विकासन्युज

ह्वावे क्लाउडले ल्यायो साझेदारका लागि नयाँ फ्रेमवर्क

काठमाडौं । ह्वावे क्लाउडले साझेदारका लागि नयाँ फ्रमवर्क सार्वजनिक गरेको छ । ह्वावेले एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरुबीच २०२३का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको हाे । ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्र कुमार शर्माले संचालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरु प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागितारहेको थियो । गो क्लाउड र ग्रो क्लाउड फ्रेमवर्कले पुनर्विक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ । ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरु रहेको छ । प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरु जस्तै त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरु पनि ल्याएको छ। नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ । यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु हो । कार्यक्रमको मुख्य फाइदाहरू मध्ये एक क्षमता विकास र प्रमाणीकरण हो जसले साझेदारहरूलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरु र प्रमाणपत्रहरू मार्फत आफ्नो सीप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ । ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो । यस प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्टर क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरू मार्फत व्यावसायिक क्लाउड सेवाहरु निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्दछ । यी कार्यक्रमहरूको प्रमुख उद्देश्य साझेदारहरूको व्यावसायिक क्षमताहरूको पहिचान र विकास गर्ने, ह्वावेको क्लाउडमा आधारित प्रयोगहरूको विकास गर्ने ,सफ्टवेयर समाधानहरूलाई सुदृढीकरण गर्ने, अवस्थित डाटालाई ह्वावे क्लाउडमा स्थानान्तरण गर्ने र ह्वावे क्लाउडसँग संयुक्त मार्केटिङ सञ्चालन गर्नु हो । समग्रमा, ह्वावे क्लाउड साझेदार कार्यक्रम ह्वावेको साझेदारहरूको लागि आफ्नो व्यवसाय विस्तार गर्न र आफ्नो सीप सुधार गर्ने उत्कृष्ट अवसर हुनेछ । यस्तै विभिन्न योजनाहरु मार्फत ह्वावेले साझेदारहरुसंगको सम्बन्ध सुदृढ बनाउन र प्रविधिको पहुँच देश व्यापी रुपमा विस्तार गर्न ह्वावेको प्रतिवद्धता रहेको छ ।

बीमा प्राधिकरणले घटाएर पठायो प्रभु लाइफको लाभांश

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु लाइफको २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेर पठाएको छ । प्राधिकरणले बैशाख २९ गते इन्स्योरेन्सको लाभांश संशोधन गरेर पठाएको हो। इन्स्योरेन्सले यसअघि हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत  बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि नेपाल बीमा प्राधिकरणमा पठाएको थियो । कम्पनीले लाभांश संशोधन गरी ९.८ प्रतिशतको दरले बोनस सेयर र ०.५८ प्रतिशत नगद लाभांश गरी कुल १०।३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीले आगामी साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गर्नेछ ।

एकैदिन तोलामा ११ सयले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एकैदिन ११ सयले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरुहेको छ । साथै, नेपाली बजारमा आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज घटेको मूल्य अनुसार चाँदीको मूल्य १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

दक्षिण कोरिया जाने कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ । ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भएपनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ । सिमकार्ड वितरण निशुल्क वितरण गर्ने भनिएपनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताए । उनले अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएकोमा पनि जोड दिए । उनले अवैध रुपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारवाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिए । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताए । ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यलय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरु बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि जोड दिए । उनले त्यस्तै ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको बताए । उनले ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरुको फारम भर्ने लगायत सेवा सम्बन्धी अन्य कार्यहरु गर्दा उपोभोक्तलाई ठगी गर्ने गरेको बारे सम्बन्धी निकायलाई ताकेता गरेको करिव ५ महिना पुग्न लाग्दा समेत सम्बन्धी निकाय भने मौन देखिएको गुनासो गरे । उनले हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन समेत गर्न नआएको बताए ।

फलफूलका बिरुवा उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले तीन कठ्ठा जमिनमा नर्सरी बनाएर फलफूलका बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । इच्छाशक्ति भए थोरै जमिनमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका चन्दले मासिक ६० हजार रुपैयाँसम्मको बोट बिरुवा बिक्री वितरण हुने गरेको बताउँछन् । पाँच वर्षयता तीन कठ्ठा जमिनमा फलफूल नर्सरी सञ्चालन गरिरहेका चन्दले कारोबारको ५० प्रतिशत मुनाफा हुने गरेको बताए । ‘विगतमा फलफूल र नर्सरी, सार्वजिनक कार्यालय र पालिका सजावटका लागि भारतीय नागरिकको भर पर्नुपर्ने अवस्था थियो’, उनले भने, ‘आर्थिक तरलताले व्यवसायमा केही मन्दी देखिए पनि व्यवसायमा निराश हुनुपर्ने अवस्था छैन ।’ फलफूलका बिरुवा उत्पादन गरी बिक्री वितरणका साथै माग गरेको स्थानमा ग्रिनहाउस, होटल तथा प्यालेसको सजावट तथा स्थानीय पालिकामा नर्सरी बनाउन जाने गरेका चन्दले सोही व्यवसायबाट भएको आम्दानीले जीविका चलाउने गरेको बताए । ‘व्यवसाय बढाउन फेरि जमिन भाडामा लिने योजना गर्दैछु’, उनले भने, ‘मेहनत गरे घरपरिवारसितै बसेर जीविका चलाउन कुनै समस्या छैन ।’ गाउँ तथा नगरपालिका कार्यालय प्रायः सबैले नर्सरी सजावटका लागि फूलका बिरुवा, प्लान्ट खरिद गर्ने गरेको चन्दको भनाइ छ । ‘बीउ र कलमबाट उत्पादित बिरुवा र सजावटका बिरुवा बाहिरबाट आयात गर्छौँ’, उनले भने, ‘पछिल्लो समय उत्पादित फूलको बजारमा माग पनि बढ्दै छ ।’ विज्ञान अध्ययनका साथै कम्प्युटर विषयमा स्नातक गरेका चन्दले कृषिसम्बन्धी काम गर्ने योजनाका साथ अघि बढेको बताए । आफूले कहीँकतैबाट पनि नर्सरीका लागि अनुदान/सहयोग नलिएको उनको भनाइ छ । कञ्चनपुरमा पछिल्लो समय नर्सरी सञ्चालन गरी फलफूलका बिरुवा उत्पादन गर्ने क्रम बढिरहेको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका–७ जुडामा ३२ वर्षीय युवा मदन धामी लामो समयदेखि बुवासितै नर्सरी सञ्चालनमा छन् । एक बिघामा नर्सरी बनाएर विभिन्न बिरुवा तथा फलफूलका बोट उत्पादन गरिरहेको बताउँदै धामीले वार्षिक १५ लाख रुपैयाँको कारोबार हुने गरेको बताए । ‘यहाँ उत्पादित फलफूल तथा अन्य बोटबिरुवा सुदूरपश्चिम प्रदेशको नौवटै जिल्लामा निर्यात हुँदै आएको छ’, उनले भने, ‘अझै पनि मागअनुसारको बिरुवा उत्पादन गरी उपलब्ध गराउन सकिएको छैन ।’ आफ्नो परिवार विगत तीन दशकयता नर्सरी बनाएर बिरुवा उत्पादन गरिरहेको उनले बताए । ‘आँप दश जातका साथै चार प्रकारको लिची, कागती, नास्पति, अनार, बाँसका प्रजाति, श्रीखण्ड, रक्तचन्दनको बोट उत्पादन हुन्छ ।’ उनले भने, ‘चाुल आर्थिक वर्षमा नर्सरीमा टनेल बनाउन कृषि ज्ञान केन्द्रबाट एक लाख रुपैयाँ अनुदान रकम मिलेको छ ।’ जेटिए पढेका धामीको परिवारका अन्य दाजुभाइले पनि यहाँ दुईवटा नर्सरी बनाएर बिरुवा उत्पादनमा सक्रिय रहँदै आएका छन् । ‘युवा स्वरोजगारमा सरकारले लगानी बढाएर युवालाई कृषि र नर्सरीमै लगाए पनि विदेशिनुपर्ने अवस्था आउँदैन’, धामीले भने, ‘कृषिमा बजेट भए पनि युवा अझै आयमूलक कामभन्दा मजदुरीकै लागि अन्यत्र जानेको सख्या अधिक छ ।’ पछिल्लो समय स्थानीयस्तरमै फलफूलका बिरुवा उत्पादन बढेपछि भारतबाट आयात गर्ने क्रम घटेको उनले बताए । ‘व्यावसायिकरूपले फलफूल लगाएर आम्दानी गरौँ भन्ने सोचको विकास भएको देखिँदैन’, धामीले भने, ‘मेहनत गरेर थोरै क्षेत्रफलमा नर्सरी बनाए पनि आम्दानी गर्न सकिन्छ ।’ रासस

कामीरिता शेर्पाको अर्को कीर्तिमान, २७ औं पटक सगरमाथा आरोहण

काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । २६ औं पटक सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका उनले आफ्नै कीर्तिमानलाई तोडेका हुन । सेभेन समिट ट्रेकबाट आरोहणमा गएका उनले बुधबार बिहान साढे ८ बजे सगरमाथाको सफल आरोहण गरेका हुन । खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिता शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चो ओयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, एक पटक केटु गरी ३९ पटक विश्वका अग्ला हिमालहरुको आरोहण गरिसकेका छन् । यसअघि उनले तीन सिजनमा दुई–दुई पटक सगरमाथा आरोहण गरिसकेका छन् । उनकाे नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका शेर्पाको ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।

यति एयरका कार्यकारी अध्यक्ष लाक्पा साेनाम सेर्पाद्वारा सगरमाथाकाे सफल आरोहण

काठमाडौं। यति तथा तारा यएरका कार्यकारी अध्यक्षा लाक्पा साेनाम सेर्पाले सगरमाथाकाे सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ०७ बजेर ३३ मिनेटमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको आरोहण गरेका हुन् । विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे सफल आरोहणसँगै उनले सातैवटा महादेशकाे अग्लाे शिखरहरु आरोहण गर्न सफल भएका छन् ।

गाडी भाडा घट्यो, अब कुन रुटको कति ?

काठमाडौं । सरकारले लामो दुरीको सार्वजनिक यातायातको भाडा घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै सरकारले पनि गाडी भाडा घटाएको हो । यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो । घटेको भाडा आजदेखि नै लागू हुनेछ । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा ३.२० प्रतिशतले, पहाडी बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.१९ प्रतिशतले र तराईको बाटोमा सन्चालन हुने मालबाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको हो । यस्तो छ नयाँ भाडा [pdf id=410269]