहाँहरूको आग्रह स्वाभाविक हो। तर यो पल्ट त्यो अवस्था बनेन।’ ‘नयाँ अभ्यास होइन’ शुल्क तिरेर मात्र महत्त्वपूर्ण कार्यक्रमहरूको प्रसारण हेर्न मिल्ने अभ्यास नयाँ नभए पनि नेपालमा पहिलो पटक भएको केवल टेलिभिजन सेवा प्रदायकहरूको दाबी छ। ‘विदेशमा एउटै कतिपय प्रतियोगितामा एउटै खेलको पाँच देखि छ डलर तिरेर हेर्नुपर्ने पनि छन्। यो नयाँ कुरा हुँदै होइन संसार भरि त्यसरी नै हेरिन्छ नेपालमा चाहिँ पहिलो पटक हो’, नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घका अध्यक्ष सुधीर पराजुलीले भने। ‘विदेशमा सञ्चालन भएका कतिपय कार्यक्रमहरू अहिले पनि नेपालमा आउँदैनन्। एउटा नेपाली कम्पनीले नै ल्याएर देखाउन लागेपछि यसलाई हामीले प्रवर्द्धन गर्नुपर्छ।बीबीसीबाट ।

४ अर्ब लगानीमा टाईल्स उद्योग स्थापना हुँदै, कजारिया सेरामिक्स र रमेश कर्पबीच सम्झौता

काठमाडौं । भारतको नम्बर १. र विश्वको सातौँ ठूलो टाईल्स कम्पनी कजारिया सेरामिक्स र नेपालको प्रसिद्व व्यापारिक समूह रमेश कर्पबीच नेपालमा ठूलो टाईल्स उत्पादन कम्पनी स्थापना गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झाैतामा रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलान र कजारिया सेरामिक्सका अध्यक्ष/प्रबन्ध निर्देशक अशोक कजारियाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार कम्पनीले नेपालमा हालकै सवैभन्दा ठूलोटाईल्स उत्पादन कम्पनी स्थापना गर्ने छ जसको वार्षिक उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुनेछ । यस सम्झौता अनुसार दुवै कम्पनीको लगानी ५०/५० प्रतिशत हुनेछ र नेपालमै अत्याधुनिक उत्पादन कम्पनी स्थापना गर्न सम्बन्धित कम्पनीको तर्फबाट सम्झौता भएको हो । ४०० करोड लगानीको सिरामिक र भिट्रिफाइड टाईल्स उत्पादन गर्ने नवनिर्मित कारखानाको उत्पादन क्षमता ८ लाख वर्ग मिटर हुने र सन् २०२३ को अन्त्यसम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको कोर्पले जानकारी दिएको छ । नव निर्मित कारखाना भविष्यमा आफु निर्यातका लागि तयार हुने र नेपाली बजारको मागलाई पूरा गर्ने परिकल्पनाका साथ स्थापना हुँदैछ । यस बाहेक, नेपालमा उपलब्ध प्रमुख कच्चा पदार्थहरू टाईल्स उत्पादनमा प्रयोग गरिने बताइएकाे छ । नयाँ योजनाको बारेमा कजारिया सेरामिक्सका संयुक्त प्रबन्ध निर्देशक अशोक कजारियाले नेपाल आफ्नाे लागि महत्वपुर्ण बजार भएकाे बताए ।  ‘हामी यहाँ दुई दशकभन्दा बढी समयदेखि उपस्थित छौँ र यो कदमले नेपालको बजारमा हाम्रो उपस्थितिलाई अझ बलियो बनाउनेछ, यो परियोजना तत्काल शुरु गरी आउँदो २०२३ को अन्त्य सम्ममा सञ्चालनमा आउनेछ, हामी हाम्रा विश्वस्तरीय उत्पादनहरु नेपालमै प्रतिस्पर्धात्मक रुपमा उपलब्ध गराउन चाहन्छौँ,’ उनले भने । यस्तै, रमेश कर्पका कार्यकारी निर्देशक प्रतिक जलानले यो ऐतिहासिक परियोजना भएकाले यसले देशमा रोजगारी सृजना गर्न महत्वपूर्ण टेवा पु¥याउने बताए । ‘यो उद्योगबाट उत्पादित विश्वस्तरीय टाईल्स र अन्य उत्पादनहरु देशमै प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछ,’ उनले भने । त्यस्तै, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ताले नेपाललाई औद्योगिकीकरण गर्ने नेपाल सरकारको लक्ष्यलाई साकार बनाउन रमेश कर्प प्रतिबद्ध रहकाे बताए । ‘आयोजना शुरुवातसँगै देशको अर्थतन्त्र बढ्नुका साथै मुलुकमा ठूलो लगानीको वातावरण सृजना गर्नेछ र निकट भविष्यमा नेपालमा यस्तै अन्य ठूला लगानीहरु भित्रिनेछ भन्ने कुरामा विश्वस्त छौँ,’ उनले भने ।

आकर्षण पोखरेललाई प्रश्न : व्यवसायबाट राजनीतिमा किन ?

प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हाम्रो नेपाली पार्टीका इन्जिनियर आकर्षण पोखरेल पनि घर दैलो अभियानमा व्यस्त छन् । नेपालमा पर्यटन व्यवसायीका रुपमा परिचित पोखरेल निर्वाचित भएर राजनीति र विकासको परिभाषा परिवर्तन गर्ने धारणा राख्छन् । पोखरेलसँग विकासन्युजका लागि राजिव न्यौपाने र रिसव चौधरीले उनको उम्मेदवारी र एजेण्डाको विषयमा कुराकानी गरेका छन् । प्रतिनिधि सभाको लागि तपाईंले काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दिनु भएको छ, तपाईंको उम्मेदवारी किन ? निर्वाचन नजिकिएसँगै तपाईंको उम्मेदवारी किन भन्ने प्रश्न उठ्नु स्वाभाविक नै हो । अहिले समाजमा व्याप्त विकृति विसङ्गति छन् । आजका दिनमा पनि हामी विना नक्सा नै अगाडि बढी रहेका छौं । चाहे त्यो पूर्वाधार, सुशासन, सामाजिक लगायतका क्षेत्रमा होस् । हामी अगाडि बढ्नका लागि नक्सा चाहिन्छ । अगाडी बढ्ने मोडल चाहिन्छ । आजको समाजको समस्या के हो ? देखिरहेका समस्या के छन् ? यहाँ सडक, पानी, गुणस्तर शिक्षा आदि छैन । यहाँ छैन मात्रै छ । अभाव नै अभाव छ । यस्तो अवस्था किन आयो भने हामी विना नक्सा अगाडि बढ्यौं । त्यस करणले म संरचनात्मक राजनीतिमा विश्वास गर्छु । राजनीतिले एक अर्का बिचमा पर्खाल लगाउने, एकले अर्कालाई निषेध गर्ने जुन परिपाटी छ । त्यसलाई अब हटाउनु पर्छ । राम्रो कामको सुरुवात हामी सबैले गर्नुपर्छ । राम्रो काम गर्नको लागि पार्टी भनेर भएन । विज्ञता सबै ठाउँमा हुनुपर्छ । त्यो विज्ञता पार्टीको हुँदैन । त्यस कारणले राजनीति र विकासको परिभाषा परिवर्तन गर्नको लागि नै मेरो उम्मेदवारी हो । तपाईं पेशाले इन्जिनियर, व्यवसायिक क्षेत्रमा लगानी गरेको मान्छे एक्कासी राजनीति तर्फ किन लाग्नु भयो ? हो, पेशाले म इन्जिनियर । व्यवसायिक क्षेत्रमा पनि मेरो अनुभव राम्रो नै छ । म पनि आजको दिनमा एउटा जनता नै हो । नागरिकका समस्या पनि नजिकबाट नियालेको छु । म पनि जनता भएकै कारण जनताका समस्याहरू बुझेको छु । ती समस्याको समाधान गर्ने उपयाहरु पनि मलै देखेको छु । त्यसै कारणले पेशा र व्यवसाय सँगसँगै राजनीतिमा पनि आउनु पर्छ है भनेर उम्मेदवार बनेको हुँ । अहिले समाजमा प्रतिष्ठित अर्थात् समाजमा चिनिएका व्यक्ति ठूला राजनीतिक दलमा प्रवेश गरेर उम्मेदवार बनिरहेका छन्, तपाईं पनि एक व्यवसायी हो, त्यो रहर तपाईंमा आएकन की पत्याएनन् ? राजनीतिक दलले नपत्याएको हैन । जान नचाहेको हो । म स्वतन्त्र तरिकाले अगाडि बढ्दै थिएँ । तर, पछि मैले हाम्रो नेपाली पार्टीसँग जोडिएर लौरो अभियान अन्तर्गत नै उम्मेदवारी दिएको छु । सो पार्टी स्वतन्त्र उम्मेदवार युवाहरुकै सङ्गठन नै हो । एकैले केहि गर्न सकिँदैन, काम गर्नको लागि टिम चाहिन्छ भनेर नै सो पार्टीसँग जोडिएको हुँ । स्वतन्त्र भएर पनि सो पार्टीको लौरो अभियान अन्तर्गत नै चुनावी मैदानमा होमिएको हुँ । तपाईं उम्मेदवार हुनुभएको निर्वाचन क्षेत्रलाई कसरी बुझ्नु भएको छ ? तपाईंले मत पाउने आधारहरु के के छन् ? मैले मत आर्जन गरेर भोलि परिवर्तन गर्न सकिन भने मत पाएर कुनै अर्थ हुँदैन । यस पटकको प्रतिनिधिसभाको चुनावमा जनताको समस्यालाई नै बढी फोकस गरिरहेका छौं । धारा छन् पानी छैन, पानी छ, धारा छैन, पानीको पर्खाइमा हामी छौं । यस्ता किसिमका समस्या समाधान गर्नतर्फ मेरो ध्यान केन्द्रित छ । जनताले यो मान्छे योग्य छ, हाम्रो समस्याको समाधान गर्छ भन्ने लाग्छ भने मलाई मत दिनु होला । नभए म उम्मेदवार बन्दै गर्दा म पनि जनता हो । यहाँ मेरो जित र हार भन्दा समग्र जनताले जित्नु पर्छ । मभन्दा योग्य छ भने अर्कोलाई जिताउनुस् । सम्भवतः कसैले पनि आफूभन्दा योग्य उम्मेदवार अर्को छ भने उसलाई मत हाल्नुहोस् भनेर कोही उम्मेदवारले भन्दैन होला । त्यस कारणले फन्डा गरेर नराम्रो काम गरेर मत आर्जन गर्छु भन्दा पनि म यथार्थ छु । यथार्थ के हो भने बिग्रिएका भत्किएका चिजहरू बन्नु पर्छ । त्यो चिज बनाउने क्षमता र योग्यता मसँग छ । तपाईंले पनि अन्य राजनीतिक दलका उम्मेदवारहरूले भोट माग्ने तरिका जस्तै स्वास्थ्य, शिक्षा, खानेपानी, सम्पदा संरक्षण लगायतका विषयमा यी कामहरू गर्छु भन्नुभएको छ । सांसदहरुले नीति निर्माणमा पैरवी गर्ने हो की यो काम गर्छु भनेर भोट माग्ने हो ? तपाईंको पनि अन्यको जस्तै तरिका भएन र ? हामीले काम गर्छौं भन्दा पनि काम हुनुपर्छ भनेर भोट माग्ने हो । नीति र नियम नबनेको र भएका नीतिको कार्यान्वयन हुन नसक्दा आज हामी पछि परेका छौं । आज एउटा बाटो पिच गर्छौं, पिच गरेको २ महिनापछि भत्कन्छ । हामीले त्यो सडक दीगो हुने गरि बनाउने खालको नीति र नियमको निर्माण गर्नु पर्यो । देखिने कुरा चाहिँ म सडक बनाउँछु, यो काम गर्छु, त्यो कुरा हुनुपर्छ भन्ने भयो । तर, काम गर्ने निकायहरु धेरै छन् । काम गर्नको लागि हामीसँग स्थानीय तह लगायत धेरै संघ संस्थाहरु छन् । त्यसको लागि चाहिने आवश्यक पर्ने नीति नियम संसदमा गएर बनाउने कुरा गर्दै छु । तपाईंको क्षेत्रका अन्य उम्मेदवार पनि बलिया नै देखिन्छन्, उनीहरूलाई हराएर तपाईंले चुनाव जित्ने आधार के छन् ? मैले कसैलाई हराउने भन्ने छैन । जित्ने नजित्ने भन्ने कुरा भोलिका दिनमा मत परिणाम आइसकेपछि थाहा हुन्छ । क्षेत्र नं. ७ मा २९ जना उम्मेदवारहरू हुनुहुन्छ । यी सबैका साझा समस्या छन् । त्यो समस्याको समाधान नै जित हो । उम्मेदवार उठ्दै गर्दा उहाँहरूले यी समस्यामा कत्तीको ध्यान दिई रहनु भएको छ भनेन कुराको घोषणापत्र हेरेर अध्ययन गरिरहेको छु । ताकी उहाँहरूले भोलिका दिनमा चुनाव जित्दै गर्दा पनि मैले उहाँहरूलाई छुटेका कुरा जानेका कुरा भन्न सक्ने भएँ । मैले जित्दै गर्दा पनि आज उम्मेदवार उठ्ने व्यक्तिहरूले पनि केही सोच बिचार लिएर उठ्नु भएको छ । हामी सबै मिल्नु पर्याे । साझा एजेण्डा हुनु पर्याे । समस्या सबैको एउटै हो । त्यो समस्यालाई समाधान गर्नको लागि मिलेर अगाडि बढ्नु पर्छ । त्यस कारणले यहाँ हामीले कसैलाई हराउने भन्दा पनि आफू पृथक यथार्थमा रहेर आफ्नो क्षमताको उपयोग गरेर आफू जित्ने हो । आफू जित्दै गर्दा यहाँ हराउने भन्ने कुरा हुँदैन । नियम कागजमा हैन कार्यान्वयन लिएर गएर समस्याको समाधान हुनपर्छ । तपाईंले उठाउनु भएका एजेण्डाहरु के के हुन् ? म निर्वाचित भएपछि नीतिगत काम गर्छु भनेको छु । ‘जब सरल हुन्छ प्रशासन तब हुन्छ सुशासन’ भन्ने नारा सहितको घोषणपत्र सार्वजनिक गरेको छु । घोषणपत्रमा १० संकल्प सहितको एजेण्डा सार्वजनिक गरेको छु । प्रशासनिक निकायमा हामीलाई झन्झट पर्ने मात्र काम छन् । त्यही भएर सरल प्रशासनले सुशासन हुन्छ । जहाँ छ खाली त्यहाँ सुरु गरौं हरियाली भनेको छु । काठमाडौं आजको दिनमा कंक्रिट नै कंक्रिटको शहरको रूपमा परिणत भइसकेको छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका कुरा समावेश गरेको छु । कृषिमा एपीपीएको अवधारणा लिएको छु । अहिले देखिएका समस्याहरू नै मेरो संकल्पहरु हुन् । यी समस्याको समाधान म गर्छु । एउटा क्षेत्रका लागि होइन, देशकै लागि काम गर्छु भनिराखेको छु । व्यवहारिक समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ भनेर संकल्प प्रस्तावहरू तयार पारेर मतदाता समक्ष गएको छु । तपाईं केही समय अगाडि क्षेत्र नं. ४ वटा निर्वाचन लड्ने भनेर घोषणा गर्नु भएको थियो, तर अहिले ७ बाट उठ्नु भयो, यति अस्थीर किन ? हो, मैले पहिले क्षेत्र नं. ४ वटा निर्वाचन लड्ने भनेर घोषणा गरेको थिएँ । मेरो बसोबास क्षेत्र नं. ७ मा थियो । पछि म लौरो अभियानसँग जोडिएँ । लौरो अभियानमा जोडिएपछि उहाँहरूले पनि क्षेत्र नं. ७ नै तपाईंको लागि उपयुक्त हो भन्ने खालका सल्लाह दिनु भयो । मेरो पनि घर यही भएको कारण यहाँका स्थानीय नागरिकले पनि यसै क्षेत्रबाट तपाईं उम्मेदवारीको रूपमा उठ्नु पर्छ भन्ने प्रतिक्रिया दिन थाल्नु भयो । त्यहाँ कसैको दबाब प्रभाव भन्ने छैन । म जब ४ बाट उठ्ने भनेर घोषण गरेपछि ७ मा जदापनि कसैले उम्मेदवारीको घोषणा गरेको थिएनन् । काठमाडौंको एउटा क्षेत्रलाई मात्र सोचेर मात्र हुँदैन । समग्र काठमाडौंको एउटा मास्टर प्लान बन्न जरुरी छ । उपत्यका भरको एउटा साझा विकासका योजना हुनु पर्छ । त्यसले गर्दा ४/७ भन्दा पनि समग्र उपत्यकाका भरको नै मास्टर प्लानको विषयमा कुरा लिएर अगाडि बढि रहेको छु । अन्त्यमा, क्षेत्र नं. ७ का मतदानकर्तालाई के भन्न चाहनुहुन्छ ? सही नेतृत्व चुन्न नसक्दा आज हामी सबै हारिरहेको छौं । एउटा व्यक्ति जितेर जान्छौं । सम्पूर्ण जनता हारिरहेका छौं । मेरो क्षेत्रमा जति पनि उम्मेदवार हुनु हुन्छ, उहाँहरूको बारेमा बुझ्नुहोस् । यो एउटा अवसर पनि हो । तपार्इंहरुको हातमा एउटा ठूलो तागत छ । यो तागतलाई तपाईंहरु सबैले बुझिदिनुहोस् । हामीले छानेर नै प्रतिनिधि पठाउने हो । त्यो प्रतिनिधि पठाउनको लागि त्यो मान्छे योग्य छ कि छैन भन्ने कुरा बुझिदिनुहोस् । आज हामीले उसको योग्यता क्षमतालाई कदर नगरी गलत मानिसलाई जिताएर पठायौं भने फेरी भोलि ५ वर्ष पनि हामी यही अवस्थामा हुन्छौं । हामीले धेरै हार्यौं, अब हामी सबैले जित्न जरुरी छ ।

ग्लोबल आइएमई बैंकले ११.२५ प्रतिशत ब्याजदरमा पाँच अर्बको ऋणपत्र बिक्री गर्ने

काठमाडाैं । ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरकाे ११.२५ प्रतिशत व्याजसहित डिबेन्चर ल्याउने भएकाे छ । ५ वर्षकाे समय अवधिक भएकाे यस ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’  काे निष्काशन तथा बिक्री प्रबन्धकमा बैंकले सनराइज क्यापिटललाई नियुक्त गरेकाे छ । उक्त नियुक्ती बारे ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठकाबीच सम्झौता भएकाे छ ।