विकासन्युज

एक सहकारी संस्थाले उपत्यकामा १० आना जग्गा बेच्दै

काठमाडौं । यूनाइटेड बहुद्देश्यीय सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नाममा रहेको १० आना जग्गा लिलामीमा बिक्री गर्ने भएको हो । संस्थाको नाममा रहेको साविक ललितपुर महानगरपालिका १८ स्थित कित्ता नम्बर १३०८ को ३१८.९५ वर्गमिटर अर्थात् १० आना जग्गा बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ७ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने बताएको छ । सहकारी संस्थाको केन्द्रिय कार्यालय जावलाखेल ललितपुरमा बोलपत्र पेश गर्नु पर्नेछ ।

गणतन्त्र दिवसका अवसरमा १९ जनाको कैद माफी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा १९ व्यक्तिलाई कैद सजाय माफी गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले जेठ १२ र १४ गते मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेतका १९ जनालाई कैद सजाय माफी दिएका हुन् । उक्त १९ जना व्यक्तिको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय माफी भएको हो । ‘मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकको सिफारिसअनुसार टोपबहादुर बुढासमेतका १९ व्यक्तिहरुको विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

२ सहकारीको साढे २ अर्ब जोखिममा, १२ सय बचतकर्ताको बिचल्लि

काठमाडौं । सहकारीले बचत रकमको हिनामिना गरेको विषय गण्डकी प्रदेश सभामा प्रवेश गरेको छ । गण्डकी प्रदेशसभा सदस्यद्वय कृष्ण पाठक र डिल्लीराम सुवेदीले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्ने वातावरण गराउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आइतबार बसेको बैठकको विशेष समय लिएर सदस्य पाठकले बेपत्ता भएका सञ्चालकको चल–अचल सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न माग गरे । प्रदेशसभा सदस्य सुवेदीले १ हजार २ सय बचतकर्ता अहिले बिचल्लिमा परेको बताए । दुवै सहकारीका सञ्चालक बेपत्ता भएको र बचतकर्ता यतिबेला आफ्नो रकम जोखिममा परेका कारण सङ्कटमा रहेको जनाउँदै उनले गण्डकी प्रदेश सरकारले यस्ता विषयमा तत्काल कदम चाल्नुपर्नेमा प्रदेश सभा सदस्यले जोड दिएका छन् । बागलुङ र पोखरामा गरी इमेज सहकारीले १ अर्ब ९९ करोड र शिव शिखरले ४५ करोड रुपैयाँ जोखिममा पारेको जनाइएको छ ।

आज गणतन्त्र दिवस

काठमाडौं । १६ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । वि.सं.२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो ।

नेप्सेमा ३ कम्पनीको १ करोड २६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) प्रभु इन्स्योरेन्स र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ करोड २६ लाख ३३ हजार बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै, एचआईडीसीएलको ५ प्रतिशत बोनस वापतको १ करोड ६ लाख ३८ हजार १३३.७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, प्रभु इन्स्योरेन्सको ६.७० प्रतिशत बोनस वापतको ८ लाख ६४ हजार १०६.७६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६.७० प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, स्वरोजगार लघुवित्तको २२ प्रतिशत बोनस वापतको ११ लाख ३१ हजार १८.०७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल लाइफद्वारा ६४ लाख २५ हजारका दावी भुक्तानी

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजारको मृत्यु दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका छन् । आफ्नो जीवनकालमा स्व. नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट २०७५/०५/१३ गते ५० लाखकाे बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । कम्पनीले बीमाङ्क बापतको रकम अन्तर्गत ५० लाख र बोनस बापत १४ लाख २५ हजार गरी जम्मा ६४ हजार २५ लाख इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरेकाे हाे । कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको जनाएको छ ।

सोमबारदेखि लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै

लुम्बिनी । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ । लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र सोमबार भोलिदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने कम्पनीका सञ्चालक चन्द्रप्रकाश ढकालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबुलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘राजधानी र अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रमा होटल तथा पर्यटनका क्षेत्रमा ठूलो लगानी भएको छ’, उनले भने, ‘राजधानी बुटवलबाट सरेको र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानी खेरजाने चिन्तामा रहेका व्यवसायीलाई केबुलकारको सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।’ उनले यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतिय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । यसका साथै यस क्षेत्रको कृषि, हस्तकला लगायतको बजारीकरणमा मुख्य टेवा पुग्ने बताए । वसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनाका लागि पाँच अर्ब लगानी भएको उहाँले जानकारी दिए । परियोजनाका लागि मुख्य लगानीकर्ता आइएमई समूहले ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत लगानी रहेको सञ्चालक ढकालले जानकारी दिए । केबुलकारमा २५ गोण्डुला रहने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम छ सय यात्रु आवातजावत गर्न सक्ने छन् । विसं २०७७ फागुन १ गते शिलान्यास गरिएको केबुलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवातजावत गर्न सक्ने कम्पनीले जनाएको छ । कोरोना महामारीलगायत कारणले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नहुँदा सञ्चालनमा ढिलाइ भएको सञ्चालक तेजप्रसाद विकले पत्रकार सम्मेलनमा बताउनुभयो । केबुलकारको हिल स्टेशन रहेको पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाका लागि यही शुक्रबारदेखि सात दिने कालिका महापुराण चलिरहेको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राण प्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । ‘कामाख्या भगवती मूर्ति प्राण प्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति सङ्गीत चलिरहेको छ । कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन् । करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुरमा यसअघि पातलो बस्ती रहेको अहिले मन्दिर निर्माण भई आकर्षक धार्मिक पर्यटकीय गन्तब्य बनेको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले लिए सपथ

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले पद तथ गोपनियताको सपथ लिएका छन् । श्रेष्ठले आइतबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष सपथ लिएका हुन् । उक्त अवसरमा नव निर्वाचित अध्यक्ष श्रेष्ठले प्राधिकरणको निर्देशानुसार समयमा कार्य सम्पन्न गर्न सफल भएकोमा नियमनकारी निकायप्रति आभार प्रकट गरेका थिए ।