विकासन्युज

राष्ट्र बैंकको मौद्रिक नीतिमा सिबिफिन सन्तुष्ट, थप सुधारको अपेक्षा

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय क्षेत्र र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै सिबिफिनले मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलनलाई केन्द्रमा राख्दै सन्तुलित मौद्रिक कार्यदिशा अवलम्बन गरेको जनाएको हो । विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई उत्साहित गर्ने विभिन्न नीतिगत व्यवस्था समेटिएको भन्दै परिसंघले मौद्रिक नीतिको स्वागत गरेको छ । सिबिफिनका अनुसार रुग्ण उद्योगसँग सम्बन्धित निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, नीतिगत दर, बैंक दर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधा (एसएलएफ) यथावत् राख्ने निर्णयले आर्थिक स्थायित्व कायम गर्न सहयोग पुग्नेछ । यस्तै, बैंक शाखा खोल्ने तथा बन्द गर्ने प्रक्रियालाई थप लचिलो बनाउने, बैंकिङ सेवाको डिजिटलाइजेसनलाई प्रोत्साहन गर्ने, विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खोल्ने तथा विदेशी मुद्रा खरिद व्यवस्थापनसम्बन्धी नीतिगत व्यवस्थालाई परिसंघले दूरदर्शी र सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ । यद्यपि, जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पुँजीकोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारसम्बन्धी आफूले दिएका केही सुझाव मौद्रिक नीतिमा समेटिन नसकेको सिबिफिनले जनाएको छ । परिसंघले ती विषयमा नेपाल राष्ट्र बैंकले आवश्यक अध्ययन गरी आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ । त्यसले बैंकिङ क्षेत्रमाथिको पुँजीगत दबाब कम गर्न, निष्क्रिय कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउन, निजी क्षेत्रमा कर्जा प्रवाह बढाउन तथा सरकारको आर्थिक विस्तारको लक्ष्य हासिल गर्न सहयोग पुग्ने सिबिफिनको अपेक्षा छ । साथै, मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र सक्षम बनाउन तथा निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य र आवश्यक सुझाव दिन आफू प्रतिबद्ध रहेको सिबिफिनले जनाएको छ ।

कर हटाउन माग गर्नेले कहाँ लगाउने भन्ने विकल्प पनि दिनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर हटाउन माग गर्नेले त्यसको विकल्प पनि दिनुपर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । कर संकलनबिना राज्य सञ्चालन गर्न नसकिने उल्लेख गर्दै उनले कर हटाउनुपर्ने माग गर्ने सांसदहरूले कर कहाँ लगाउने भन्ने सुझाव पनि दिन आग्रह गरे । सरकारले नागरिकलाई असर पर्ने गरी कहीँ पनि कर नलगाएको पनि उनले दाबी गरे । सरकारको लक्ष्य प्रतिस्पर्धा बढाउने, लागत घटाउने र भौतिक पूर्वाधार विकासमा सहजीकरण गरेर उपभोक्ताले तिर्नुपर्ने मूल्य घटाउने रहेको उनको भनाइ छ । करका विषयमा वैकल्पिक र व्यावहारिक सुझाव आएमा त्यसलाई सम्बोधन गर्न सरकार तयार रहेको उनले बताए । उनले भने, 'कर नै नउठाईकन राज्य चल्दैन, कहीँ त उठाउनुपर्‍यो। माननीयज्यूहरूलाई मेरो विनम्र अनुरोध छ, कर उठाउन हुँदैनथ्यो भन्दै गर्दा कहाँ उठाउनुपर्ने हो, त्यो पनि सुझाव दिनुहोला। त्यस्तो सुझाव आयो भने राम्रो होला । हामीले गर्ने काम प्रतिस्पर्धा बढाउने, लागत घटाउने र भौतिक पूर्वाधारमा राज्यले सहजीकरण गरोस्, ताकि उपभोक्ताले तिर्ने मूल्यमा त्यसको सकारात्मक समायोजन होस् ।' उनले दूरसञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएका कर दुर्गम क्षेत्रमा सोही क्षेत्रका पूर्वाधार निर्माणका लागि प्रयोग गरिने पनि बताए ।  

त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने नेपाली राइड सेयरिङका चालक

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट अगाडि आत्मदाह प्रयास गर्ने गणेश नेपाली राइड सेयरिङको चालक रहेको खुलेको छ । नेपालीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अनलाइन प्लेटफार्ममार्फत मोटरसाइकबाट यात्रु ओसारपोसारको काम गर्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएको खुलेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । राइड सेयरिङका चालक भएकाले विभागका वरपर ग्राहकको खोजीमा पुगेको हुन सक्ने उनले बताए । घटनाको बारेमा प्रहरीले बुझ्ने प्रयास गरिरहेको छ ।   प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् । घटनालगत्तै प्रहरीले उनको उद्धार गरी काठमाडौंको महाबौद्धस्थित वीर अस्पताल पुर्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित

काठमाडौं । मेटलाइफ नेपाल लगातार दोस्रो वर्ष ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्रबाट सम्मानित भएको छ । कम्पनीका अनुसार यो प्रतिष्ठित मान्यता पूर्ण रूपमा कर्मचारीहरूले आफ्नो कार्य अनुभवका आधारमा दिएको प्रत्यक्ष प्रतिक्रियामा आधारित हो । यस वर्ष ८७ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई काम गर्नका लागि उत्कृष्ट कार्यस्थलका रूपमा मूल्यांकन गरेका छन् । ‘ग्रेट प्लेस टु वर्क’ कार्यस्थलको संस्कृति, कर्मचारी अनुभव तथा संस्थागत नेतृत्वका उत्कृष्ट अभ्यासको मूल्यांकन गर्ने विश्वव्यापी संस्था हो । यसले संस्थाको व्यावसायिक सफलता, कर्मचारीलाई दीर्घकालसम्म संस्थामा आबद्ध राख्ने क्षमता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यसंस्कृतिको आधारमा मूल्यांकन गर्ने गर्छ । ग्रेट प्लेस टु वर्ककी विश्वव्यापी मान्यता सम्बन्धी उपाध्यक्ष सारा लेविस–कुलीनले यो प्रमाणपत्र कर्मचारी अनुभवलाई निरन्तर उत्कृष्ट बनाइराख्ने संस्थाले मात्रै प्राप्त गर्न सक्ने प्रतिष्ठित उपलब्धि भएको बताइन् । कर्मचारीहरूको वास्तविक प्रतिक्रियाका आधारमा प्रदान गरिने आधिकारिक मान्यतामध्ये यो एक भएको उल्लेख गर्दै उनले मेटलाइफ नेपालले लगातार दोस्रो वर्ष यो उपलब्धि हासिल गर्नुले कम्पनीले उत्कृष्ट कार्य वातावरण निर्माण गरेको पुष्टि हुने बताइन् । मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले लगातार दोस्रो वर्ष यो मान्यता प्राप्त हुनु कम्पनीका लागि गौरवको विषय भएको बता ए। उनले कर्मचारीहरूको विश्वास, समर्पण र सहकार्य नै यस सफलताको आधार भएको उल्लेख गर्दै प्रत्येक कर्मचारीले आफूलाई सम्मानित, सशक्त र आफ्नो क्षमता विकास गर्न सक्ने समावेशी कार्य वातावरण निर्माणमा कम्पनी प्रतिबद्ध रहेको बताए । कम्पनीका अनुसार गत एक वर्षमा आधुनिक प्रविधियुक्त प्रधान कार्यालय स्थापना गर्नुका साथै कर्मचारी स्वयंसेवा सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी कार्य वातावरण थप सुदृढ बनाइएको छ । यस अवधिमा ९१ प्रतिशत कर्मचारीले मेटलाइफ नेपाललाई उत्कृष्ट कार्यस्थल, ९६ प्रतिशतले शारीरिक रूपमा सुरक्षित कार्यस्थल तथा ९४ प्रतिशत कर्मचारीले कम्पनीमा काम गर्न र समाजप्रति कम्पनीले पुर्‍याएको योगदानप्रति गर्व महसुस गरेको जनाएका छन् । ग्रेट प्लेस टु वर्कको अनुसन्धानअनुसार प्रमाणित संस्थामा काम गर्ने कर्मचारीले उत्कृष्ट नेतृत्व पाउने सम्भावना ४.५ गुणा बढी हुने, कामप्रति उत्साहित हुने सम्भावना ९३ प्रतिशत बढी हुने तथा निष्पक्ष पारिश्रमिक, पदोन्नति र संस्थाको सफलताबाट लाभ प्राप्त गर्ने अवसर पनि अन्य कार्यस्थलको तुलनामा उल्लेख्य रूपमा बढी हुने उल्लेख गरिएको छ ।  

चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत भएको छ । प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा बिहीबार (आज) सम्पन्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औं बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि, २०८३ स्वीकृत गरेको हो। बैठकमा आयोगका नवनियुक्त उपाध्यक्ष डा. देवेन्द्र खत्रीले कार्यविधि स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पेस गरेका थिए । बैठकको सहअध्यक्षता स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गरेका थिए ।

२२९ कम्पनीको सेयर मूल्य घट्यो, साढे ४ अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १९ अंकले घटेर २६०१ बिन्दुमा झरेको छ ।  नेप्सेका अनुसार ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३६१ कम्पनीको ८७ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आइएमई बैंकको ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै १०.७५ प्रतिशत एसबीएल डिभेन्चरको २८ करोड र ८.५ प्रतिशत बुक डिभेन्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज उपकार लघुवित्तको सेयर मूल्य १२.६८ र स्नो रिभर्सको सेयर मूल्य ११.७६ प्रतिशतले घटेको छ ।    

राहदानी विभाग अगाडि युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाए

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको गेट नम्बर ३ अगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । प्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर आफ्नै शरीरमा आगो लगाएका हुन् । घटनालगत्तै प्रहरीले उनको उद्धार गरी काठमाडौंको महाबौद्धस्थित वीर अस्पताल पु‍र्याएको छ । अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार उनी हल्का बोल्न सक्ने अवस्था भए पनि अवस्था गम्भीर रहेको छ ।  शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी नै छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साउन १५ देखि घरघरमै स्वास्थ्य सेवा

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी साउन १५ गतेदेखि बालबालिका, अशक्त व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीमार्फत घरघरमै  स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।       नगरप्रमुख चिरीबाबु महर्जनले स्वास्थ्यमा कुनै समस्या आएमा  महानगरको हटलाइन फोन नम्बर ११३१ मा सम्पर्क गर्न नगरवासीलाई अनुरोध गरेका छन् ।    तोकिएको हटलाइनमा बिमारीका फोन नं. प्राप्त हुनासाथ महानगरको एम्बुलेन्स, चिकित्सक, नर्स र आवश्यक औषधिसहितको स्वास्थ्य टोली बिरामीको घरमै पुगी उपचार गर्नेछन् ।      चिकित्सकले बिरामीका अवस्थाअनुसार उपचार गर्छन् । यद्यपि घरमा सम्भव नभएका बिरामीलाई सोही एम्बुलेन्समार्फत अन्यत्र अस्पतालमा पठाइने व्यवस्था समेत गरिएको छ ।       महानगरभित्र  करिब दुई लाख ९४ हजार नागरिक रहेका छन् ।