विकासन्युज

पक्की पुलको विकल्पमा जाजरकोटमा बेलिब्रिज निर्माण गरिने

जाजरकोट । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोट भेरी नगरपालिकाको भेरी नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ । यसका लागि तीन ठाउँमा सर्वे भएको पुष्पलाल मध्यपहाडी लोकमार्गका प्राविधिक वामेश्वर देवकोटाले जानकारी दिए । भेरी नगरपालिकाको–११ र १३ का तीन स्थानमा सर्वे भएको उनको भनाइ छ । नदीमा पक्की पुल निर्माणमा समय लाग्ने भएपछि तत्कालका लागि बेलिब्रिज निर्माण गर्न लागिएको पूर्वअर्थमन्त्री जनार्दन शर्माले बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गमा पक्की पुल निर्माण ठेक्का पाएको कम्पनीले १० वर्षसम्म पनि काम नगरेपछि हाल सम्झौता रद्द गरिएको छ । सरकारले निर्माण कम्पनी वाईपी कन्ट्रक्सन प्रालि काठमाडौँविरुद्ध समयमै काम नगरेको भन्दै आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपैयाँ जरिवाना समेत गरेको छ । सरकारको उक्त निर्णयविरुद्ध कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ । निर्देशनालयले पटक–पटक ताकेता गर्दा पनि काम गर्न अटेर गरेपछि गत मङसिर २९ मा विभागीय निर्णय अनुसार ठेक्का सम्झौता रद्द गरिएको निर्देशनालयका डिभिजन प्रमुख इञ्जिनियर युवराज पोखरेलले बताए । सार्वजनिक खरिद नियमावली २०६३ अनुसार ठेक्का तोडिएपछि निर्माण व्यवसायीबाटै उक्त योजनाको रकम असूल उपर गर्ने व्यवस्था छ । कम्पनीले २०६९ सालमा तीन वर्षमा काम सम्पन्न गर्नेगरी १४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । रासस

व्यापार संघको कार्यक्रममा पुगेर स्वास्थ्यमन्त्रीले भने : सरकार व्यवसायीको पक्षमा छ

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताएका छन् । एकता व्यापार सङ्घले आज यहाँ आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उहाँले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताएका हुन् । ‘मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, उनीहरूलाई काम गर्ने वातावरण दिइएन भने देशको विकासले फड्को मार्न सक्दैन, सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छ’, मन्त्री बस्नेतले भने । पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उनले कोरोना सङ्क्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बताए । कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले  यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । उनले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताए । नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष कुमार कार्कीले बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर लिँदा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएको भएकाले ब्याजदर घटाउन सरकार लाग्नुपर्ने बताए । उनले भूकम्प र कोरोनाका कारण लामो समय नेपालका उत्तरी नाका बन्द हुँदा व्यापार व्यवसायमा समस्या भएकाले तत्काल नाका सञ्चालन गनुपर्नेमा पनि जोड दिए । एकता व्यापार सङ्घका अध्यक्ष माधव खरेलले भन्सार क्षेत्रमा भइरहेको झन्झटिलो प्रक्रिया अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए । उनले व्यापार व्यवसायको सिलसिलामा घरबेटीले अत्यधिक घरभाडा लिने गरेकाले सरकारले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताए । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड र पिपल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिको प्राविधिक सहयोगमा उक्त  शिविर आयोजना गरिएको थियो ।

२४ वर्ष विदेश बसेका लोकबहादुर वस्तुभाउसँग रमाउँदै, ५ जनालाइ रोजगारी

जानकी । लोकबहादुर सिंह ठकुरी चारवर्ष अगाडि साउदी अरबबाट घर फर्किए । खजुरा गाउँपालिका–२ निवासी उनी घर फर्किएलगत्तै सुबेदार द्रोण कृषि फार्म प्रालि फार्म सञ्चालन गरेर व्यवसाय गर्न थाले । करिब २४ वर्ष विदेशमा बसेका लोकबहादुर अहिले पशुपालनमै व्यस्त र खुसी छन् । ‘दुःख पनि छ रमाईलो पनि छ’, उनले भने, ‘२४ वर्ष अरुको देशमा बसेर अनुभव बटुलेको छु । गरे आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ।’ तीनवटा भैँसीबाट आफ्नो व्यवसाय सुरु गरेका लोकबहादुरले सुरुमा युट्युबमा हेरेर प्रेरणा मिलेको बताए । अहिले उनीसँग पाँच वटा भैँसीका साथै २६ वटा बाख्रा र तीन सयभन्दा बढी कुखुरा छ । कुखुरा उत्पादनका लागि आफ्नै उपकरण पनि छ । विदेशमा रहेकै बखत युट्युबमा भैँसीको गोबरबाट ग्यास उत्पादन गरेको देखेर प्रेरणा जागेको उनले बताए । दैनिक ३० लिटर दूघ नजिकैको रिमझिम बजारमा बिक्री गर्दै आएका लोकबहादुर दूधको माग दिनहुँ बढेकाले भैँसीसँगै बाख्रा र कुखुरालाई थप्दै जाने योजनामा छन्। उनले भने, ‘मसँग रहेको बाख्रा र कुखुराको व्यवसाय पनि राम्रै चलेको छ । आगामी दिनमा बाख्रा र कुखुरालाई थप्दै लैजाने योजना बनाएको छु ।’ पशुपालनको माध्यमबाट स्थानीय बजारको मागलाई आपूर्ति गर्न सक्ने गरी उन्नत जातको बाख्रा उत्पादन तथा बिक्री वितरण गर्ने योजना रहेको अर्का द्रोण कृषि फार्म प्रालिका प्रोप्राइटर अर्जुन शाहीले बताए । छ वर्ष विदेशमा काम गरेर फर्किएका उनी पनि लोकबहादुरले झै पशुपालन व्यवसाय गर्दै आएका छन् । ‘राज्यले व्यवसाय सञ्चालनका लागि अनुदान, ऋणलगायत सुविधा दिनुपर्छ’, अर्जुनले भने, ‘गाउँमै रोजगारी र आम्दानी लिन यस्ता व्यवसाय कोसेढुङगा सावित हुनेछ ।’ पच्चिस कठ्ठा जमिनमा फार्म सञ्चालन गरेका अर्जुनको करिब ८० लाख रुपैयाँ लगानी भैसकेको छ भने पाँच जनाले रोजगारी पाएका छन् । ‘राज्यले दिने सुविधा किसान सामु पुग्नै सक्दैन साना किसानलाई उत्प्रेरणा दिनुपर्ने ठाउँमा झण्झटिलो प्रक्रियाले किसान झनै पीडित भएका छन्’, उनले भने, ‘किसान र राज्यको दूरी नजिक भएमात्र किसानले पाउने सेवा सुविधा पारदर्शी हुन्छ । किसानले उत्पादन गरेको वस्तु राज्यले सिधैँ किन्ने वातावरण मिलाउन सके नेपालका अधिकांश युवा पशुपालन तथा कृषि पेसामा आकर्षित हुने अर्जुनको भनाइ थियो ।’ उक्त पालिकाको पशु शाखामा कार्यरत तारा खड्काले स्थानीय तहले पशुपालनका लागि पारदर्शीरुपले सहयोग गर्दै आएको बताए । खजुरा पशु शाखाबाट स्थानीय किसानलाई चाहिने कृषि औँजार, अनुदान, कृषि बीउविजन, घाँसलगायत सेवा सुविधा भने मागअनुसार प्रदान गर्न नसकिएको तर पशु व्यवसायका लागि नियमबमोजिम अनुदान प्रदान गर्दै आएको उनले जानकारी दिए । रासस

कर्मचारीको तलब भुक्तानी गर्न १० अर्ब ३० करोड रुपैयाँ निकासा

काठमाडौं । सरकारले कर्मचारीलाई तलब भुक्तानी गर्न थप १० अर्ब ३० करोड रुपैयाँ बजेट निकासा गरेको छ । अर्थले थप निकासा दिएपछि रोकिएको कर्मचारीहरुको तलब भुक्तानी गर्न कोष तथा लेखा नियन्त्रक कार्यालयलाई पत्राचार गरिएको महालेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । उनले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटमा रकम अपुग भएपछि केही कर्मचारीले चैत महिनाको सेवा सुविधा नपाएको बताए । ‘चालू आवमा कर्मचारीको बजेट बढ्दा त्यसको असर अहिले देखिएको हो, तत्कालको व्यवस्थाका लागि थप रकम आइसकेको छ, अपुग रकमका लागि हामीले अर्थमा पुनः पत्राचार गरिसकेका छौँ, रकम आउनासाथ निकासा भैहाल्छ,’ उनले भने । चालु आर्थिक वर्षका पछिल्ला केही महिनामा तलबभत्ता खुवाउन विभिन्न मन्त्रालय र कार्यालयहरुसँग बजेट अपुग भएको थियो । यसको मुख्य कारण यो वर्ष कर्मचारीको तलब वृद्धि हुनु हो । सरकारले कर्मचारीको तलब २० प्रतिशतले बढाएको थियो । चालु आवको बजेट बनाउँदा मन्त्रालयहरुले तलबभत्ता शीर्षकमा गत वर्षको हाराहारी रकममात्र समावेश गरेका थिए । तर, बजेट भाषणमा २० प्रतिशतले तलब बढेपछि अधिकांश मन्त्रालय र कार्यालयहरुमा बजेट अपुग भएको हो । यो सरकारको राजस्व कम उठेर तलब खुवाउन समस्या परेको विषय होइन । सरकारको आम्दानीभन्दा खर्च बढी हुन थालेसँगै कर्मचारीहरुले तलब समेत पाएका थिएनन् । रकम अपुग भएकै कारण सरकारले निजामती कर्मचारीहरुका लागि चैत महिनाको सेवा सुविधा भुक्तानी गरेता पनि नेपाल प्रहरी तथा शिक्षक कर्मचारीहरुको तलब रोकेको थियो । यस्तै, रकम अभाव भएकै कारण शिक्षकलाई दिदैँ आएको बिरामी बिदा तथा औषधि उपचार खर्च र २२ हजार शिक्षकको पेन्सन समेत रोकिएको थियो । सरकारले शिक्षक कर्मचारीको सेवा सुविधा तथा औषधि र उपचार खर्च तीन/तीन महिनामा भुक्तानी दिदैँ आएको छ । चैत महिनामा आउनुपर्ने सेवासुविधा आएपनि उक्त खर्च बापतको पैसा गएको थिएन । निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार अर्थले दिएको बजेट अपुग भएपछि २२ हजार पूर्व शिक्षकको चैत महिनाको पेन्सन रोकिएको थियो । अर्थले थप रकम निकासा गरेसँगै रोकिएको पेन्सन पठाउने तयारी भएको कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले जानकारी दिए ।

प्रभु लाइफले गर्यो ११ प्रतिशत लाभांश घोषणा, १० प्रतिशत बोनस सेयर

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

भ्रष्टाचारी विरुद्ध फाइल होइन फायर खोल्नुपर्छ – महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीका विरुद्ध फाइल होइन फायर खोल्न आह्वान गरेका छन् । आज संसदमा बोल्दै महामन्त्री शर्माले सरकार भ्रष्टाचारीका विरुद्ध निर्मम भएर प्रस्तुत हुन समेत आग्रह गरे । ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ राज्यले, त्यसको लागि संयम एउटा दृष्टिकोण पनि बनाउनु पर्छ, निर्दोष कोही फस्नुहुन्न, दोषी कोही बच्नुपनि हुन्न’, महामन्त्री शर्माले भने ।

मकैको खोस्टाबाट टोपी र झोला बनाइ विदेश निर्यात

डुम्रे । तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त छिन् । उनी भन्छिन् ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सीपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सीपले आम्दानी हुने हुँदा प्रेरित र प्रोत्साहन मिलेको छ ।’ विभिन्न सीप सिक्दा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने र बजार पाउन पनि मुस्किल हुने उनको भनाइ छ । ‘गाउँघरमा प्रशस्त पाइने मकैको खोस्टा खेर गइरहेको वस्तु हो, गाईवस्तु भए दिने नत्र त्यसै पोलेर खेर जाने वस्तुको उपयोग गरेका छौँ’, उनी भन्छिन्, ‘विभिन्न तालिम तथा सीप सिके पनि बजारको व्यवस्थापन गर्न सकस हुन्छ तर गाउँघरमा खेर गएको वस्तु उपयोग हुने र सिक्दै गर्दादेखि नै यसबाट आयआर्जनमा जोडिएका छौँ ।’ गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी टोपी र झोला विदेश निर्यात गर्दा मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सहयोग पुग्ने श्रेष्ठको भनाइ छ । ‘हरेक वस्तु बनाउँदा कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ, स्थानीयस्तरमा खेर जाने मकैको खोस्टाबाट आम्दानी हुने र विदेशबाट माग हुँदा प्रोत्साहन मिलेको छ’, उनले भने । यो सीपले गाउँघरको उत्पादन भएका कच्चा पदार्थ उपभोगबाट टोपी र झोला बनाउन सकिने भएपछि बनाउने र कच्चा पदार्थसमेत बिक्री हुने उनले बताए । सिक्ने क्रममा गाउँघर भएकाले सबैले खोस्टा दिएर सहयोग गरेको उनले बताए । ‘सीप सिकिसकेपछि भने तालिम सिकाउने प्राविधिक सहयोग रहेको ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौंले मकैको खोस्टा खरिदका लागि व्यवस्थापन गर्ने जनाएको छ’, श्रेष्ठले भने । प्लाष्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण भइरहेको अवस्थामा मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री बनाउने अपेक्षा रहेको उनले बताए । ‘प्लाष्टिकजन्य पदार्थको उपयोग वातावरणमैत्री छ, प्लाष्टिकजन्य पदार्थ जलाउँदा क्यान्सरजस्ता जघन्य रोगबाट ग्रसित हुनुपर्ने अवस्था छ, प्लाष्टिकका वस्तुको उपयोग न्यूनीकरणका लागि मकैको खोस्टाबाट बनेको टोपी, झोला प्रभावकारी रहेको छ’, उनले भने । तालिम लिए पनि बजारको अभावले सिकेको सीप खेर जाने हुन्थ्यो, यस तालिम प्रदान गर्ने संस्थाले नै बजारीकरणको लागि व्यवस्थापन गरेको उनले बताए । त्यस्तै तारा सिलवालले सिक्दै गरेको अवस्थामा घरकै सामग्रीले आयआर्जन गर्न प्रोत्साहन मिलेको बताए । फालिएका वस्तुबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने थाहा पाएअनुसार मकैको खोस्टाबाट टोपी र झोला बनाउन सिकेको र आयआर्जन भइरहेको उनले बताए । फालिएको वस्तुबाट झोला र टोपी बनाएर सन्तुष्ट तुल्याएको उनको भनाइ थियो । तालिम आयोजक र तालिम प्रदान गर्न सहयोग गर्ने संस्थाको समन्वयमा कम्पनी स्थापना गरी उत्पादनलाई निरन्तरता दिने उनले बताए । ‘आफैँले बोकेर हिँड्दा सबैले विदेशबाट आएको झोला हो भनेर प्रशंसा गरेको र यसको प्रवद्र्धनमा सहयोग पुगेको छ, हामीलाई पनि माग गरिदिनु भन्ने गर्छन्’, उनले भने, ‘आफैँले बनाएको भनेपछि माग आउन थालेको छ ।’ घरमा बसिरहेको अवस्थामा खेर गएको समय र गफ गर्दासमेत कच्चा पदार्थ घरमै पाइने भएकाले खाली समयमा टोपी र झोला बुन्न सकिने कमला श्रेष्ठ अधिकारीले बताए । मकैको खोस्टाबाट टोपी र झोला बुनेको देखेपछि घर वरपरका महिला आकर्षित भएको उनको भनाइ थियो । व्यास नगरपालिका–५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौंले मकैको खोस्टाबाट टोपी र झोला बुन्न तालिम दिएपछि महिला प्रेरित भएका छन् । गण्डकी प्रदेशमा नै पहिलोपटक मकैको खोस्टाबाट टोपी र झोला बनाउने तालिम ल्याइएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले बताए । विदेशी मुद्रा सञ्चितिमा सहयोग पु¥याउने गरी तालिम दिनुपर्छ भन्ने उद्देश्यले विदेशमा नै निर्यात गर्ने गरी उत्पादनमा जोड्न लागिपरेको उनले बताए । ‘पूर्णरूपमा स्वदेशको लागि मात्र नभई विदेश निर्यात गर्नकै लागि उत्पादनसँग जोड्नुपर्छ, डलर सञ्चितिकै लागि यो कदम चालेका हौँ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘जापान, ट्युनिसिया र दुबईमा माग आइरहेको छ, माग वृद्धि हुँदै गएपछि अझ थप देशमा पनि पठाउने व्यवस्थापन गर्नेछौँ ।’ अहिलेका लागि देशमा डलर सञ्चितिमा टेवा पु¥याउने उद्देश्यले नै विदेशबाट आयात गर्नुभन्दा निर्यातमा जोड दिइएको उनको भनाइ थियो । ‘घरमा खेर फालिने मकैको खोस्टा कि त जलाइन्छ कि गाईवस्तुलाई खुवाएर खेर जान्छ, गाउँघरमा उत्पादित कच्चा पदार्थ उपयोग पनि हुन्छ, तालिमकै अवधिमा प्रशिक्षार्थीले गाउँघरबाट खोजेर ल्याउने गरेका छन्, उहाँहरूलाई जोखेर भुक्तानी दिने गरिएको छ’, उनले भने । सिक्दै गरेको अवस्थामा समेत प्रशिक्षार्थीलाई टोपीको एक हजार दुई सय रुपैयाँ, झोलाको नौ सय रुपैयाँ निर्धारण गरिएको उनले बताए । प्रशिक्षणकै अवधिमा पनि बनेका सामग्री विदेश निर्यात गर्न ओम राजश्री मल्टी एग्रोले समन्वय गरिरहेको उनले जानकारी दिए । वडाबाट उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रशिक्षार्थी र उत्पादन गर्न मात्रै नभएर प्रशिक्षक उत्पादन गरी वडाका २० टोलका महिलालाई प्रशिक्षित गरी आयआर्जन गर्ने वातावरण बनाउने उनले बताए । प्रशिक्षार्थीले जाँगर लगाएर सिक्दा आफूलाई सिकाउन सहज भएको प्रशिक्षक सुशिला बराई मगरले बताइन् । ‘प्रशिक्षार्थीको जोश र प्रेरणाले सिकाउन सहज भएको छ’, उनले भनिन् । बीस दिनको सिकाइ प्रशिक्षक बनेकी प्रशिक्षक मगरले प्युठान, गुल्मी, पाल्पा र कञ्चनपुरसम्म पुगेर प्रशिक्षण दिँदै आएकी छिन् । स्वदेशमा घरेलु कच्चा पदार्थबाट बनेका टोपी, झोलाको माग भए पनि देशमा डलर सञ्चितिका लागि टेवा पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय बजारमा निर्यातलाई प्राथमिकता दिएको वडाध्यक्ष श्रेष्ठले बताए । पोखरा, काठमाडौँलगायतका पर्यटकीय क्षेत्रबाट स्थानीय कच्चा पदार्थबाट बनेका वस्तुको माग भए पनि पूर्णरूपमा उत्पादित वस्तु विदेश पठाउने गरिएको छ । खेर जाने वस्तुको मूल्य र व्यवसाय नै हुने भएको छ । प्रशिक्षार्थीले ल्याएका मकैको खोस्टा प्रति केजी एक सय ४५ मा खरिद गर्ने गरिएको छ । मकैको खोस्टाबाट पेपल, गमला, फूलदानी, ढकिया, टे«लगायतका सजावटका सामग्री बनाउन सकिने र यसको अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । रासस

गुराँस, प्राइम र यूनियन मर्जपछि हिमालयन लाइफ सञ्चालनमा, यस्तो बन्यो नयाँ नेतृत्व

काठमाडौं । आजदेखि गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सले एकिकृत कारोबार सुरु गर्दैछन् । आजदेखि यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरपछि बन्ने हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ हुनेछ ।  गुराँस लाइफको हाल चुक्ता पूँजी दुई अर्ब ५३ करोड ६५ लाख ६३ हजार रुपैयाँ, यूनियन लाइफको दुई अर्ब ३४ करोड २८ लाख र प्राइम लाइफको ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । मर्जर पछि हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अध्यक्ष सुलभ अग्रवाल चयन भएका छन् । उनी यूनियन लाइफका अध्यक्ष थिए । संयुक्त मर्जर कमिटीले तीन वटै कम्पनीबाट दुई दुई जना सञ्चालकमा प्रतिनिधित्व हुने गरी सञ्चालक समिति गठन भएको हो । युनियन लाइफको तर्फबाट अध्यक्ष सुलभसहित जीवन कुमार अग्रवाल नियुक्त भएका छन् । त्यस्तै प्राइम लाइफको तर्फबाट राजिव प्रसाद प्याकुरेल र प्रमिल केसी थापा नियुक्त भएका छन् । गुराँस लाइफको तर्फबाट विवेक दुगर र सौरभ दुगर नियुक्त भएका छन् । स्वतन्त्र सञ्चालक भने नियुक्त गर्न बाँकी छ । हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कणर्ले निरन्तरता पाएका छन् । उनी यूनियनमा प्रमुख कार्यकारी अधिकृत थिए । नायव प्रमुख कार्यकारी अधिकृत भने दुई जना रहने भएका छन् । गुराँस लाइफका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल कणर् र युनियन लाइफका कपिल कुमार दाहालले हिमालयनमा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका छन् । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार दाहालले भने राजीनामा दिएको स्रोतले बतायो । बैशाख १३ गते बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका यी तीन कम्पनी बराबरी हैसियतमा गाभिन लागेका हुन् । एकिकृत कारोबार सुरु गर्नको वैशाख २३, २४ र २५ गतेसम्म ३ वटै कम्पनीको सेयर कारोबार र बीमा सेवाहरु बन्द रहेको थियो ।