सिटिजन्स बैंकका ग्राहकलाई होटल इच्छामा छुट
काठमाडौं । सिटिजन्स बैंक र बारा सिमरा स्थित होटल इच्छाबीच समझदारी भएको छ । बैंक र बारा होटल इच्छाबीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पश्चात् बैंकका कार्डबाहकले होटल इच्छामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछ । यस बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
हिमालयन बैंकले दियो न्यूरोडको संकटा क्लबलाई १० लाख रुपैयाँ
काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी रहेको न्यूरोड स्थित संकटा क्लबलाई रुपैयाँ दश लाख प्रदान गरी प्रायोजन गरेको छ । बैंकले सो रकम खेलाडीहरुको खेल तयारी तथा खेलमा आवश्यक पर्ने सर–सामान खरिद गर्न उक्त क्लबलाई मद्दत स्वरुप प्रदान गरेको हो । बैंकले विगत देखि नै देशमा विभिन्न खेलकुद तथा खेलाडीहरुको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको छ । बैंकका तर्फबाट बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले सो रकम एक समारोहका बीच संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरलाई हस्तान्तरण गरेका छन् । उक्त समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित वडा नं २२ का वडा अध्यक्ष चिनीकाजी मर्हजन लगायत क्लबका अन्य प्रतिनिधिहरुको उपस्थिति रहेका थियो ।
अब बैंकले महिनैपिच्छे ब्याजदर परिवर्तन गर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो । ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।’ पछिल्लो तीन महिनाको औसत आधारदरमा परिवर्तन हुँदा ब्याजदरमा परिवर्तन हुने÷नहुनेबारे बैंक तथा वित्तीय संस्थाले अनिवार्यरुपमा ऋणीलाई जानकारी दिनुपर्नेछ । त्यस्तै कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रबाह गर्न नपाइने व्यवस्था राष्ट्र बैंकले लागू गरेको छ । आधारदर निर्धारणसम्बन्धी कार्यविधि, २०६९ बमोजिम मासिकरुपले आधारदर गणना गरी उक्त विवरण महिना समाप्त भएको सात दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने व्यवस्था छ । नयाँ व्यवस्थाअनुसार मासिक तथा पछिल्लो तीन महिनाको औसत आधारदर बैंक तथा वित्तीय संस्थाले आफ्नो वेभसाइटमासमेत प्रकाशित गर्नुपर्नेछ । कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधारदरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । जस्तै कुनै ग्राहकलाई प्रदान गरिने कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा बैंक तथा वित्तीय संस्थाले दुई प्रतिशत बिन्दुले प्रिमियम थप गर्न पाउँछन् ।
मानुषी लघुवित्तको गोष्ठी सम्पन्न
काठमाडौं । मानुषी लघुवित्तको गोष्ठी सम्पन्न भएको छ । मानुषी लघुवित्तले सानो गौचरन शाखा अन्तर्गतको वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मङ्गलबार सम्पन्न गरेको हो । उक्त संस्थाको प्रमुख कार्यकारी अधिकृत शोभा बज्राचार्यले स्वागत मन्तव्य राख्दै संस्थाले निम्न वर्गीय महिलाको दैनिकीमा पारेको प्रभावबारे प्रकाश पारिन् । काठमाण्डौ महानगरपालिका वडा नं. ५ का अध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा वक्ताहरुले महिला उद्यमशिलताको विकासका लागि लघुवित्तले सहजिकरण गरि समाजमा महिलाको आर्थिक स्तर उकास्न अहम भूमिका खेलेको बताए । कार्यक्रममा संस्थामा आवद्ध महिलाहरुले आफ्नो सीप प्रयोग गरि बनाएका विभिन्न सामानहरुको प्रदर्शनी समेत गरिएको थियो साथै उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट केन्द्र प्रमुख तथा ज्येष्ठ नागरिकलाई सम्मान पनि गरिएको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको संस्था हो । हाल लघुवित्तले देशभर १४ जिल्लामा ३६ शाखा ३४,४३२ सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, नेपाली बजारमा आज बढेको मूल्य अनुसार तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, नेपाली बजारमा चाँदीको तोलामा मूल्य १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गाउँघरमै पुगेर स्वास्थ्य जाँच गर्दै राइनासका स्वास्थ्यकर्मीहरु
काठमाडौं । लमजुङको राइनास नगरपालिकाका स्वास्थ्यकर्मीहरुले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्ने गरेका छन् । नगरपालिकाभित्र रहेका ६ वटा स्वास्थ्य चौकी र ५ वटा स्वास्थ्य इकाईका स्वास्थ्यकर्मीहरुले प्रत्यक महिना गाउँ घरमै पुगेर नियमित रुपमा स्वास्थ्य जाँच गर्ने गरेका हुन । जसअनुसार राइनास नगरपालिका वडा नम्बर ९ मा रहेको मोहोरियाकोट स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरुले सोमबार घर घरमा पुगेर स्वास्थ्य परीक्षण गरेका छन् । उक्त कार्यालयले प्रत्येक महिनाको २५ गते ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम सञ्चालन गर्दै आएको छ । घरदैलो कार्यक्रममा प्रेसर जाँच गर्ने गरिएकोमा सोमबारदेखि सुगर जाँच समेत गरिएको मोहोरियाकोट स्वास्थ्य चौकिकी अहेब उषा आचार्यले जानकारी दिईन । उनका अनुसार सोमबारको घरदैलो कार्यक्रम अन्तरगत ९२ जनाको प्रेसर तथा ४५ जनाको सुँगरको जाँच गरिएको थियो । महिनामा एक पटक घरदौलो कार्यक्रम गरी स्वास्थ्य जाँच गर्दा ६० वर्षभन्दा माथिका बृद्ध बृद्धालाई उपयोगी भएको उनको भनाई छ । ‘गाउँ गाउँमा गएर बृद्धा बा आमाको स्वास्थ्य जाँच गर्न उहाँहरुको मुहारमा खुसी देखोका छौँ, हामी गाउँघर स्वास्थ्य जाँचलाई अभियान कै रुपमा सञ्चालन गर्दै आएका छौँ’, उनले भनिन ।
निजी विद्यालयमा विद्यार्थी आकर्षित, रित्तियो सरकारी विद्यालय
स्वर्गद्वारी । प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् । प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ । नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विसं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिकसत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिए । विद्यालयमा शिक्षक/अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन् । तर अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका लागि नआएको उनले बताए । उनका अनुसार विद्यालयले शैक्षिकसत्र सुरु गर्न विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको थियो । विद्यार्थी भर्नाका लागि अभिभावकसम्म पुगेर बालबालिकालाई भर्ना गर्न अनुरोधसमेत गरिएको थियो । ‘विद्यार्थी प्रोत्साहनका लागि कापी, कलम, पोशाकको समेत व्यवस्था गर्ने सोचमा थियौँ । स्थानीय बालबालिका निजी विद्यालयमा भर्ना हुन गएका कारण यहाँ भर्ना हुन आएनन्’, प्रधानाध्यापक थपलियाले भने । विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि प्युठान नगरपालिकाले कक्षा ५ सम्म पढाइ भइरहेको विद्यालयलाई कक्षा १ देखि ३ कक्षासम्म हुने निर्णय गरेको थियो । कक्षा १ देखि ५ सञ्चालन हुँदै आएका छ प्राथमिक विद्यालयको कक्षा ग्रेड घटाइएको प्युठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीले बताए । शून्य विद्यार्थीको विद्यालय के गर्ने ? भन्ने निर्णयमा प्युठान नगरपालिका छलफलमा रहेको उनको भनाइ छ । रासस
सहरमा मन्दी र महँगी, गाउँ फर्कदै गरिब वर्ग
खाद्यान्नको मूल्य निरन्तर बढेको बढ्यै छ । व्यापारीहरुले हप्ता बित्न नपाउँदै खाद्यान्नको मूल्य बढाउँछन् । हरेक सामानको मूल्य आकासिएको छ । योसंगै आम्दानी नहुनेहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइपुगेको छ । एकातिर मँहगी अर्कोतिर बेरोजगारी । अनि कसरी जीविकोपार्जन गर्ने ? काठमाडौंमा टिक्न नसक्ने अवस्था सिर्जना भइसकेको छ । सानो व्यापार व्यवसाय गरेर भएनि खाऊँला भनेर आफ्नो गाउँठाउँ छोडेर शहर आएकाहरु अहिले धमाधम फर्किन थालेका छन् । यो अवस्था काठमाडौंमा मात्र होइन्, जिल्लाको सदरमुकाममा पनि देखिन थालेको छ । जिल्लाको सदरमुकाममा कोठा लिएर बस्नेहरु पनि आफ्नै घर फर्किरहेका छन् । बाँच्नका लागि विकल्प नै नभएपछि के गर्ने ? काम गरेर खर्च धानौंभन्दा काम पाइँदैन् । बिहानबेलुका खानै पर्यो, कोठा भाडा तिर्नैपर्यो र आफूलाई खर्च पनि चाहियो । अहिले बाँच्न पनि धौं धौं पर्ने स्थिति बनिसकेको छ । बजारमा पूरै मन्दी छाएको छ । व्यापार व्यवसाय गर्नेहरुलाई पनि उत्तिकै सास्ती छ । एकातिर व्यापार ठप्प छ अर्कोतिर चर्को कोठाभाडा । खर्च धान्न नसक्ने भएपछि अधिकांशले सटर छोडिसकेका छन् । काठमाडौं उपत्यकालगायत अन्य जिल्लाका धेरै सटर खाली भइसकेको छ । यता, उनीहरुले कोठासमेत छाडिसकेका छन् । आम्दानीको स्रोत नै नभएपछि यहाँ मँहगो कोठा लिएर के गर्ने ? केही वर्षअघि र अहिलेको अवस्था ठ्याक्कै उल्टो छ । त्यतिबेला एउटा कोठा पाउन पनि महाभारत हुन्थ्यो । एउटा कोठा खोज्नलाई तीन महिना लाग्थ्यो । कोठा खोज्न खुलेका कार्यालयलाई पैसा दिएर पनि कोठा खोज्न लगाइन्थ्यो । तर, अहिले त घरैपिच्छे ‘टुलेट’ को पोस्टर टाँसेको देखिन्छ । त्यति गर्दा पनि कोही कोठा खोज्न आइदिए त हुन्थ्यो । हिजो कोठाबहालमा बस्नेबाट बसिबसि खाने घरधनीहरुको आम्दानीको स्रोत गुमेको छ । एउटा कोठाको ठाँउ हेरेर मासिक पाँचदेखि १० हजारसम्म लिन्थें । अझ दुलोजत्रो गोदामको १५ हजार रुपैयाँ उठाउँथे । एउटै सटरको २० हजारदेखि १० लाखसम्म लिने गरेका थिए । एक फ्ल्याटको २५ हजारदेखि लाखसम्म पनि उठाए, घरधनीले । खाली सटर २० लाखदेखि ५० लाखसम्म बिक्री हुन्थ्यो । तीन महिनाको अग्रिम भाडा घरधनीले उठाउँदै आएका थिए । कोठा र सटर पाउन महामुश्किल भएकाले घरधनीले जति भन्यो त्यति नै तिर्ने गरिन्थ्यो । तर, अहिले त लेखेर टाँस्दा पनि कसैलाई फरक परेको छैन् । कोठा खोज्न कोही आउँदै आउँदैनन् । व्यापारीहरुको व्यापार सोत्तर भइसकेको छ । व्यापार हुञ्जेल त उनीहरुले पनि घरधनीले भनेझैं भाडा तिरे । दिनमै लाखौंको व्यापार गर्नेहरु अहिले ३०/३५ प्रतिशत व्यापारमा खुम्चिएर बसेका छन् । कतिपयको त पसल खोल्नु ‘टाइमपास’ जस्तो भएको छ । दिनभरि बोनी पनि नगरिकन निस्किन्छन् । देशमा लोकतन्त्र, संघीयता आएर वा प्रदेश बनेर सर्वसाधारणले काठमाडौं छोडेका भने होइनन् । विकास भएर गाउँ गएको भन्ने अवस्था पनि छैन् । किन कि हिजो उनीहरुले गाउँ छोडेर आउँदा जस्तो थियो, अहिले पनि त्यस्तै छ । अहिले गाउँ फर्किनुको कारणचाँहि बजारमा देखिएको आर्थिक मन्दी हो । व्यापार व्यवसाय सुकिहाल्यो । अन्य काम गरेर खाउँ भने रोजगारी छैन । मुलुकमा दिनदिनै बेरोजगारी बढेको बढ्यै छ । व्यापार व्यवसाय गर्नेहरु पनि बेरोजगार बन्दा बेरोजगारीको संख्यामा थप वृद्धि भएको छ । पानी पनि किन्नुपर्ने ठाँउमा दैनिक गुजारा गर्न पनि ग्राह्रो भएपछि आआफ्नो जन्मथलो फर्किन थालेका हुन् । आफ्नै गाउँठाँउ गएपछि कोठा भाडा तिर्नुपर्दैन । अर्कोतिर यहाँ जस्तो पानीसमेत किन्नु पर्ने ठाँउ होइन । आफ्नै खेतबारीमा श्रम गर्यो भने पनि खान त पुग्छ । मुलुकमा खाद्य संकट हुने त निश्चित भइसकेको छ । यहाँ पनि भोकमरी लाग्न बेर छैन् । किन कि नेपाल परनिर्भर देश हो । यहाँ हरेक खाद्यान्न भारतलगायत तेस्रो मुलुकबाट आयात हुन्छ । खेतीयोग्य जमिन सबै मासिसकेको छ भने बाहिरबाट आउने खाद्यान्न किन्नका लागि पनि व्यक्तिसँग पैसा हुँदैन । नेपालीहरुले जागिर खाए, जग्गा किने र घर बनाए । विदेश बसेर आएकाहरुले पनि घरजग्गामै लगानी गरे । सबैभन्दा उर्वर भूमि भएको काठमाडौं उपत्यका घरैघरले ढाँकिएको छ । अन्य जिल्लामा पनि बढ्दो अव्यवस्थित बस्ती बसिसकेको छ । कृषिप्रधान देशका किसानहरु धमाधम विदेश पलायन भइरहेका छन् । खेती गर्न जमिन नै नभएपछि विदेश नगएर पनि के गर्नु ? घरभाडामा लगाएर बसिबसि खान्छु भन्नेहरुको पनि हाल बेहाल भएको छ । भाडा तिर्न नसकेपछि अधिकांश आफ्नो गाउँघर फर्किसकेका छन् । कोठाहरु धमाधम खाली भइरहेको छ । कतिले त बैंकबाट ऋण लिएर घर ठड्याएका छन् । अब घरको किस्ता कहाँबाट तिर्ने र घरखर्च कसरी टार्ने भनेर उनीहरु चिन्तित बनेका छन् । बाहिरबाट आयात गरेको सामान किन्न पनि पैसा चाहियो । नेपाल र नेपालीको अवस्था कहालीलाग्दो बनिसकेको छ । माटोभन्दा ठूलो केही होइन् भन्ने सरकारले बुझेन्, जनताले बुझ्न चाहेनन् । नेपालमा माटो खरिदबिक्री गर्ने काम भयो । जसले गर्दा खाद्यान्नको संकट हुने देखिन्छ । खेतीयोग्य जमिनलाई कंक्रिट बनाइएको छ । कंक्रिट बनाइसकेपछि कहाँ खेती गर्ने ? अन्न नै नभएपछि कोही बाँच्न सक्दैन । देशमा भोकमरी लाग्यो भने कंक्रिट चपाउन मिलेन । घर बनाएर केके न गर्छु भन्नेहरुको समेत होश् उडेको छ । अझ बैंकबाट किस्ता लिएरहरुले त पुर्परोमा हात समानुपर्ने अवस्था सिर्जना भएको छ । घरजग्गा कारोबार ठप्प छ । बैंकबाट ऋण लिएर घरधनी बनेकालाई किस्ता तिर्नै सकस परेको छ । सदनदेखि सडकसम्म मुलुकको अर्थतन्त्रकै विषयमा बहस चलिरहेको छ । आर्थिक मन्दीले बजारलाई छपक्कै छोपेको छ । सांसदहरु निरन्तर अर्थतन्त्रकै बारेमा सदनमा कुरा उठाइरहेका छन् । देशको अर्थतन्त्र पाँच दशकअघिको अवस्थाको पुगेको बताइन्छ । पाँच दशकअघि कम राजस्व उठ्दासमेत सरकारलाई कुनै फरक पर्दैनथ्यो । किन कि जनसंख्या कम थियो । आफ्नै खेतबारीमा फलेको खाद्यान्नले जीविको चलाउन पुग्थ्यो । नेपाल सरकारले अन्य देशलाई खाद्यान्न बेच्थ्यो, अनुदानमा दिन्थ्यो । सरकारी खर्चको नाममा कर्मचारीलाई तलब दिए पुग्थ्यो । सरकारी खर्च धान्नसमेत सरकारलाई महाभारत परेको छ । अझ पेन्सन, सरकारी गाडी, भत्ताको व्यवस्था गर्न थालेपछि त राज्यको ढुकुटी सोत्तर बनेको छ । सरकारी खर्च धान्नकै लागि विदेशीसमक्ष हात फैलाउनुपरेको छ । विदेशी ऋण बढेको बढ्यै छ, तिर्ने कहाँबाट हो ? अत्तोपत्तो छैन ।