काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय क्षेत्र र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको जनाएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै सिबिफिनले मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण तथा समग्र आर्थिक सन्तुलनलाई केन्द्रमा राख्दै सन्तुलित मौद्रिक कार्यदिशा अवलम्बन गरेको जनाएको हो । विगतको परम्परागत ढाँचामा परिवर्तन गर्दै वित्तीय प्रणाली र निजी क्षेत्रलाई उत्साहित गर्ने विभिन्न नीतिगत व्यवस्था समेटिएको भन्दै परिसंघले मौद्रिक नीतिको स्वागत गरेको छ ।
सिबिफिनका अनुसार रुग्ण उद्योगसँग सम्बन्धित निष्क्रिय कर्जाको व्यवस्थापन, दबाबमा रहेका कर्जाको पुनरुत्थान, नीतिगत दर, बैंक दर, नगद मौज्दात अनुपात (सीआरआर), वैधानिक तरलता अनुपात (एसएलआर) तथा स्थायी तरलता सुविधा (एसएलएफ) यथावत् राख्ने निर्णयले आर्थिक स्थायित्व कायम गर्न सहयोग पुग्नेछ ।
यस्तै, बैंक शाखा खोल्ने तथा बन्द गर्ने प्रक्रियालाई थप लचिलो बनाउने, बैंकिङ सेवाको डिजिटलाइजेसनलाई प्रोत्साहन गर्ने, विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खोल्ने तथा विदेशी मुद्रा खरिद व्यवस्थापनसम्बन्धी नीतिगत व्यवस्थालाई परिसंघले दूरदर्शी र सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ ।
यद्यपि, जोखिममा आधारित कर्जा नोक्सानी व्यवस्था, सुरक्षित कर्जामा कुल जोखिमका आधारमा नोक्सानी व्यवस्था, पुँजीकोष पर्याप्ततासम्बन्धी नियामकीय सहजीकरण तथा अन्तर्राष्ट्रिय अभ्यासअनुरूप विवेकशील नियमन सुधारसम्बन्धी आफूले दिएका केही सुझाव मौद्रिक नीतिमा समेटिन नसकेको सिबिफिनले जनाएको छ ।
परिसंघले ती विषयमा नेपाल राष्ट्र बैंकले आवश्यक अध्ययन गरी आगामी एकीकृत निर्देशनमार्फत व्यावहारिक रूपमा सम्बोधन गर्ने विश्वास व्यक्त गरेको छ । त्यसले बैंकिङ क्षेत्रमाथिको पुँजीगत दबाब कम गर्न, निष्क्रिय कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउन, निजी क्षेत्रमा कर्जा प्रवाह बढाउन तथा सरकारको आर्थिक विस्तारको लक्ष्य हासिल गर्न सहयोग पुग्ने सिबिफिनको अपेक्षा छ ।
साथै, मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमार्फत वित्तीय स्थायित्व कायम राख्न, बैंकिङ प्रणालीलाई थप सबल, प्रतिस्पर्धी र सक्षम बनाउन तथा निजी क्षेत्रको पुनरुत्थानलाई गति दिन नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग निरन्तर रचनात्मक संवाद, सहकार्य र आवश्यक सुझाव दिन आफू प्रतिबद्ध रहेको सिबिफिनले जनाएको छ ।