शुक्रबारदेखि चितवन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु हुँदै
काठमाडौं । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी यही वैशाख २२ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा सङ्घकै प्रदर्शनी केन्द्रमा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको हो । उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीलाई लक्षित गरी आयोजना गरिएको यस प्रदर्शनीमा भारत, चीन, मलेसियालगायत १० विदेशी कम्पनीले सहभागिता जनाउने सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सय ५० भन्दा बढी कक्ष रहनेछन् । औद्योगिक मेसिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इञ्जीनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगको उत्पादन प्रदर्शनीमा राखिने छन् । कक्ष बुकिङलगायत तयारीको काम अन्तिम चरणमा पुगेको बताइएको छ । विभिन्न राष्ट्रका आधुनिक प्रविधि र उत्पादन, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्ति, व्यावसायिक उत्पादक, नेपाली उद्योगका सञ्चालक, लगानीकर्ता तथा व्यावसायिक उत्पादक प्रदर्शनीको अवलोकनकर्ताका रूपमा रहने अध्यक्ष कँडेलले जानकारी दिए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको दोस्रो दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तर्फबाट वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर तथा नेपाल उद्योग परिसङ्घका तर्फबाट ‘मेक इन नेपाल’ स्वदेशी अभियान विषयमा गोष्ठी तथा सेमिनार आयोजना गर्न लागिएको छ । आधुनिक प्रविधिको अनुशरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान–प्रदानमार्फत उद्यमशीलताको विकासमा सहयोग पुग्ने उद्देश्यका साथ सञ्चालन गर्न लागिएको प्रदर्शनीका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । अध्यक्ष कँडेलले उद्यमी जन्माउनका लागि प्रदर्शनी गर्न लागिएको जानकारी दिए ।
धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द
धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो मङ्गलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबेँशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुबै तर्फी सवारी आवागमन बन्द भएको छ । नयाँ पुल निर्माणको लागि फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशन भएको जमिन भासिन पुगेको हो । त्यही जमिन भासिएको ठाउँमा ग्याविन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो । अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन् । एकतर्फी सडक संचालनमा ल्याइए पनि हिजैदेखि जोखिम भने टरेको थिएन ।
बजेट अधिवेशन वैशाख २४ गते बोलाउने
काठमाडौं । सरकारले संसद्को बजेट अधिवेशन वैशाख २४ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउन सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो । यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेश हुनेछ ।
नेपालको प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ डलर
काठमाडौं । नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् एक लाख ८२ हजार छ सय ८३ रुपैयाँ बराबर पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार सय १० बराबर देखिएको हो । यसवर्ष नेपालको कूल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धिदर उपभोक्ता मूल्यमा एक दशमलव ८५ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव १३ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । तथ्याङ्क कार्यालयका अनुसार चालु आवमा नेपालको जिडिपीको आकार आधारभूत मूल्यमा ४६ खर्ब ९६ अर्ब ४९ करोड रुपैयाँ र उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब ३४ करोड रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । जिडिपी अनुपातमा नेपालको कूल स्थिर पुँजी निर्माण ग्रस फिक्स्ड क्यापिटल फर्मेसन २५ दशमलव २१ प्रतिशत अर्थात् १३ खर्ब ५६ अर्ब ४६ करोड रुपैयाँ बराबर पुग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै अन्तिम उपभोग खर्च फाइनल कन्जम्सन एक्सेन्डिचर जिडिपी अनुपातको ९३ दशमलव ५९ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यो ५० खर्ब ३६ अर्ब १५ करोड रुपैयाँ बराबर हो । जिडिपी अनुपातमा नेपालको वस्तु तथा सेवा निर्यातको हिस्सा सात दशमलव १५ प्रतिशत बराबर छ । यसवर्ष तीन खर्ब ८५ अर्ब ११ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरिने अनुमान गरिएको छ । जिडिपी अनुपातमा वस्तु तथा सेवाको आयात भने ३६ दशमलव पाँच प्रतिशत बराबर छ । नेपालले यस वर्ष १९ खर्ब ६४ अर्ब ३३ करोड रुपैयाँ बराबर आयात गर्ने ठानिएको छ । त्यसैगरी चालु मूल्यमा राष्ट्रिय बचत ग्रस नेसनल सेभिङ कूल गार्हस्थ्य उत्पादनको ३१ दशमलव ६६ प्रतिशत बराबर छ । त्यस्तै जिडिपीमा विप्रेषणको अनुपात २२ दशमलव ८९ प्रतिशत बराबर हुने ठानिएको छ । चालु आवको जिडिीपमा सबैभन्दा बढी हिस्सा कृषि क्षेत्रको रहने अनुमान गरिएको छ । गत आवमा कृषि क्षेत्रले जिडिपीमा २४ दशमलव ६७ प्रतिशत बराबर हिस्सा ओगटेकामा यसवर्ष त्यो घटेर २४ दशमलव १२ प्रतिशत बराबर हुने प्रक्षेपण गरिएको छ । तथ्याङ्क कार्यालयले चालु आवको पछिल्लो नौ महिना अवधिको तथ्याङ्क विश्लेषण गरेर वार्षिक अनुमान सार्वजनिक गरेको हो । रासस
सरकारले किक्रेट खेलाडीलाई जनही ६ लाख दिने, त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने
काठमाडौं । सरकारले एसिसी प्रिमियर कपको उपाधि जितेका नेपाली क्रिकेट खेलाडीहरूलाई जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ।
बिरामी बोक्न खार्पुनाथ गाउँपालिकाको आफ्नै एम्बुलेन्स
हुम्ला । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए । अब गाउँपालिकाभित्रका सेवाग्राहीहरुका लागि जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गर्ने उक्त एम्बुलेन्स हाल तयारी अवस्थामा राखिएको छ । एम्बुलेन्स आउनुअगाडि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज हुने भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए । भारतीय दूतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स माथिल्लो हुम्ला सडक सञ्जालसँग नजोडिएका कारण गाउँपालिकासम्म ल्याउन कठिनाइ भएको थियो ।
छोरा सीए, छोरी एमबीबीएस डाक्टर, व्यवसाय संकटमा परेपछि आत्महत्या
काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा परेको असरले समग्र क्षेत्र प्रभावित बनिरहेको छ । बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजले व्यवसायमा परेको असरले व्यवसायीहरु एकपछि अर्को समस्यामा परेपछि व्यवसायहरु ठूलो समस्यामा परिरहेका छन् । व्यवसायमा समस्या आएपछि एकपछि अर्को व्यवसायीहरुले आत्महत्या गरिरहेका छन् । बुधबार मात्रै नेपाल दाना उद्योग संघका वरिष्ठ उपाध्यक्ष शंकर कँडेल मृत फेला परे । पोल्ट्री व्यवसायी समेत रहेका कँडेल झुण्डिएको अवस्थामा आफ्नै कार्यालयमा मृत फेला परेका हुन् । व्यवसायी कँडेल भरतपुर महानगरपालिका ३ बेलचोकस्थित आफ्नै अफिसको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । अनमोल फिड्सका सञ्चालक रहेका कँडेल झुण्डिएको कोठामा ८ पृष्ठको सुसाइड नोटसमेत भेटिएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले यस विषयमा अनुसन्धान भइरहेको बताए । उनले सुसाइड नोट पनि भेटिएको जानकारी दिए । प्रहरीका अनुसार उनले सुसुाइड नोटमा केही व्यक्तिको नाम पनि उल्लेख गरेका छन् । उनले आफ्नो व्यवसायको सेयर बिक्री गरेका व्यक्तिहरुको नाम उल्लेख गरेको बुझिएको छ । नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले उनी व्यवसाय संकटमा परेर आत्महत्या गरेको हुन सक्ने बताउँछन् । ‘अहिले चितवनको पोल्ट्री व्यवसायमा संकट छ, शंकरजीले आफ्नो व्यवसायको ९० प्रतिशत सेयर बिक्री गरेर १० प्रतिशत मात्रै स्वामित्व राखेका थिए, उहाँले व्यवसाय समस्यामा छ भनेर बेला बखत भन्नु हुन्थ्यो, सबैलाई समस्या नै छ,’ अध्यक्ष पुरीले भने । ‘उहाँले मलाई शुक्रबार फोन गरेर अब छिट्टै बैठक राख्नु पर्यो भन्नु भएको थियो, म काठमाडौं आउँछु त्यतै बसेर गफ गरौंला भन्नु भएको थियो, त्यसपछि कुरा भएको छैन, बेला–बखत व्यवसाय समस्यामा छ भनेर साथीहरुमाझ भन्नु हुन्थ्यो,’ अध्यक्ष पुरीले कँडेलसँग भएको कुराकानी स्मरण गर्दै भने । बैंकको ब्याजदर उच्च हुँदा व्यवसाय सञ्चालन गर्न नसकेका कारण उनले आत्महत्या गरेको हुन सक्ने उनको भनाइ छ । मृतक कँडेल काँग्रेसको चितवन जिल्ला कोषाध्यक्ष र महाधिवेशन प्रतिनिधि समेत थिए । प्रहरी टोलीले घटनास्थलको मुचल्का गरेर शव पोष्टमार्टमका लागि पठाएको बताएको छ । पारिवारिक स्रोतका अनुसार उनको छोरा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययनरत छन् भने छोरी एमबीबीएस डाक्टर हुन् । उनका भाई अमेरिकामा रहेर कृषि वैज्ञानिकका रुपमा कार्यरत छन् । मृतक कँडेलले केही समयअघि अनमोल फिड्सको १० प्रतिशत सेयर आफुसँग राखेर ९० प्रतिशत सेयर प्रदिप रुगाँटालाई बिक्री गरेका थिए । पछिल्लो समय एकपछि अर्को व्यवसायीले आत्महत्या गरिरहेका छन् । गत माघमा इलामका प्रेमप्रसाद आचार्यले संसद भवन अगाडि नै आत्मदाहको प्रयास गरेका थिए । व्यवसायी समेत रहेका आचार्यले शरिरमै पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । गत मंसिरमा पनि सिरहाका एक जना व्यवसायीले बैंकले चर्को ब्याज लिएको र आफ्नो व्यवसायले थेग्न नसकेको भन्दै आत्महत्या गरे । सिरहा गोलबाजारमा व्यापार गर्दै आएका पप्पु महासेठले बैंकको ब्याज तिर्नै नसकेको भन्दै आत्महत्या गरेका थिए । यस्तै, गत भदौ २१ गते काठमाडौं न्यूरोडमा कपडा व्यापार गर्दै आएका व्यवसायी सुदर्शन घिमिरेले पनि आत्महत्या गरे । उनले पनि बैंकको ऋण तिर्न नसकेपछि आत्महत्या गरेको सुसाइड नोट भेटिएको थियो । मासिक ४० हजार बढी सटर भाडा र लाखौं रकम बैंकको किस्ता तिर्नु परेको र सोही अनुसार व्यापार नचलेपछि मृत्युको बाटो रोज्नु परेको हुदयविदारक शब्दहरु उनको सुसाइड नोटमा उल्लेख थियो । भक्तपुर मध्यपुर ठिमीका व्यवसायी सुदीप अधिकारीले पनि अघिल्लो वर्ष बैंकको ऋण तिर्न नसकेको भन्दै परिवारको समेत हत्या गरेर आत्महत्याको बाटो रोजे । यस्तै, गत माघमै पोखराका व्यवसायी बलराम गौतम बिरगञ्जमा मृत फेला परेका थिए । उनले पनि व्यवसायमा संकटमा परेर आत्महत्या गरेको बुझिएको छ ।
उम्मेदवारको डाटा हराएपछि लोकसेवा आयोगद्वारा पुनः दरखास्त आह्वान
काठमाडौं । उम्मेदवारहरूको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आजबाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो । लोकसेवा आयोगले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए । उनले २०७९ मङ्सिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेकाहरूले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताए । उनले यस पटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए । पहिला दरखास्त भरिसकेकाहरूको डाटा सङ्कलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गरे । प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मङ्सिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि उनले बताए । प्रवक्ता सुवेदीले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए । उनका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साबिकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ । लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरू रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।