भारतबाट ३०९ रुपैयाँले घटेर आयो एलपी ग्यासको मूल्य
काठमाडौं । एलपी ग्यासको मूल्य ग्यासको मूल्य घटेर आएको छ । नेपाल आयाल निगमको अनुसार भारबाट ग्यासको मूल्य प्रति सिलिन्डर ३०९ रुपैयाँले घटेर आएको हो । यसैगरी पेट्रोलमा ४.३७ रुपैयाँ, डिजलमा ४.१६ रुपैयाँ, हवाई इन्धनमा २ रुपैयाँ ९५ पैसाले मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसनले हरेक महिना नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ ।
अर्थतन्त्रमा कृषिको योगदान घट्दा वित्तीय क्षेत्र र घर जग्गाको बढ्यो
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी हिस्सा विगत वर्षहरू जस्तै कृषि क्षेत्रको रहेको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमानका अनुसार अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ । तर, गत आर्थिक वर्षको तुलनामा केही घट्ने देखिएको छ । गत आर्थिक वर्षमा कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनको २४.६७ प्रतिशत हिस्सा ओगटेकोमा चालू आर्थिक वर्षमा यो हिस्सा घटेर २४.१२ प्रतिशत हुन पुगेको अनुमान गरिएको छ । १८ वटा औद्योगिक क्रियाकलापमध्ये ९ वटाको घट्ने र ९ वटाको बढ्ने कार्यालयको अनुमान छ । गत आर्थिक वर्षको तुलनामा कुल गार्हस्थ्य उत्पादनको अंश सामान्य बढ्नेमा यातायात तथा भण्डारण, विद्युत ग्याँस वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, वित्तीय तथा बीमा क्षेत्र, आवास तथा भोजन सेवा, शिक्षा र स्वास्थ्य तथा सामाजिक सेवाका क्रियाकलापहरू रहेका छन् । सामान्य रुपमा घट्नेमा कृषि वन तथा मत्स्य, खानी तथा उत्खनन, निर्माण, उद्योग, थोक तथा खुद्रपार, घरजग्गा कारोवारको सेवा, सूचना तथा सन्चार, पानी आपूर्ति ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू र अन्य सेवाहरू गरी ९ क्रियाकलापहरू छन् । पेशागत, बैज्ञानिक तथा प्राविधिक क्रियाकलापहरू र प्रशासनिक तथा सहयोगी सेवाका क्रियाकलापहरूको हिस्सा यथावत नै रहेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा बैंक तथा बीमा क्षेत्रले ७.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । समग्र रूपमा यी क्षेत्रका क्रियाकलापमा भएको बढोत्तरीको कारणले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ७.२९ प्रतिशतले कुल मूल्य अभिवृद्धि मा वृद्धि हुने प्रारम्भिक अनुमान छ । यस्तै, चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा क्षेत्रले ८.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । घर जग्गाको कारोवारमा मन्दी आएको भएतापनी निजी आवास तथा भाडाका क्रियाकलापहरुमा भएको बढ़ोतरीले यस क्षेत्रमा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० मा २.१७ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको छ । कुन क्षेत्रको योगदान कति ?
हराभरा हुँदै झापाको ‘महेन्द्र पार्क’
झापा । झापाको पुरानो सदरमुकाम चन्द्रगढीमा रहेको ‘महेन्द्र पार्क’ पुग्ने जो कोहीले पनि सुन्दरताको तारिफ गर्छन् । रङ्गीबिरङ्गी क्यामेलिया र गुलाफ अनि सल्लोको बोन्साई पोथ्राहरुले धेरैको ध्यान तानिरहेको हुन्छ । भद्रपुर–८ स्थित चन्द्रगढीको मुख्य भागमा एक बिगाहा दुई कट्ठा १० धुरमा फैलिएको महेन्द्र पार्क पुनरुत्थान भएपछि घुमफिरमा आउनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । विसं २०४६ अघिसम्म झापामा सबैभन्दा धेरै पर्यटक लोभ्याउने सौन्दर्य पार्क थियो यो । राजनीतिक द्वन्द्वका कारण रमणीयस्थल बिस्तारै उजाड बन्न पुग्यो । पार्कको बीचमा राजा महेन्द्रको पूर्णकदको सालिक रहेकाले यो पर्यटकीयस्थल राजनीतिक द्वन्द्वको सिकार बन्न पुग्यो । विसं २०४६ सालपछि २०६२/६३ को जनआन्दोलनसम्मको डेढ दशक अवधिसम्म पार्क बेवारिसे झैं बन्यो । पार्कभित्रका फूलका बगैँचा र भौतिक संरचनाले स्याहर पाएका थिएनन् भने वर्षौँसम्म पार्कको ढोका बन्द रह्यो । विसं २०६२/६३ को जनआन्दोलनमा पार्ककै छेउमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गरेका थिए । आन्दोलनकै क्रममा राजा महेन्द्रको सालिक भत्काइयो र राजाको गुणगान गरिएका शिलालेखहरु ध्वस्त बनाइयो । सुन्दर पार्क लामो समयसम्म भग्नावशेषमा अवस्थामा रहेपछि स्थानीय र सञ्चारमाध्यमले पार्कको जीर्णोद्धार हुनुपर्ने आवाज उठाउन थाले । जनआवाजको कदर गर्दै भद्रपुर नगरपालिकाले विगत चार वर्षदेखि यसको जीर्णोद्धार र सौन्दर्यकरणमा ध्यान दिन थालेको छ । चालु आर्थिक वर्षमा भद्रपुर नगरपालिका–८ ले महेन्द्र पार्कको पुनःनिर्माण र जीर्णोद्धारका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको वडाध्यक्ष गौरव सुब्बा बताउँछन् । राजनीतिक विवादभन्दा माथि उठेर सार्वजनिकस्थलको जगेर्ना गर्नुपर्छ भन्ने मान्यताका आधारमा वडा कार्यालयले पार्कलाई परिष्कृत र अझ बढी सौन्दर्यकरण गर्ने काम गरिरहेको उनले बताए । ‘चालु आवमा १० लाख रुपैयाँ बजेट छुट्यायौँ’, वडाध्यक्ष सुब्बाले भने, ‘आगामी आवमा अझ धेरै बजेट छुट्याएर महेन्द्र पार्कलाई पहिलेभन्दा राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्ने हाम्रो योजना छ ।’ पार्क सञ्चालनको सम्पूर्ण जिम्मेवारी भद्रपुर नगरपालिकाले लिएको जनाउँदै उनले अब कुनै हालतमा पार्कलाई बेवारिसे बन्न नदिइने बताए । पालिकाको बजेटले हाल पार्कको वरिपरिको पर्खाल र भौतिक संरचनाहरुको रङ्गरोगन गरिएको छ । कलात्मक मूल प्रवेशद्वार, सालिक राखिएको पुरानो स्तम्भ, पानीको फोहोरा रहेको नहर, बिजुलीका खम्बा लगायतका भौतिक संरचना नयाँ रङ्गले उज्यालिएका छन् । पार्कभित्र बालबालिकालाई मनोरञ्जनका लागि पिङ, चिप्लेटी, चाकाचुलीलगायतका खेल सामग्रीहरु राख्ने र पुराना थोत्रिएका सामान हटाएर नयाँ राख्ने काम धमाधम भइरहेको छ । पर्यटकको सबैभन्दा बढी आकर्षण रहने फूलबारीमा नयाँ फूल रोप्ने, पुराना गोड्ने र झारपात फालेर चिटिक्क बनाउने कार्यमा नगरपालिकाले कर्मचारीहरु परिचालन गर्दै आएको छ । क्यामेलियाको विभिन्न फूल र बोन्साइका पोथ्राले पार्कको आकर्षण बढाएका छन् । पर्यटक हिँड्ने फुटपाथ र गोरेटो वरपर हरियाली फूलका झ्याँङ हुर्काइएका छन् । रङ्गरोगन गर्ने, बगैँचामा माटो भर्ने लगायतका काम गर्न धनजुजु श्रेष्ठको अध्यक्षतामा उपभोक्ता समिति गठन भएको छ । समितिले नियमितरुपमा पार्कको जीर्णोद्धार अघि बढाइरहेको छ । एक महिनाभित्र महेन्द्र पार्कले काँचुली फेरिसक्ने पार्कका माली अमृत थापाले बताए । फुलका विरुवा कहाँ कसरी रोप्ने र हुर्किएका बोन्साई, धुपी, सल्लोलगायतका बोटका हाँगाबिँगा छिमलेर सुन्दर बनाउन लागिरहेको बताउँछिन् माली थापा । उनीसँग संयुक्त अरब इमिरेट्सको प्रसिद्ध बगैँचामा मालीको काम गरेको अनुभव छ । रासस
ठमेलमा अपराध रोक्न एकमहिने अभियान
काठमाडौं । पर्यटकीय गन्तव्य ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरणका लागि एकमहिने अभियान सञ्चालन गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्नका लागि काठमाडौं महानगरपालिका, नेपाल प्रहरी, सम्बन्धित घरधनी तथा व्यवसायीको सहकार्यमा एकमहिने अभियान सञ्चालन गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले स्वदेशी तथा विदेशी पर्यटकलाई लुटपाट तथा अनैतिक कार्य गर्ने, सडकमा सेकुवा पोलेर वातावरण प्रदूषित गर्ने, सडक बालबालिका, मगन्ते, ठेलागाडीमा सामान बेच्ने, नाङ्लो व्यापारको नाममा ठगी गर्ने गुनासो बढेपछि उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले ठमेलभित्र भएको ध्वनि प्रदूषणलाई रोक्नसमेत अभियानले भूमिका खेल्ने बताए । परिषद्को टोलीले रातको १० देखि १२ बजेसम्म उक्त अभियान सञ्चालन गर्ने अध्यक्ष शर्माको भनाइ छ । ‘सुरुको समयमा पर्यटकलाई दुःख दिने तथा ठमेलभित्र होहल्ला गर्ने व्यक्तिलाई सम्झाइबुझाइ गर्छौं, सम्झाइबुझाइ गर्दासमेत अटेर गरेमा पक्राउ गरेर कारबाही गछौँ’, उनले भने । उनले रातिको समयमा पर्यटकलाई दुःख दिए ठमेल पर्यटन परिषद्मा सम्पर्क गर्नसमेत आग्रह गरेका छन् । कोरोनाले थलिएको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले सरकारले चौबिसै घण्टा खोल्न दिने निर्णयपछि ठमेलमा रात्रिकालीन व्यवसाय फस्टाएको छ । ठमेलमा होटल, रेस्टुराँ, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायले व्यवसाय फस्टाएको भए पनि ध्वनि प्रदूषणले समस्या सिर्जना गरेको स्थानीय बताउँछन् । परिषद्का उपाध्यक्ष सहदेव विमल धमलाले सुरक्षित र व्यवस्थित ठमेल निर्माणका लागि ठमेल परिषद्ले काठमाडौँ महानगरपालिका नगर प्रहरी, प्रहरी वृत्त लैनचौर तथा दरबारमार्ग, ट्राफिक प्रहरी, पर्यटक प्रहरी स्थानीय घरधनी तथा व्यवसायीको उपस्थितिमा अभियान सञ्चालन गरेको बताए । नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । काठमाडौं महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झन्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् । रासस
ग्लासियर कलेजले हिमालयन बैंकको ऋण तिरेन, धितो बेचेर असुल नभएपछि मुद्धा हाल्ने
काठमाडौं । ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजले हिमालयन बैंकको ऋण तिर्न नमानेपछि हिमालयन बैंकको कालोसूचीमा परेको छ । बैंकको बत्तिसपुतली शाखा कार्यालयबाट एक वर्षअघि लिएको कर्जा चुक्ता गर्न ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजलाई पटकपटक ताकेता गर्दा पनि भुक्तानी नगरेपछि कालोसूचीमा राखेर धितो लिलाम गर्ने भएको छ । बैंक स्रोतका अनुसार ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेजको नाममा एकवर्ष अघि ३८ लाख रुपैयाँ बराबरको कर्जा लिइएको थियो । बैंकले कलेजलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना पनि जारी गरेको थियो । तर, चुक्ता गर्न नमानेपछि सवारी साधन जफत गरी लिलाम गर्ने र कालोसूचीमा राख्ने बताएको हो । ‘ग्लासियर इन्टरनेशन स्कुल एण्ड कलेज कालोसूचीमा परेको ग्राहक हो, कर्जा चुक्ता गर्न नसकेर हामीले सवारी राखेका छौं,’ बैंक स्रोतले भन्यो, ‘३५ दिने सूचना निकाल्यौं, उहाँहरुसँग बारम्बार भेटेर कुराकानी पनि गर्याैं तर, उहाँहरुले चुक्ता गर्न नमानेपछि सवारी साधन लिलामीमा राखेको हो ।’ ग्राहकले बैंकको ऋण नतिरेपछि कालोसूचीमा राख्ने तयारी रहेको बैंकले जनाएको छ । यदि सवारी साधन बिक्री गरेर कर्जा असुल भएन भने ऋण असुली न्यायाधिकरण मुद्धा दर्ता गरेर भएपनि कर्जा असुली गर्ने बैंकले बताएको छ । बैंकको बत्तिसपुतली शाखा कार्यालयबाट ऋणी ग्लासियर इन्टरनेशनल स्कुल एण्ड कलेज प्रालिका सञ्चालक तथा जमानीकर्ता दिवश शाक्य, दिलिप कुमार बिष्ट, रेगन प्रसाई र जानकी शरण यादवले कर्जा लिएका हुन् । कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा ग्लासियर इन्टरनेशनल स्कुल एण्ड कलेज प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१-०२५ च ३११८ नम्बरको निशान म्याग्नाइट नीजि कार बिक्रीमा राखिएको हो । सो सवारीको मूल्य नेपालमा ३० लाखदेखि ४० लाख रुपैयाँसम्म पर्न जान्छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले बैशाख २५ गतेभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
राष्ट्र उत्थान लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव, सेयर कारोबार रोक्का
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । उक्त बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस्तै, नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । बैशाख १३ गते बसेको बैठकले गरेको निर्णय १९ गते सेयर कारोबार भएको समयमा मूल्य प्रभावित हुनेगरी सार्वजनिक गराएको भन्दै नेप्सेले लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।
असारसम्म नेपालको जीडीपी पौने ५४ खर्बको पुग्ने अनुमान, आर्थिक वृद्धिदर खुम्चियो
काठमाडौं । काठमाडौं । चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म नेपालको अर्थतन्त्र ५३ खर्ब ८१ अर्बको पुग्ने अनुमान गरिएको छ । केन्द्रिय तथ्यांक कार्यालयले मंगलबार वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । कार्यालयको प्रक्षेपण अनुसार चालू आवको अन्त्यसम्म देशको आर्थिक वृद्धिदर उपभोक्ता मुल्यमा १.८६ र आधारभुत मुल्यमा २.१६ रहने देखिन्छ । सरकारले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा यो वर्ष ७ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । चालू आर्थिक वर्षको छ देखि नौ महिना सम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित यथार्थ आँकडा तथा एवं बाँकी अवधिको अनुमान गर्दा हालको अवस्था र विगतका प्रब्रितिगत अवस्थाका आधारमा वस्तु तथा सेवाको उत्पादन अनुमान गरी बि.स २०७९/८०को प्रारम्भिक अनुमान र प्राप्त संशोधित तथ्याङ्कका आधारमा गत आर्थिक वर्ष २०७८/७९ को संशोधित अनुमान तथा २०७७/७८ को अन्तिम अनुमान प्रकाशन गरिएको छ । यस्तै, कार्यालयले कोरोनाको प्रभाव अहिले नरहेको बताएको छ । तथापी विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापीरुपमा आपूर्ति श्रृंखला खलवलीएको तथा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मुल्य बृद्धिको असर नेपालको अर्थतन्त्रमा पनि परेको बताएको छ । चालू आर्थिक वर्ष २०७९/८० काे केही प्रमुख आर्थिक सूचकहरूको अवस्था -कुल गार्हस्थ्य उत्पादन वृद्धिदर उपभोक्ताको मूल्यमा १.८६ प्रतिशत । -कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत । -चालु मूल्य अनुसार कुल उत्पादन आधारभूत मूल्यमा रु.८० खर्ब ९० अर्ब ६७ करोड । -चालू मूल्य अनुसार कुल मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा रु. ३३ खर्ब ९४ अरब १७ करोड । -चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा रु. ४६ खर्व ९६ अर्ब ४९ करोड । -चालू मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा रु. ५३ खर्व ८१ अरब ३४ करोड । -चालू मूल्यमा कुल स्थिर पुँजी निर्माण रु. १३ खर्व ५६ अरब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत । -चालू मूल्यमा अन्तिम उपभोग खर्च रु. ५० खर्व ३६ अरब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत । -चालू मूल्यमा वस्तु तथा सेवा निर्यात रु. ३ खर्व ८५ अरब ११ करोड (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत । -चाूु मूल्यमा वस्तु तथा सेवा अयात रु. १९ खर्व ६४ अरब ३३ करोड (कुल गार्हस्थ्य उत्पादनको ३६.५ % प्रतिशत । -चालू मूल्यमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत । -विप्रेषण रु. १२ खर्व ३१ अरब ७३ करोड (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत । -प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन रु १,८२,६८३ अर्थात १,३९९ यु.एस डलर ।
लुम्बिनीमा गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको सधैको लागि दर्शनलाई खुल्ला
काठमाडौं । लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको नवमैत्री महावीर बिहारको प्राङ्गणमा सर्वज्ञ धातु स्तूपा निर्माण गरी अस्थिधातु राखिएको छ । सर्वज्ञ धातु स्तूपा जेडरल रिम्पोछेको पूण्य स्मृतिमा राप्तेन साङ्गे लामाले निर्माण गरेका हुन् । सो स्तूपामा रहेको अस्थिधातु सर्वसाधारणले बिहानको ८ बजेदेखि साँझ ५ बजेसम्म दर्शन गर्न सकिने अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए । ‘नेपालमा आनन्दकुटिमा मात्र यसरी अस्थिधातु राखिएको मलाई जानकारी छ, त्यहाँ बुद्धपूर्णिमाको दिन दर्शनको लागि खुल्ला गरिन्छ’, उनले भने ‘हामीले लुम्बिनीमा पनि बुद्धजयन्तीकै अवसर पारेर मायादेवी प्राङ्गणमा दर्शन गर्न खोलेका थियौँ, अहिले सधैँका लागि खोलेका हौँ ।’ बुद्ध धर्ममा अस्थिधातुको निकै महत्व रहेको छ । भिक्षु मैत्रीका अनुसार भगवान बुद्धको महापरिनिर्वाणपछि अङ्ग, मगध, शाक्य, कोलिय, कोशल, बैशाली, पावा, कुशीनगर गरी तत्कालीन आठ राज्यबीच अस्थि बाँडफाँडबारे ठूलो विवाद भएको थियो । त्यति समयका द्रोण भन्ने ब्राम्हणले विवाद मिलाउँदै आठ राज्यलाई र अन्य दुई गरी १० स्थानमा धातु चैत्य स्थापना गरी अस्थि राखिएको थियो । अस्थि विभिन्न ठाउँमा छरिएर रहँदा संरक्षण नहुने ठानी त्यस वेलाका प्रभावशाली भिक्षु महाकश्यप महास्थवीरको पहलमा राजा अजातशत्रुको समयमा ती स्तूपमा केही बाँकी राखी मगधमा ल्याइएको महावंशमा उल्लेख भएको मैत्री भिक्षुले बताए । पछि ८४ हजार स्तूपा बनाउने अभियानका क्रममा सम्राट अशोक भिक्षु महाकश्यपले बाँकी छाडेका अस्थिधातु रामग्राम र कपिलवस्तु बाहेक सङ्कलन गरी सुरक्षित स्थानमा राखेका थिए । हाल श्रीलङ्कामा रहेको उक्त स्थानबाट विभिन्न समयमा नेपाललाई प्रदान गरिएकामध्ये दुई थान र धम्मकाय फाउण्डेशनबाटसमेत गरी करिब आठ थान अस्थिधातु दर्शनका लागि खुल्ला गरिएको अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थवीरले बताए । यी धातुलाई विशेष सुरक्षासहित सुनको फूल बनाइ दर्शनको लागि राखिएको छ । भगवान गौतमबुद्धसँग प्रत्यक्ष सम्बन्ध राख्ने अस्थिधातु दर्शन गर्न पहिलो दिन नै पर्यटक आइपुगेका छन् । लुम्बिनी भ्रमणमै रहेका भारत महाराष्ट्रका बौद्धगुरु बुद्धरत्नले बुद्ध रुप रहेको अस्थिधातु दर्शनले आफु कृतज्ञ भएको बताए । अस्थिधातु हुनु भनेको बुद्ध जन्मेको प्रमाण भएको उनको भनाइ छ । ‘अस्थिधातुकै लागि बौद्ध अनुयायी अन्य देशमा जानुपरेको हुन्छ’, उनले भने ‘लुम्बिनी आएको समयमा अस्थिधातुको दर्शन गर्न पाइयो, यो मेरो अहोभाग्य हो ।’ यही वैशाख २२ गते २५६७ औँ बुद्धजयन्ती परेको छ । लुम्बिनीमा यसको तयारी तीव्र पारिएको छ । बुद्धजयन्तीको दिन दर्शनार्थीलाई दर्शन गर्न सहज होस भन्ने उद्देश्यसहित पाँच दिन अगावै बुद्ध अस्थिधातु दर्शनको लागि खुल्ला गरिएको हो । रासस