विकासन्युज

वैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाइल ल्याउन पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने भएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रकृया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । २०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा ९३० अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो । तर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगरीमा ६ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो । बैठकले एमडीएमएस व्यवस्था पनि लागू गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले सहकारी क्षेत्रको समग्र सुधारका लागि कार्यदल गठन गरेको र ढल्केवर वाणगंगा १३२ केबी प्रशारण लाइन निर्माणको लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक अधिकारी तोक्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिवमा रेवतीरमण पौडेललाई बढुवा गर्नुको साथै इसमिट बोर्ड अफ गभर्नेन्स मिटिङमा सहभागीको लागि योजना आयोगको उपाध्यक्ष मिनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय गरेको छ ।

गण्डकीमा कुन दललाई कति मन्त्रालय ?

काठमाडौं । गण्डकी प्रदेश सरकारमा कुन दलले कति मन्त्रालय पाउनेबारे गठबन्धनमा सहमति जुटेको छ । प्रमुख सत्ता घटक नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्रालाय पाउने भएको हो । कांग्रेसको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेका अनुसार मन्त्रालयगत बाँडफाँट भने अझै टुङ्गिन बाँकी छ । ‘कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा गठबन्धनमा गृहकार्य भइरहेको छ’, उनले भने, ‘केही दिनमै मुख्यमन्त्रीज्यूले सरकारलाई पूर्णता दिनुहुन्छ ।’ मन्त्रालयको बाँडफाँट मिलेपछि दलहरुले मन्त्रीको नाम टुङ्ग्याउने प्रमुख सचेतक न्यौपानेले बताए । ‘केन्द्रीय गठबन्धनसँग पनि जोडिएको विषय भएकाले नेकपा एसलाई कुन मन्त्रालय दिने भन्ने विषयमा माथि नै सहमति बन्छ’, उनले भने । प्रदेशसभामा राजीव गुरुङ नेकपा (एस)का एक्लो सदस्य छन् । मनाङ–१ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका उनी पछि नेकपा एसमा प्रवेश गरेका थिए । प्रदेशसभामा सत्तारुढ दलतर्फ सबैभन्दा बढी कांग्रेसका २७ र माओवादी केन्द्रका सात (सभामुखबाहेक) प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले आफूहरुले तीन मन्त्रालयमा दाबी गर्दै आए पनि दुई मन्त्रालय पाउने सहमति बनेको बताए । ‘कांग्रेस र माओवादी केन्द्रबीच सहमति भइसकेको छ, नेकपा एसको विषयमा मुख्यमन्त्रीज्यूले नै मिलाउनुहुन्छ’, उनले भने । पूर्वमन्त्रीसमेत रहेका नेता चुमानले माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पाउने सम्भावना रहेको उल्लेख गरे । ‘अब माओवादीका कारण मन्त्रिपरिषद् विस्तार रोकिन्न, बरु कांग्रेसभित्रै मन्त्रीका आकांक्षीलाई मिलाउन समय लाग्न सक्छ’, उनले भने । निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा पनि माओवादीले दुई मन्त्रालय पाएको थियो । सोही सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा पु¥याएको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि मन्त्रालयको सङ्ख्या नथप्ने प्रतिबद्धता जनाइसकेका छन् । यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले गत २१ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । विश्वासको मत पाएसँगै उनी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका छन् । हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहेका छन् । मन्त्रिपरिषद्को पूर्णतापछि सरकारका कामकारबाहीले गति दिने सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री तिवारीले बताए । रासस

मन्त्री रिजाल र बेलायती राजदूतबीच शिष्टाचार भेट, लगानीका बारेमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आर्थिक सम्बन्ध तथा विकास सहयोग, व्यापार तथा लगानी लगायत बिषयमा छलफल भएको थियो । भेटमा मन्त्री रिजालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोग सह्रानीय रहेको बताउदै आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै जानेमा आफु विश्वस्त रहेको स्पष्ट पारेका छन् । नेपाल र संयुक्त अधिराज्यबीच वर्षदेखिको मित्रता रहेको बताउदै मन्त्री रिजालले बेलायती राजदूत निकोलाको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने विश्वास ब्यक्त गरे । साथै महामहिम राजदुतको कार्यकाल तथा नेपालको बसाइँ उपलब्धिमुलक र सुखद रहोस् भन्ने कामना व्यक्त गरे । मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन अपेक्षा ब्यक्त गरे । बेलायती लगानीकर्ताहरू नेपालमा मुख्यतया ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा लगानी गर्न उत्सुक रहेको स्मरण गराउदै मन्त्री रिजालले नेपालका सम्भावनायुक्त क्षेत्रमा बेलायतबाट लगानी बढाउन र विविधीकरण गर्नको लागि बेलायती राजदूत निकोलाको महत्तम प्रयास रहने अपेक्षा रहेको स्पष्ट पारे । भेटका क्रममा मन्त्री रिजालले नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको समेत स्मरण गराएका छन् । तसर्थ उक्त प्रक्रियालाई दिगो र सहज बनाउन कम्तीमा केही वर्षसम्म जियसपि, उत्पत्तिका नियमहरूको मापदण्ड जस्ता यलडिसि सम्बन्धित सहुलियतपूर्ण व्यापारिक सुविधाको निरन्तरता महत्वपूर्ण रहने भन्दै मन्त्री रिजालले यस सम्बन्धमा नेपालले बेलायतको सहयोगको अपेक्षा गरेको समेत बताए । गत वर्ष कोप–२६ सम्मेलन सफलतापूर्वक आयोजना भएको सन्दर्भमा साझा विश्वव्यापी चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनको एजेण्डामा नेपाल बेलायतसँग मिलेर काम गर्न तत्पर रहेको मन्त्री रिजालले अवगत गराए । भेटका क्रममा मन्त्री रिजालले नेपालको हरित, उत्थानशील र समावेशी विकास रणनीतिलाई समर्थन गर्ने बेलायतको तत्परताको कदर समेत गरेका छन् । त्यसैगरी नेपाल सरकारले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादन, विद्युतीय यातायात, न्यून कार्बन पूर्वाधार र पर्या–पर्यटनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको बताए । नेपालको नवीकरणीय ऊर्जा विकास, जलवायु परिवर्तन सम्बन्धी अनुकूलन र न्यूनीकरण प्रयासहरूमा बेलायत सरकारको सहयोग प्रति मन्त्री रिजालले कृतज्ञता समेत व्यक्त गरे ।

जीडीपी दोब्बर पार्ने उज्वेकिस्तानको लक्ष्य

ताशकन्द । उज्बेकका राष्ट्रपति शाभकत मिर्जियोयेभले देशले आर्थिक सुधारलाई निरन्तरता दिने र आगामी वर्षमा आफ्नो कुल गार्हस्थ्य उत्पादन जीडीपी हालको ८० अर्ब अमेरिकी डलरबाट दोब्बर गरी १६० अर्ब डलरमा पुर्याउने लक्ष्य राखेको बताएका छन् । ‘यसको अर्थ प्रतिव्यक्ति जीडीपी चार हजार डलर पुग्ने हो,’ राष्ट्रपतिले ३० अप्रिलमा संशोधन गरिएको संविधानमा भएको जनमत सङ्ग्रहको नतिजापछि संसद्, सरकार र अन्य राज्य निकायका सदस्यलाई सम्बोधन गर्दै सो टिप्पणी गरेका हुन् । राज्यले निजी क्षेत्रलाई सहयोग गर्ने, कर प्रशासनलाई सरल बनाउने र अर्थतन्त्रमा राज्यको सहभागिता घटाउन निरन्तर लागिरहने पनि राष्ट्रपतिले उल्लेख गरेका छन् । उज्बेकिस्तानले आफ्नो शान्तिपूर्ण विदेश नीति जारी राख्दै निकट र टाढाका देशसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्दै सबै क्षेत्रमा पारस्परिक सहयोगको विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

अवैध रुपमा वैदेशिक रोजगारीमा गएकालाई वैधता दिने सरकारको तयारी

काठमाडौं । सरकारले अवैधानिक रुपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका नेपाली नागरिकहरुलाई एक पटकको लागि वैधता दिने तयारी थालेको छ । मंगलबार काठमाडौंमा आयोजित सम्मानपूर्ण श्रम र आप्रवासी महिला श्रमीकको अधिकार विषयक २ दिने राष्ट्रिय कार्यशाला गोष्ठी कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उनले यस्तो बताएका हुन् । उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिकहरु विभिन्न मुलुकमा पुगेको र एक पटकका लागि भने सरकारले वैधता दिनेगरी आफ्ना काम कारबाही अघि बढाएको बताए । उनले वैदेशिक रोजागारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमीकहरु बढी शोषणमा परेको बताए । उनले अवैध रुपमा विदेश गएका नेपाली नागरिकहरुलाई एक पटकका लागि वैधता दिन सरकारले अभियानकै रुपमा काम थालेको बताए । उनले भने, ‘महिलाहरुको गन्तव्यमुलुकको चोरी बन्द भएको छ, तर महिलाहरु विभिन्न मुलुकमा पुगेका छन्, अनि शोषण भएको छ । अहिले श्रम स्वीकृति नभएर कति विद्यार्थी, भिजिट भिसामा छिर्ने र काम गर्ने गरिरहका छन्, त्यसको लागि केही लिगल कुराहरु छन्, कुनैपनि भिसामा गएका नेपालीहरु काम गरिरहेका छन् भने तिनलाई पनि श्रम स्वीकृति दिने तयारीमा हामी छौँ ।’ कार्यक्रममा बोल्दै ओरेक नेपालका संस्थापक अध्यक्ष रेणु राजभण्डारीले महिलाहरुको श्रमको मूल्य पाउनेगरी सामाजिक सुरक्षा योजना आवश्यक रहेको बताए । उनले प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रमको आवश्यक्ता रहेको उल्लेख गरे । उनले भने, ‘योगदानमा आधारित, ह्वाट डु यु मिन बाइ योगदानमा आधारित ? योगदान भनेको काम गरेको भयो । घरेलु श्रमीकलाई कुन चाहीँ इम्प्लोयरले पैसा हाल्दिन्छ । शोषण सेक्युरिटि स्किम चाहियो । प्रपर सोसल सेक्युरिटी स्किम चाहियो ।’ कार्यक्रममा महिला आयोगकी सदस्य कृष्णकुमारी खतिवडाले वैदेशिक रोजगारीबाट अलपत्र बनेर आएका महिलाहरुको व्यवस्थापनका लागि सातै प्रदेशले सोच्न जरुरी रहेको बताए । उनले वैदेशिक रोजगारीमा गइ अलपत्र परेका महिलाहरुको अभिभावकत्व राज्यले लिनुपर्ने बताए । उनले भने, ‘आज खुला नाकाबाट दिनदहाडै महिलाहरु बेचिइरहेका छन्, पारी गएपछि गर्भवती बनाएर वारी ल्याइएको छ, अब न बाबु, न राज्य न समाजले स्वीकारेको छ, उनीहरुको हालत हामीले देखिरहेको छौँ । राज्यको भुमिकामा सातै प्रदेशमा महिलाहरु वैदेशिक रोजगारीबाट अलपत्र आएभने राज्यले अभिभावकत्व लिनुपर्छ र व्यवस्थापन गर्नुपर्छ ।’ सदस्य खतिवडाले अहिले पनि खुला नाकाबाट महिलाहरु बेचिनुपर्ने अवस्था विद्यमान रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

जनयुद्धमा जस्तै साथ चाहियो, भ्रष्टाचार नियन्त्रण गर्छु : प्रधानमन्त्री

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’ आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउँदै उनले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो, समानता चाहियो, तिनिहरुलाई पनि अधिकार चाहियो, सामाजिक न्याय भनेको त्यहि हो, सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ, जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’ जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे । उनले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए । यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाई थियो ।

दुर्गमका विद्यार्थीलाई निःशुल्क कम्प्युटर कक्षा

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–२ काल्नेचौरकी दिपीका घर्तीलाई सानैदेखि सूचना प्रविधिसँग जोडिने इच्छा थियो । दुर्गम गाउँमा खेल्दै हुर्किर्दै, पढेकी उनलाई १० कक्षा पढ्दासम्म त्यो अवसर सहजै जुरेको थिएन । सूचना प्रविधिका हिसाबले अझै पछाडिनै रहेको निसीखोलामा राम्रोसित कम्प्युटर सिक्ने ठाउँको अभाव छ । गत चैतमा एसइई दिएर बसेकी घर्तीलाई अहिले ठूलो अवसर प्राप्त भएको छ । निसीखोला–१ स्थित देवीस्थान माध्यमिक विद्यालयले एसइई दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ । अनी मात्र घर्तीलाई पहिलो पटक कम्प्युटर सिक्ने अवसर जुरेको हो । कम्प्युटर सिक्ने भन्दा सुगम ठाउँमा सामान्य लाग्न सक्छ । तर दुर्गम गाउँमा यसको ठूलो महत्व छ । निसीखोलाका धेरै ठाउँमा अहिले पनि इन्टरनेट पुग्न सकेको छैन । कम्प्युटर सिक्ने त धेरै टाढाको कुरा हो । देवीस्थान माविले विद्यार्थीका लागि दिएको यो अवसरबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् । यस विद्यालय बाहेक अन्य ठाउँबाट आएका विद्यार्थीले समेत निःशुल्क कम्प्युटर सिक्न पाइरहेका छन् । एसइई दिएपछि बुर्तिबाङ बजारमै झरेर कम्प्युटर कक्षा लिने सोच बनाएकी घर्ती अहिले गाउँ नजिकैको विद्यालयमा कम्प्युटर सिक्न पाएपछि खुसी भएका छन् । विद्यालयले निःशुल्क कक्षा दिन थालेपछि विद्यार्थीको हजारौँ रुपैयाँसमेत बचत भएको छ । नजिकमा कम्प्युटर सेन्टर नहुँदा विद्यार्थी बुर्तिबाङ, बागलुङलगायत बजार पुग्नुपर्ने स्थिति छ । खाली समयमा देवीस्थान माविले आफूहरूलाई सुनौलो अवसर दिएको घर्ती बताउँछन् । उनले बुर्तिबाङ बसेर कम्प्युटर सिक्न थालेको भए तीन महिनामा ४०/५० हजार रुपैयाँसम्म खर्च हुने बताए । अहिले घरकै खाना खाजा खाएर निःशुल्क पढ्न पाउँदा खुसी लागेको उनको भनाइ छ । घर्ती भन्छन्– ‘एसइई दिएपछि बुर्तिबाङ बजारमै गएर कम्प्युटर सिक्ने घरमा कुरा भइरहेको थियो, त्यही बेला साथीहरूले देवीस्थान स्कूलमा ‘फ्रि’मा कम्प्युटर सिक्न पाइन्छ भन्नुभयो, बुझ्दा खेरी हो रहेछ, अहिले यही आएर कक्षा लिइरहेका छौँ, बुर्तिबाङ गएको भए कोठा खोज्नुपथ्र्यो, खर्च बढी हुन्थ्यो, अहिले यहाँ त बिहान एक घण्टा हिँडेर आएपछि सिक्न पाइयो, कम्प्युटर चलाउने मेरो सानैदेखिको चाहाना अहिले पूरा हुँदैछ, कम्प्युटर सिकेपछि अरु जागिर खान पनि सजिलो हुनेभयो ।’ घर्ती जस्तै निसीखोला–१ हुल्दीका कपिल मगर पनि अहिले यही विद्यालयमा निःशुल्क कम्प्युटर कक्षा लिइराख्नु भएको छ । एसइई दिएर केही दिन घुमघाम गर्ने र बाँकी समय घरको काम गर्ने योजना बनाएका उनी अहिले दैनिक कम्प्युटर सिक्न आउँछन् । आफूहरू जस्ता दुर्गम गाउँका विद्यार्थीलाई विद्यालयले ठूलो अवसर दिएको मगर बताउँछन् । उनले अहिलेसम्म आफूले कम्प्युटर सिक्न नपाएको सुनाए । ‘गाउँ घरमा कम्प्युटर सिक्न चाहेर पनि अवस्था सहज छैन, यहाँ वरपर सिक्ने ठाउँ पनि छैन, सिक्नका लागि ठूलै बजारमा जानुपर्छ,’ उनले भने– ‘एसइई दिएर साथीसँग केही दिन घुम्ने र केही दिन गाउँमै काम गर्छु भन्ने सोचेको थिए, सरहरूले यहाँ निःशुल्क कम्प्युटर सिक्न पाइने सूचना दिएपछि अहिले निरन्तर सिक्न आइरहेको छु ।’ बजारमा कम्प्युटरको ‘बेसिक कोर्ष’ को चार हजारदेखि छ हजार रुपैयाँसम्म शुल्क लिने गर्छन् । विद्यालयले निःशुल्क तीन महिना विद्यार्थीलाई तालिम दिने भएको हो । विद्यालयले विद्यार्थीलाई सूचना प्रविधिसँग जोड्न र उनीहरूको खाली समयको सदुपयोगका लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको देवीस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक झगबहादुर क्षेत्रीले जानकारी दिए । उनले देवीस्थान माविको मात्रै नभइ निसीखोला र ढोरपाटन नगरपालिकाका विभिन्न विद्यालयबाट विद्यार्थी कम्प्युटर सिक्न आइरहेको बताए । अहिले ५० विद्यार्थीले कक्षा लिइरहेको भन्दै दिनदिनै सिक्नेको सङ्ख्या बढ्दै गएको प्रअ क्षेत्रीको भनाइ छ । विद्यालयले दुई प्रशिक्षकनै राखेर कक्षा सञ्चालन गरिरहेको छ । प्रशिक्षकलाई विद्यालयले न्यूनतम पारिश्रमिक र खाजा खानाको व्यवस्था गरेको क्षेत्रीले बताए । यही वैशाख १३ गतेदेखि सुरु भएको कम्प्युटर कक्षा एसइई नजिता आएर प्रकाशन भएर विद्यार्थी भर्ना नहुँदासम्म सञ्चालन हुने उनको भनाइ छ । ‘दुर्गम भेगका विद्यार्थीलाई प्रविधिसँग जोड्न, उनीहरूको फुर्सदको समय सदुपयोग गर्न र विद्यार्थीलाई सकरात्मक सोचको विकास गर्न हामीले निःशुल्क कम्प्युटर कक्षा सुरु गरेका हौँ,’ प्रधानाध्यापक क्षेत्रीले भने– ‘उनीहरूबाट कुनै शुल्क लिइँदैन, यहाँ कम्प्युटर सिक्ने राम्रो वातावरण पनि नभएको हुँदा विद्यालयले एउटा प्रयास गरेको हो, विद्यार्थी निकै उत्साहपूर्वक सहभागी भइरहेका छन् ।’ रासस

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो । उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ ।