काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन् । काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा सडक तथा ग्रामिण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धि बिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरुको हिजोको जस्तो साथ सहयोग आवश्यक छ । म तपाईहरुसँग अपील गर्न चाहन्छु ।’
आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउँदै उनले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो, समानता चाहियो, तिनिहरुलाई पनि अधिकार चाहियो, सामाजिक न्याय भनेको त्यहि हो, सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ, जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’
जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे ।
उनले लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको बताउँदै आशन्न भारत भ्रमणमा बिद्युत बिक्री र उत्पादनका विषयहरुमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए । यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाई थियो ।