विकासन्युज

दार्चुलाको ब्याँसमा हिमपहिरो

फाइल फोटो काठमाडौं। दार्चुलामा मंगलबार हिमपहिरो गएको छ।  मंगलबार दिउँसो पौने ३ बजे व्यास गाउँपालिका(१ बोलिनमा गएको हिमपहिरो गएको हो । हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण प्रभावित भएको आशंका गरिएको छ । बोलिनमा यार्सागुम्बा टिप्न गएका ८/९ जना त्रिपाल टाँगेर बसेका थिए ।

छानो चुहिएर भिज्न थाल्यो भृकृटीमण्डपको सार्वजनिक पुस्तकालय

काठमाडौं । काठमाडौंको भृकृटीमण्डपमा रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको छानो चुहिएर भूइँ तहमा रहेका महत्वपूर्ण पुस्तक भिजेका छन् । विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण भवनको छानोबाट पानी चुहिएपछि त्यहाँका कर्मचारी यतिबेला भिजेका पुस्तक जतनमा जुटेका छन् । पानीका कारण थप पुस्तकमा क्षति नपुगोस् भनेर पुस्तकलाई कार्टुनमा प्याकिङ गर्ने र तर्काएर राख्न थालिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहतको समाज कल्याण परिषद्को स्वामित्वमा रहेको सो भवनको छानो मर्मतका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको छ । मर्मत चाँडै सम्पन्न नभए आगामी असार–साउनमा पुस्तकालय वर्षाका कारण प्रभावित हुनसक्ने देखिएको छ । पुस्तकालयका पुस्तकालय व्यवस्थापक जुजुभाइ डङ्गोलले हरेक वर्षाका समयमा यस्तै विजोग हुने गरेको र पछिल्लो वर्षाले के कति पुस्तकमा क्षति भयो भन्ने विवरण तयार भइनसकेको उनले बताए । अहिले पानीले भिजेका पुस्तकबाट पानी तैर्याएर सुकाएर पुनः पढ्न मिल्ने र नमिल्ने गरी वर्गीकरण गरिने उनको भनाइ छ । उनले बजेट कार्यान्वयनका लागि परिषद्बाट सहमति प्राप्त भएकाले छिट्टै छानो फेर्ने काम अघि बढ्ने जानकारी दिए । वर्षाका कारण पुस्तकालयमा जाने आउने बाटोसमेत हिलाम्मे भएको छ । पुस्तकालयमा विभिन्न विधाका गरी करिब ८० हजार पुस्तक र दुई हजार चार सयभन्दा बढी सदस्य छन् । पुस्तकालयमा दैनिक एक सय ५० जना अध्ययनकर्ता आउने गरेका छन् । विसं २०६० मा पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्काको नेतृत्वमा २१औँ शताब्दीको आवाश्यकतानुकूलको पुस्तकालय स्थापना भएको थियो । पुस्तकालयले हाल राष्ट्रिय सभागृहको एउटा कोठाबाट स्थापित समाजले विद्युतीय पुस्तकालय सेवाका साथै पुस्तकालय विज्ञान र व्यवस्थापनबारे तीन महिने व्यावसायिक कोर्समा आधारित तालिम पनि सञ्चालन गर्दै आएको छ । पुस्तकालय व्यवस्थापन र तालिमका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयबाट चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । पुस्तकालयमा प्राज्ञिक व्यक्ति, कूटनीतिज्ञ, राजनीतिककर्मी, कानुन व्यावसायी, उद्यमी, सामाजिक कार्यकर्ता र पत्रकारसमेत आवद्ध छन् । समाजलाई शिक्षित, सभ्य, लोकतान्त्रिक र शान्तिपूर्ण बनाउने लक्ष्य प्राप्तिका लागि स्थापित यो पुस्तकालयमा वार्षिक सदस्यता शुल्क तीन सय रुपैयाँ मात्रै रहेको छ । पुस्तकालयले वार्षिक डेढ रुपैयाँलाख तिर्दै आएको भने परिषद्ले एकतर्फी भाडा बढाएर वार्षिक छ लाख रुपैयाँको हिसाब गरी अपुग रकम बक्यौतमा राख्दै आएको छ । समाजले प्रति स्क्वायर फुट १८ मा ७५ रुपैयाँ प्रतिशत छुट पाएकामा हाल परिषद्ले छुट नदिने जनाएको छ । पुस्तकालयले हाल जम्मा दुई हजार छ सय स्क्वायर फुट उपयोग गर्दै आएको छ । पुस्तकालयलाई आफ्नो स्वामित्वमा लिई व्यवस्थितरूपमा सञ्चालन गर्न पुस्तकालय स्थापनाले काठमाडौं महानरपालिकालाई प्रस्तावपत्र पठाइ आग्रह गर्दै आएको छ । महानगर प्रमुख बालेन्द्र शाहका शिक्षा सल्लाहकार रशु अर्यालले हालै पुस्तकालयको भ्रमण गरेका थिए तर यसबारे महानगरले कुनै निर्णय गरिसकेको छैन । पुस्तकालयका अनुसार कर्मचारी तलब, पुस्तकालय व्यवस्थापन, पुस्तक खरिद र तालिमका लागि गरी वार्षिक ७०/८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । उक्त बजेट महानगरले विनियोजन गरेमा पुस्तकालयको स्वामित्व हस्तान्तरणसमेत गर्न सञ्चालक समिति तत्पर देखिएको छ । हाल पुस्तकालयमा ११ कर्मचारी कार्यरत छन् । सामुदायिक पुस्तकालयलाई प्रभावकारीरूपमा सञ्चालन र व्यवस्थापन गर्न सकिए पठन संस्कृतिको विकासका साथै विदेशीलाई देखाउने एक आकर्षक स्थलसमेत बन्न सक्ने पुस्तकालयमा व्यवस्थापक डङ्गोलले बताए । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख र विशिष्ट व्यक्तिले विभिन्न समयमा यो पुस्तकालयको भ्रमण गरिसकेका छन् । पुस्तकालयमा गत महिना संयुक्त अरब इमिरेट्स युएइका नेपालस्थित राजदूतले भ्रमण गरी आफ्नो मुलुकसँग सम्बन्धित सूचना केन्द्र राख्ने गरी सहयोग गर्न चासो दिएका थिए । रासस

साबिक लेखनाथ नगरपालिका नै घोषणा गर्न माग

लेखनाथ । पोखराका लेखनाथवासीले साबिक लेखनाथ नगरपालिका नै घोषणा गर्न सरकारसँग माग गरेका छन् । पोखरा महानगरपालिकाले विकास निर्माण कार्यमा साबिक लेखनाथका वडालाई पछाडि पारेको भन्दै लेखनाथवासीले पोखरा महानगरपालिकाबाट छुट्याएर पुनः लेखनाथ नगरपालिका घोषणा गर्न माग गरेको हुन् । जागरुक नागरिक समाज पोखरा–२६ कास्कीद्वारा सोमबार लेखनाथको सुन्दरीबजारमा आयोजित साबिक लेखनाथ नगरपालिका हिजो, आज र भोलि विषयक अन्तरक्रियामा सहभागीले त्यस्तो माग गरेका हुन् । विसं २०५३ माघ १८ गते त्यस क्षेत्रका चार गाविस राखी, लेखनाथ, सिसुवा र बेगनासलाई मिलाएर लेखनाथ नगरपालिका गठन गरिएको थियो । विसं २०७४ मा लेखनाथ नगरपालिका पोखरा महानगरपालिकामा गाभिएको थियो । लेखनाथ नगरपालिका रहँदा विसं २०७३ मा वार्षिक दुई अर्ब ५० करोड बजेट हुने गरेकामा पोखरा महानगरपालिकामा गाभिएपछि साबिक लेखनाथका वडालाई वार्षिक ३० देखि ३५ करोडमात्र प्राप्त हुँदा विकास निर्मााणको कार्यले गति लिन नसकेको र भएका सडक तथा अन्य संरचाना पनि भत्किँदा पुनःनिर्माण र मर्मत हुन नसकेको गुनासो लेखनाथवासीको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको अगुवाइमा यहाँका स्थानीयवासीले केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरी साबिक लेखनाथलाई छुट्टै स्थानीय तह घोषणा गरिदिन मागसमेत राखिसकेका छन् । साबिक लेखनाथ नगरपालिकाका संस्थापक नगरप्रमुख शालिग्राम पौडेलले सात तालको बगैँचा सहरका रुपमा विकास गरेर लेखनाथको पर्यटकीय रुपमा अगाडि बढाउने, यहाँका बाटा र पुलहरु निर्माण गरी सहरको विकास गर्ने योजना हुँदाहुँदै पनि ग्रेटर पोखराको अवधारणाको लोभ देखाउँदै पोखरा महानगरपालिकामा मिसाउनु नै लेखनाथको दुर्भाग्य रहेको उनको भनाइ छ । पोखरा महानगरपालिकामा मर्ज हुनुअघि लेखनाथ नगरपालिकाले केन्द्रीय वित्त आयोगले एक अर्ब ७५ करोड बजेट छुट्याइदिने र आफ्नै स्रोतसाधनबाट ७५ करोड राजस्व सङ्कलन हुँदा नगरको बजेट साढे २ अर्ब हुने गरेकामा पोखरा महानगरमा गाभिँदा वार्षिक ३१ करोडमात्र छुट्याउँदा लेखनाथमा विकास निर्माणको कार्य ठप्प बनेको भनाइ उनको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष बाबुराम गिरीले लेखनाथ नगरपालिका पोखरा महानगरपालिकाका भागिएपछि लेखनाथको पहिचान नै गुमेको बताउँदै साझा स्वार्थका रुपमा लिएर लेखनाथवासीले प्राविधिक रुपमा साबिक लेखनाथ नगरपालिकालाई पोखराबाट छुट्याएर छुट्टै नगरपालिका बनाउन आवश्यक भएको कुरा बताए । लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख रामजी लामिछानेले भने, ‘साबिक लेखनाथवासीले पोखरा महानगरपालिकावासी मात्र भन्न पायौँ अरू केही पाएनाैं ।’ पोखरा महानगरपालिकाले वार्षिक १५ अर्बको बजेट विनियोजन गर्छ तर साबिक लेखनाथका ६ वटा वडामा केवल ३१ करोडमात्र विनियोजन गरेर सौतेनी छोराको व्यवहार गरेको आरोप लगाए । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथवासीको सामूहिक मुद्दा भएकाले शान्तिपूर्ण रुपमा आन्दोलन गरेर भए पनि पोखरा महानगरपालिकाबाट सालिक लेखनाथलाई छुट्याउने कार्यमा लाग्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता राजेन्द्रमणि लामिछानेले स्थानीयवासीले राखेको मागलाई दलहरुले अस्वीकार गर्न नमिल्ने भएकाले त्यस कार्यमा आफ्नो पसिन सहयोगी भूमिका रहने बताए । स्थानीय मेघराज पौडेलले साबिक लेखनाथ नगरपालिका पोखरा महानगरपालिकामा मर्ज भएसँगै लेखनाथ क्षेत्रका सम्पदा संरक्षणको अभावमा क्षतविक्षत भएको भनाइ उनको थियो । लेखनाथ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष लक्ष्मीराज त्रिपाठीले साबिक लेखनाथका बासिन्दा कामको सिलसिलामा पोखरा महानगरपालिकाको कार्यालयमा पुग्दा नगरप्रमुख र कर्मचारीले भेदभाव गर्ने गरेको आरोप लगाए । स्थानीयवासी मोती गिरीले साबिक लेखनाथ नगरपालिका नै कायम गर्न सक्यौँ भने अबका दिनमा लेखनाथले विकास निर्माणको कार्यमा फड्को मार्न सक्ने भनाइ राखे । अधिवक्ता लेखनाथ सापकोटाले पोखरा महानगरपालिकाले साबिक लेखनाथ नगरपालिकालाई डम्पिङ साइटका रुपमा लिने गरेको आरोप लगाए । जागरुक नागरिक समाज कास्कीका अध्यक्ष रामकृष्ण ढुङ्गानाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा गङ्गा जिसी, गणपति ओझा, कृष्णप्रसाद पौडेल, कविराज खनाल, भीमपाणि बराल, जगन्नाथ तिमिल्सेना लगायतले आफ्ना भनाइ राखेका थिए । रासस

काफल बेचेर दैनिक २ हजार आम्दानी गर्दै किसान

खजुरा । यो काफल फल्ने सिजन हो । मध्य र पहाडी क्षेत्रका वन जङ्गलमा अहिले काफल पाकिरहेको छ । पहाडी जङ्गलमा फलेका काफल यतिबेला तराईका बजारमा बिक्री भइरहेको छ । नेपालगन्ज, कोहलपुरलगायतका बजारमा यतिबेला व्यापारीलाई काफल बिक्रीले व्यस्त बनाएको छ । काफल बिक्रीमा दैनिक दुई हजार रुपैयाँ आम्दानी हुने गरेको किसानहरु बताउँछन् । रोल्पाबाट दाङ हुँदै नेपालगञ्जमा काफल बिक्री गर्न आएका व्यापारी खगेन्द्र बुढामगरले दैनिक चारदेखि पाँच क्यारेट डालाकाफल बिक्री गर्ने बताए । काफलले नेपालगञ्जमा राम्रो बजार पाएको उनले सुनाए । काफल बिक्रीका लागि घोराहीबाट नेपालगजमा आ एका अर्का व्यापारी हरि नारायण चौधरी यसबाट राम्रो आम्दानी भएको बताए । काफल स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । काफल पेटका लागि निकै फाइदाजनक हुने गरेको स्वास्थ्यकर्मी कबिराम बढाथोकी बताउँछन् । पहाडमा पलेको काफलभित्रको पोषक तत्वलाई जोगाई ब्राण्डिङ गरेर बिक्री गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका पूर्ववडाध्यक्ष सुनिल सिंह हमालको भनाइ छ । काफलको बोक्रा पिसेर त्यही धूलोले मञ्जन गरेमा दाँतको दुखाइ निको हुने वरिष्ठ आयुर्वेद डा रामबहादुर बोहराको भनाइ छ । रासस

अमेरिकामा नेपाल चिनाउँदै ह्यारी

वाशिङटन डिसी । विश्वका कुनै पनि देशबाट अमेरिका आएका जो कोही पनि आत्मनिर्भर र आर्थिक रुपले सहज जीवन बिताउने सपना देख्छन् । सुखद भविष्यको सपना साँचेर अवसरको खोजीमा अध्ययन, व्यवसायको सञ्जाल विस्तार, सुव्यवस्थित बसोबासका लागि अमेरिका आउनेहरु आज पनि उत्तिकै छन् । आफ्नो भूगोलबाट ठ्याक्कै विपरीत धु्रवमा रहेको अमेरिका आउने चाहना नेपालीको पनि छ । उनीहरुको चाहना अमेरिका आउने अनि आफनो आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउने र पारिवारिक दायित्व पूरा गर्ने नै हुन्छ । यस्तै, नेपालीहरुमध्ये एक छन्, डा ह्यारी भण्डारी । अमेरिकाकै एक प्रतिष्ठित विश्वविद्यालयबाट विद्यावारिधि गरेर मेरिल्यान्ड राज्यबाट निर्वाचित सांसद डेलिगेटको हैसियतले भण्डारी अहोरात्र खटिरहेका छ । अमेरिकाको एउटा राज्यको सांसदको भूमिका के नै होला र भन्ने लागे पनि यसको प्रक्रिया र संरचना अध्ययन गरेपछि भने सबैले भन्ने गर्छन्– यो कठिन कार्य हो । केही थान अङ्ग्रेजी साहित्यका र नेपाली किताब सुटकेसमा हालेर सन् २००५ मा अमेरिका आएका भण्डारी आधा दशकदेखि भने अमेरिकाको मेरिल्यान्ड राज्यको तल्लो सदनमा सांसदका रुपमा क्रियाशील छन् । कूल एक सय ४१ सदस्यीय सांसद राज्यका लागि बजेट तर्जुमा, आवश्यक पर्ने नीति नियमको परिमार्जन र गभर्नरको भिटोलाई समेत निष्क्रिय गराउन सक्ने गरी मुख्य कार्य क्षेत्र निर्धारण गरिएको छ । अमेरिका स्वतन्त्र छन् एक सय ४४ वर्षअगाडि नै सन् १६३२ मा स्थापना भएको मेरिल्यान्ड जनरल एसेम्बलीले हालसालै चार सय ४५औँ बैठक सम्पन्न गरिसकेको छ । अमेरिकाका संस्थापक पिता भनेर सम्बोधन गरिने जर्ज वाशिङटन, जेफर्सनजस्ता व्यक्तित्वहरुले भावी पिँढीका लागि इतिहास कोरेको भवनमा ह्यारीले पनि उनीहरुकै पदचाप पछ्याउँदै छन् । उनको राजनीतिक यात्राले त दश वर्ष मात्र पूरा गरेको छ तर आप्रवासी नेपाली अमेरिकीमाझ उनी उदाहरणीय बनेका छन् । उनी सफलता पछ्याउँदै अघि बढेका छन् । भण्डारीले सन् २०१८ मा आफ्नो डिष्ट्रिकबाट मेरिल्यान्ड राज्यको संसद्मा प्रतिनिधित्व गर्ने पहिलो नेपाली अमेरिकी बनेर इतिहास रचेका छन् । आप्रवासीहरुको न्यून उपस्थिति भएको उक्त क्षेत्रबाट तीनजनाले राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा ह्यारीले १२ वर्षपछि डेमोक्र्याट पार्टीका तर्फबाट जित हासिल गर्न सफल भएका थिए । ह्यारीको विजयी अभियानलाई नेपाली आप्रवासीले अङ्गीकार गरेको ‘फर्सीको मुन्टा कूटनीति’ ले काम गरेको टिप्पणी स्वतन्त्र अध्येताहरुको छ । नेपालीहरु आफ्नो करेसाबारीमा फलेको हरियो सागसब्जी छिमेकीलाई दिएर अपनत्वको भावना जागृत गराउन सिपालु हुन्छन् । उनको विजयमा यो कूटनीतिले पनि सघाएको छ । पेसाले शिक्षक भण्डारीले ‘टिचर फर डेलिगेट’ भन्ने नारा तय गरेका थिए । यो नाराले उनलाई विजय हुन मात्र सफलता दिएन बरु राजनीतिक सम्भावनाको ढोका पनि खोलिदियो । तिनै शिक्षकले अहिले आफ्नो डिष्ट्रिकमा विद्यार्थीहरुको बढ्दो चापलाई कम गर्न विद्यालयको भौतिक संरचना निर्माणका लागि लाखौँ डलर राज्यकोषबाट ल्याउन सफल भएका छन् । संसद् बैठकको अन्तिम दिन अनेकन बिलहरु पारित गर्नुपर्ने दबाबमा हाउसका अध्यक्ष, स्पिकर, सिनेटरहरु र डेलिगेटहरु रहेका हुन्छन् भने अल्पमतमा रहेकाहरु कसरी एउटा भए पनि बिललाई पास हुनबाट रोकौँ भन्ने ध्यानमा हुन्छन् । हाल भण्डारी मेरिल्यान्ड राज्यको संसद्मा एसियन अमेरिकन प्यासिफिक आइल्यान्डरको ककसको अध्यक्षसमेत छन् । संसद् बैठक समापन हुनुभन्दा २६ मिनेटअगाडि यो बिल जब सिनेटका अध्यक्ष बिल फार्गसनले पढेर सुनाए, सिनेटमा उपस्थित भएका सिनेटरहरुमध्ये सबैले बिलको पक्षमा मतदान गरेर बिल पारित भयो । बिल पारित भएपछि प्रतिक्रिया दिँदै भण्डारीले भने, ‘अमेरिका विविधतामा एकता भएको विश्वको एक मात्र यस्तो भूमि हो, जहाँ यहाँका नागरिकको चासो र सम्भावनालाई निर्वाचित प्रतिनिधिहरुले उच्च महत्वका साथ कानुनमार्फत सम्बोधन गरिरहेका हुन्छन् । यसैले गर्दा तपाइँ हामीले मानेको चाड दसैँ कानुन बनेर आयो ।’ हुन पनि सङ्ख्यात्मक हिसाबले सानो सङ्ख्यामा रहेको नेपाली अमेरिकीले मनाउने दसैँलाई भण्डारीले उच्च प्राथमिकताका साथ लिएर संसद्मा गए र पारित गराउन सफल भए । अब आगामी मे ३ तारिखमा तय गरिएको र मेरिल्यान्ड राज्यका गभर्नर वेज मुरले हस्ताक्षर गरेपछि यो कार्यान्वयनमा जानेछ । मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भने, ‘दसैँ बिल पारित हुनु हामीहरुका लागि अभूतपूर्व खुसीको क्षण हो । बिलमा समावेश भएका दुईटा कुराले अमेरिकाको कानुनको किताबमा नेपाल र नेपाली भावनालाई समेटेको छ । पहिलो, यसमा दसैँ नेपालबाट आएको भनिएको छ भने अर्कोतर्फ बसुधैव कुटुम्बकम भन्ने शब्दावलीलाई यसले अङ्गीकार गरेको छ ।’ चार दशकदेखि अमेरिकामा बस्दै आउनुभएका र दसैँ बिलका बारेमा संसदीय समितिमा वकालतसमेत गरेका डा श्याम कार्कीले खुसी हुँदै भने, ‘डा भण्डारीले नेपाली समुदायको भावनालाई उच्चतम् प्राथमिकतामा राखेर काम गरेको पुष्टि भएको छ ।’ मेरिल्यान्डमा हिन्दू तथा वुद्ध मन्दिरको स्थापनाका लागि प्रमुखदाताका रुपमा समेत रहेका कार्कीले यो बिलले मेरिल्यान्ड राज्यमा दसैँले मान्यता प्रदानमात्र गरेको छैन भाइचाराको सम्बन्धलाई पनि स्थापित गरेको छ । साहित्यकार तीर्थ पाण्डेयले भने, ‘यो बिल पारित हुनु हामीहरुका लागि खुसीको कुरा हो । अब हामीले यो बिलले समेटेअनुसारको काम गर्नुपर्नेहुन्छ ।’ खासमा यो बिलले हरेक वर्ष अक्टोबर ५ लाई दसैँ डे भनेर मनाइने छ । त्यस दिन मेरिल्यान्ड राज्यका गभर्नरले दसैँ डे भनेर घोषणापत्र सार्वजनिक गर्नेछन् । साथमा त्यो दिन विशेष चाड भएको भनेर अभिभावकहरुले विद्यालयमा आफ्ना बालबालिकाहरुका लागि बिदा माग गर्न सक्नेछन् । भण्डारी अमेरिकामा रहेका नेपालीहरुका लागि राजनीतिक सफलता पाएसँगै एक नमूना राजीतिज्ञका रुपमा स्थापित भएका छन् । उनले गाह्रोसाह्रो परेका बेला कैयन् व्यक्तिलाई सहजीकरणसमेत गरेका छन् । विविध कारणले मृत्यु भएकाहरुको सद्गत गर्नेदेखि आप्रवासनका समस्या, भाषागत समस्याका कारणले कानुनी परिबन्दमा परेकाहरुको सहजीकरणदेखि हरेक कुरामा ह्यारीको साथ र सहयोग रहेको छ । सन् २०२१ को कोरोना महामारीका बेला ह्यारीले ५० वटै राज्यका अमेरिकामा नेपालीहरुको बेरोजगार फर्म भर्न सहजीकरण गर्नेदेखि मनोवैज्ञानिक त्रासमा रहेकाहरुलाई ढाडस दिने काम गरेका थिए । सामाजिक अभियन्ता अर्जुन हमाल भन्छन्, आफैँलाई कोरोना महामारी भए के गर्ने ? भन्ने अन्यौल थियो तर उनी मास्क र पञ्जा बोकेर कैयन् आप्रवासीहरुको घरदैलोमा पुगे । भण्डारीमा सामाजिक र भावनात्मक रुपले राजनीतिक नेतृत्वमा हुनुपर्ने गुण छ ।” अहिले पनि भण्डारीको कार्यालयमा सहयोगका लागि हरेक दिन सम्पर्क गर्ने व्यक्तिहरुको कमी छैन । अमेरिकामा चारवटा अलगअलग समयसीमा छ, पूर्वतटीय भूगोलमा भन्दा पश्चिमतटको समयको फरक तीन घन्टा छ । कतिपय अवस्थामा त रातको २ बजे पनि समस्यामा परेकाहरुले भण्डारीलाई फोन गर्ने गर्छन् । विविध कारणले मृत्युवरण गरेकाहरुको अन्तिम संस्कारका लागि अपनाउनुपर्ने प्रक्रियाका बारेमा भण्डारीको कार्यालयले समन्वय गर्दै आएको छ, भने दिवङ्गतहरुको शव नेपाल पठाउनका लागि पनि भण्डारी स्रोत व्यक्तिसरहकै रुपमा काम गर्दै आएका छन् । अमेरिकास्थित दूतावास, नेपालमा रहेका परिवारका सदस्यहरुको मञ्जुरीनामा, शवदहन गृहका प्रतिनिधिसँग छलफलदेखि एयरलाइन्ससँग समन्वय गर्ने सबै काम उनीको कार्यालयले गर्दै आएको छ । भण्डारीले मेरिल्यान्डमा रहेका नेपालीको सङ्घसंस्थाका लागि सहयोग कोषमार्फत सात लाख डलरसमेत दिलाउन सफल भएका छन् । यसरी रकम प्राप्त गर्नेहरु हिन्दू, बुद्ध मन्दिर, नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र, बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिकालगायतका गैरनाफामूलक संस्था रहेका छन् । भर्जिनियामा बस्दै आएका अन्तर्राष्ट्रिय साहित्य समाज मेरिल्यान्ड च्याप्टरका पूर्वअध्यक्ष भरत बराइली भन्छन्, “डेलिगेट भण्डारीले अमेरिकामा रहेका नेपालीका लागि अभिभावककै भूमिका निर्वाह गरेका छन् । उनले नेपाली भाषीहरुको कला, संस्कतिको जगेर्नामा त महत्वपूर्ण भूमिका निभाएका बराइलीले टिप्पणी गरे । मेरिल्यान्डका सामाजिक अभियन्ता गौतम दाहाल भन्छन्, ‘ह्यारीले गैरनाफामूलक संस्थाहरुलाई राज्यका तर्फबाट रकम दिलाउनु भएर नेपाली अमेरिकीका लागि महत्वपूर्ण भूमिका निर्वाह भएको छ ।’ अमेरिकाको संसद्मा प्रतिनिधित्व गर्नुहुने ह्यारीले संसद्मा गीता र वेदका पुस्तक छोएर शपथ लिनुभएको थियो । मेरिल्यान्डको राजधानी एनापोलिसमा रहेको उहाँको कार्यकक्षमा नेपालको झन्डा र सगरमाथाको तस्बिर सजिएका छन् । भावी पिँढीका लागि अमेरिकाको मूलधारको राजनीति, कूटनीति, शिक्षा, स्वास्थ्यजस्ता विषयलाई उच्च तहमा पुर्याउनका लागि उपलब्ध अवसरलाई सहजीकरण गर्न सदैव तत्पर रहेको बताउने भण्डारीले विगत पाँच वर्षमा मेरिल्यान्ड जनरल एसेम्बलीबाट १७ वटा विधयेक आफैँले प्रस्तुत गरेर पारित गराउन सफल भएका छन् । उनले नेपाली अमेरिकीलाई मूलधारको राजनीतिमा अभियानकै रुपमा अगाडि बढाउने अभिप्रायले ‘नेपाली फर हिलारी’ र ‘नेपाली फर वाइडेन’ भनेर राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट पार्टीका उम्मेदवारहरुलाई सहयोग गर्न संस्थागत रुपले नै लागेका थिए । आगामी दिनमा मतदाताको सुझावलाई मनन गर्दै थप कार्य गर्ने योजना रहेको उनी बताउँछन् । रासस

बिमारीले डाक्टरलाई दिने सेवाशुल्क र निजी अस्पतालमा काम गर्ने डाक्टरको तलब बढ्यो

फाइल तस्बिर काठमाडौं । चिकित्सकहरुले बिमारीसँग लिने परामर्श (ओपीडी) शुल्क वृद्धि भएको छ । जेठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकहरूको ओपीडी शुल्कमा वृद्धि गरिएको हो। चिकित्सकहरूले योग्यताका आधारमा प्राप्त गर्नेगरी नयाँ शुल्क पुनरवलोकन गरिएको हो। नेपाल चिकित्सक सङ्घ र निजी अस्पतालहरूको सङ्गठन (अफिन)को संयुक्त बैठकले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो । वृद्धि गरिएको नयाँ शुल्कअनुसार अब पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० रुपियाँ र पाँच वर्षभन्दा माथिकाले ५१५ रुपियाँ ओपीडी शुल्क लिन पाउनेछन्। पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले ५९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपियाँ शुल्क लिन पाउनेछन्। स्वास्थ्य मन्त्रालय तथा सरोकारवालाको परामर्शका आधारमा शुल्क पुनरावलोकन गरिएको चिकित्सक संघले जनाएको छ । ओपीडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउनेगरी निर्णय भएको छ। नयाँ शुल्कअनुसार डीमए तथा एमसीएच गरेका डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८०, पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४०, एमडीरएमएस र एमडीएस डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपियाँ शुल्क लिनेछन् । नयाँ शुल्कअनुसार १० वर्षभन्दा बढी काम गरेका एमडीरएमएस र एमडीएस डाक्टरले ओपीडी शुल्क भने ९४० रुपियाँ लिन पाउनेछन् । त्यस्तै, निजी अस्पतालमा काम गर्ने डाक्टरहरुको तलब बढाउने निर्णय संघ र अफिनले गरेका छन् । अब निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको तलब ४८ हजार सात सय ३७ रुपैयाँ हुने भएको छ । यसअघि मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार रुपैयाँ तोकिएको थियो । वृद्धि भएको परामर्श शुल्क र तलब जेठदेखि लागु हुने जनाइएको छ । ‘निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिई सेवा पुर्याउने मेडिकल अफिसर (हाउस अफिसर)हरुको पारिश्रमिकको हकमा न्यूनतम ४८७३७ कायम गर्ने गराउने निर्णय गरिएकोले सोको कार्यान्वयनका लागि सम्पूर्ण चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई अनुरोध गरिन्छ’ अफिनका अध्यक्ष डा. पदम बहादुर खड्का र चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ।

यही सरकार रहिरहने हो भने देश टाट पल्टिन्छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार कायमै रहे मुलुक टाट पल्टिनु अनिवार्य रहेको बताएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन उल्लेख गर्दै ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र अबको डेढ वर्षमा रोक्न नसके मुलुक असफल राष्ट्र बन्ने खतरा रहेकाे बताएका हुन् । ‘अब यदि १८ महिना भित्र डेढ वर्षको स्थितिमा, अव यस्तो अवस्थामा अर्थतन्त्र पुगेपछि, अव डेढ वर्षमा अर्थतन्त्र सही बाटोमा फर्काउन सकिएन भने, आरालो लागेको स्थितिलाई रोक्न सकिएन भने फेरी मुस्लिक हुन्छ, देश असफल राष्ट्र बन्ने खतरा हुन्छ,’ उनले भने । उनले पैसा नभएका कारण देशमा आयातमा कमी आएको देखिएको बताउँदै भने,’ यही सरकार रहिरहने हो भने देश टाट पल्टिनु अनिवार्य छ, देश टाट पल्टिदैछ ।’

रवि लामिछानेका ड्राइभर शम्भुको उपचारको क्रममा निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको गाडी चालक दिलबहादुर थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालका अनुसार उनको मंगलबार दिउँसो साढे एक बजेको करिब निधन भएको हो । वैशाख ४ गते बिहान ४ बजे  लामिछानेको चितवनस्थित घरको छतबाट खसेर थापा घाइते भएका थिए । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गहिरो चोट लागेका थापाको भरतपुरमा नै शल्यक्रियासमेत गरिएपछि थप उपचारको लागि हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।