तोलामा १ हजारले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले बृद्धि भई प्रति तोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ३० रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
कसरी भयो क्रिप्टो ‘किङ’ बैंकम्यान फ्राइडको पतन ?
एजेन्सी । साम ब्यांकम्यान फ्राइड क्रिप्टोकरेन्सी कारोबार गर्ने एक उच्च व्यापारी हुन् । पछिल्ला केही वर्षहरुमा उनको बाहामास स्थित कार्यालयहरुमा उनीसँग लामो–लामो अन्तवार्ता गर्नेको भीड नै लाग्यो । ती मध्ये कतिपय अन्तवार्ताहरु काममा नै बाधा पुर्याउने प्रकृतिका हुने गर्दथे । उनीसँग अन्तवार्ता लिनेहरुले उनी पछिल्ला ५ वर्षमा कसरी अर्बपति हुन सफल भए भन्ने कुरा सोध्ने गर्दथे । विवादित क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटिएक्सका पूर्व सञ्चालक ब्यांकम्यान एक सोखिन गेमर पनि हुन् । लामो क्रिप्टोकरेन्सी इतिहास यसैवर्ष पतन भएपछि ब्यांकम्यानको गेमिङको विषयमा पनि नयाँ किस्सा खुलासा भएको छ । भेन्चर क्यापिटल गेन्ट स्कोया क्यापिटलका अनुसार ब्यांकम्यान लगातार रुपमा लिग र लेजेन्डस्का गेमहरु उच्च गुणस्तरको भिडियो कलमार्फत् लगानीकर्ताहरुको समूहसँग खेल्ने गर्दथे । उनको कम्पनी एफटीएक्समा सो समूहले २ सय १० मिलियन डलर लगानी गरेको थियो । गत हप्ता मात्रै स्कोया क्यापिटलले आफ्नो पुरानो ब्लग हटाउँदै एफटिएक्सलाई घाटा भएको भन्दै रुपमा बन्द हुने जनायो । अहिले एफटिएक्समा लगानी गर्ने समूह मात्रै नभएर ब्यांकम्यानको ३२ बिलियन डलरको साम्राज्य नै ध्वस्त भएको छ । एफटिएक्समा अनुमानित १२ लाख दर्ता भएका प्रयोगकर्ताहरु रहेका थिए, जसले क्रिप्टोकरेन्सीको खरिद बिक्री तथा मुद्रा सटहीको काम गर्ने गर्दथे । अहिले ठूला ट्रेडरदेखि साना लगानीकर्ताहरुसम्मले एफटिएक्सको वालेटमा फसेको आफ्नो रकम पाउने वा नपाउनेमा चिन्तित भएका छन् । अहिले ब्यांकम्यानको उदय, विकास र पतन एउटा नाटकीय कथा जस्तै बन्न पुगेको छ । ब्यांकम्यानले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट फिजिक्स र गणितको अध्ययन गरेका थिए । उनले सोही विश्वविद्यालयको होस्टल बसाइबाट सिकेको विषयले नै उनलाई धनी बन्ने बाटोमा पुर्याएको थियो । पछिल्लो महिना बीबीसी रेडियोमा दिएको अन्तर्वार्तामा ब्यांकम्यानले आफू परोपकारी आन्दोलनमा लागेको बताएका थिए । उनी धेरै पैसा आर्जन गर्नको लागि बैंकिङ क्षेत्रमा प्रवेश गर्ने निर्णय गरेका थिए । उनले न्युयोर्कको जोन स्ट्रिटको एक ट्रेडिङ फर्ममा स्टक कारोबार गर्न सिकेका थिए, सोही क्रममा उनले बिटक्वाइनको अनुभव लिने निर्णय गरेका थिए । उनले क्रिप्टोकरेन्सी एक्सचेन्जरहरुमा मूल्यमा असमानता देखेपछि आफूले पनि एक्सचेन्ज कारोबारको शुरुवात गर्ने निर्णय गरेका थिए । एक्सचेन्जर व्यवसाय शुरु गरेको एक महिनामा राम्रो नाफा आर्जन गरेपछि ब्यांकम्यानले आफ्नो कलेजका साथीहरुसँग मिलेर अल्मेडा रिसर्च नामको एक ट्रेडिङ व्यवसायको शुरुवात गरेका थिए । ब्यांकम्यानका अनुसार उनले शुरु गरेको सो व्यवसाय प्राविधिक रुपमा सिमाहिन बोर्डर बैंकमार्फत कारोबार गर्ने विषय आफैमा निकै कठिन थियो । तर, सो ट्रेडिङ शुरु गरेको ३ महिनापछि नै ब्यांकम्यान र उनको समूहले निकै ठूलो सफलता हासिल गर्न पुग्यो । सन् २०१८ को जनवरीसँगै उनको समूहले दैनिक रुपमा १ मिलियन डलर आम्दानी गर्न शुरु गरेको थियो । सोही समयमा सिएनबीसीका एकजना बिजनेस रिपोर्टरले उनको व्यवसाय अनुभवको विषयमा ब्यांकम्यानसँग जिज्ञासा राखेका थिए । उनले आफ्नो व्यवसाय बौद्धिक र विधिबाट सञ्चालन भइरहेको बताउँदै आफु दैनिक रुपमा आश्चर्यचकित भएको बताएका थिए । ब्यांकम्यान उनको एफटिएक्स व्यवसायमार्फत सन् २०२१ मा अर्बपति तहमा उदय हुन पुगे । त्यतिबेला सम्म आइपुग्दा क्रिप्टोकरेन्सीको कारोबारमा उनको व्यवसाय विश्वकै दोस्रो ठूलो बन्न पुगेको थियो । जतिबेला उनको कम्पनीले दैनिक रुपमा १० देखि १५ बिलियन डलर बराबर कारोबार गर्ने गर्दथ्यो । सन् २०२२ को शुरुवातसम्म आइपुग्दा एफटिएक्सको मूल्य ३२ बिलियन डलर पुग्यो । ब्यांकम्यान आफ्ना ट्वीटरका फ्यानहरुलाई आफ्नो जीवनशैलीको बारेमा जानकारी गराउँदा निकै चर्चित भएका थिए । जतिबेला उनी आफ्नो कार्यालयमा स्टाफहरुसँगै बिनब्यागमा पल्टिएको फोटो पोस्ट गरेका थिए । पछिल्लो समय ब्यांकम्यानले ठूलो मात्रामा पैसा च्यारिटीमा लगाउन चाहेका थिए । यो विषय उनले पछिल्लो बीबीसीको अन्तवार्तामा अहिलेसम्म केही सय मिलियन सहयोग गरिसकेका थिए । उनको उदारताको कारण पछिल्लो ६ महिना यता उनलाई ‘क्रिप्टो ह्वाइट नाइट’ को नामले पनि चिनिन थालेको थियो । सन् २०२२ मा क्रिप्टोकरेन्सीको निकै ओरालो लाग्यो । अन्य कम्पनीहरु बजारमा उभिन नसक्दा ब्यांकम्यानले भने कारोबार गर्नेहरुलाई नगद भुक्तानी दिइरहेका थिए । उनले क्रिप्टो ओरालो लाग्ने कुरा दीर्घकालिन नहुने कुरा सिएनबीसीलाई बताएका थिए । सोही क्रममा उनले आफूसँग बचत रहेको २ बिलियन डलर घाटामा गइरहेका क्रिप्टो कम्पनीलाई सहयोग गर्ने बताएका थिए । तर, पछिल्लो हप्तासम्म आइपुग्दा ब्यांकम्यान पनि आफ्नो कम्पनी र ग्राहकको पैसा बचाउन कोशिश गर्नुपर्ने अवस्थामा आइपुगे । पछिल्लो समय क्वाइनडेस्क वेबसाइटको एउटा लेखले एफटिएक्सको वास्तविक वित्तीय अवस्थाको बारेमा सबैलाई सोच्न बाध्य बनायो । वाल स्ट्रीट जर्नलमा अल्मेडा रिसर्चले ग्राहकको निक्षेपलाई ऋणको रुपमा प्रयोग गरेको उल्लेख गरिएको थियो । एफटिएक्ससँग सबै टोकनहरु उसको प्रतिस्पर्धी बिन्यान्सलाई बेचेपछि एफटिएक्सको अन्त्यको शुरुवात भएको मानिन्छ । बिन्यान्सका प्रमुख कार्यकारी चाङपेङ झाओले आफ्ना ७.५ मिलियन फलोअर्सलाई कम्पनीले होल्डिङ बेच्ने बताएका थिए । जसका कारणले हजारौं ग्राहकहरुले एफटिएक्सबाट आफ्नो अरबौं डलर फिर्ता लिन थाले । एफटिएक्सले भुक्तानी दिन नसकेपछि ग्राहकहरुको माग अनुसारको भुक्तानी रोकिन थाल्यो, ब्यांकम्यानले कठिन अवस्था आउन अगाडि आफ्नो व्यवसायको विषयमा प्रतिस्पर्धी बिन्यान्ससँग सार्वजनिक रुपमा नै केही समझदारी गर्न खोजेका थिए । तर, गलत ढंगले नियन्त्रणमा लिइएको ग्राहकहरुको फन्ड र अमेरिकी एजेन्सीको अनुसन्धानको कारण सो प्रकृया अगाडि बढ्न नसकेको जनाइएको छ । यी प्रयासहरुको एकदिन पछाडि नै एफटिएक्स डुबेको घोषणा गरिएको थियो । त्यसपछि ब्यांकम्यानले श्रृंखलावद्धरुपमा नै माफी माग्दै ‘हामी यहिँबाटै समाप्त भयौं’ भनेर ट्वीट गरेका थिए । साथै उनले आफूहरुले गरेको कामबाट आश्चर्यचकित भएको बताएका थिए । पछिल्लो २ वर्षमा क्रिप्टोकरेन्सीको मूल्य निरन्तर रुपमा ओरालो लागिरहेको छ । एफटिएक्स जस्तो संस्थाको पतनले सो क्षेत्रसँग सम्बन्धित धेरैलाई सशंकित बनाएको छ ।
सडकआश्रित मानवको व्यवस्थापन गर्न काठमाडौं महानगर प्रतिबद्ध
काठमाडौं । काठमाडौं महानगरपालिकाले यहाँको सडकआश्रित मानव असहाय, बेसहाराको व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ । महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारीरूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उनीहरूको व्यवस्थापन कार्य गर्दै आएको र यो क्रमलाई थप प्रभावकारिताका साथ निरन्तरता दिने विषयमा महानगर र आश्रमबीच सोमबार छलफलसमेत भएको थियो । सडकआश्रित मानवको व्यवस्थापनका लागि भएको योजना तथा समीक्षा बैठकमा महानगर प्रमुख साहले भने, ‘बेसहारा मानिसको उद्धार र व्यवस्थापनमा काठमाडौं महानगरपालिका प्रतिबद्ध छ, त्यसका लागि आश्रमसँग सहकार्य भइरहेको र अझै प्रभावकारीरूपमा कार्य अघि बढाउने छौँ ।’ बैठकमा यसअघि भएका सहयोग तथा सम्झौता र त्यसको कार्यान्वयनका साथै सहयोगापेक्षी मानवहरूको व्यवस्थापनमा आश्रममाथि आइपरेका चुनौती र समाधानका विषयमा छलफल भएको थियो । पछिल्लो समयमा तीनै तहका सरकारबाट हातेमालोको प्रयास भइरहेको र केही सहयोगसमेत प्राप्त भए पनि त्यो अत्यन्त न्यून रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । काठमाडौं महानगरपालिकाको आर्थिक स्रोतमा नागार्जुन नगरपालिकाले जग्गा उपलब्ध गराई नागार्जुन नगरपालिकाभित्र सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रम निर्माण गर्ने सम्बन्धमा विगतमा सम्झौता भएको थियो । बैठकले नागार्जुन –६ मा आश्रमको भवन निर्माणका लागि जग्गाको स्वामित्व नेपाल सरकारबाट नगरपालिकाको मातहतमा ल्याउन बाँकी रहेकाले नगरपालिकालाई प्रक्रिया अगाडि बढाउन अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै सडकपेटी र सार्वजनिकस्थलबाट मानिसको उद्धार गरी आश्रम वा अस्पतालसम्म लैजान र आश्रममा रहेका व्यक्तिलाई अस्पतालसम्म ल्याउन र लैजानका लागि महानगरपालिकाले सञ्चालन गरिरहेको एम्बुलेन्स सेवा प्रयोग गर्ने र सडकआश्रित मानवहरूको अवस्थाबारे जानकारी लिन १०२ नम्बरको एम्बुलेन्स सेवाको हटलाइनलाई प्रयोग गरिने भएको छ । यस्तै आश्रमको खानेपानीमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्ने तथा अन्य समस्याका विषयमा समन्वययात्मक रूपमा बैठक बसेर समाधान गर्दै जाने विषयमा महानगर र आश्रमबीच समझदारीसमेत भएको जनाइएको छ । आश्रमले महानगरपालिकाका सडकबाट हालसम्म एक हजार सात सय बढीको उद्धार गरिसकेको छ । चार सय ५३ जनाको पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल आश्रममा दुई सय १३ जनाले सेवा पाइरहेका छन् ।
कर्मचारी नहुँदा नागरिकता एवं राहदानी वितरण स्थगित
रसुवा । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ । प्रशासनले सार्वजनिक सूचनामार्फत नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र प्रदान, संस्था दर्ता एवं नवीकरणलगायतका सबै सेवा आजदेखि आगामी मङ्सिर ४ गतेसम्म बन्द भएको जनाएको छ । निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न स्थानीय प्रशासन अह्रोरात्र तल्लीन रहेको र निर्वाचन कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभर मदिरा बिक्रीमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । जिल्लाको समग्र सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं नेपाली सेना विष्णुु दल गणले गस्ती कार्यलाई निरन्तरता दिइरहेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ विष्णुदल गणले निकुञ्ज क्षेत्रमा गर्नुपर्ने आफ्नो जिम्मेवारीका साथसाथै स्थानीय प्रशासनको आदेशमा विविध सुरक्षा सेवासमेत प्रदान गर्दै आएको छ ।आसन्न निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रशासनले जनाएको छ । जिल्लाका ५२ मतदान केन्द्र रहेका छन् ।
चुनावी नारामा सीमित धनकुटा विमानस्थल
धनकुटा । धनकुटा बेलहाराका ७० वर्षीय दोलनाथ ढकालले गाउँमा हेलिकोप्टर हेर्न कुदेको अझै बिर्सिएका छैनन् । तत्कालीन समयमा डाँडामा बसेको हेलिकोप्टरबाट मानिस ओर्लेर विमानस्थल बनाउन भन्दै दूरबीनले हेरेको घटना सम्झँदै उनी भन्छन्, ‘म करिब पाँच–सात वर्षको थिएँ । माथि डाँडामा हेलिकोप्टर आयो, मानिस ओर्लेर विमानस्थल बनाउन भनेर दूरबीनले हेरेँ ।’ तत्कालीन समयदेखि साविक बेलहारा गाविस हाल धनकुटा नगरपालिका वडा नं ९ को बेलहारा डाँडामा विमानस्थल बन्ने कुरा आजसम्म पनि चर्चामा नै छ । सर्वेक्षण भएको ६० वर्ष पुग्न लाग्दा पनि विमानस्थल नबन्दा अब भने विमानस्थल बन्ने कुरामा ढकाललाई पटक्कै विश्वास छैन । ‘खै अब बन्दैन होला केटाकेटीदेखि सुनेको, मर्नेबेला भइसक्यो’, उनले भने । विसं २०२२ मा पहिलोपटक विमानस्थल निर्माण गर्न लागि सर्वेक्षण गरिएको जनाइएको छ । उक्त स्थानमा विभिन्न कारण देखाएर विमानस्थल बन्न सकेको थिएन । पछिल्लो समयमा सो स्थानमा विमानस्थल निर्माण गर्नका लागि विसं २०५० देखि साविक जिल्ला विकास समितिले जिल्ला परिषद्बाट पहिलो नम्बरको आयोजनमा राखेर मन्त्रालयमा १८ वर्षसम्म निरन्तर माग गरेको थियो । नेपाल नागरिक उड्डयान प्रधिकरणले विसं २०६८ मा धनकुटाको विभिन्न तीन स्थानमा गरेको सर्वेक्षणपछि बेलहारा विमानस्थल निर्माणका लागि उत्कृष्ट देखाएको थियो । तर अहिलेसम्म काम अगाडि बढेको छैन । मन्त्रिपरिषदको बैठकले समेत बेलहारामा विमानस्थल बनाउने निर्णय गरेको थियो । विसं २०७१ मा इञ्जीनियर मणिगोविन्द श्रेष्ठको नेतृत्वमा आएको टोलीले गरेको विस्तृत सर्वेक्षणअनुसार बेलहारामा एक हजार तीन सयदेखि एक हजार पाँच सय मिटरसम्मको धावनमार्ग निर्माणका लागि सर्वेक्षण गरिएको थियो । त्यसताका धनकुटाको बेलहारामा विमानस्थल बन्ने कुरा पक्का जस्तै भएको थियो । विमानस्थल बन्ने कुरा चियागफ र दलका नेताको चुनावी नारामा मात्रै सीमित भएको जनाइएको छ । बेलहारा बाघखोरका ३० वर्षीया चन्द बस्नेत भन्छन्, ‘अरु बेला सुनसान हुन्छ, चुनाव आएपछि मात्र हल्ला हुन्छ’, उनले भने ।पछिल्लो समयमा पहल गर्ने मान्छे नहुँदा विमानस्थलको विषय त्यसै सेलाएर गएको वडाध्यक्ष टङक राईले बताए । यस स्थानमा बन्ने धावनमार्ग हिउँद र बर्खा दुवै मौसममा उडान भर्न सकिने र हावाको गतिको रोकावटबिना दुवै तर्फबाट उडान भर्न सकिने विशेषताको प्रतिवेदनमा उल्लेख छ ।बेलहरामा निर्माण हुने विमानस्थल विराटनगरबाट २२, तुम्लिङटारबाट २४ र भोजपुर विमानस्थलबाट १७ दशमलव ७४ नटिकल माइल टाढा रहेको छ । तात्कालीन अवस्थामा गरिएको सर्वेक्षणअनुसार विमानस्थल निर्माण गर्दा विस्थापित ४७ घरपरिवारको मुआब्जाबाहेक १७ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । रासस
झापाको कपडा पसलमा आगलागी हुँदा एक करोडको क्षति
झापा । झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो । राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा एक करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए ।
ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्छ : ओनसरी घर्ती
काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताएकी छन् । नेतृ घर्तीले ओली प्रधानमन्त्री हुँदा दुई-दुई पटक संसद् विघटन गरेकाले जनताले त्यसको दण्ड आसन्न निर्वाचनबाट दिनुपर्ने बताएकी हुन् । उनले कम्युनिष्ट पार्टीलाई फेरि फुटाउन र दुई तिहाई बहुमतको नजिक पुगेको आफ्नै सरकारको संसद्लाई दुई पटक विघटन गरेर मृत्यु शय्यामा पुर्याउनका लागि पुनः बहुमत चाहिएको हो ? भन्दै प्रश्न गरिन् । पूर्वसभामुखसमेत रहेकी घर्तीले पछिल्लो समयमा एमाले अध्यक्ष ओलीको तानाशाही प्रवृत्ति र कुकर्मको आसन्न निर्वाचनबाट जनताले दण्ड दिनुपर्ने बताइन् । उनले अध्यक्ष ओलीले राष्ट्रियता एजेण्डा कुनै पनि नबोकेको दाबी गरिन् । उनले हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटार छिराएको आरोप पनि लगाइन् । सोमबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा बालुवाटार बोलाएर विभिन्न सहमति गरेको आरोप लगाउँदै मध्यरातमा सामन्त गोयललाई बोलाएर गरिएको सहमति के हो भन्दै प्रश्नसमेत गरिन् । उनले प्रधानमन्त्री रहँदा ओलीले पाठ्यक्रममा चुच्चे नक्सा छाप्न नदिएको आरोपसमेत लगाइन् । उनले देशको पक्षमा र राष्ट्रको हित विपरित काम गर्ने ओली कसरी देशभक्त ? भन्दै प्रश्नसमेत गरिन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको साझा उम्मेदवारको रूपमा नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधि सभा उम्मेदवारसमेत रहेकी उनले एमाले अध्यक्ष ओलीले जनतामाझ बहुमत माग्नुका कारण नरहेको जिकिरसमेत गरिन् । नेतृ घर्तीले राज्यको समृद्धिका लागि गठबन्धनले सहमति, सहकार्य र एकताको राजनीति गर्न जरुरी रहेको पनि बताइन् ।
नुवाकोटमा आमाछोरीको हत्या अभियोगमा एकजना पक्राउ
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । उनका अनुसार ती व्यक्ति घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको छ । घटनालगत्तै उनी फरार रहेको पाएपछि काठामाडौंतर्फ जान लागेको समयमा आज बिहान पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याउन लागिएको छ । बीस वर्षीया सम्झना पाण्डे खतिवडा र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।