शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन : उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले समृद्धि यात्राको मुख्य बाधकका रुपमा रहेको भ्रष्टाचार र कुशासनलाई अन्त्य गर्न सरकार दृढता र निर्भिकतापूर्वक अघि बढेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणका सन्दर्भमा भइरहेको अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उहाँले सो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको उल्लेख गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘अनुसन्धानमा कुनै पक्षपात हुने छैन, सरकार जस्तो सुकै दबाब आए पनि झुक्दैन, अनुसन्धानले जहाँसम्म आवश्यकता ठान्छ त्यहाँसम्म दृढतापूर्वक पुग्छ । सरकार दोषीलाई कारबाही गर्न दृढ छ ।’ नक्कली भूटानी शरणार्थी बनाउने घटनाको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै उहाँले अनुसन्धानका क्रममा प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘कोही निर्दोष फस्ने काम नहोस् भनेर प्रारम्भदेखि नै सचेत हुन, कसैको सार्वजनिक छविमाथि अनावश्यक आशङ्का र क्षति पुग्न नपाओस् भनेर होसियार भएर प्रहरीले निष्ठापूर्वक र निष्पक्ष ढङ्गले अनुसन्धान अघि बढाएको छ ।’ अनुसन्धानका क्रममा प्रमाण र तथ्य देखापरेका आधारमा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिने र अनुसन्धानको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले अनुसन्धानले पुष्टि गरेका आधारमा कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘संसद्मा सांसदले बाहिर नागरिक समाज र बुद्धिजीवी, राजनीतिक दलका कार्यकर्ता र जनसमुदायको ठूलो हिस्साले भ्रष्टाचार विरोधी अभियान चलाउनै पर्छ भनी व्यक्त गर्नुभएको विचार र अभियानप्रति आभार व्यक्त गर्छु ।’ भ्रष्टाचार र कमिसनको जालोले देशलाई बर्बादी गरेकाले त्यसको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सुशासन कायम गरी समृद्धि हासिल गर्ने वर्तमान सरकारको पहिलो कार्यभार रहेको स्पष्ट पारे । उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘देश बनाउने हो भने दलगत राजनीतिक स्वार्थभन्दा माथि उठ्नु पर्छ, उठौँ ।’ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका कतिपय स्थानीय तहमा यथाशीघ्र रुपमा पठाउन गृहकार्य भइरहेको जानकारी दिए0 । उनले भने, ‘मन्त्रालयबाट सरुवा भएर गएका अधिकृतलाई कतिपय स्थानीय तहले राजनीतिक आस्थाका कारण हाजिर नगराएर फर्काएका कारण पनि समस्यालाई समयमै सम्बोधन गर्न नसकिएको हो, जहाँ त्यस्तो समस्या छैन, त्यहाँ अधिकृत गएर काम गरिरहेकै छन् ।’ समितिका सदस्य गगनकुमार थापाले बैठकमा छलफल गर्ने विषय र समयपहिले नै निर्धारण गर्न तथा विधेयकलाई प्राथमिकताका साथ अघि बढाउने सन्दर्भमा आवश्यक परामर्श गर्न सानो टोली बनाएर काम गर्ने वातावरण बनाउन सुझाव प्रस्तुत गरे । अर्का सदस्य हितराज पाण्डेले हाम्रो काम कारबाही र छलफलबाट जनताले के लाभ प्राप्त गरे र कस्तो परिणाम निस्कियो भन्ने पाटोबाट बहस हुनुपर्छ भने । समिति सदस्य रवि लामिछानेले यसअघिका समितिले भ्रष्टाचारका विषयमा गरेको अध्ययन र निर्देशनलाई ग्रहण गर्न सुझाव दिँदै समितिका निर्देशन सरकारले पालना अनिवार्य गर्नैपर्ने परिपाटी विकास गर्ने बाटोबाट अघि बढ्न आवश्यक रहेको बताए । अर्का सदस्य रघुजी पन्तले समितिका कामकारबाहीलाई जति प्रभावकारी तुल्याउन सक्यो संसद् उत्तिनै क्रियाशील हुने भएकाले समितिले कार्यायोजना बनाएर काम गर्न सक्नुपर्छ भने । समितिका सदस्य विश्वप्रकाश शर्माले समितिका सदस्यले दलगत आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर संयम, परिपक्वता र एकताका साथ राज्यलाई दबाब दिएर, साथमा लिएर तथा सहयोग पु¥याएर सुशासन एवम् समृद्धिका लागि काम गर्नु आवश्यक रहेको बताए । बैठकमा सदस्यहरु दिलेन्द्रप्रसाद बडू, रामकुमार राई, डा चन्दा कार्की, हृदयराम थानी, सर्वेन्द्रनाथ शुक्ल, प्रकाश अधिकारी, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, अम्बिका बस्नेतलगायतले कार्य जिम्मेवारीका हिसाबले महत्वपूर्ण समितिमार्फत जनता र राष्ट्रहितमा काम गर्न सुझाव दिए । यसअघि बैठकमा ज्येष्ठ सदस्य चित्रबहादुर केसीले समितिका सदस्यहरुलाई स्वागत गरे । बैठकमा सदस्यको परिचयपछि समितिको कार्यक्षेत्रबारे जानकारी गराइयो । समितिको कार्यक्षेत्रभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, रक्षा, गृह, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा लोक सेवा, अख्तियार दुरुपयोग अनुसन्धान र निर्वाचन आयोग पर्छन् । रासस
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । मंगलबार आईओसीले डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँभन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले डिजेटल र पेट्रोलको मूल्य हरेक १५ दिनमा र अन्य पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची १र१ महिनामा पठाउने गरेको छ । नयाँ मूल्यसूची अनुसार उपभोक्ता मूल्य घटाउने कि नघटाउने भन्नेबारे छलफल हुने निगमले बताएको छ ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार र निजी सहकार्य आवश्यक छ : मन्त्री रिजाल
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य आवश्यक रहेका बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले सरकार र निजी क्षेत्रबीच समन्वय एवम् सहकार्य आवश्यक रहेको बताएका हुन् । लगानी मैत्री औद्योगिक वातावरणको निर्माण, आत्मनिर्भर अर्थतन्त्रका विकास गरी औद्योगिक पूर्वाधार प्राकृतिक श्रोतको सदुपयोगको लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको पनि रिजालले बताए । औद्योगीकरणको उचित विकास विना दिगो आर्थिक वृद्धि तथा समृद्धि सम्भव नभएको उनको भनाइ छ । ‘नेपालमा औद्योगीकरणको विकास तथा प्रवर्द्धनका लागि नीतिगत सुधार, आवश्यक वातावरण निर्माण प्रतिस्पर्धात्मक क्षमताको विकास, दाता अभिवृद्धि र स्वदेशी वस्तुहरूको उत्पादन उपभोग र निर्यात प्रवर्द्धनको वातावरण निर्माण गर्ने तर्फ लागेका छौं,’ उनले भने । निजी क्षेत्रको उचित मागको सम्बोधन गरी यस क्षेत्रका समस्या समाधान गर्न तथा आवश्यक सहकार्य तथा समन्वय गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै रिजालले मन्त्रालयले उद्योगीहरूको अभिभावकको रूपमा काम गरिरहेको पनि बताए ।
भैरहवाबाट नयाँदिल्ली उडान अनुमति कुर्दै नेपाल एयरलाइन्स
काठमाडौं । एक वर्षअघि व्यावसायिक रुपमा सञ्चालनमा आएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म राम्र ‘विजनेश’ पाउन सकेको छैन । विसं २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको उक्त विमानस्थलमा कुवेतको जजिरा एयरवेजले उडान गरिरहेको थियो । यद्यपि, यो एयरलाइन्सले पनि विभिन्न कारण देखाउँदै उडान नियमित गरेको छैन । अघिल्लो पटक झण्डै दुई महिना उडान स्थगित गरेको जजिराले पुनःकरिब एक महिनादेखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । जेठ १५ देखि उडान गर्ने निगमको तयारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेठ १५ देखि उडान गर्नेगरी आवश्यक तयारी गरिरहेको छ । निगमले भैरहवाबाट भारतको नयाँदिल्ली र मलेसियाको क्वालालम्पुर सातामा एक–एक उडान गर्ने कार्यतालिका बनाएको छ । मलेसियाबाट उडान अनुमति पाइसकेको निगमले भारतबाट अझै अनुमति पाएको छैन । ‘भारतबाट उडान अनुमति पाएका छैनौँ, ‘अन्डर प्रोसेस’ भनेर सन्देश आएको छ, एक/दुई दिनभित्रै निर्णय आउला, अनुमति पाउनासाथ टिकट बिक्री खुला गर्नेछौँ’, निगमका प्रवक्ता रमेश पौडेलले भने । उनका अनुसार ‘इनरुट’मा पर्ने देशबाट ‘ओभर प्लाइट’ को अनुमति र सम्बन्धित देशको ‘ल्याण्डिङ पार्किङ’को अनुमति आउनसाथ काम अगाडि बढ्नेछ । यसका लागि सम्बन्धित मुलुकसँग अनुमति प्रक्रियामा रहेको प्रवक्ता रमेश पौडेलले बताए । गौतमबुद्ध विमानस्थलबाट उडान सुरू गरेपछि निगमले भैरहवा–दिल्ली–काठमाडौं र काठमाडौं–मलेसिया–भैरहवा उडान हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका नेपाल एयरलाइन्सले ‘समर’मा उडानका लागि तालिका पेस गरिसकेको छ । ‘नेपाल वायुसेवा निगमको भैरहवामा उपस्थिति नै हाम्रा लागि सकारात्मक पक्ष हो, अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सले पनि चासो देखाइरहेकाले उनीहरुलाई आकर्षण गर्न यसले मद्दत पुग्नेछ’, उनले भने । जजिराको उडान अन्योल झन्डै एक महिनादेखि जजिरा एयरवेजले उडान बन्द गरेको छ । जजिराले वैशाख ६ गते (अप्रिल १९)देखि भैरहवा–कुवेत उडान बन्द गरेको विमानस्थल कार्यालयले जनाएको छ । पछिल्लो समय जजिराले कुवेत–भैरहवा सातामा तीन उडान भर्दै आइरहेको थियो । तर उडान अवतरणमा समय तालिका नमिलेपछि स्थगन गरेको एयरलाइन्सले उल्लेख गरेको छ । यसअघि जजिराले मङ्गलबार, बिहीबार र शुक्रबार बिहान ७ः१५ बजे विमानस्थलमा अवतरण हुने र ८ः०५ मा कुवेतका लागि उडान गर्दै आएको थियो । तर यात्रु सुविधाका लागि भन्दै जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समय तालिका परिर्वतन गरेर उडान गर्न अनुमति मागेको थियो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले व्यावसायिक कारण देखाउँदै उडान स्थगित गरेको र कहिलेबाट उडान हुने टुङ्गो नरहेको बताउनुभयो । पछिल्लो पटक मौसमका कारण झन्डै दुई महिना रोकिएको उडान गत फागुन २५ गतेबाट पुनः सुरू भएको थियो । जजिराले २०७९ साल जेठ २ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको थियो । व्यावसायिक उडान गरिरहेको जजिराले विमानस्थल सेवा शुल्कमा पनि छुट पाएको थियो । जजिराले एक वर्षसम्मका लागि विमानस्थलमा लाग्ने अवतरण, पार्किङ, सञ्चार तथा उड्डयन सहायता सेवा र सुरक्षा जाँचमा शुल्क छुट पायो । विमानस्थलले यस्तो छुट थप एकवर्ष लम्ब्याएको छ । अन्तर्राष्ट्रिय एयरलाइन्सले विसं २०८१ सम्म शुल्क छुट पाउनेछन् । एक वर्षमा ३५ हजार अन्तर्राष्ट्रिय यात्रु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्षमा अन्तर्राष्ट्रियतर्फ तीन सय ५९ उडानमार्फत झण्डै ३५ हजार अन्यात्रुले आवतजावत गरेका छन् । विमानस्थलका महाप्रबन्धक पाण्डेका अनुसार ३४ हजार आठ सय ७७ अन्तर्राष्ट्रिय यात्रुको आवागमन भएको छ । आन्तरिक उडान नियमित भइरहे पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको उहाँले बताउनुभयो । म्यान्मार, थाइल्याण्ड र कम्बोडियाबाट उडान चासो गौतमबुद्ध विमानस्थलमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले चासो दिएका छन् । विमानस्थलका अनुसार अहिले म्यानमार, थाइल्याण्ड, कम्बोडियालगायत मुलुकबाट उच्च अधिकारीले विमानस्थलको स्थलगत अवलोकनसमेत गरेका छन् । म्यानमारले छिट्टै चार्टर्ड उडान गर्ने मौखिक प्रतिक्रिया दिएको छ भने अन्य एयरलाइन्सले थप छलफल गरी उडान गर्ने संकेत गरेका छन् । भैरहवाबाट बौद्धमार्गीहरुको बाहुल्यता भएका मुलुकमा उडान विस्तार हुने अनुमान गरिएको छ । रासस
अब ७ रुपैयाँमै भारतमा रोमिङ कल गर्न पाईने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतमा हुने रोमिङ कलको शुल्क कम गर्ने तयारी गरेको छ । यसअघि नेपाल टेलिकमको रोमिङ कलबाट प्रतिमिनेट ३० रुपैयाँ शुल्क लाग्दै आएकोमा २३ रुपैयाँ कम गरेर प्रतिमिनेट ७ रुपैयाँ बनाउने तयारी भएको हो । सञ्चारमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले रोमिङ कलको शुल्क कम गर्ने तयारी भएको बताए । ‘केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भारत भ्रमणको बेला त्यहाँका नेपालीले उठाएको एउटा माग पूरा भएको छ, अहिले नेपालीहरु रोमिङ सुविधा लिएर भारत जादा नेपाल टेलिकमको सिममार्फत भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘लामो गृहकार्यपछि प्रतिमिनेट २३ रुपैयाँ घटाएर अब नेपाली सिमबाट भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको छ ।’ उनले उक्त तयारी भएपनि केही दिनपछि मात्र लागू हुने बताए । उक्त नियम लागु भएपछि छोटो समयका लागि भारत जाने नेपालीहरुलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ । ‘अब केही समयपछि औषधि उपचार, ब्यापारलगायत छोटो भ्रमणमा गएका नेपालीले भारतीय सिम नपाउने र नेपाली सिममा महँगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ’, उनले भने ।
वृद्धभत्तामा हेरफेर गर्न छलफल
काठमाडौं । महिला तथा सामाजिक मामिला समितिमा वृद्धभत्तामा हेरफेर गर्नुपर्ने विषयमा छलफल भएको छ । समितिको आज बसेको पहिलो बैठकमा दोहोरो सुविधा नलिने गरी वृद्धभत्तामा हेरफेर गर्नुपर्ने विषयमा छलफल भएको हो । यस्तै, बैठकमा बालबालिका पोषण कार्यक्रममा एकरुपता ल्याउनुपर्ने, एकल महिलाको अध्ययन गरी रोजगारीमा उन्मुख गराउनुपर्ने, समितिका निर्णयलाई कार्यान्वयन गरी नतिजामुखी बनाउनुपर्ने लगायतका विषयमाथि छलफल भएको थियो । ज्येष्ठ सदस्य रोशन कार्कीको सभापतित्वमा सञ्चालन भएको बैठक महिला आयोग, दलित आयोग, समावेशी आयोगका भएका कामकारबाहीको समीक्षा, खर्च गरिएका विवरण, भावीे कार्यक्रमको सम्भावित बजेटलगायतका विषयमा केन्द्रित थियो । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले काम बढी हुने क्षेत्रमा बजेट कम विनियोजन हुने गरेको गुनासो गरेका छन् । ‘मन्त्रालय अन्तर्गत गर्नुपर्ने काम धेरै छन् तर बजेट भने न्यून विनियोजन हुने गरेको छ, मानवीय संवेदनशीलताको कार्यक्षेत्र बढी भएको मन्त्रालयमा बजेट बढाउन जरुरी छ,’ उनले भने । विगतमा समितिले गरेका निर्णय अध्ययन गरी प्राथमिकताका क्षेत्र विभाजन गर्दै कार्यान्वयन गर्नुपर्ने भन्दै उनले संविधानमा उल्लेखित महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी हकअधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बैठकमा समिति सदस्यहरुले महिला, बालबालिका, ज्येष्ठ नागरिकका मौलिक हकको कार्यान्वयन गर्नुपर्ने, सम्बन्धित आयोगका कार्यको मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । समितिको कार्यक्षेत्रमा महिला, बालबालिक, तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोग, सामाजिक सुरक्षा, समावेशीता तथा सीमान्तकृत वर्ग समुदायको हकहितसम्बन्धी विषय र सम्बद्ध विषय तथा निकाय पर्छन ।
अर्थमन्त्री भन्छन् : रायमाझी र खाँणको केस फरक हो, एउटैमा जोड्न मिल्दैन
काठमाडौं । अर्थमन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा स्वतन्त्र र निष्पक्ष रुपमा अनुसन्धान गर्न पार्टीले सहयोग गर्ने बताएका छन् । मंगलवार सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै प्रवक्ता महतले नक्कली भूटानी शरणार्थी प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि नेपाली काँग्रेस पार्टीले सहयोग गर्ने बताएक हुन् । उनले निर्दोष दोषी हुने र दोषी निर्दोष हुने अवस्था आउनु नहुने बताए । उनले पार्टीका केन्द्रिय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष भएको प्रमाणित गर्ने भनेकाले उनको सन्दर्भमा पार्टीले कुनै निर्णय नगरेको बताए । ‘एमाले सचिव टोपबहादुर रायमाझी र खाँणको केस फरक रहेको छ, एउटैमा जोड्न मिल्दैन, अनुसन्धान चलिरहेको छ, अनुसन्धानले निकालेको निस्कर्षका आधारमा पार्टीले आफ्नो धारणा बनाउँछ,’ उनले भने । त्यस्तै, उहाँले काँग्रेस केन्द्रिय सदस्य तथा सांसद डा। आरजु राणाको सम्बन्धमा नक्कली अडियो फैलाइएको भन्दै त्यसप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए । देउवा आफैँले सो अडियोको अनुसन्धान गर्न साइबर ब्युरोमा निवेदन दिइसकेको अवस्थामा मिडियामा ट्रायल गरेर दोषी नबनाउन उनले आग्रह गरे उनले सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले निष्पक्ष र स्वतन्त्र अनुसन्धानका लागि सघाइरहनु भएको बताएका छन् । घटनामा संलग्नहरु दोषी प्रमाणित भएमा कानूनी प्रक्रिया अनुसार अगाडी बढ्ने उनले बताए ।
असारपछि ऋण र निक्षेपको ब्याज घट्छ : डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले असार मसान्तपछि बैंकको ब्याजदर घट्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘स्वदेशी समिट २०२३’ मा बोल्दै उनले असारपछि बैंकको आधारदर घट्ने र आधारदर घटेपछि बैंकको निक्षेप र कर्जाको पनि ब्याज घट्ने धारणा राखे । उनले ब्याज घट्ने संकेत चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत् पनि भएको बताउँदै अब ऋणीलाई पनि केही सहज हुने धारणा राखे । उनले अब अर्थतन्त्र पनि केही सहज हुने पनि बताए । उनले नेपाल राष्ट्र बैंक नेपालको औद्योगिक क्षेत्रको विकासको लागि काम गरेको बताउँदै मौद्रिक नीतिमार्फ्त पनि समस्यामा परेका क्षेत्रको उत्थानका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको बताए । उनका अनुसार राष्ट्र बैंकले स्वदेशी उत्पादनलाई बढी प्राथिमकता दिने बताए । उनले साना तथा सम्झौता उद्योगलाई धेरै समस्या नपसोस् भनेर आधार दरमा २ प्रतिशत प्रिमियम राखेको बताउँदै राष्ट्र बैंकको नीतिले पनि केही सहज हुने बताए । उनले अब सरकारले ल्याउने बजेटलाई नै आधार मानेर आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने बताए । यस्तै, उनले राष्ट्र बैंकले कुनै पनि विषयमा नजरअन्दाज गरेर नबस्ने बताए । उनले राष्ट्र बैंकले नियममनलाई प्रभावकारी गर्ने बताउँदै नेपालको वित्तीय क्षेत्रको विकासका लागि राष्ट्र बैंक सधैं एक कदम अगाडि रहने उनको भनाइ छ ।