विकासन्युज

तीनपटक म्याद थप्दा पनि बनेन बाँकेको सडक

बाँके । बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गरेका थिए । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इञ्जीनियर नीरज शाक्यले जानकारी दिए । ‘सम्झौताअनुसार प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि बढेको छैन’, उनले भने । सुरुआतमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ । सडक डिभिजन कार्यालय नेपालगन्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिमपटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो । दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरिएको शाक्यले बताए । काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरुप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको उनको भनाइ छ । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि २१ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रुलाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको शाक्यले बताए । सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गरेका थिए । सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर अन्य प्रक्रियाबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष विकले बताए । रासस

दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो । सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । दुवैजना आमाछोरा हुन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् । गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताए । ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ’, उनले भने–’हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।’ मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घट्नास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो सोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो । ‘घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन’, डिएसपी भट्टले भने । हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको बताए । वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ । सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए । रासस

आर्टिफिसियल इन्टेलिजेन्स मानवताको लागि खतरा

तस्बिर स्रोत : टेलिग्राफ काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को पिता भनेर चिनिने डा. जिओफ्री हिन्टनले विश्वमा चर्चा भइरहेको एआईलाई मानवताको लागि खतरा भएको बताएका छन् । उनले भनेका छन्, ‘यो मानवताको लागि खतरा छ, यहिले यो बरदान जस्तो लागे पनि यो यस्तो छैन ।’ ७५ वर्षीय हिन्टनले न्युयोर्क टाइम्सलाई दिएको अन्तवार्तामा भनेका छन्, ‘यसले ठूलो संख्यामा रोजगारीमा कटौती गर्नेछ, समाजमा गलत सूचना तिव्र रुपमा फैलिनेछ, जसलाई रोक्न सम्भव हुनेछैन ।’ डा. हिन्टनले यसको लागि आँफैलाई जिम्मेबार मानेका छन् र उनले पश्चाताप गरेका छन् । ‘मैले गर्दैनथेँ भने पनि अरु कसैले गर्दथ्यो, एआई त आउँथ्यो नै, अब यसलाई सामना गर्न धेरै गाह्रो हुनेछ ।’ डा. हिन्टनले सन् २०१२ मा टोरन्टो विश्वविद्यालयका आफ्ना दुई विद्यार्थी इल्या सुतस्केभर र एलेस्क क्रुसेभस्कीसँग मिलेर हजारौं तस्बिरहरुको विश्लेषण गर्न सक्ने नेटवर्क बनाएका थिए । यतिमात्रै नभएर सो नेटवर्कले कार, कुकुर र फुलजस्ता वस्तुहरुको पहिचान गर्न पनि सिकाउन सक्दथ्यो । यही प्रविधि नै नै एआईको आधार बनेको थियो । डा. हिन्टनले सन् १९७२ देखि नै एआईको काम गर्दै आएका छन्, जतिबेला कसैले एआईको बारेमा सुनेकै थिएन । ‘एआईको खतराको बारेमा खुलेर बोल्नको लागि आफ्नो जागिर छोडेको हुँ’, उनले भनेका छन् । गुगल कम्पनी छाडेपछि डा. हिन्टनले कयौंन प्रविधि कम्पनीहरु एआई अपनाउने होडमा रहेको बताएका छन् । उनीहरुले एआई प्रविधियुक्त उत्पादन गर्न चाहेको र उनीहरुको बुझाइमा यो पनि सन् ९० को दशकमा आएको प्रविधिको आधार जस्तै रहेको तर यसबाट पैदा हुनसक्ने जोखिमको विषयमा ती कम्पनीहरुसँग कुनै योजना नभएको डा. हिन्टनको बुझाई छ । एआईको सम्भावित जोखिमहरुको विषयमा चेतावनी दिँदै उनले भनेका छन्, ‘यो हेर्न निकै मुस्किल हुने छ की खराब मानिसहरुलाई खराब कामको लागि यसको प्रयोग गर्नबाट कसरी रोक्न सकिन्छ ?’ उनले च्याटबटलाई ‘निकै डरलाग्दो’ भनेर संज्ञा दिएका छन् । ‘जब खुफिया सूचनाको विषय आउँछ अहिलेको च्याटबटमा मानिससँग बराबर क्षमता थिएन, तर यो छिट्टै बद्लिन सम्भव छ, अहिले जहाँसम्म मैले भन्न सक्छु की यो हामी जत्तिकै बौद्धिक छैन, तर मलाई लाग्छ की यो छिट्टै नै हुनेछ ।’ एजेन्सीको सहयोगमा ।

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

  गुल्मी । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यस वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको छ । डढेलोबाट साना बिरुवा, पातपतिङ्गर, चराचुरुङ्गी एवं विभिन्न जडीबुटी पूर्णरूपमा नष्ट भएका छन् । ठूला रुखमा पनि आंशिक क्षति पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिए । डढेलोबाट कतिपय जङ्गली जनावरको मृत्यु भएको छ भने कतिपयले बासस्थान परिवर्तन गरेका छन् । सबैभन्दा धेरै रेसुङ्गा र मुसिकोट नगरपालिकामा सात सय नौ हेक्टर सामुदायिक वनमा आगलागी भएको शर्माले बताए । डढेलोमा परी जिल्लामा दुई जनाको ज्यान गएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया र ५३ वर्षीय धनबहादुर जोगी कुँवरको आगो निभाउने क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । वनमा आगो लगाउने एक जनालाई कारबाहीको दायरामा ल्याइएको छ । रासस

नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकालाई महानगरले नगर प्रहरी बनाउने, आवेदन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी भर्ना गर्दा नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकालाई प्राथमकिता दिने भएको छ । महानगरपालिकाले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेकाले आवेदन दिएमा नगर प्रहरीमा भर्ना गर्ने बताएको हो । महानगरपालिकाले १ सय जना नगर प्रहरी जवान भर्ना गर्न गत बैशाख १० गते सूचना प्रकाशन गरेकोमा ३० जना उम्मेदवारलाई करार सम्झौता गरी काममा लगाइने र बाँकी रहेकोमा ७० जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको बैकल्पिक सूचीमा रहेकालाई भर्ना गर्ने भएको हो । महानगरले नेपाल प्रहरीको बैकल्पिक सूचीमा परेका खुलातर्फ २४ जना, महिलातर्फ १५ जना, आदिवासी तथा जनजातितर्फ १२ जना, मधेशीतर्फ १ जना, दलिततर्फ ३ जना र अल्पसङ्ख्यकतर्फ १ जनालाई नगर प्रहरीमा नियुक्त गर्ने भएको हो । यस्तै, सशस्त्र प्रहरी तर्फको खुलातर्फको बैकल्पिक सूचीमा परेका १४ जनालाई पनि नगर प्रहरीमा भर्ना गर्ने भएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी जवान भर्नामा वैकल्पिक सूचीमा परेकाले १५ दिनभित्र निवेदन दिएमा यसअघि नियुक्ति दिई सकेकालाई कटाई करारमा नियुक्ति गरिने बताएको छ । इच्छुकले सूचीमा उल्लेखित दर्ता नम्बर खुलेको निवेदन र नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्नेछ ।

२०.४१ प्रतिशत लाभांश प्रक्षेपण गरेको सिटिजन्स सुपर ३० फण्डमा आवेदन दिने अन्तिम दिन

काठमाडौं । सिटिजन्स क्यापिटलले बैशाख ६ गतेदेखि बिक्री खुला गरेको सिटिजन्स सुपर–३०मा आवेदन दिने आज अन्तिम दिन हो । बन्दमुखी योजना रहेको सो फण्डमा आवेदन दिने आज बैशाख २० गते अन्तिम दिन हो । कयापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक र बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्डको अवधि १० वर्ष हो । यस फण्डका इकाईधनीहरुलाई वार्षिक २०.४१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको क्यापिटलले जनाएको छ । १० वर्षको अवधिमा १४.५१ रुपैयाँमा न्याभ हुने प्रक्षेपण छ ।

चिलिमे हाइड्रोले कमायो ५१ करोड रुपैयाँ नाफा, ईपीएस कति छ ?

काठमाडौं । चिलिमे हाइड्रोपवार कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.३३ प्रतिशत बढेर ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी २.३३ प्रतिशत अर्थात् १ करोड ९१ लाख ८८ हजार रुपैयाँ घटेर ८० करोड ४२ लाख ४६ हजारु रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ विद्यतु बिक्रीबाट आम्दानी गरेको थियो । नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र यस अवधिमा गत वर्षको चैत्र मसान्तसम्मको तुलनामा न्यून विद्युत उर्जा खरिद भएकोले विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ । बैंक मौज्दात बढेकोका कारण कम्पनीको ब्याज आम्दानी ३५ प्रतिशत अर्थात् ४ करोड ५६ लाख ५० हजार रुपैयाँ बढेर १७ करोड ५८ लाख ७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १ लाख ५६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५ प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ र जेगा कोष ३ अर्ब १३ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.६२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.२३ रुपैयाँ रहेको छ ।

आइएमई लाइफको नाफामा ८० प्रतिशत छलाङ, अधिकांश सूचकमा फड्को मार्याे

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशनको अन्तिम तयारीमा रहेको आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ८० प्रतिशत बढेर १८ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । .गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क २१.९४ प्रतिशत बढेर २ अर्ब ८९ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३७ प्रतिशत बढेर ७९ करोड ३६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कुल बीमा शुल्क २२.१३ प्रतिशत बढेर २ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । सीमक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ सय प्रतिशत बढेर २ अर्ब ८० करोड रुपैयाँ, जगेडा कोष ८१ प्रतिशत बढेर १ अर्ब १० करोड ५ लाख रुपैयाँ, जीवन बीमा कोष ४३ प्रतिशत बढेर ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । तथ्याङ्क अनुसार कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८२ प्रतिशत बढेर ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो । वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ रहेको छ ।