मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेशमार्फत कानून बनाइने
काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेशमार्फत कानून बनाउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको हो । मिटरब्याजीसम्बन्धी दिन दिनैको समस्या समाधान गर्नका निमित्त कानूनी व्यवस्था गर्न आजको मन्त्रिपरिषद्को बैठकबाट यससँग सम्बन्धित अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार राष्ट्रपतिसमक्ष त्यो अध्यादेश पठाउने काम भएको छ । सरकारका प्रवक्ता शर्माले जे भए पनि ऐनबाट मात्रै हुने तर अध्यादेशबाट नहुने बताउँदै मिटरब्याज पीडितको समस्या विशिष्ट प्रकारको भएकाले अध्यादेशमार्फत गरिएको जानकारी दिइन् । सहुलियत दरमा ऋणको व्यवस्था गर्नुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, मिटरब्याज विरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गर्नुपर्ने लगायतका माग गर्दै मिटरब्याज पीडितले आन्दोलन गर्दै आएका छन् ।
केही व्यक्तिले आफूविरुद्ध दुष्प्रचार गरेको कांग्रेस नेता डा. राणाको आरोप
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने मनसाय लिएर केही व्यक्तिले आफूलाई लक्षित निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको बताएकीत छिन् । प्रेस विज्ञप्ति जारी गर्दै हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भए पनि कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार नभएको उनले बताइन् । ‘नियोजितरूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ, तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ, तर नियोजितरूपमा मविरुद्ध व्यक्तिगत मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन अनुरोध गर्दछु,’ डा राणाले विज्ञप्तिमा भनेकी छिन् । हरेकजसो अन्तर्वार्तामा केही व्यक्ति नियोजितरूपमै आफ्नोेविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन सबै आम सञ्चारमाध्यमलाई उनले आग्रह गरेकी हुन् ।
वातावरणमैत्री प्रविधिमा नेपालमै चाइनिज इटाको उत्पादन सुरु
काठमाडौं । नेपालमै अत्याधुनिक वातावरणमैत्री प्रविधिमा आधारित चाइनिज इटाको उत्पादन सुरु भएको छ । इटाभटाबाट वातावरण प्रदूषण बढेको भन्दै चर्काे आलोचना हुँंदै आएको तर नेपालमै पनि प्रविधि भित्रिएको झन्डै आधा शताब्दीपछि यस्तो अत्याधुनिक प्रविधिबाट चाइनिज इटा उत्पादन थाल्न सफल भएको हो । पोखराको पोल्याङमा कम्पनीको आफ्नै एक सय रोपनीको क्षेत्रफलमा उद्योग राखी इटाको उत्पादन थालिएको हो। पोखरा इको रेड ब्रिक्स प्रालिले झन्डै ३० करोडको लगानीमा नेपालमा जर्मन होफम्यान प्रविधिबाट इटा उत्पादन थालेको हो । पोखरा इको रेड ब्रिक्स प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले कारखानाको वार्षिक डेढ करोड इटा उत्पादन गर्न सक्ने क्षमताको रहेको बताए । झन्डै ४५ वर्ष अगाडि भक्तपुरको भक्तपुर चाइनिज इटा तथा टायल कारखाना र ललितपुरको हरिसिद्धि चाइनिज इटा तथा टायल कारखानामा जस्तै इटा पोल्ने प्रविधिको निर्माण गरी इटा उत्पादन थालेको अध्यक्ष इन्जिनियर दुवालले बताए । ‘सामान्य इटाभटाको इटा पोल्ने स्ट्रकचर तथा इटा पोल्ने जनशक्ति पनि अहिलेसम्म विशेष गरेर भारतको विहारबाट आएका भारतीयहरूले गर्ने गरेका छन, तर पोखराको पोल्याङमा नेपाली स्वयमले विशेष प्रकारको इटा पोल्ने प्रविधि होफम्यान क्लिन बनाइ नेपाली जनशक्तिबाट नै इटाको उत्पादन थालेका हौ,’ उनले भने, यो ठाउँं पोखरा र दमौलीबाट करिव २० किलोमिटरको दुरीमा पर्दछ ।’ अत्याधुनिक प्रविधिको इटाभटा नेपालीले नै बनाइ उत्पादन थालेको इन्जिनियर दुवालको भनाई छ। ‘सामान्य इटाभटा फोर्स डग नै भारतीयबाट गराउनु परिरहेको बेला नेपालीहरूबाट नै हामीले पोखरामा जर्मन प्रविधिमा आधारित होफम्यान क्लिन प्रविधिबाट इटा पोल्न आधुनिक भटाको निर्माण सम्पन्न गरी उत्पादन समेत थालेका छौँ,’ इन्जिनियर दुवालले भने, ‘५० जना नेपालीहरूबाट झन्डै एक वर्षदेखि नै काम गराई अहिले उत्पादनको चरणमा पुगेका हौ।’ यो प्रविधिको विकास सर्वप्रथम जर्मन वैज्ञानिक फ्रेडरिच होफम्यानले सन् १८५८ मा गरेको उनी बताउँछन् । प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरत ओझाले उर्जा किफायती र वातावरणमैत्री हुने भएकाले इटा पोल्नका लागि नयाँ प्रविधिको इटाभटा सञ्चालन गर्ने योजना अनुसार आफूहरू सफल भएको बताए । ‘अहिले इटाभटाको धुलो धुवाको कारण वातावरण प्रदूषण भयो भनेर तीव्र आलोचना , यही आलोचनाबाट जोगाउन नयाँ प्रविधिको इटाभटा सञ्चालन गरेका हौँ,’ उनले थपे । नेपालमा पहिला देखि चल्दै आएका यस प्रविधिमा आधारित दुई वटा चाइनिज इटा उद्योग थिए । तर यी दुवै भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग अहिले बन्द भइसकेका छन्। तर पनि भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ ।
मिटरब्याज समस्या सम्बोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकपछि पत्रकारहरुसँग उनले भनिन्, ‘मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ । आज अध्यादेश पठाउने काम हुन्छ ।’
एमाले सांसद कोइरी निलम्बित
काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महत्तो कोइरीलाई निलम्बन गरेको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा (एमाले) का सांसद कोइरीलाई निलम्बन गरेका हुन् । प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाबमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् । कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो । उच्च अदालतले २०७७ मङ्सिर १९ गते त्यस्तो आदेश दिएको भए पनि कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको पाइएको छ । महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएबमोजिम सांसद कोइरीलाई आज सभामुखले निलम्बन गर्ने निर्णय गरेका हुन् ।
‘सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्न लिएको लक्ष्य हावादारी भएको प्रमाणित भयो’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताएका छन् । मंगलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिको प्रक्षेपणबारे बुटवलमा न्युज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले मंगलबार तथ्याङ्क विभागले सार्वजनिक गरेको आर्थिक वृद्धिदर २.१६ प्रतिशत कायम हुने प्रक्षेपणले अघिल्लो सरकारले चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने राखेको लक्ष्य हावादारी भएको प्रमाणित भएको बताए । ‘उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २।१६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर हुने तथ्याङ्क विभागको प्रक्षेपणले मुलुकको अर्थतन्त्र संकट र मन्दिमा गएको संकेत गरेको छ, मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा पुग्न थालेको छ,’ उनले भने । पछिल्ला दुई वटा आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलना गर्दा ०.३४ प्रतिशतले आर्थिक वृद्धिदर ऋणात्मक रहेकाले मुलुकको अर्थतन्त्र जोखिममा परेको प्रमाण भएको उनी बताउँछन् । उनले वर्तमान सरकारको नेतृत्वले देशको अर्थतन्त्र क्रमशःसंकट र मन्दीमा धकेलिरहेको आरोप लगाए । ‘एमाले नेतृत्वको सरकारले अत्यन्त विषम परिस्थिति नाकाबन्दीको बिरुद्धमा लड्दा,पूर्णनिर्माण गर्नुपर्ने अवस्था र कोरोना महामारीको विरुद्धमा नेपाल जुधिरहेको अवस्थामा समेत अर्थतन्त्र बिग्रनबाट जोगाएको थियो,’ उनले भने । यस्तै, उनले मुलुक आर्थिक रुपमा जोखिमको अवस्था हुँदै पूर्णतः मन्दीको अवस्थामा आइपुग्दा समेत वर्तमान सरकारलाई अर्थतन्त्रका चुनौतिका बारेमा कुनै चासो चिन्ता नभएको बताए । उनले सरकारले अर्थतन्त्रको चुनौतिबाट मुुलुकलाई जोगाउन कुनै पहलकदमी नगरेको उनले आरोप लगाए ।
एशिया कपका कान्छा क्याप्टेन
काठमाडौं । नेपालले यूएईलाई पराजित गरेको छ । एसीसी प्रिमियर लिगमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । नेपालले ३०.३ ओभरमा ११८ रन बनाउँदै यूएईलाई पराजित गरेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेल यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि हात पारेको हो । उक्त जितसँगै नेपालले यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा पनि स्थान पक्का गरेको छ । एसिया कपमा नेपालले भारत, पाकिस्तानजस्ता विश्व क्रिकेटका हस्ती राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । घरेलु मैदानमा हजारौंसमर्थकको साथ पाएको नेपालका लागि गुलशन झा र भिम शार्कीले उत्कृष्ट प्रदर्शन गरे । गुलशन झाले अविजित ६७ रन बनाए । उनले ८४ बलको सामना गरी ६ छक्का र ३ चौका हिर्काए । भिम शार्की अविजित ३६ रनको योगदान गरे । यो जितसँगै एशिया कपमा खेल्ले सपना पुरा गरेको नेपालको क्याप्टेनको जिम्मेवारीमा रोहित पौडेल छन् । रोहित पौडेल एशिया कप खेल्ने ६ टीममध्ये सबैभन्दा कान्छो क्याप्टेन हुन् । समूह ‘ए’मा पाकिस्तान र भारत छन् । नेपालले यही समूशमा रहेर खेल्ने भएको छ । भारतको टीमका क्याप्टेन रोहित शर्मा ३६ वर्षका भए भने पाकिस्तानको क्याप्टेन मोहमद बाबर अजम २८ वर्षका भए । यस्तै, एसिया कपको समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । श्रीलंकाका क्याप्टेन दिमुथ करुणारत्ने ३५ वर्ष, बंगलादेशका क्याप्टेन शकिब अल हसन ३६ वर्षका र अफगानस्थानका क्याप्टेन रशिद खान २४ वर्षका भए । यी सबै क्याप्टेनहरु मध्ये नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेल २१ वर्षका भए ।
बजारमा शाओमीको माग बढ्दो
काठमाडौं । शाओमीले नेपाली बजारमा प्रवेश गर्नु अघि नै प्रशंसकहरूबाट आफ्ना उत्पादनहरूको ठूलो माग देखेको थियो । यसै कारणले आफ्नो लन्च संगै शाओमीले स्मार्टफोन बजारमा एक महत्वपूर्ण सहभागीको रूपमा आफूलाई स्थापित गर्न सक्षम भयो । उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउने मिशन बोकेको शाओमीले सबैका लागि उचित मूल्यमा उच्चतम प्रविधि प्रदान गर्न केन्द्रित छ । शाओमीको यहि दर्शनले नेपाली बजारमा यस ब्रान्डको द्रुत बृद्धि भएको देखिन्छ । विश्वव्यापी रूपमा विभिन्न माइलस्टोनहरू हासिल गरेको शाओमीले नेपालमा पनि थुप्रै असाधारण मापदण्डहरू चिन्हित गरेको छ । क्यु३ २०२० मा शाओमी नेपाली बजारमा पहिलो पटक नम्बर १ स्थानमा पुगेको थियो । सोही त्रैमासिकमा, आइडिसि क्ष्म्ऋ अनुसार नेपालमा बिक्री भएका शीर्ष दश स्मार्टफोनमध्ये चार ओटा शाओमीकै उपकरणहरू थिए । सोहि गतिलाई निरन्तरता दिँदै, शाओमीले क्यु४ २०२२ मा पुनः नम्बर १ स्मार्टफोन ब्रान्डको रूपमा छाएको थियो । एउटा ब्रान्डलाई निरन्तर बढ्दो प्रतिस्पर्धाको साथ बजारमा स्थापित गर्न र अगाडि बढ्न धेरै कुराको आवश्यकता पर्दछ । मोबाइल उद्योगको सुस्त बृद्धिलाई सम्बोधन गर्न शाओमी नेपालले पोकोफोन यफ ज्ञ जस्ता उत्पादनहरूका लागि अनलाइन एक्सक्लुसिभ ल्यायो जसको साथै नेपाली बजारमा शाओमीले आफ्नो अनलाइन उपस्थिति जनाएको थियो । यसको अफलाइन खुद्रा साझेदारहरू मार्फत, शाओमीले अफलाइन बजार पनि कभर गरेको थियो । शाओमीलाई नेपालमा लोकप्रिय बनाउने अन्य चीजहरूमध्ये शाओमी फ्यान कम्युनिटी, दर्शकहरूसँगको ब्रान्ड संलग्नता, हरेक मूल्य खण्डमा उत्कृष्ट उपकरण, ब्रान्ड वफादारी पर्दछ । यसको असाधारण मार्केटिङ रणनीति र दर्शकहरूसँग उच्च संलग्नताका कारण, शाओमीलाई नेपालको स्थानीय उत्पादन पनि मानिन्छ । उचित मूल्यमा उच्च गुणस्तरको प्रविधि प्रदान गर्ने मिशनलाई शाओमीको उत्कृष्ट उत्पादनहरूले समर्थन गरेको छ । मिशन र भिजनलाई सुदृढ पार्न शाओमीले स्थानीय बजारका लागि उपयुक्त विभिन्न स्मार्टफोन, एक्सेसरीज र विभिन्न एयलओटी उत्पादनहरू लन्च गरेको छ । नेपालमा उपलब्द फोनहरूमध्ये शाओमीको रेडमी नोट सिरिज र रेडमी नम्बर सिरिज सबैभन्दा लोकप्रिय रहेका छन् । शाओमीको पछिल्लो लन्चहरू जस्तै रेडिमी १२ सि, रेडिमी नोट १२ र रेडिमी नोट १२ प्रो ज्ञद्द एचय पनि नेपालमा निकै लोकप्रिय मानिन्छ । रेडिमी १२ सि ज्ञद्दऋ मा रहेको ५०० यमएयच ब्याट्री प्याकले उपभोक्तालाई कुनै झनजट बिना लामो समयसम्म खेल खेल्न, गीतहरू सुन्न, चलचित्रहरू हेर्न र अन्य थप कुराहरूको आनन्द लिन सक्षयम बनाउँछ । शाओमीले भर्खरै एयर फ्रायर, मोशन लाइट सेन्सर, टिडब्लुयस इयरफोन, स्मार्ट टिभी, एयर प्युरिफायर र ल्यापटपहरू लगायत धेरै उत्पादनहरू लन्च गरेको छ जुन आकर्षक डिजाइन र गुणस्तरीय हार्डवेयरको प्रयोगका कारण निकै लोकप्रिय मनिन्छन् । शाओमीले सधैं नवीनतम प्रविधि, उच्च गुणस्तरको हार्डवेयर र उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ । आफ्ना उत्पादनहरू देशभर वितरण गर्न आफ्नै आधिकारिक स्टोरहरू खोल्नुको साथै आफ्ना ग्राहकहरूको सन्तुष्टि सुनिश्चित गर्न नेपालभर आफ्नै सेवा केन्द्रहरू खोलेको छ ।