हिमाल आरोहणबाट ७४ करोड राजस्व सङ्कलन
काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि मौसम अनुकूल हुने भएकाले विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन् । सगरमाथासहित विभिन्न हिमाल आरोहणबाट सरकारी राजस्वमासमेत योगदान पुग्छ । यस यामको सगरमाथा लगायतका हिमाल आरोहणका लागि नेपालसहित ८० देशका नागरिकले पर्यटन विभागबाट अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका नागरिकले अनुमति पाएका छन् । विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म ७४ करोड छ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । सगरमाथाबाट मात्रै ६५ करोड पाँच लाख रुपैयाँ राजस्व जम्मा भएको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट दुई करोड ८३ लाख रुपैयाँ र मकालु हिमालबाट एक करोड ३६ लाख रुपैयाँ सङ्कलन भएको छ । पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए । नेपालमा आठ हजार मिटर उचाइभन्दा माथिका आठ हिमशृङखला छन् । सगरमाथा आरोहण गर्न चार सय ६७ आरोहीले लिए अनुमति पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ आरोहीले अनुमति लिएका छन् । यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिए । अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतिक्षामा छन् । सगरमाथाको साउथ कोल चौथो शिविरसम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार आइसफल डाक्टरले बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ । यही वैशाख १० गते नै सगरमाथाको चाँथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पु¥याउन कठिन भइरहेको छ । उनीहरु एकसाता बढीसमयदेखि आधार शिविरमा छन् । सगरमाथाको सात हजार पाँच सय मिटरमाथि क्षेत्रमा तीव्र वेगको हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसीले बाटो बनाएको थियो । सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो । वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका एक सय २६ आरोही समूहका दुई सय ५४ महिला र आठ सय ६९ पुरुष गरी कूल एक हजार एक सय २३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ । रासस
१० अंकले बढ्यो सेयर बजार, युनिक नेपालका सेयरधनीले गुमाए प्रतिकित्ता १४३ रुपैयाँ
काठमाडौं । मंगलबार सेयर बजार १०.६६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १८४४.३६ विन्दुमा पुगेको छ । आज २८ लाख कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको मंगलबार ६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी कमाउनेमा पपुल्स पावर लिमिटेडका सेयरधनीहरु रहेका छन् । कम्पनीको सेयरधनीले मंगलबार प्रतिकित्ता १६.४० रुपैयाँले कमाएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । कम्पनीका सेयरधनीले प्रति कित्ता १४३.७० रुपैयाँ गुमाएका छन् ।
उद्देश्य विपरित ऋणपत्रमा एचआइडीसीएलको ८ करोड लगानी, ११ अर्ब रुपैयाँ मुद्दतीमा राखेर व्याज खाँदै
काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले उद्देश्य विपरित वाणिज्य बैंकको ऋणपत्र (बण्ड)मा लगानी गरेको पाइएको छ । तर यस्तो लगानी अन्जानमा भएको कम्पनीले जनाएको छ । कम्पनीको प्रबन्धपत्रको बुँदा नम्बर ४ (ङ) बमोजिम कम्पनीले जलविद्युत तथा नवीकरणीय उर्जासँग सम्बन्धित परियोजनाका लागि जारी हुने बण्ड, डिबेञ्चर जस्ता ऋणपत्रमा मात्र लगानी गर्न पाउने व्यवस्था रहेको छ । तर, कम्पनीले सो उद्देश्य विपरित एक वाणिज्य बैंकको कर्पोरेट बण्डमा ८ करोड रुपैयाँ लगानी गरेको हो । कम्पनीले सो रकम एनआईसी एशिया बैंकको ऋणपत्रमा लगानी गरेको पाइएको हो । कम्पनीका नायव महाप्रबन्धक (डीसीईओ) जीवन कुमार बस्नेतले उद्देश्व विपरित बैंकको ऋणपत्रमा लगानी गरेको स्वीकार गरे । हाइड्रोपावरले जारी गरेको ऋणपत्रमा लगानी गर्न पाइने भएपनि तत्कालिन समयमा जानकारी नभएकाले बैंकको ऋणपत्रमा लगानी गरिएको उनले बताए । ‘एनआईसी एशिया बैंकको ऋणपत्रमा ८ करोड रुपैयाँ लगानी गरेको हो, त्यसको ब्याज पनि आउन थालेको छ, जानकारी नहुँदा सो ऋणपत्रमा लगानी गरिएको हो तर पछि जानकारी पाएपछि कुनै पनि ऋणपत्र वा बण्डमा लगानी गरिएको छैन,’ उनले भने ‘सो ऋणपत्र एक डेढ वर्षपछि परिपक्व हुँदैछ, कम्पनीको फाइदाको लागि लगानी गरिएको हो, ब्यक्तिगत फाइदाको लागि होइन ।’ सो ऋणपत्रको ब्याजसहित गत असार मसान्तसम्म ८ करोड ७२ लाख २० हजार रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । साथै, एचआइडीसीएलले सहायक कम्पनीको रूपमा रेमिट हाइड्रो र सिम्बुवा खोला जलविद्युत कम्पनी खडा गरेको छ । सो आयोजना एचआइडीसीएलले आफैं निर्माण गर्नेछ । दुवै हाइड्रो कम्पनीमा ८८ करोड ६२ लाख रुपैयाँ लगानी गरेको कम्पनीले जनाएको छ । तर, दुवै परियोजनाहरूको विद्युत खरिद सम्झौता हालसम्म भएको छैन । अध्ययन सम्पन्न भएपछि मात्रै खरिद सम्झौता गरिने डीसीईओ बस्नेतले बताए । ‘हामीले पीपीए भएका र नभएका अन्य आयोजनामा पनि लगानी गर्छौं, यो दुई वटा प्रोजेक्ट कम्पनी आफैले बनाउने भनेर लगानी गरेको हो, आयोजना निर्माण गर्ने तयारी गरेको हुँदा पीपीए गर्न बाँकी छ, यी दुई आयोजनाको अध्ययन सम्पन्न भएको हुँदा वित्तीय सम्झौता गरेर अघि बढ्छौं,’ उनले भने । सहायक कम्पनी बाहेक अन्य २ स्वतन्त्र कम्पनीमा यो वर्ष ४ करोड १६ लाख रुपैयाँ लगानी गरेको छ । आयोजना सञ्चालनको सुनिश्चितता गरेर मात्र लगानी गर्ने उनको भनाइ छ । कम्पनीले गत वर्ष विभिन्न ९ अन्य कम्पनीमा १ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ सेयर लगानी गरेको छ । तर हालसम्म सो लगानीबाट प्रतिफल शुन्य रहेको छ । सो लगानी बन्दै गरेको आयोजनामा रहेको डीसीईओ बस्नेतले बताए । सो आयोजनाहरु निर्माण सम्पन्न भएर उत्पादन गर्न थालेपछि मात्रै प्रतिफल प्राप्त हुने उनको भनाइ छ । ‘आयोजनामा लगानी गर्न थालेको २ वर्ष मात्रै भयो, पहिलो प्रोजेक्ट नै निर्माण सम्पन्न हुन अझै एक/डेढ वर्ष लाग्छ, ती आयोजना निर्माण सम्पन्न भएपछि मात्रै प्रतिफल प्राप्त हुन्छ,’ उनले भने । त्यस्तै विभिन्न १० संस्थामा अघिल्लो वर्ष ४ अर्ब १० करोड ८९ लाख रुपैयाँ लगानी गरेको थियो । गत वर्ष ११ संस्थामा ६ अर्ब ४५ करोड २७ लाख रुपैयाँ ऋण लगानी गरेको छ । सो लगानी गर्दा १ प्रतिशतले हुन आउने ६ करोड ४५ लाख २७ हजार रुपैयाँ क्षयह्रास राखिएको छ । सो रकम सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याइएको उनले बताए । यदि सो रकम सम्भावित जोखिम व्यवस्थापनका नछुट्याए कम्पनीलाई कारवाही हुने उनको भनाइ छ । यसैगरी कम्पनीले तोकिएका उद्देश्यहरू हासिल गर्न पर्याप्त परियोजना पहिचान गरी लगानी बढाउन नसक्दा सङ्कलन गरेको स्वपुँजीको अधिकतम रकम समेत मुद्दती निक्षेप खातामा राखेको छ । कम्पनीले बैंकको मुद्दती निक्षेपमा ११ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ । हाल कम्पनीको कूल पूँजी २४ अर्ब रुपैयाँ छ । हालसम्म १३ अर्ब रुपैयाँ बराबर आयोजनामा लगानी गरिसकेको छ ।
मनाङमा सडकको ट्र्याक खोलिदै
मनाङ । हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ । सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो । प्रदेश सरकार र पालिकाले बजेट छुट्याएपछि नार्पाभूमिमा विष्फोटक पदार्थ प्रयोग गरी पहाड फोरेर सडकको ट्र्याक खोल्न सुरुआत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जानकारी दिए । सडक सञ्जालबाट वञ्चित सो पालिकामा चट्टान फुटाउन विष्फोटक पदार्थ प्रयोग गरिँदै छ । जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय भएपछि आजदेखि विष्फोटक पदार्थ प्रयोग गरी नार्पाभूमिको कोतो–च्याँखु सडक खण्डको ट्र्याक खोल्न थालिएको उनले बताए । विष्फोटक पदार्थ प्रयोग गर्ने समयमा पशुचौपाय नछोड्न र पैदलयात्रुलाई आवतजावत नगर्न अनुरोध गरिएको छ । नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ । केही भागमा ट्र्याक खोल्ने काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए । ट्र्याक खोल्न गण्डकी प्रदेश सरकारले ५० लाख र गाउँपालिकाले ९० लाख रुपैयाँ विनियोजन गरेको छ । रासस
घुर्ने बिरामीका लागि वीर अस्पतालमा निद्रा प्रयोगशाला, दिनको ३ हजार रुपैयाँ
काठमाडौं । के तपाइँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाइँलाई ठूलै समस्या बनेकाे होला । तर अब यसको चिन्ता गर्नु पर्दैन । काठमाडौंको वीर अस्पतालमा सञ्चालन गरिएको स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर तपाइँको उपचार गरिने छ । मानिसमा आएको पछिल्लो जीवनशैलीका कारणले घुर्ने समस्या देखिने गरेको छ । मोटोपन, खानापान र फेरिएको जीवनशैलीले मानिसमा राति सुत्दा घुर्ने समस्या हुने गरेको छ । मानिसमा उच्च रक्तचाप, मोटोपना, मधुमेह, हृदयघात कोलस्ट्रोल रोगसँगै घुर्ने रोगको समस्या पनि बढिरहेको छ । चिकित्सकले राति एकदमै घुर्ने व्यक्तिलाई उपचारका लागि स्लिप ल्याब (निद्रा प्रयोगशाला) मा राखेर उपचार गर्ने गरेका छन् । घुर्ने समस्या भएका बिरामीलाई यस प्रयोगशालामा परीक्षणका लागि राति सुताइन्छ । बिरामीसँगै कुरुवा पनि सुत्ने गर्दछन् । राति बिरामीलाई राखेर निद्राको परीक्षण गरिन्छ । ‘राति बिरामीको शरीरमा लिडहरु जोड्छौँ । राति सुतेको बेला त्यो व्यक्तिको गहिरो निद्रा कति छ भनेर सफ्टवेयरमा रेकर्ड गर्दछौँ’, उनले भने, ‘कति टक घु¥यो, घुर्दा कतिपटक श्वास रोकियो, कतिपटक बिउँझियो जस्ता सबै रेकर्ड गर्दछाैं । त्यो चेकजाँचमा उसको घुराइ नरम कडा के हो भनेर हामीले छुट्टाएर औषधि उपचार गर्दछौँ ।’ निद्रा प्रयोशालामा घुराइको मापन गरेपछि उपचार विधि अवलम्बन गरिन्छ । कडा घुराइका सिप्याप थेरापीबाट उपचार गरिन्छ । सिप्याप थेरापीमा बिरामीलाई मास्क लगाएर सुत्छ, राति सास पनि रोकिँदैन, घुराइ पनि हुँदैन, अक्सिजन पनि कम हुँदैन । ‘सिप्याप थेरापीबाट उपचार गर्दा केही दिनमा नै बिरामीको घुराइ बन्द हुन्छ, निद्रा राम्रा पर्छ, दिउँसो निद्रा लाग्दैन । उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा हुन्छ,’ उनले भने, ‘अहिले वीर अस्पतालमा उपचारमा आउने धेरै बिरामीलाई हामीले सिप्याप थेरापीबाट उपचार गर्ने गरेका छौँ ।’ नेपाली बजारमा सिप्यापको मूल्य एक लाख २० हजार रुपैयाँ पर्दछ । सबै चिकित्सकले बिरामीले सिप्याप थेरापी किन्न नसक्नेलाई डेन्टल डिभाइस प्रयोग गर्न आग्रह गर्दछन् । सिप्याप थेरापी बिरामीले घरमा नै प्रयोग गर्न सक्दछन् । डा श्रेष्ठ वीर अस्पतालमा आएका प्रायःजसो सबै बिरामीलाई सिप्याप थेरापी प्रयोग गर्नुपर्ने खालका रहेको बताउँछन् । ‘अस्पतालमा आएकामध्ये धेरैजसो बिरामी कडा घुराइ समस्या देखिएको छ’, उनले भने, ‘त्यस्ता बिरामीलाई सिप्याप थेरापी प्रयोग गरेर उपचार गर्ने गरिन्छ ।’ अस्पतालमा युवा अवस्थाका बिरामी धेरै आउने गरेको उनको भनाइ छ । निजी अस्पतालमा एक रातको १४ देखि २० हजार तिर्नुपर्दछ तर वीरमा एक रातको तीन हजार शुल्क तोकिएको छ । निजी अस्पतालमा १०–१२ वर्षदेखि नै स्लिप ल्याब रहेको छ । वीर अस्पतालमा भने चार महिनादेखि सञ्चालनमा ल्याइएको छ । निजीभन्दा वीर अस्पतालमा सस्तो भएपछि धेरै बिरामी आउने गरेका छन् । अस्पतालमा रहेको निद्रा प्रयोगशालामा उपचार गर्न बिरामीले पालो भने कुर्नुपर्ने हुन्छ । एउटा मात्र प्रयोगशाला सञ्चालनमा रहेकाले बिरामीले पालो कुर्नुपर्ने हुन्छ । घुर्ने बिरामीका लागि सञ्चालनमा ल्याइएको वीरको स्लिप ल्याब हप्ताको एक दिन मात्र सञ्चालन गरिएको इन्चार्ज बिनिता पौडेल बताउँछिन् । ‘एउटा मात्र प्रयोगशाला रहेको छ । त्यो पनि हप्तामा एकपटक मात्र चल्ने हुँदा छ बिरामीले दुई महिनासम्म पालो कुर्नु पर्ने अवस्था रहेको छ,’ उनले भनिन् । उनका अनुसार प्राविधिक पनि नभएर प्रयोगशालालाई दैनिक सञ्चालन गर्न समस्या भएको छ । दक्ष प्राविधिक नहुँदा नर्स पौडेललाई नै तालिम दिएर सिकाइएको छ । ‘बिरामीको शरीरमा राखिएको लिडहरु परीक्षण गर्नुपर्दछ । शरीरमा लगाइएको लिडबाट बिरामी गहिरो निद्रा कति सुत्यो, कति घु¥यो, अक्सिजन कति बढ्यो, कति घट्यो र श्वास कतिपटक रोकियो भन्ने थाहा हुन्छ’, उनले भनिन्, ‘त्यसका लागि बिरामीको अवस्था कस्तो भनेर रातभरि कम्प्युटरमा हेर्नुपर्दछ । म एकजनामा मात्र प्राविधिक भएकाले दैनिक प्रयोगशाला सञ्चालन गर्न सकेका छैनौँ ।’ रिपोर्टकै आधारमा कडा, मध्यम र सामान्य कस्ता खालको घुर्ने समस्या छ भनेर थाहा हुने र सोहीअनुसार उपचार गरिने उनको भनाइ छ । अस्पतालका निर्देशक डा सन्तोष पौडेलले घुराईसम्बन्धी रोग बढ्दै गएपछि निद्रा प्रयोगशाला राखिएको बताए । उनले जनशक्ति थप गरेर हरेक दिन सञ्चालन गर्ने व्यवस्था मिलाइने बताए । वीर अस्पतालका छाती तथा निद्रा रोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठले मोटोपनका कारण मानिसमा घुर्ने समस्या बढिरहेको बताए । उनले मोटोपन भएको व्यक्ति घुर्ने, घुर्दा श्वास रोकिने, आत्तिने, बेलाबेलामा उठ्ने जस्ता समस्या पनि देखिने गर्दछ । धेरै घुर्ने मानिसमा राति सुतेको बेला श्वासै रोकिएर बुउँझिने, गहिरो निद्रा नपर्ने र दिउँसो धेरै निद्रा लाग्ने जस्ता समस्या देखिने गर्दछ । घुराइसम्बन्धी यस रोगलाई ‘आब्स्ट्रोक्टिव स्लिप एप्निया’ (कडाइ घुराइसम्बन्धी रोग) भनिन्छ । यस्तै घुराइ गर्दा गहिरो निद्रा नपरेपछि दिउँसो काम गर्ने ठाउँमा निदाइदिने, गाडी, स्कुटर वा बाइक चलाउँदा चलाउँदै निदाउने हुन्छ । कडा खालको घुर्ने रोग हुँदा राति बारम्बार पिसाब लागिरहने, बिहान उठ्दा घाँटी दुख्ने, रुघा लागेको जस्तो हुने, घाँटी खसखस हुने जस्ता समस्या लिएर अस्पताल आउने गरेको उनी बताउँछन् । डा श्रेष्ठका अनुसार मोटो मानिसको घाँटीमा बोसो बढ्छ र हावा जाने नली साँघुरिन्छ । त्यस्ता व्यक्ति गहिरो निद्रामा हुँदा घाँटीको मसलहरु आराम गर्छन् र हावाको नली साँघुरिँदै जाँदा बन्द हुन्छ । यसले गर्दा बिरामीलाई श्वास फेर्न गाह्रो भई घुर्ने गर्छन् । उनका अनुसार कडा घुर्ने रोग ९० देखि ९५ प्रतिशत मोटो व्यक्तिलाई देखिने गरेको छ । तर पाँचदेखि दश प्रतिशतमा जन्मजात घाँटीमा र चिउडीको बनावट बिग्रिएर पनि सानैबाट घुर्ने समस्या देखिने गरेको छ । विश्वमा छदेखि २० प्रतिशत मानिसहरु घुराइ समस्याका बिरामी भएका छन् । नेपालमा छ प्रतिशतमात्र मान्ने हो भने १८ देखि २० लाख मानिस कडा घुराइ रोगबाट ग्रसित गरिएको आङ्कलन गरिएको उहाँको भनाइ रहेको छ । मानिसले घुर्नेलाई सामान्य लिने गरेको पाइएको भन्दै तर अहिले घुर्ने रोगका रुपमा देखिएको उनी बताउँछन् । ‘मानिसहरुले घुर्नेलाई सामान्य रुपमा लिएका छन् तर त्यसो होइन । धेरै कमलाई मात्र घुर्ने रोग हो भनेर थाहा छ । कडा घुराइ ज्यान जान पनि सक्छ । त्यसैले घुर्ने समस्यालाई बेवास्ता गर्नु हुँदैन,’ उनले भने । अस्पतालमा आउने प्रायःजसोमा कडा किसिमका घुर्ने रोगका बिरामी हुने गरेको उनी बताउँछन् । ‘अस्पतालमा प्रायः जसो राति धुराइका कारणले गहिरो निद्रा नपरेर दिउँसो निद्रा लाग्ने, मोटोपना, उच्च रक्तचाप नियन्त्रण गर्न नसक्ने खालका छन्’, उनले भने । कडा घुराइका बिरामीले समयमा उपचार नगरे ज्यान जान पनि सक्ने उनको भनाइ छ । घुर्नेसम्बन्धी कडा रोगका बिरामीलाई उच्च रक्तचाप, मधुमेह, भविष्यमा हृदयाघात, मस्तिष्काघात, अचानक सुतेको बेला मृत्यु हुने र प्यारालासिस हुने सम्भावना अन्य व्यक्तिभन्दा दुईदेखि तीन गुणा बढी हुने उनी बताउँछन् । ‘घुर्ने बिरामीमा राती श्वास र अक्सिजन रोकिने हुन्छ । कडा भएपछि अक्सिजन रोकिएपछि मुटुको चालमा गडबडी आउँछ । त्यसपछि अचानक हृदयघात, मृत्यु हुने जस्ता सम्भावना हुने गर्दछ’, उनले भने । गहिरो निद्राका लागि सुत्ने समय एउटै हुनुपर्दछ । सुत्नअघि चुरोट, मादकपदार्थ सेवन, कफीजस्ता वस्तुको सेवन गर्नुु हुँदैन । ती पदार्थले हाम्रो मस्तिष्कलाई उत्तेजित बनाएर निद्रा लाग्न दिँदैन । यस्तै, सुत्ने कोठाको तापक्रम पनि मिलेको हुनु पर्दछ । तनावका कारणले पनि निद्रा लाग्दैन । रासस
वालिङ नगरपालिकाले दिन थाल्यो श्रम स्वीकृति
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको नगरप्रमुख कृष्ण खाणले बताए । श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले नगरपालिकाले सोमबारदेखि काम सुरु गरेको उनले जानकारी दिए । श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल आइडी, सम्पर्क नम्बर, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपीसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने रोजगार संयोजक पवन बस्यालले बताए । वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो । ‘प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ’ संयोजक बस्यालले भने, ‘आवेदन स्वीकृत भएको वा आवश्यक विवरण अपुग भएको जानकारी पनि अनलाईनमार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्ने ब्यवस्था छ ।’ श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौं जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट उक्त सेवा पाइएकाले सहज भएको वडा नं १३ का सुरज श्रेष्ठले बताए । वैदेशिक रोजगारीका लागि साउदी अरेविया जान लागेका उनले नगरपालिकाबाट पुनःश्रम स्वीकृति लिने उनी पहिलो व्यक्ति थिए । रासस
मौद्रिक नीतिमार्फत ब्याजदर घटाइनेछ : अर्थमन्त्री डा.महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक सम्बन्धी आजको छलफलमा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे । सांसदहरुले महत्वपूर्ण सुझाव दिएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाए । उनले भने, ‘आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्दर्भमा स्रोत जुटाउने सबै उपाय अवलम्बन गरिनेछ ।’ राजश्व घटेको र पुँजीगत खर्च कम भएको अवस्थामा आगामी आवमा पुँजीगत खर्चको प्रभावकारिता बढाउने र पहिलो दिनदेखि नै प्रभावकारी रुपमा अनुगमन गर्ने मन्त्री महतले उल्लेख गरे । विदेशी सहायता, राजस्व र आन्तरिक ऋण नै बजेटको स्रोत हुने जिकिर गर्दै उनले प्रभावकारी ढङ्गबाट खर्च गर्ने व्यवस्था गरिने विश्वास दिलाए । अहिले ब्याजदर बढेकाले लागत बढेको र यसले गर्दा लगानी कम भएको बारेमा सरकार जानकार रहेको उल्लेख गर्दै मन्त्री महतले भने, ‘मौद्रिक नीतिमार्फत ब्याजदर कम हुने व्यवस्था गरिनेछ, यसले राजस्व बढाउन र अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने तथा सकारात्मक प्रभाव पर्नेछ ।’ राजस्व चुहावट कम गर्न गृह र अर्थ मन्त्रालय मिलेर नियन्त्रण गरिने मन्त्री महतको भनाइ थियो । उनले मुलुकमा केही विकास नै नभएको भनी निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै भने, ‘प्रजातन्त्र पुनः स्थापनापछि मुलुकमा शिक्षा, स्वाास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा धेरै काम भएका छन् । तर पनि यतिले पुग्दैन । अझै धेरै काम गर्नुछ ।’ करको विषयमा कुनै पनि सीमित वर्ग र समुदायलाई फाइदा पु¥याउने गरी कुनै काम नहुने एवम मुलुक र जनतालाई केन्द्रमा राखेर नै बजेट तय गरिने उनले बताए । खर्च घटाउने र अनावश्यक संरचना कम गर्ने सम्बन्धमा प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्री डा महतले यो विषयप्रति बजेट उन्मुख हुने बताए । सांसदका सुझाव सल्लाह समेटेर बजेट निर्माण गरिने विश्वास दिलाउँदै उनले मितव्ययितातर्फ केन्द्रीत रही साधारण खर्च कटौती गरिने र अनावश्यक खर्चसमेत कटौती गरिने बताए । सामाजिक सुरक्षाका सम्बन्धमा वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री महतले यसमा कटौती गर्ने कुनै योजना नरहेको बताए । राष्ट्र बैंकमार्फत ब्याजदर घटाएर चलायमान बनाउने, रोजागारीका अवसर सिर्जना गर्ने गरी बजेट तय गरिने उनको भनाइ छ । यसमा सबैको सहयोग र प्रयासको आवश्यकता मन्त्री महतले औल्याए ।
सामाजिक सुरक्षा भत्ता कटौती नहुने
काठमाडौं । हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने भएको छ । मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्ताे बताएका हुन् । ‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन,’ उनले भने । उनल बोलिसकेका कुराबाट सरकार पछि नहट्ने बताए ।