विकासन्युज

नेपालपे क्युआरमा २ लाखभन्दा बढी मर्चेन्ट आवद्ध

काठमाडौं । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपालपे क्युआरमा २ लाखभन्दा बढी मर्चेन्ट आवद्ध भएका छन् । छोटो समयमा २ लाखभन्दा बढी मर्चेन्टहरु कयुआरमा आवद्ध गरिनुले नेपालमा कयुआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने कम्पनीले जनाएकाे छ । नेपाल क्लियरिङ्ग हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआवद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपालपे क्युआरमा आबद्ध हुन सक्दछन् भने १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत स्क्यान एण्ड पे को सुविधा उपलब्ध रहेको छ ।

माघमा ६४ हजार बढीले लिए श्रम स्वीकृति, सबैभन्दा धेरै मलेसिया जादै

काठमाडौं । गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय ४७ पुरुष र पाँच हजार आठ सय ३७ जना महिला गरी कूल ६४ हजार दुई ८४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलोपटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । यसैगरी नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार एक सय २४ जना रहेको छ । जसमा चार हजार दुई सय ६६ जना महिला र ३४ हजार आठ सय ५८ जना पुरुष रहेको विभागले जनाएको छ । जसमा सबैभन्दा धेरै मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार सात सय ८३ जना रहेको छ । कतार जानका लागि १२ हजार सात सय चार जना, साउदीका लागि १० हजार पाँच सय ७६ जना, युएईका लागि नौ हजार सात सय ७० जना र कुवेतका लागि दुई हजार नौ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् । साइप्रसका लागि चार सय १७ जनाले, क्रोएसियाका लागि चार सय ७१ जनाले, जापानका लागि आठ सय ८२ जनाले, माल्टाका लागि दुई सय ७० जनाले, पोल्याण्डका लागि सात सय २० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि आठ सय चार जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर

काठमाडौं । नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै रहेको छ । नेपाल मेडिकल काउन्सिलमा २०२२ डिसेम्बर अन्त्यसम्म दर्ता भएका चिकित्सा पेसाको संख्याले नेपालमा महिला भन्दा पुरुष डाक्टरको संख्या दोब्बर भन्दा धेरै देखिएको हो । तथ्यांकअनुसार २०२२ को ३१ डिसेम्बर सम्म काउन्सिलमा एमबिबिएस गरेका २७ हजार आठ ८०५ जना चिकित्सक दर्ता भएका छन् । जसमध्ये १८ हजार ५२० जना पुरुष र नौ हजार २८५ जना महिला चिकित्सक दर्ता भएका छन् । त्यस्तै, काउन्सिलमा सोही समयसम्म विशेषज्ञ चिकित्सकहरु १० हजार ८० जना दर्ता भएका छन् । जसमध्ये एमडी÷एमएस गरेका पुरुष चिकित्सक ६ हजार सात सय १४ जना र दुई हजार ६२५ जना महिला चिकित्सक रहेका छन् । त्यस्तै, एमडीएस गरेका तीन सय ९६ जना पुरुष चिकित्सक र तीन सय ४५ जना महिला चिकित्सक रहेको काउन्सिलको तथ्यांकले देखाएको छ ।

राष्ट्रपति बन्नेबारे केही सोचिसकेको छैन : माधव नेपाल

भालुवाङ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएका छन् । दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी गर्दै उहाँले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको समेत दाबी गरे । ‘अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन’, उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।’ राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘पावर सेरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ, अरुकै लागि सधैँ बलिदान भइन्न ।’ अरुले फाइदा उठाउने कुरा मान्य नहुने उनको भनाइ छ । राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए । ‘प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन’, उनले भने, ‘अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए । ‘संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ’, उनले भने, ‘देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ ।’ रासस

अमेरिकन कम्पनी सेक्युरिटी पालकाे नेपालमा पनि सेवा सुरु

काठमाडाैं । नेपाली मूलका उद्यमीले अमेरिकामा स्थापना गरेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको छ। कम्पनीको अत्याधुनिक सुविधा सहितको सेक्युरिटी अपरेशन कमाण्ड सेन्टर मंगलबारदेखि औपचारिक रूपमा काठमाडौंमा सञ्चालनमा ल्याइएको छ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले रिवन काटेर केन्द्रको उद्घाटन गरेका छन् । अमेरिका स्थित सिलिकन भ्यालीमा केन्द्रीय कार्यालय रहेको कम्पनी सेक्युरिटी पालले नेपालमा पनि सेवा शुरू गरेको हो । कम्पनीका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुकार चन्द्र हमालले सिलिकन भ्यालीमा स्थापना गरेको करिब २ वर्षपछि नेपालमा पनि यसको शुरूवात गरेका हुन् । कम्पनीको उद्घाटन गर्दै राजदूत थम्पसनले सेक्युरिटी पालजस्ता कम्पनीले नेपालका निकै नै गतिशील उद्यमी तथा कम्पनीहरूलाई लाभ हुने बताए । उनले विश्वमा यस कम्पनीको उपस्थिति निकै आवश्यक रहेको भन्दै आफूले कम्पनीको उद्घाटन गर्न पाएकोमा खुशी व्यक्त गरे । कम्पनीले गत वर्ष क्राफ्ट भेन्चर्सको नेतृत्वमा २१ मिलियन डलरको सिरिज ए को लगानी घोषणा गरेको थियो । सोही अन्तर्गत कमाण्ड सेन्टरको निर्माण भएको हो । सेक्युरिटी पालले एप्टियो इंक, हाईहेल्लो इंक र मटेरियल सेक्युरिटी इंक पनि आफ्नो ग्राहक पोर्टफोलिओमा थपिएको जानकारी सहित बजारमा आएको छ । नेपाली बजारमा समेत सेवा शुरू गर्न पाउँदा खुशी लागेको कम्पनीले जनाएको छ । कम्पनीले उद्यमीका लागि अग्रणी संस्था बन्ने लक्ष्यसहित बजारमा आएको जनाएको छ । सुरक्षा समीक्षा कार्यका कारण आम्दानी र सुरक्षामा कहिल्यै कमी हुन नदिने सुनिश्चितता आफूले दिन चाएको कम्पनीले जनाएको छ । अनुभवी सुरक्षा विश्लेषकहरू आवद्ध यस कम्पनीले जापानी, जर्मन, स्पेनिस, पोर्चुगिज्, फ्रान्सेली लगायतका भाषामा समेत सेवा प्रवाह गर्ने छ । सेक्युरिटी पालले स्केलिङ कम्पनी र उद्यमहरूलाई सुरक्षा समीक्षा र प्रश्नावलीहरूको जटिल एवम् विकसित प्रकृतिको सामना गर्न मद्दत गर्छ । कमाण्ड सेन्टरले ग्राहक कम्पनीका सुरक्षा कर्मचारीहरूलाई सहयोग गर्ने कम्पनीको भनाइ छ । ‘सेक्युरिटी पालको अपरेशन कमाण्ड सेन्टरले डेटा सुरक्षाका लागि एप्टिओको प्रतिवद्धतालाई बलियो बनाउँछ,’ एप्टिओ इंकका एण्डी हचिसनले बताए । सेक्युरिटी पालका सीईओ हमालले सेक्युरिटी पाल सातै दिन, २४ सै घण्टा सञ्चालनमा रहने बताएका छन् । नेपाली बजारमा आफ्नो कम्पनीले विश्वसनीय सेवा दिनेमा ढुक्क रहेको समेत उनको भनाइ छ ।

रोहितको आक्रामक ब्याटिङ र सन्दिपको ४ विकेटले नेपाललाई जित, सिरिज क्लिनस्विप

काठमाडौं । नेपालले विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि २ विकेटले जित हासिल गरेको छ । कप्तान रोहित पौडेलको आक्रामक ब्याटिङले नेपालले २ सय १३ रनको लक्ष्य ४४.१ ओभरमा पूरा गरर जित हासिल गरेको हो । उनले अविजित ९५ रन हाने । १०१ बल खेलेका पौडेलले ७ चौका र ४ छक्का प्रहार गरे । नेपालले लिग–२ को शृंखला क्लिन स्विप गरेको यो पहिलो पटक हो । नेपालले शृंखलामा नामिबिया र स्कटल्यान्डमाथि २–२ खेलमा विजय हात पार्यो । बलिङतर्फ सन्दिप लामिछानेले चार विकेट लिए । लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिएका हुन् । करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १/१ विकेट लिए ।

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्टको सहभागिता

काठमाडौं । भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा लूब्रिकेन्ट्स पार्टनर गल्फ लुब्रिकेन्टको उत्साहजनक सहभागिता जनाएको छ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको नेपाल ल्युब आयलले दुगड ब्रदर्श एण्ड सन्स्द्धारा आयोजना भएको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको हो । उक्त सर्भिस क्याम्प माघ ८ देखि फाल्गुन ३ सम्म काठमाडौँ उपत्यका भरीका ६ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो । दुगड ब्रदर्श एण्ड सन्स्द्धारा भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र इन्जिन आयल चेन्ज प्रदान गरेको थियो । गल्फ लूब्रिकेन्ट्स भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युव पार्टनर रहेको र उक्त दुवै स्कूटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरिय गूणस्तरको ल्युव उत्पादन गर्दै आईरहेको छ । सो क्याम्पमा सहभागी १८०० भन्दा धेरै ग्राहक मध्ये ६ भाग्यमानी ग्राहकलाई नेपाल ल्युव आयल (गल्फ लूब्रिकेन्ट्स) को तर्फबाट लक्की ड्र मार्फत आकर्षक उपहार प्रधान गरिएको थियो। लक्की ड्र बाट निश्चल कार्की (भक्तपुर),  कृष्ण नगबशी (बनेपा),  राजेश प्रसाई (एकान्तकुना), शान्ति माया मगर (गहनापोखरी), अमीर मान भट्टाचार्य (झम्सिखेल), र  राजु गुरुङ (बालाजु) बिजेता भएका थिए । कम्पनीका अनुसार दूगड ब्रदर्श एण्ड सन्स्द्धारा संचालित यस क्याम्पमा सहभागिता जानउनूको मूख्य उद्धेश्य भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गूणवत्ता र उपादेयता सम्बन्धमा ससुचित गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन यो कार्यक्रम आयोजना गरिएको हो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।

खडेरीका कारण हिउँदे बालीको उत्पादन घट्दा किसान चिन्तित

पर्वत । लामो समयदेखि वर्षा नहुँदा पर्वतमा हिउँदे बालीनाली प्रभावित बनेका छन् । झन्डै पाँच महिनासम्म वर्षा नहुँदा कृषकहरुले लगाएको आलु, गहुँ, जौ, तोरी लगायतका हिउँदे खेतीको उत्पादन ह्वात्तै घटेको पाइएको छ । पर्वतमा यतिबेला खेतमा मकैबाली लगाउने बेला भएको छ । तर वर्षा नहुँदा धान काटेपछि बाँझै रहेको खेत जोत्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । व्यावसायिक तरकारी खेती गरेका कृषकहरुसमेत खडेरीका कारण नष्ट भएको गुनासो गरेका छन् । धेरै वर्षपछि यति लामो खडेरी परेको पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका कृषक रामप्रसाद सापकोटाले बताए । खेतमा मकै लगाउने बेला भइसके पनि वर्षा नहुँदा बाँझै राख्नुपरेको उनले बताए । गत असोजको अन्तिम सातापछि यस क्षेत्रमा वर्षा भएको छैन । जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका अनुसार विशेषगरी हिउँदे बालीनालीमा खडेरीले असर पु-याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै ठाउँमा उत्पादनमा निकै कमी आएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताइन् । उनका अनुसार बालीनाली उम्रिसकेपछि सिँचाइ गर्ने एउटा संवेदनशील अवस्था हुन्छ, त्यो समयमा सिँचाइ गर्न सकिएन वा वर्षा भएन भने बालीनाली मर्ने र उत्पादन नदिने समस्या हुने भएकाले सिँचाइ अनिवार्य गर्नुपर्दछ । ‘सिँचाइ भएका ठाउँमा पनि वर्षा भयो भने उत्पादन झनै बढ्छ’, थापाले भनिन् । पर्वतमा आकासे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएको गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारी खेती गर्नेहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको थापाले बताइन् । तेलहन बालीमा मात्र ३० प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आउने उनको अनुमान छ । त्यसैगरी लहरेबालीसमेत समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी कृषकहरु मारमा परेका छन् । उनका अनुसार जिल्लाको पातिचौर क्षेत्र र मिलनचोक क्षेत्र तथा दक्षिण पर्वतमा रहेका विभिन्न खोलाको नजिकका खेतबारीमा बाहेक सबै ठाउँमा खडेरीले असर परेको छ । कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकहरुसमेत चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि चैते धानका लागि बीउ राख्नसमेत नपाएको कृषकहरुले गुनासो गरेका छन् । जिल्लामा झन्डै आठ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको भए पनि खोला सुकेका कारण सिँचाइ नहरमासमेत पानी बन्द हुँदा झनै समस्या भएको छ । सानातिना मूलहरुको भरमा खेतीपाती गर्दै आएका कृषकहरुमा प्रचण्ड खडेरीका कारण मूल नै सुकेपछि झनै चिन्ता थपिएको शङ्करपोखरीका कृषक कुलप्रसाद तिवारीले जानकारी दिए । उनले भने, “मकै, चैते धान, बर्खे आलु, रोप्ने बेलासम्म पनि पानी नपरेपछि समस्या भएको छ ।” अर्कोतर्फ पिउने पानीका मुहानहरु सुक्न थालेका छन् । यो महिनाभरिमा वर्षा नहुने हो भने मकै खेती र लहरेबालीसमेत उत्पादन नहुने कृषि ज्ञान केन्द्रले जनाएको छ । खडेरीले यस वर्ष पर्वतमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आउने कृषि ज्ञान केन्द्रका प्रमुख थापाको अनुमान छ । रासस