नाइफ उद्यमशीलता सम्मेलन आयोजना सम्पन्न
काठमाडौं । काठमाडौंमा नाइफ उद्यमशीलता सम्मेलन २०२३ सम्पन्न भएको छ । नाइफ काठमाडौंले २३ वैशाखमा मल्ल होटलमा आयोजना गरेको सम्मेलनको उद्देश्य युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने रहेको थियो । सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, सांसद सोविता गौतम, नाइफ एनजीसीका अध्यक्ष रितेश लामिछाने र नाइफ काठमाडौंका अध्यक्ष चिराग गोयलले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा नाइफ काठमाडौंका अध्यक्ष गोयलले देशको आर्थिक विकासका लागि युवाहरूमा रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उद्यमशीलतामा महिलालाई प्रोत्साहन गर्न सरकारले दर्ता, कानुनी मामिला आदिमा नियम र कानुन बनाएर सहयोग गर्न सक्नेमा उनको जोड थियो । नाइफ उद्यमशीलता सम्मेलनमा प्यानलगत छलफलका साथै उद्यमशील यात्रा, उत्पादन र सेवाबारे प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । नेपालको उद्यमशील इकोसिस्टममा रहेका नयाँ प्रवृत्ति र अवसरहरूबारे जान्नका लागि उद्योग विशेषज्ञहरू र भेन्चर क्यापिटलिस्टहरूसहित ५०० भन्दा बढीले कार्यक्रममा भाग लिएका थिए। नाइफ काठमाडौं च्याप्टरले ३० भन्दा बढी स्टलहरूलाई आफ्ना उत्पादन, व्यवसाय र सेवाहरू प्रदर्शन गर्ने अवसर प्रदान गरेको थियो। स्टलहरू उद्यमीहरू बीच नेटवर्किङ र सहकार्यको लागि उत्कृष्ट प्लेटफर्म थिए।
नबिल बैंकले काठमाडौं उपत्यकासहित २७ ठाउँको जग्गा बेच्दै
काठमाडौं । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले साविक नेपाल बङ्गलादेश बैंकको स्वामित्वमा विभिन्न शाखा स्थानमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बोलकबोल मार्फत बिक्री गर्ने भएको हो । बैंकले काठमाडौं, ललितपुर, बारा, कैलाली, मोरङ्ग, झापा, सुनसरी, भोजपुर, पर्सा, दार्चुला र बाँकेका विभिन्न २७ स्थानमा रहेको जग्गा बिक्री गर्ने भएको हो बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिन अर्थात् जेठ १० गते भित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
लाभांश प्रस्ताव पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रताव पारित गर्न ३५ औँ वार्षिक साधारण सभा बोलाएको हो । इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा जेठ २२ गते केन्द्रिय कार्यालय लाजिम्पाटमा बिहान साढे १० बजे बस्नेछ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले जेठ ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारणसभामा सहभागिता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् ।
एशियन लाइफको नाफा बढ्यो, साढे ३६ अर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ५.८१ प्रतिशत बढेर १९ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क ०.६५ प्रतिशत घटेर ५ अर्ब ८ करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ११ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क ार्जन गरेको थियो । चालू आवको ९ महिनाको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३३ प्रतिशत बढेर १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १६ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशत बढेर २ अर्ब ९० करोड रुपैयाँ, जगेडा कोष १६ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ, जीवन बीमा कोष २० प्रतिशत बढेर ३६ अर्ब ५४ करोड ६३ लाख रुपैयाँ र महाविपत्ती कोष ४९ प्रतिशत बढेर १७ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९३ पैसा, प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ०३ पैसा र मूल्य आम्दानी अुपात ६८१० गुणा रहेको छ ।
कित्ताकाट खोल्ने सरकारको निर्णय फिर्ता
काठमाडौं । कित्ताकाट खोल्ने भू–उपयोग नियमावली २०७९ को संशोधन प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा फिर्ता भएको छ । गत बैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुला गर्ने निर्णय गरेको भएपनि मन्त्रालयबाटै फिर्ता भएको छ । पछिल्लो समय घरजग्गा कारोबार सुस्ताउँदा अर्थतनत्र संकटमा परेको भन्दै कित्ताकाट खुला गरेको अर्थमन्त्री प्रकाश शरण महत र प्रधानमन्त्री प्रचण्डले विभिन्न कार्यक्रमहरुमा बोल्दै आएका छन् । सोही अनुसार सरकारले गत बैशाख ५ गते बसेको मन्त्रीपरिषदको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको थियो । भु उपयोग सम्बन्धि नियमावलीमा पहिलो संशोधन स्विकृत गर्दै मन्त्रिपरिषद्ले जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णय गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी थिइन् । भुउपभोग सम्बन्धी नियमावलीमा गरिएको संशोधनले अंशबन्डा, कित्ताकाट र घरजग्गा कारोबारमा सहजिकरण गर्ने मन्त्री शर्माको भनाइ थियो । सो निर्णय प्रमाणीकरण गरेर कार्यान्वयनका लागि भूमि मन्त्रालयमा पठाउनुपर्ने थियो । तर, वैशाख १२ मा कित्ताकाटसम्बन्धी विषय मन्त्रिपरिषद्अन्तर्गतकै आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गरेको समितिका सचिव दिनेश भट्टराईले बताए । उनका अनसार नियमावली प्रस्ताव थप संशोधन गर्न फेरि मन्त्रालयमै पठाएको छ । अहिले भू–उपयोग नियमावलीमाथि संशोधन गर्न पुनः गृहकार्य भइरहेको मन्त्रालयले जनाएको छ । भूमि व्यवस्थापन महाशाखाका अनुसार अझै सहज र सरल ढंगले गर्ने गरी भू–उपयोग नियमावलीलाई संशोधन गर्न फाइल फिर्ता पठाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण : ‘हाइप्रोफाइल’ पक्रनै हम्मे
काठमाडौं । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बिचौलियाको काम गर्नेहरू भने धमाधम पक्राउ पर्दै छन् । प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी मंगलबार नै काठमाडौंबाट पक्राउ परेका हुन् । केसी र चौधरी पक्राउ परेसँगै सो प्रक्ररणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर भइसकेको र प्रहरीका सबै संयन्त्र खटाइएको बताए । ‘रायमाझीको खोजीका लागि हुलिया र फोटोसहित ७७ वटै जिल्लामा सर्कुलर भइसकेको छ, प्रहरीले खोजी गरिरहेको छ, यो पक्राउ पुर्जी जारी भएपछिको नियमित प्रक्रिया नै हो,’ प्रहरी प्रवक्ता कडायतले भने । यो समाचार राजधानी दैनिकमा छ ।
अरुण काबेलीको विद्युत बिक्री नभएपछि नाफा घट्यो
काठमाडौं । अरुण काबेली पावरको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्नु र कम्पनीको खर्च बढेका कारण कम्पनीको नाफा ३५.३५ प्रतिशत घटेको हो । चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री आम्दानी ४.६४ प्रतिशत घटेर ५६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५९ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४.३४ प्रतिशत घटेर ५३ करोड १८ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५५ करोड ६० लाख रुपैयाँ कूल नाफा गरेको थियो । यस अवधिमा कम्पनीको अन्य आम्दानी १३७.७८ प्रतिशत बढेर ७४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३१ लाख रुपैयाँ मात्रै अन्य आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च १८.४९ प्रतिशत घटेर ३९ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्ष ३३ लाख २ हजार रुपैयाँ गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँ र जगेडा कोष ५३.६४ प्रतिशत बढेर ३५ करोड ४२ लाख रुपैयाँ रहेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.६४ रुपैयाँ घटेर १०.३२ रुपैयाँमा सिमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.१४ गुणा रहेको छ ।
खुकुलो मौद्रिक नीति नल्याउन आइएमएफको सुझाव
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ । नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा आइएमएफका डेपुटी डिभिजन चिफ टुरुनेन जाक्र्कोले नेपालको आयात क्रमिक रूपमा बढेको अवस्थामा मौद्रिक नीतिलाई खुकुलो बनाउने हो भने त्यसले अर्को समस्या ल्याउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए । इसिएफमार्फत परिचालन भएका कार्यक्रमको समीक्षापछि आइएमएफले ५ करोड २८ लाख अमेरिकी डलर बराबरको ऋण निकासा गर्ने घोषणा गरेको छ । आइएमएफको कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको थियो । पत्रकारसँग आइएमएफका डेपुटी डिभिजन चिफ जाक्र्कोले भने, ‘नेपालको आयात बढिरहेको छ, मूल्य वृद्धि उच्च दरमा छ, अहिले बाह्य जोखिम कायमै रहेकाले खुकुलो मौद्रिक नीति ल्याउन हुँदैन, अर्थतन्त्रलाई राम्रो गर्दैन ।’ उनले देशको आर्थिक अवस्थाबारे निर्णय लिँदा तथ्याङ्कमा आधारित हुने पनि सुझाव दिए । यसअघि आइएमफले कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको बताइएको थियो । राजस्व वृद्धि गर्ने उपाय अवलम्बन गर्न र सहुलियत कर्जा उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा डेपुटी डिभिजन चिफ जाक्र्कोको जोड थियो ।