विकासन्युज

ताप्लेजुङ कारागारमा क्षमताभन्दा ६ गुना बढी कैदीबन्दी

ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङमा क्षमताभन्दा झण्डै छ गुना बढी कैदीबन्दी बस्न बाध्य छन् । पच्चीस जना क्षमताको उक्त कारागारमा हाल एक सय ५५ कैदीबन्दी छन् । महिला कैदीबन्दी राख्ने ठाउँ अभावमा छिमेकी जिल्ला पाँचथरको फिदिम पठाउनुपर्ने बाध्यता रहेको जिल्ला कारागारका प्रमुख जेलर कुलेन्द्र खवासले बताए । कारागारमा हाल एक सय १५ कैदी र ४० थुनुवा छन् । कारागारमा जबर्जस्ती करणी मुद्दाका ३२ कैदी र १० थुनुवा, कर्तव्य ज्यान मुद्दाका २८ कैदी र छ थुनुवा, अपहरण मुद्दाका नौ, डकैती मुद्दाका सात तथा ज्यान मार्ने अभियोगका सात कैदी सजाय भुक्तान गरिरहेका छन् । ‘क्षमताभन्दा बढी कैदीबन्दी भएपछि कारागार व्यवस्थापनमा समस्या भएको छ’, जेलर खवासले भने । कारागारमा दरबन्दी अनुसारका कर्मचारी नभएको उनको भनाइ छ । नौ जनाको दरबन्दी रहेकामा हाल एक जेलर, एक कम्प्युटर अपरेटर र चार कार्यालय सहयोगी मात्र कार्यरत छन् । रासस

बिरामी सुरक्षासम्बन्धी सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्याण्ड प्रस्थान

काठमाडौं, फागुन १० । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी स्वीटजरल्याण्ड प्रस्थान गरेका छन् । स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी मंगलबार राति त्यसतर्फ गएका हुन् । सम्मेलनमा विश्वका विभिन्न देशका स्वास्थ्यमन्त्रीको सहभागिता हुने बताइएको छ । मन्त्रीसँगै मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेल र मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीसमेत गएका छन्। मन्त्री गिरी सम्मेलनमा भाग लिई यही फागुन १४ गते स्वदेश फर्कनेछन् ।

बागलुङ कालिका मन्दिर जिर्णोद्धार गरियो

गलकोट । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो । मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन् । दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरेको छ । मन्दिरको बाहिरी संरचनामा कलात्मकरुपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ । पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको र आगामी दिनमा अन्य संरचना पुरातात्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । ‘मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जिर्णोद्धारसँगै मर्मतसम्भार गरिएको हो’, उनले भने, ‘दुई चरणमा गरेर दुई महिनामा कलात्मक बनाइएको हो ।’ मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई कलात्मक बनाइँदै छ । सिमेन्ट र ढुङ्गाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरेर संरचना बनाउने योजना रहेको खड्का बताउँछन् । २६ लाख रुपैयाँको लागतमा मन्दिरको जिर्णोद्धार गरिएको हो । सत्तल निर्माणमा ७० लाख रुपैयाँ र हवनकुण्ड निर्माणमा १३ लाख रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ । मन्दिर जिर्णोद्वारपछि चिटिक्क देखिएको छ । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक वस्तुको प्रयोग गर्नुपर्ने समितिलाई स्थानीयवासीको सुझाव छ । रासस

भोजपुरको पौवादुङमाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका ३३ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको छ। सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको हो । नेपाल दूरसञ्चार प्राधिकरण र पौवादुङमा गाउँपालिकाबिच विद्यालयमा इन्टरनेट सेवा विस्तारको सम्झौता भएको हो। प्राधिकरणले प्रत्येक विद्यालयमा २० एमबीपीएस ननडेडिकेडेट सेवा प्रदान गरेको हो । सम्झौताअनुसार प्राधिकरणले एक विद्यालयमा पहिलो वर्षमा ७३ हजार नौ सयका दरले २४ लाख ३८ हजार रुपैयाँ बराबरको इन्टरनेट सेवा प्रदान गर्नेछ । त्यस्तै, दोस्रो वर्षमा प्रतिविद्यालय १८ हजार रुपैयाँका दरले छ लाख बराबररुपैयाँको इन्टरनेट सेवा प्रदान गर्ने पौवादुङमा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुनिता कटवालले जानकारी दिइन् । सामुदायिक विद्यालयमा इन्टरनेट सेवा विस्तारले बालबालिकालाई नवीनतम् प्रविधियुक्त शिक्षा लिन सहज हुने गाउँपालिका अध्यक्ष किरण राईले बताए । शिक्षालाई प्रविधिमैत्रीसँगै गुणस्तरीय बनाउन गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ । रासस

सहकारीमा सकारात्मक प्रवृत्ति प्रवद्र्धन गरौँ : डा रेग्मी

धनगढी  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी क्षेत्र देशको अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रूपमा स्थापित रहिआएकाले यसको प्रवद्र्धन गर्नु जरुरी  भएको बताएका छन् । धनगढीस्थित नवजीवन सहकारी संस्थाका पदाधिकारीसँगको अन्तक्रियामा उनले सहकारीको समन्यायिक विकासमार्फत देशमा आर्थिक–सामाजिक रुपान्तरण गर्ने क्षमता बढाउनुपर्ने बताए । सचिव रेग्मीले सहकारीका मूलभूत आदर्श र सिद्धान्तको व्यवहारिक प्रयोग एवं कानुनको परिपालना गर्ने परिपाटीको विकास तथा स्वअनुशासन परिपालना हुनसकेमा सामाजिक ऊर्जाका रूपमा रहेको यस क्षेत्रमा सुशासनको आयाममा समेत सकारात्मक सन्देश प्रवाह हुने धारणा राखे । देशको सवल अर्थतन्त्र निर्माण गर्न सहकारी अभियानलाई प्रभावकारीरूपले सञ्चालन गर्न सबै सरोकारवालाको सहकार्य अनिवार्य भएको उल्लेख गर्दै उनले सहकारीमा सकारात्मक प्रवृत्तिको प्रवद्र्धन र नकारात्मक प्रवृत्तिको नियन्त्रण गर्न जरुरी रहेको विचार प्रकट गरे। नवजीवन सहकारी संस्थाका अध्यक्ष देवबहादुर बमले अहिले संस्थाले दैनिक रु एक करोडको हाराहारीमा बचत सङ्कलन गर्नुका साथै किसानको हकहितमा कर्जा प्रवाह बचत सुरक्षा सुनिश्चित गरेको बताए। सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएकाले नवजीवन सहकारीले २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारसमेत प्राप्त गरेको थियो । रासस

करोडौँ लागतमा बनेको बसपार्क प्रयोगविहीन

ढोरपाटन । बागलुङमा धमाधम बजार विस्तार भइरहेका छन् । बढ्दो सहरीकरणका कारण बजार क्षेत्रमा यातायातका साधनको चाप पनि उस्तै छ । कुश्मिसेरा, बुर्तिबाङ, बरेङ, गलकोट, बडिगाडलगायत ठाउँ सडकले जोडिएपछि बजारले ठूलो रुप लिँदै छ । ती क्षेत्रमा बसपार्कको आवश्यकता बढ्दै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारमा पनि बसपार्कको आवश्यकता खड्किएको वर्षौँदेखि हो । त्यही आवश्यकतालाई मध्यनजर गरी नयाँ आधुनिक बसपार्क बन्यो । बागलुङ नगरपालिका–४ मा निर्माण गरिएको आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको दुई वर्ष बित्नै लाग्दा पनि कहिले सञ्चालनमा आउँछ भन्ने निश्चित छैन । अघिल्लो वर्ष असारमा बसपार्क निर्माण भएको थियो । बसपार्कसँगै यहाँ सुविधासम्पन्न टर्मिनल भवन बनेको छ । बसपार्क सञ्चालनमा नआउँदा यहाँ बनेका संरचना जीर्ण बन्दैछ । तर बसपार्क सञ्चालनमा ल्याउने स्पष्ट खाका बागलुङ नगरपालिकाले अझै बनाउन सकेको छैन । बजार क्षेत्रमा बढ्दो सवारी चापले गर्दा दुर्घटना जोखिम उत्तिकै बढेको छ । बसपार्क छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीयले माग गर्दै आए पनि सम्बन्धित निकायले सुनेको छैन । बसपार्क सञ्चालनमा आए बागलुङ बजारको सौन्दर्यता बढ्ने देखिन्छ । जग्गादाता र बागलुङ नगरपालिकाबीच भएको सहमति कार्यान्वयन नहुँदा अहिलेसम्म बसपार्क सञ्चालनमा आउन नसकेको स्थानीयको भनाइ छ । बसपार्क सञ्चालनमा आउनुअघि सम्झौता कार्यान्वयन गर्नुपर्ने स्थानीय गोविन्दबहादुर जिसीको भनाइ छ । स्थानीयले बागलुङ नगरपालिकासँग १२ बुँदे सम्झौता गरी ५२ रोपनी जग्गा निःशुल्क दिएका थिए । त्यसमध्ये १७ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको छ । नगरपालिकासँगको सम्झौतामा उनीहरूले बसपार्क निर्माण गर्न जग्गा दिएवापत त्यस क्षेत्रमा बाँकी रहेको ३५ रोपनी जग्गालाई घडेरी बनाइदिनुपर्ने, बाटोको निकास दिनुपर्नेलगायतका १२ बुँदे सम्झौता भएको थियो । जिसी भन्छन्, ‘यो बसपार्क निर्माणका लागि हामी विसं २०५९ देखि नै लागेका हौँ, जग्गा व्यवस्थापन गर्न धेरै समय लाग्यो, धेरै समयपछि बसपार्क पनि निर्माण भयो, अब सञ्चालनमा आउँछ भन्ने अपेक्षा थियो, तर अहिलेसम्म संरचना बने पनि बस चल्न सकेका छैनन्, नगरपालिकाले सम्झौता कार्यान्वयन नगर्दा अहिले यो परिस्थिति सिर्जना भएको छ ।’ जिसीले बसपार्क सञ्चालन गर्न स्थानीयले कुनै पनि अवरोध नगरेको बताए । नगरपालिकाले काम गर्न नसक्दा यो समस्या भएको उनको भनाइ छ । बसपार्क बनेर बाँकी रहेको जग्गा स्थानीयलाई फिर्ता गर्नुपर्ने उनी बताउँछन् । संरचना बने पनि यत्तिकै रहिरहनु दुःखद् भएको जिसीको भनाइ छ । स्थानीय सन्तोष जिसीले सम्झौता कार्यान्वयन गर्न नसक्दा बसपार्क सञ्चालनमा आउन नसकेको बताए । उनले नगरपालिकाले जग्गा फिर्ता नगरिदिँदा आफूहरूले जग्गामा अन्नबाली उब्जाउ गर्न नपाएको, जग्गा धितो राखेर अन्य व्यवसाय गर्न नपाएको, छोराछोरी तथा आफन्तलाई पढाउन नसकेकोलगायतका समस्या भोग्नुपरेको गुनासो पोखे । ‘बसपार्क बनेपछि यस क्षेत्रका जनतालाई सुविधा होला, बजार व्यवस्थित होला भन्ने लागेर जग्गा दिएका थियौँ, पालिकाले सम्झौता कार्यान्वयन नगर्दा हामी स्थानीयवासी ठूलो समस्यामा परेका छौँ’, उनले भने, ‘बसपार्क पुग्ने सडक साढे चार मिटर भनिएको थियो छ मिटर बनाएको छ, सबैतिरबाट स्थानीय नै मारमा पर्ने स्थिति आउँदा पनि बसपार्क सञ्चालन गर्न दिएका थियौँ ।’ बागलुङ नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बसपार्क सञ्चालनका विषयमा लामो समयदेखि छलफल भइरहेको बताए । बसपार्क निर्माणका सन्दर्भमा विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा परेकाले नगरपालिकालाई काम गर्न केही असहज भएको नगरप्रमुख श्रेष्ठको भनाइ छ । बसपार्क सञ्चालनमा नआउँदा नगरले बर्सेनि ब्याजका रूपमा करोडौँ गुमाएकाले छिट्टै सञ्चालनमा ल्याउने उनी बताउँछन् । बसपार्क नगर विकास कोषको आठ करोड ७० लाख ऋण लगानीमा निर्माण गरिएको थियो । बसपार्कको आशिष फेवा जेभीले निर्माणको ठेक्का लिएर काम गरेको थियो । आधुनिक बसपार्कसँगै यहाँ टर्मिनल, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेजसमेत निर्माण गरिएको छ । यहाँ ६० ठूला बस, १० माइक्रोबस एकैसाथ अटाउने छन् । रासस

१७ बीमा कम्पनीका कर्मचारीलाई ३५ करोड बोनस, कुनले बढाए, कुनले घटाए ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई कूल ३५ करोड ७ लाख रुपैयाँ बराबरको बोनस छुट्याएका छन् । सञ्चालित १८ निर्जीवन बीमा कम्पनीमध्ये १७ वटा कम्पनीले चालु आवको ६ महिनामै ३५ करोड रुपैयाँ बढी बोनस कर्मचारीको लागि प्रोभिजन गरेका हुन् । नेशनल इन्स्योरेन्स बाहेक अन्य कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार उक्त बोनस रकम अघिल्लो वर्षको तुलनामा १४.३० प्रतिशतले बढी हो । १७ वटा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा ३० करोड ६५ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेका थिए । यो बोनस सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले पास गरेपछि मात्रै कर्मचारीहरुलाई वितरण गरिने व्यवस्था छ । उक्त तथ्यांकअनुसार सबैभन्दा बढी बोनस राष्ट्रिय बीमा कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । सो कम्पनीका कर्मचारीलाई ३ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस व्यवस्था गरिएको छ । जुन अघिल्लो वर्षको पुस मसान्तसम्मको तुलनामा ८४.०३ प्रतिशतले बढी हो । अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले २ करोड ३ लाख रुपैयाँ बराबरको बोनस पाएका थिए । त्यस्तै, कर्मचारीलाई बढी बोनसको व्यवस्था गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स रहेको दोश्रोमा छ । गत आवको पुससम्ममा ३ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस व्यवस्था गरेको कम्पनीले चालु आवको पुससम्ममा ३ करोड ३६ लाख रुपैयाँ व्यवस्था गरेको छ । जुन ३.४० प्रतिशतले घटी हो । त्यसैगरी, तेश्रोमा नेको, चौथोमा सगरमाथा र पाँचौं सूचीमा प्रिमियर इन्स्योरेन्स रहेका छन् । चालु आवमा नेकोले २ करोड ९४ लाख, सगरमाथाले २ करोड ८४ लाख र प्रिमियर इन्स्योरेन्सले २ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस छुट्याएका छन् । गत आवमा भने क्रमशः २ करोड १४ लाख, २ करोड ८२ लाख र २ करोड १३ लाख रुपैयाँ छुट्याइको छ । सबैभन्दा कम बोनस छुट्याउनेमा प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । इन्स्योरेन्सले चालु आवको ६ महिनामा कर्मचारीलाई ६३ लाख ७८ हजार रुपैयाँ बराबरको बोनस छुट्याएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३६.९६ प्रतिशतले घटी हो । जुन गत आवको पुससम्ममा एक करोड १ लाख रुपैयाँ बोनस कर्मचारीलाई छुट्याइएको थियो । गत आवको पुसको तुलनामा चालु आवमा तीन कम्पनीले कर्मचारी बोनस घटाएका छन् । शिखरले ३.४० प्रतिशत, ओरियन्टलले ३४.१४ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सले ३६.९३ प्रतिशतले कर्मचारी बोनस घटाएका छन् । चालु आवको कर्मचारी बोनस व्यवस्थामा छुट्याइएको रकम भने प्रोभिजनिङ मात्रै गरिएको हो । यो नै वास्तविक हो भन्ने हुँदैन । सम्बन्धित कम्पनीहरुको वार्षिक साधारण सभाले पारित गरेको वित्तीय विवरणमा कर्मचारी बोनस व्यवस्थामा छुट्याइएको रकम भने वास्तविक हुने एक जानकारले बताए । र, उक्त रकम सम्बन्धित कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने छन् । कम्पनीहरुको नाफा बढेसँगै कर्मचारीहरुले पाउने बोनस पनि बढ्छ । कम्पनीहरुले कूल बोनसको १० प्रतिशत रकम कर्मचारीलाई छुट्याउनु पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र कर्मचारीलाई वितरण गरिसक्नु पर्ने प्रावधान छ । सामान्यतय कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न भएको दिनमा कर्मचारीहरुलाई बोनस वितरण गर्ने गरेको बीमाका जानकारले बताए ।

आत्मनिर्भर लघुवित्तको आईपीओमा ८ जनालाई ११ कित्ता सेयर

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ फागुन ८ गते बाँडफाँट गरेको हो । लघुवित्तले माघ १६ गतेदेखि फागुन २ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २० हजार ३३८ कित्ता सेयर निष्काशन गरेको थियो । लघुवित्तको आईपओमा २ हजार ३३ जना आवेदन दिएका थिए । रितपूर्वक आवेदन परेका आवेदकलाई १० कित्ताका दरले २० हजार ३३० कित्ता सेयर बाँडफाँट गरिएको हो । बाँकी रहेको ८ कित्तालाई १० कित्ताभन्दा बढि आवेदन दिने ८ जनालाई वितरण गरिएको छ । ८ जनाले ११ कित्ता सेयर प्राप्त गरेका छन् । लघुवित्तको आईपीओ नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेभसाइट र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको वेभसाइट ष्उयचभकगति।अमकअ।अयm।लउ बाट हेर्न सकिन्छ ।