८ अर्ब पुग्यो विश्वको जनसंख्या
काठमाडाैं । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनाएकाे छ । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ।
मतदाता रिझाउने अन्तिम कसरतमा उम्मेदवार
भरतपुर । आसन्न निर्वाचनका लागि प्रचारप्रसार गर्ने अवधि तीन दिन मात्रै बाँकी छ । आइतबार हुने निर्वाचनको मौन अवधि बिहीबारदेखि सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार गर्न नपाइने भएपछि चितवनका उम्मेदवारे घरदैलो अभियानलाई तीव्र पारेका छन् । तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा गठबन्धन दल र एमालेबीच मूख्य प्रतिस्पर्धा हुने देखिए पनि यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चुनौती दिने मतदाताको आँकलन छ । प्रमुख राजनीतिक दलहरुले भरतपुरमा चुनावीसभा पनि सम्पन्न गरिसकेका छन् । सत्ता गठबन्धनले शनिबार सत्ता गठबन्धनले भरतपुरको गेष्टहाउस चौरमा जनसभा आयोजना ग¥यो भने सोही ठाउँमा नेकपा एमालेले सोमबार जनसभा सम्पन्न गर्यो । शनिबारको जनसभालाई सम्बोधन गर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै केही वर्ष यही गठबन्धन कायम रहने भन्दै आफ्ना उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वामगठबन्धनले चुनाव जित्नुपर्ने धारणा राखे । सोही कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई जनमत सङग्रहको संज्ञा दिँदै गठबन्धनका उम्मेदवार विजयी भए मात्र देशमा स्थायित्व कायम हुने बताए । उनले चितवनबाट गोरखा जानुको कारण बताउँदै आफू चितवनकै स्थायी बासिन्दा भएको प्रष्ट पारे । प्रचण्डले निर्वाचनपछि गठबन्धनको सरकार बन्ने बताउँदै उम्मेदवारहरुलाई मत मागे । गठबन्धनले सभा गरेको दुई दिनपछि सोही ठाउँमा एमालेले आयोजना गरेको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार निर्माण भएमात्रै देशमा स्थिर सरकार आउने दाबी गरे । गठबन्धन र एमाले दुवैका जनसभा सकिएपछि प्रमुख पार्टीका उम्मेदवार आज र भोलि जनमत धेरै भएको क्षेत्रमा केन्द्रित घरदैलो र कोणसभा गर्दैछन् । उम्मेदवार व्यक्तिगत रुपमा मतदाता भेट्ने र फोन गरेर समेत मत मागिरहेका छन् । घरदैलोका क्रममा भेट्न नपाएका मतदातालाई गठबन्धनका उम्मेदवारले फोनमार्फत कुरा गरेर मत मागिरहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका अन्तिम कसरतमा लागेको भन्दै पार्टीले कार्यकर्ता व्यापक रुपमा परिचालन गरेको जानकारी दिए । माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले धेरैभन्दा धेरै मतदाता भेटघाट गर्न उम्मेदवार घर–घरमा गइरहेको बताए । उनले निर्वाचनको सङ्घारमा कुन उम्मेदवारलाई मत दिने भन्ने निर्णय नगरिसकेका मतदातालाई आफ्नो पक्षमा पार्न गठबन्धनका पार्टी लागिरहेको जानकारी दिए । नेकपा एमाले चितवनका उपसचिव प्रकाश ढुङगानाले पार्टीका उम्मेदवार अवको तीन दिन घरदैलो र जनता भेटघाटमा नै केन्द्रित हुने बताए । उनले मौन अवधि सुरु हुनुभन्दा अगाडि तीन वटै निर्वाचन क्षेत्रमा मतदातालाई नै भेटघाटका कार्यक्रम तय गरिएको जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने यसपटक जनसभाको आयोजना नगर्ने तर घरदैलो र कोणसभा भने मौन अवधि सुरु हुनुभन्दा अघिसम्म गर्ने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले पार्टीले घरदैलोलाई नै प्राथमिकता दिएको भन्दै आज एक दर्जन बढी ठाउँमा भेटघाटका कार्यक्रम आयोजना गरिएको जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने अन्तिम कसरतका रुपमा मङ्सिर १ गते नारायणी नदी किनारमा जनसभा गर्ने जनाएको छ । पार्टी अध्यक्ष रवि लामिछानेले तीन दिन चितवन केन्द्रित घरदैलो गर्ने बताए । चितवनका तीनवटै निर्वाचन क्षेत्रमा स्वतन्त्र रुपमा उम्मेदवार बनेकाहरुले पनि मतदाता रिझाउन अन्तिम दौडधूपमा लागेका छन् । जिल्लामा चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । रासस
मंसिरमा बैंकको ब्याज स्थीर
काठमाडौं । मंसिरमा बैंकहरुको ब्याज स्थीर हुने भएको छ । मंगलबार बिहान बसेको नेपाल बैंकर्स संघ (एनबिए) को बैठकले ब्याजदर स्थीर राख्ने निर्णय गरेको हो । संघले मंसिरमा ब्याज घटबढ नगर्ने निर्णय गरेको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले विकासन्युजलाई जानकारी दिए । प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि ब्याजदर निर्धारण गर्न एनबिएको बैठक बस्ने गर्छ । सोही अनुसार मंसिरका लागि ब्याजदर निर्धारण गर्न मंगलबार बैठक बसेको हो । ‘मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय भएको छ,’ स्रोतले भन्यो, ‘सोही निर्णय अनुसार मंसिरका लागि पनि बैंकहरुले कात्तिककै ब्याजदर प्रकाशित गर्नेछन् ।’ अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दती खातामा १५.३३३ प्रतिशतसम्म ब्याज दिइरहेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याज तोकिएको छ । निक्षेपको ब्याजदर उच्च रहेकाले कर्जाको लागत पनि बढेको छ । हाल बैंकहरुले कर्जामा १८ प्रतिशतभन्दा बढी ब्याजदर लिने गरेका छन् । बैंकहरुले असोजमा विगत ७ महिनादेखि स्थीर रहेको ब्याजदर बढाएका थिए । कात्तिक महिनामा भने बैंकहरुले ब्याजदर स्थीर राखेका थिए । ब्याजदर बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । पछिल्लो समय ब्याजदर उच्च रहेको भन्दै घटाउन चौतर्फी दबाव रहेको छ । उद्योगी व्यवसायीहरु देशभर आन्दोलित छन् । सम्बन्धित समाचार: मंसिरमा के होला ब्याज ? निर्णय गर्न बैंकर्स संघको बैठक बस्दै
सूर्या लाईफको साधारणसभाले पारित गर्यो मर्जरको प्रस्ताव
काठमाडाैं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीकाे चाैधाैं वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेकाे छ । सभाले ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १ : ०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेकाे हाे । दुई कम्पनी एक आपसमा गाभिए पश्चात् जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ । सभाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाडाैं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा राख्ने प्रस्ताव पनि पारित गरेकाे छ । साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुको साथै आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेकाे छ । त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ मा सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४९९ रुपैयाँको कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम अनुमोदन समेत गरेको छ ।
४ दिन विद्यालय र सरकारी कार्यालय सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि ४ दिन विदा दिने निर्णय गरेको छ । सरकारले निर्वाचनको लागि मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो । मंगलबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । ‘मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था र विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि ५ गते सार्वजनिक विदा दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
तीन करोड २९ लाखको लागतमा निर्माण हुन लागेको जडीबुटी प्रशोधन केन्द्र अन्तिम चरणमा
भेरी । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवनको काम अन्तिम चरणमा पुगेको हो । भेरी करिडोरको बीचमा पर्ने भेरी नगरपालिका(१ कालेगाउँ धल्दामा निर्माण भइहेको प्रशोधन केन्द्रले यहाँका सर्वसाधारणलाई लाभान्वित बनाएको बारेकोट गाउँपालिका–२ का कालीबहादुर नेपालीले बताए । सरकारी स्वमित्वको यो प्रशोधन केन्द्रले यहाँका धेरै सर्वसाधारणलाई रोजगारी दिनुका साथै भेरी करिडोर हुँदै जिल्ला बाहिर जाने जडीबुटी जिल्लाभित्र नै प्रशोधन भएर बाहिर जाने अपेक्षा लिइएको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमका व्यापारी अहिले यहाँ प्रशोधन नहुँदा लुम्बिनी प्रदेशको नेपालगञ्जमा लिने गरेका छन् । तीन करोड २९ लाखको लागतमा उक्त भवन निर्माण हुन लागेको हो । भवन निर्माणलगत्तै अन्य उपकरण ल्याएर जडानको काम सुरु गरिने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले जनाएको छ । सरकारी स्वमित्वमा रहेको यो केन्द्रले जाजरकोटका साथै जुम्लालाई समेत सहयोग पुग्नेछ । जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण हुनबित्तिकै जाजरकोट हुँदै कर्णालीका सर्वसाधारण देशका विभिन्न ठाउँमा जाने बाटोसमेत खुल्ने छ । अहिले रहेको जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने सडकभन्दा जाजरकोट भएर सुर्खेत नेपालगञ्ज जानका लागि सात घण्टा बाटो छोटो हुने गर्दछ । कर्णालीको सबैभन्दा बढी जडीबुटी डोल्पा, जुम्लालगायतका साविकको कर्णालीमा बढी पाइने गर्दछ । डोल्पा र रुकुमपश्चिममा उत्पादन भएको जडीबुटीसमेत भेरी करिडोर हुँदै यहाँ ल्याउन सजिलो हुने गर्दछ । भेरी करिडोर नेपाल–भारतको सिमाना जमुनाहबाट सुरु भएर चीनको तिब्बतसम्मा जोडिने गर्दछ । त्रिदेशीय सडकका रूपमा लिइने भेरी करिडोरको जाजरकोटबाट स्तरोन्नति अहिले सुरु भएको छ । स्तरोन्नति सकिएपछि सबैभन्दा बढी जडीबुटी व्यापारीका साथै आर्थिक उर्पाजनका रूपमा स्थानीयवासीलाई पनि पर्नेछ । धल्दा रुकुमपश्चिम, सल्यान र डोल्पाको बीचमा भागमा पर्दछ । प्रशोधन केन्द्र बनेपछि सङ्कलित जडीबुटी प्रशोधन भई आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ । तीन जिल्लामा अमला, रिठ्ठा, काउलोको पात, चुत्रोको बोक्रा, पावन काउलो निकासी भएको छ । यस्तै रातो च्याउ, अल्लो, टिमुर, काँकडसिङ्गो, लोक्ता, कटुकी, सुगन्धवाल, चिराइतो र काउलो, बोझो, कुरिलो, गुच्ची च्याउ, पदमचाल, तिल्याइलो, विषजरा, यार्सागुम्बु र भृङ्गीराज देशका अन्य स्थानका साथै चीन र भारत निकासी हुँदै आएको छ । चिराइतो, पदमचाल, कटुकी, वनलसुन, सतुवा, सुनाखरी, सेतकचिनी, लोक्ता, अल्लो, सिटमुर, रिठ्ठाको सङ्कलन तथा निकासी भएको छ । प्रशोधन केन्द्रमार्फत् वार्षिक १० करोड रुपैयाँको व्यापार हुने अनुमान गरिएको छ । रासस
भालुवाङमा धमाधम संरचना तयार हुँदै, एक अर्ब २० करोड लगानी
लुम्बिनी । लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थान्तरण लागि संरचना तयारी गर्ने काम भइरहेको छ । राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई एक महिनाअघि सरस्वती माविमा स्थानन्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना मर्मत गर्ने कार्य भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले बताए । ‘शिक्षालयका पहिलेका थुप्रै भवन छन्, तिनै भवनलाई मुख्य मन्त्रालयलगायत अन्य मन्त्रालय राख्नका लागि संरचना तयार गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘अहिले मुख्यमन्त्रीको कार्यालयसहित मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवाससहित केही मन्त्रालयका लागि संरचना निर्माण गर्ने कार्य भइरहेको छ ।’ उनका अनुसार केही दिनदेखि संरचना मर्मत गर्ने कार्य भइरहेको हो । त्यस्तै प्रदेशसभा भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । प्राधिकरणका इञ्जीनियर विष्णु केसीका अनुसार भित्रको सबै काम पूरा भइसकेको र बाहिरको केही काम मात्रै बाँकी रहेको छ । त्यो पनि छिट्टै पूरा हुने उनले बताए । एक अर्ब २० करोड लगानीमा प्रदेशसभा भवन निर्माण भइरहेको हो । वाइवी स्टोन बिल्ड्रर्स प्रालिले उक्त निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन् । स्थायी राजधानी तोकिए पनि अहिलेसम्म भालुवाङबाट कामकाज हुनसकेको छैन । ग्रामीण तथा सहरी विकास मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा सरे पनि काम भने बुटवलबाट हुँदै आएको छ । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आवश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भई काम गर्दै आएको छ । त्यस्तै प्रदेश पूर्वाधार प्राधिकरणअन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ । विसं २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–८ र ९ वडालाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । जतिबेला एक वर्षभित्र स्थायी मुकामबाट काम सुरु हुने भनिएको थियो । तर त्यसो हुन सकेन । विसं २०५० मा स्थापना भएको राप्ती गाउँपालिका–५ स्थित राप्ती प्राविधिक शिक्षालय १६ बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहलसमेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । अहिले तिनै भवनलाई मर्मत गरेर मन्त्रालय चलाउने गरी तयारी थालिएको छ । रासस
तोलामा १ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।