काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ जना यात्रु लाभान्वित भएका छन् ।
चाडपर्वका बेला सार्वजनिक यातायातका साधन न्यून सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतलाई ध्यानमा राखी सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार बुधबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालित बस सेवाबाट काठमाडौं चक्रपथ (रिङरोड) क्षेत्रमा १ हजार ७६६ र भक्तपुर रुटमा ७२० जना यात्रुले यात्रा गरेका छन् ।
सशस्त्र प्रहरीको प्रधान कार्यालयबाट सञ्चालन गरिएका दुई बसमध्ये एउटाले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै सेवा दिएको थियो भने अर्को बसले सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क रुटमा यात्रुलाई सेवा प्रदान गरेको थियो ।
यसैगरी, स्वयम्भूस्थित प्रधान कार्यालयदेखि भक्तपुरसम्म सञ्चालन गरिएको अर्को बसले स्वयम्भू, कलङ्की, बानेश्वर, कोटेश्वर, पेप्सीकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी, लोकन्थली हुँदै पुनः बानेश्वर, कलङ्की र स्वयम्भूसम्म यात्रा सुविधा उपलब्ध गराएको थियो ।
चाडपर्वका बेला सार्वजनिक सवारीको अभावमा नागरिकले भोग्नुपर्ने सास्ती न्यूनीकरण गरी सहज यात्राको वातावरण बनाउने उद्देश्यले यो निःशुल्क बस सेवा सञ्चालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।