विकासन्युज

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

काठमाडौं । मंगलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । परीक्षाको तयारी पूरा भएसँगै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सबै परीक्षार्थीलाई परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । कृष्ण शर्माका अनुसार परीक्षाका लागि केन्द्राध्यक्ष, सह-केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको छ । ‘परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पुर्याइएको छ, यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन्, जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ,’ उनले भने । तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ । बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । रासस

कानूनका छिद्र प्रयोग गरी सेयर बिक्री गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधान विरूद्व अदालतमा मुद्दा दर्ता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ता ज्ञानेन्द्र लाल प्रधानविरुद्ध मुद्दा दर्ता गरेको छ । इन्साइडर ट्रेडिङ र अवैध सेयर खरिद बिक्री गरेको आरोपमा नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । उनले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित सेयर कारोबार गरेको सेबोनको ठहर छ । प्रधान अध्यक्ष हुँदा र सोपदबाट हटेको एक बर्ष पुरा नभएसम्म कुनै तरिकाले सेयर हस्तान्तरण गर्न नहुने नियमको विपरित श्रीमतिलाई घरायसी नामसारी गराई सो सेयर दोस्रो बजारमा श्रीमतिको माध्यमबाट बिक्री गर्ने गरेको नेप्से, सिडिएससि तथा धितोपत्र दलाल व्यवसायीले पेश गरेको विवरणहरुबाट प्रष्ट रहेको प्रवक्ता श्रष्ठले बताए । उनले स्वयम आफ्नो सेयर विक्री नगरेतापनि परिवारको सहयोग लिई सेयर विक्री गर्ने कार्य सफा मनशायले गरेको नदेखिको प्रवक्ता श्रेष्ठले बताए । प्रधानले धितोपत्र लगायतका कानूनमा रहेको छिद्र प्रयोग गरी श्रीमति, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको उनको भनाइ छ । ‘संस्थागत गतिविधी भन्दापनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिन आउँदा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को बजारमा जालसाजी युक्त कारोबार गरेको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड (क) मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा जालसाजी गरेको मानिनेछ भन्ने व्यवस्था बमोजिम प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको प्रष्ट देखिन आयो,’ उनले भने ।

मदिरा कारोबारीले फसाए सहकारीका सञ्चालक, खाली चेकमा सहि गराएर ५ करोडको दावी

काठमाडौं । मदिरा व्यवसायी होमप्रसाद चालिसेले काठमाडौंको सिनामंगलमा रहेको पञ्चरुपा सेभिङ एण्ड क्रेडिट सहकारीलाई संकटमा फसाएका छन् । उनले सहकारीमा निक्षेप राख्नुपूर्व सहकारीसँग सहि गरेको खाली चेक लिएको र सोही चेकमा पछि ५ करोड रुपैयाँ लेखेर बैंकमा दावी गरेको सहकारीका सञ्चालकहरुले बताएका छन् । सहकारीका सञ्चालकहरुले शेयर सदस्य होमप्रसाद चालिसेका कारण आफूहरु अन्यायमा परेको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले चालिसेबाट कसरी ठगिएको भन्नेबारे प्रकाश पारेका थिए । सहकारीका उपाध्यक्ष मोहन सापकोटाका अनुसार मदिराको कारोवार गरिरहेको संस्कार ट्रेडर्सका सञ्चालक होमप्रसाद चालिसे सो सहकारीर्मा शेयर सदस्य बनेर नियमित कारोवार र ठूलो कारोवार गरिरहेका थिए । चालिसेले १ करोड सहकारीमा निक्षेप राख्नुपूर्व आफ्नो पैसाको सुरक्षाको लागि विश्वासको लागि भन्दै सहकारीका सञ्चालकहरुले सहि गरेको खाली चेक लिएका थिए ।विस्तारै चालिसेले कारोबार गरी सहकारीको खातामा आफ्नो रकम शून्यमा झारेको र खाली चेकमा ५ करोड लेखी भुक्तानी दावी माग गरेको उपाध्यक्ष सापकोटाले बताए । उनले भने,‘हाम्रो चेक ठगी गर्ने उद्देश्यले उहाँ आफंैले त्यो चेकमा रकम भरेर, त्यो पनि पाँच करोड रकम भरेर बैङ्कमा बाउन्स गर्ने तरिकाले अगाडि बढ्नु भयो । जब हामीले माघको २४ मा हामीले अन्तिम पटक उहाँको सबै भुक्तानी पेमेन्ट गरिसकेपछि उहाँले चेक बाउन्स गरेको कुरा बैङ्कबाट पत्र आएपछि थाहा पायौं, हामी अलिकति झसङ्ग भयौं ।’ सहकारीले चालिसेलाई भुक्तानी गर्नुपर्ने कुनै पनि रकम नभएको उनको दावी छ । चालिसेले ५ करोड रुपैयाँ दावी गर्दै अदालत गएपछि आफूहरुले सत्यतथ्य कुरा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरेको उनले उनीहरुले बताएका छन् । यस्तै, सहकारीका कार्यकारी प्रमुख पुरन रावलका अनुसार चालिसेले २०७८ असोज १ गते उक्त सहकारीमा खाता खोलेर नियमित कारोबार गरिरहेको थिए । चालिसेले सहकारीमा खाता खोलेको एक महिना बित्ने वित्तिकै ०७६ को कात्तिक १ गते एक महिनाको लागि भनेर आफूहरुको सहकारीबाट एक करोड ऋण लिएको र बैङ्किङ काम नभएका कारणले चालिसेले समयमा ऋण तिर्न नसकेको पनि उनको भनाई छ । २०७९ सालमा लक्ष्मी बैङ्कबाट ऋण पास भएपछि उनले ५० लाख रुपैयाँ २०७९ जेठ १७ गते आफूहरुलाई भुक्तानी गरेको रावलको भनाई छ । उनले भने ‘असोज ३ गते करौडौं पैसा म तपाईंको संस्थामा राखि राख्दछु । दशैं चाडवाडको बेला छ । अझै मेरो ब्यवसाय बढ्छ । मसँग भएको सम्पूणर् पैसा पनि तपाईंकै संस्थामा राख्ने हो । यसको सुरक्षाको लागि मलाई एउटा चेक चाहीँ दिनु पर्यो हजुर भनेर म कहाँ कुरा आइपुग्यो । म कहाँ आइपुगेपछि अरू सञ्चालक सदस्यलाई नसोधेर हाम्रो अफिसमा सिग्नेचर गरेर राखेको चेक मैले लगेर उहाँलाई दिएको हो । होमप्रसाद चालिसेलाई, त्यो चेक २०७९ साल असोज ३ गते दिएका थियौं ।’ उक्त मितिमा सहकारीमा रहेको चालिसेको खातामा करिब ३ करोड ४६ लाख रुपैयाँ रकम रहेको उनले स्मरण गराए । चालिसेले १३ महिनाको समयमा १ अर्ब ४५ करोड ८ लाख ८८ हजार १ सय ८७ रुपैयाँ १५ पैसाको कारोबार गरेको उनले बताए । त्यसपछि कर कार्यलयले संस्कार ट्रेडर्समा छापा मारेको र सबै कागज चेकिङ्ग लगेको भन्दै चालिसेले नाबालक छोरी स्वस्ति चालिसे नाममा खाता खोली कारोबार गरेका थिए । कारोबार भएको समयमा कुनै समस्या नभएको बताउँदै उनले भने, ‘२०७९/९/१७ गते हामीले दिएको ग्यारेन्टीको चेक बाउन्स गर्नु भएछ । जबकी हामीलाई जानकारी नदिएर, त्यो टाइममा उहाँको २ करोड लगभग ब्यालेन्स थियो । तर उहाँले ५ करोड रकम भरेर बाउन्स गरेको कुरा हामीलाई थाहा थिएन । तर, एकचोटी बाउन्समा बैङ्कबाट कुनै जानकारी दिएको थिएन, दोस्रोपटक बाउन्स हुँदा हामीले थाहा पायौं ।’ त्यसपछि चालिसेसँग छलफल भएपछि १ करोड ५० लाख सहकारीको खातामा राख्ने र बाँकी रकम उनको खातामा हाल्ने आफूहरुको प्रस्तावमा चालिसे सहमत नभएको पनि उनले सुनाए । उनले भने, ‘त्यतिवेला उहाँले आफ्नो सबै पैसाको माग गर्नुभयो । त्यसपछि उहाँको रकम लक्ष्मी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कको खातामा हामीले जम्मा गरेको भौचरसहित उहाँको कार्यालयमा राखेका थियौं ।’ तर, चालिसेले भने आफूले ब्याज नपाएको भन्दै सहकारी विभागमा आफूहरु विरुद्ध उजुरी दिएको उनले बताए । तर, विभागले उजुरीमाथि छलफल गर्न बोलाएको बैठकमा भने चालिसे अनुपस्थित् भएको उनको दाबी छ । उनले आफूहरुले चालिसेको सबै पैसा बिहान बुझाएको तर त्यही दिन बेलुका उक्त ५ करोड रकम भुक्तानी गर्न ग्लोबल आइएमइ बैंकले पत्र दिएको बताए । ‘त्यो पत्र प्राप्त भएपछि हामी झसङ्ग भयौं । किनभने उहाँले त केही गरेको छैन, बैंकमा बाउन्समात्रै गरेको हो । अरु प्रकिया अगाडि बढाएको छैन भन्दै एउटा आश्वासन दिनुभएको थियो ।’ त्यसपछि ७ दिनसम्मको समयसीमा भएको र चालिसेले चेक फिर्ता दिने आफूलाई भनेको अडियो आफूसँग अहिले पनि सुरक्षित रहेको उनको भनाई छ । ७ दिनसम्म पनि चेक नदिएपछि आफूहरुले केन्द्रीय अनुसन्धान ब्युरो महराजगञ्जमा गएर चालिसे विरुद्ध निवेदन दिएको र तेस्रो पटक बोलाउँद मात्रै उनी आएको कार्यकारी प्रमुख रावलको दाबी छ । चालिसेले प्रहरीसँगको छलफलमा पनि आफ्नो जिद्दी नछोडेको र त्यसपछि अदालती बाटो रोजेको उनले बताए । चालिसेले १९ गते जिल्ला अदालतमा मुद्दा दर्ता गराएर २१ गते मुद्दाको प्रतिलिपि लिएर ल्याएर प्रहरीकोमा आएको उनले बताए । प्रहरीकोमा चालिसेले मुद्धा दर्ता गराएको भन्दै निस्किएको उनले बताए । कार्यकारी प्रमुख रावलले आफ्नो सहकारीमा १७ महिनामा करिब १ अर्ब ७८ करोडको कारोबार भएको र सो कारोबार पनि शंकास्पद कारोबार भएको बताए । चालिसेले आफूहरुलाई मात्र नभई अन्य व्यक्तिहरुलाई पनि ठगेको बताए ।

प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको सबै उडान, काठमाडौंका लागि उडेको जहाज भैरहवा फर्कियो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन-एएनइ (डीएचसी-८-४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो । रासस

दलित परिवारको स्वास्थ्य बीमा गर्दै औरही गाउँपालिका

धनुषा। धनुषाको औरही गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सात वटै वडामा बसोबास गर्ने दलित परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले गाउँपालिकामा रहेका दलित समुदायको स्वास्थ्यमा पहुँच स्थापित गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमा गर्न लागिएको जानकारी दिए । प्रारम्भिक तथ्याङ्कअनुसार सात वटा वडामा बस्ने करिब सात सय ३५ परिवारको स्वास्थ्य बीमा गरिने उनले बताए । ‘यहाँका अधिकांश दलित परिवारका सदस्य आर्थिक अभावका कारण स्वास्थ्य संस्थामा जान नसक्ने र उपचार गर्नै परेमा ऋण लिनुपर्ने अवस्थामा छन्’, अध्यक्ष साहले भने, ‘त्यही समस्यालाई मध्यनजर गरी चुनावमा गरेको स्वास्थ्य बीमा गर्ने प्रतिवद्धता अनुसार काम गर्न लागिएको हो ।’ बीमाका लागि प्रतिपरिवार तीन हजार पाँच सय गाउँपालिकाले बेहोर्ने निर्णय भइसकेको उनको भनाइ छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविरकुमार महतोले अहिले दलित परिवारको तथ्याङ्क सङ्कलनलगायतका काम भइरहेकाले सो प्रक्रिया सकिएलगत्तै बीमाको काम अगाडि बढ्ने जानकारी दिए। ‘तीन हजार पाँच सय बीमा रकम तिरेपछि बीमितले एक लाख बराबरको औषधी उपचार गर्ने सरकारको नीति छ, तर स्थानीय नागरिकलाई यस विषयमा धेरै जानकारी छैन । जसका कारण आर्थिक अभावमा समस्या भोग्नुपर्ने अवस्था छ’, उनले भने, ‘दलित परिवारलाई सहयोग गरेर अरु परिवारलाई पनि बीमा गर्नुपर्छ भन्ने सन्देश फैलाउने उद्देश्य हो ।’ यसका अतिरिक्त गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी चालु बजेट तथा कार्यक्रमबाट वडा नं १ को स्वास्थ्य चौकीमा परीक्षण प्रयोगशाला, बर्थिङ सेन्टर र सङ्घीय बजेट तथा कार्यक्रमबाट वडा नं २ मा २१ करोडको लागतमा १५ शय्याको अस्पताल निर्माण गरिरहेको छ । रासस

लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न, ७५ करोडको हकप्रद सेयर जारी गर्ने

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनी सञ्चालक समितिका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, सञ्चालकहरुको चयन गर्ने, हकप्रद सेयर निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साधारणसभाले कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० कराेडमध्ये १ अर्ब १२ कराेड ५० लाख संस्थापक सेयर र बाँकी ३७ कराेड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई चुक्ता भएकोछ । साधारण सभाबाट कम्पनीको हालको चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ कराेड‍ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै सभाले छ जना सञ्चालकहरुलाई निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुह (स्थानीय समेत) बाट १ जना गरि निम्न बमोजिम ६ जना सञ्चालकहरुको निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक समुहबाट डा. आत्माराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोख्रेल निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समुहबाट लोचन कोइराला र स्वतन्त्र संचालकमा अनुज्ञा सापकोटालाई नियुक्त गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गरेको छ ।

दही बेचेरै फेरिएको हरिप्रसादको जीवनशैली, मासिक ५० हजार आम्दानी

    घोराही । देउखुरी क्षेत्रका किसानले उत्पादन गरेको दही बिक्री गर्न घोराही, तुल्सीपुर, लमही, भालुवाङलगायत बजारसम्म पुग्ने गर्दछन् । भैँसी पालन व्यवसाय गर्दै आएका अधिकांश यहाँका किसानले यसरी नै आफनो जीविकोपार्जन गर्दै आएका हुन् । राजपुर गाउँपालिका–३ खरदरियाका हरिप्रसाद यादवको दिन पनि भैँसी पालन व्यवसायमै बित्ने गरेको छ । छयालीस वर्षीय उनले बेलुकाको दूधबाट दही बनाएर विभिन्न ठाउँमा बिक्री गर्न जाने र प्रतिलिटर ९० रुपैयाँसम्म बेच्ने गरेको बताए । आफूले उत्पादन गरेको दही सबैले रुचाउने भएकाले बिक्री गर्न समस्या नहुने यादवको भनाइ छ । दैनिक २० लिटरसम्म दही बिक्री हुने र यसबाट मासिक ५० हजार रुपैयाँसम्म आम्दानी उनले बताए । ‘गाउँमा सबैको घरमा भैँसी हुन्छन् । त्यसैले गाउँमा दही बिक्री हुँदैन’, यादवले भने,’राजपुरबाट दहीको भाँडो बोकेर दैनिक बजारमा आउने गरेको छु । बजारमा दही राम्रो बिक्री हुने गरेको छ ।’ बजारमा पु¥यायो भने दहीको भाउ राम्रो आउने भएकाले पनि राजपुरका अधिकांश पशुपालक किसान घोराही, लमही, भालुवाङसम्म पुग्ने गरेका छन् । यसरी कमाइएको पैसाले छोराछोरीको पढाइखर्च र घर परिवारमा आइपर्ने आर्थिक समस्या पनि समाधान हुने गरेको यादवले बताए । देउखुरीको बजार सानो भएको र गाउँमा दही बिक्री नहुँदा दिनहुँ राजपुरबाट घोराहीसम्म दही बिक्रीका लागि आउने गरेको उनको भनाइ छ । यादव मात्रै होइन देउखुरी र राजपुर क्षेत्रमा उत्पादित दही बिक्रीका लागि देउखुरीको गढवा, लमही र भालुवाङ बजारसँगै दाङ घोराही र तुलसीपुरसम्म आउने गरेका छन् । देउखुरीका तुलनामा घोराही र तुलसीपुरमा दहीको बढी माग हुने गरेको छ। व्यावसायिक भैँसीपालनका लागि जिल्लामै पकेट क्षेत्रका रुपमा रहेको खरदरियाका अधिकासं बासिन्दाले दुईदेखि १० वटासम्म भैसी पाल्न गरेका छन् । राजपुर गाउँपालिका–३ खरदरीयामा मात्रै भैँसी पालन व्यवसायमा एक सय ५० बढी किसान आवद्ध छन् । किसानहरुले भैँसीको दूध डेरीले ल्याउने गरेको छ । डेरी घरमै गएर कम मूल्यमा दूध किन्ने गरेकाले केही किसानले भने दही तथा दूध बिक्रीका लागि जिल्लाका विभिन्न बजारसम्म पुग्ने गरेको खरदरियाका अर्का किसान देवप्रसाद यादवले बताए । ‘भैँसीको दूध तथा दही गाउँबाटै डेरीले लग्ने गरेका छन् । बिक्रीका लागि कुनै समस्या छैन,’ उनले भने, ‘तर आफै बजारसम्म लगेर बिक्री गर्दा डेरीवालाले लग्नेभन्दा केही रुपैया महँगोमा बिक्री गर्न सकिन्छ।’ दही व्यावसायिकरुपमा जिल्लाका विभिन्न ठाउँमा भैँसीपालन गरिए पनि देउखुरीको राजपुर गाउँपालिकाअन्तर्गत रहेको खरदरिया गाउँ भने भैँसी पालन पकेट क्षेत्रका रुपमा विस्तार भएको छ । रासस

अजोड इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न, यूनाइटेडसँगको मर्जको प्रस्ताव पारित

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा सम्पन्न गरेको छ । सोमबार विशेष साधारण सभामार्फत यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल)सँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्तावको पारित भएको हो । अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन व्यवसाय गर्ने कम्पनीको नाम ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ कायम हुने सम्बन्धी प्रस्ताव पारित गरेको छ । साधारणसभाले यूनाइटेड इन्स्योरेन्ससँग सेयर अनुपात ८२.५०ः१०० कायम गर्ने, अन्तिम सम्झौतापत्र तथा आवश्यक काम कारबाही र लेखापरीक्षकमा एस. आर. पाण्डे एण्ड कम्पनीलाई चाटर्ड एकाउन्टेन्टको रुपमा नियुक्ति र निजलाई प्रदान गरिने पारिश्रमिक अनुमोदन गरेको छ । यस्तै एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम सम्झौता ,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने , चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन तयार गर्नका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भएको छ ।