विकासन्युज

धनुषामा आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिने

जनकपुरधाम । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहका विपद् व्यवस्थापन समितिले खुला क्षेत्र र उद्धार सामग्रीको अभिलेखन गरी त्यसको विवरण जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष काशिराज दाहालले जानकारी दिए । त्यसैगरी बैठकले मनसुन, आगलागी, चट्याङलगायत विपद्जन्य घटनाको जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहत विवरणसम्बन्धी प्रतिकार्य योजना तयार गर्न धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विभिन्न सरोकारवालाहरूको प्रतिनिधित्व रहने गरी उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको दाहालले बताए । मुखियापट्टी मुसहरनिया गाउँपालिकाको वडा नं ३ धोवियाहीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण र वडा नं ६ रौयाहीमा १५ शय्याको अस्पताल निर्माणका लागि सरकारी जग्गा दर्ता उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति २०७९ को नियम १० को उपनियम (१) बमोजिम सरकारी जग्गा उपयोग गर्न दिने वा लिजमा उपलब्ध गराउन सिफारिस समितिमा पेस गर्ने पनि बैठकले निर्णय गरेको छ । बैठकमा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले वर्षात् सुरु हुनुअघि नै जोखिममा रहेका स्थानीय तहका नदी नियन्त्रण तथा अन्य कार्य गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद्बाट हुने जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि हुने सम्पूर्ण तयारीमा उपमहानगरपालिका स्थानीय प्रशासनसँग सहकार्यका लागि तयार रहेको बताए । त्यसैगरी १८ वटै पालिका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने स्रोतसाधनको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुका साथै विपद् व्यवस्थापन समितिबाट लिनुपर्ने नदी नियन्त्रणलगायतका निर्णय समयमै गर्न आग्रह गरेका थिए । रासस

गणतन्त्र दिवसको अवसरमा बालुवाटारमा प्रधानमन्त्रीद्वारा तरकारी खेतीको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन् । सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो जोड हुने बताए । ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन,’ उनले भने । तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयम्सेवकहरुको सहभागीता रहेको थियो ।

घरभाडामा छुट दिन होटल व्यवसायीको आग्रह

काठमाडौं । यहाँका होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारिपछि व्यवसायमा मन्दी छाएकाले भाडामा छुट दिन आग्रह गरेका हुन् । सङ्घका अध्यक्ष लेखनाथ भण्डारीले आर्थिक अभावका कारण भाडा तिर्नसक्ने अवस्था नरहेकाले घरभाडामा छुट दिँदा व्यवसायीलाई राहत मिल्ने बताए । संस्थागत पहलमा १४ जना घरधनीबाट २० देखि ४० प्रतिशतसम्म छुट प्राप्त भएको उहाँले जानकारी गराए । उनका अनुसार रुपन्देहीमा रहेकामध्ये ९० प्रतिशत होटल भाडामा सञ्चालित छन् । हाल सङ्घमा एक हजार दुई सय तीन व्यवसायी आबद्ध रहेको र पाँच हजार व्यक्तिले रोजगार पाएको अध्यक्ष भण्डारीले बताए । पत्रकार सम्मेलनमा होटल व्यवसायी घरबहाल व्यवस्थापन समितिका संयोजक किरणप्रसाद भट्टराईले व्यवसायीलाई दैवीप्रकोपलगायतका कठिनाइमा संस्थाबाट सहयोग गर्दै आएको बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा एक हजार दुई सय ४७ वटा पर्यटक होटल रहेको बताउँदै यसमध्ये १८ हजार सात सय पाँच कोठा र २८ हजार ५७ शय्या रहेको जानकारी गराए । सङ्घका अनुसार जिल्लामा पाँचतारे तीन वटा, चारतारे तीन वटा र तीन तारे करिब १५ होटल रहेका छन् । यस्तै ए लेभलका तीन सय होटल छन । यहाँ पर्यटन क्षेत्रमा कूल रु ३० खर्बभन्दा बढी लगानी रहेको खनालले बताए ।

करिब २ करोडको रक्तचन्दनको तेल अवैध कारोबार

काठमाडौं । प्रहरीले झन्डै २ करोड रुपैयाँ पर्ने रक्तचन्दनको तेल बरामद गरी कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त तेलको अवैध कारोबारमा संलग्न ८ व्यक्तिहरुलाई पक्राउ गरी आज कारबाहीका लागि डिभिजन वनलाई बुझाइएको छ । काठमाडौँ–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रतिलिटर २ लाख ५० हजार रुपैयाँका दरले अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी ८० लिटर रक्तचन्दनको तेल बरामद गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने वर्ष ३० का सुशील पाठक, कालिकोट रासकोट घर भई हाल काठमाडौँको चावहिल बस्ने वर्ष २८ का विनोद बराल, जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१५ घर भई कलङ्की बस्ने ज्ञानबहादुर ओली रहेका छन् । यस्तै रामेछाप लिखु तामाकोसी घर भई काँडाघारी बस्ने नवीन दाहाल, सोही ठाउँ बस्ने गोकर्णहरि दाहाल, बाँके घर भई चावहिल बस्ने निलकान्त भुसाल । धादिङ घर भई जडिबुटी बस्ने मोहनबहादुर विश्वकर्मा पनि पक्राउ परेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए ।

सगरमाथाको ७० वर्षगाँठ : आज चुचुरोमा मानव पाइला राखेको दिन

काठकाडमौं । आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेका थिए । सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वषगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको हो । नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औँ वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ । दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थासहितको मूल आयोजक समिति गठन गरिएको छ । कार्यक्रमअनुसार आज बिहान ठमेलबाट प्रभातफेरीपछि नेपाल पर्यटन बोर्डमा औपचारिक समारोह आयोजना गरिनेछ । ठमेलस्थित कर्मचारी सञ्चयकोषबाट प्रख्यात आरोही तथा पर्यटन व्यवसायी एवं सरकारी निकायका प्रतिनिधिहरू सहभागी प्रभावतफेरी भृकुटीमण्डपस्थित बोर्डको हालमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा कीर्तिमान आरोही तथा विभिन्न आरोहीलाई पदक प्रदान गरिने कार्यक्रम छ । सगरमाथा आरोहणको ७० वर्ष पुगेको उपलक्षमा पहिलोपटक आरोहीलाई पदक प्रदान गर्न लागिएको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिए । ‘सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई पहिलोपटक पदकसहित सम्मान गर्दैछौँ,’ उनले भने । यसैगरी सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमअन्तर्गत सोलुखुम्बुको खुम्जुङ र काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिँदैछ । एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार आज खुम्जुङमा हुने विशेष कार्यक्रममा तेञ्जिन शेर्पा र हिलारीका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको एनएमएका महासचिव लम्सालले जानकारी दिए । खुम्जुङको औपचारिक कार्यक्रम सकेर एनएमएले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ । जुन १ तारिखमा काठमाडौँमा कार्यक्रम गरिने छ । आरोहीको सम्मानमा र्याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिनेछ । हिमालबारे जानकारसमेत रहनुभएका आङछिरिङ शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न उपयोगी हुने बताए । ‘सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरू राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटनमा केही न केही हलचल ल्याउनेमा विश्वास छ,’ उनले भने । नेपालमा सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटर अग्ला आठवटा हिमाल छन् । हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन् । आरोहणका क्रममा तीन सय बढीको निधन भइसकेको छ । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन् । उनले वसन्त ऋतुको जारी आरोहणमा सगरमाथाको दुईपटक क्रमशः जेठ ३ गते र जेठ ९ गते सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमान तोडेका हुन् । यस्तै पासाङ दावा शेर्पाले यही याममा सगरमाथाको २७ पटक आरोहण गरी कीर्तिमान कायम गरेका छन् । उनले यही याममा दुईपटक आरोहण गरी नयाँ रेकर्ड दर्ता गराएका हुन् । दुवै खुट्टा नभएका हरि बुढामगरले यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् । यही जेठ ५ गते सगरमाथाको चुचुरोमा पुगेर बुढामगरले कीर्तिमान बनाएका हुन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा हालसम्म ६ सय बढीले सगरमाथाको आरोहण गरेका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । यो यामको सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १०३ महिला र ३७६ पुरुष गरी कुल ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सोलुखुम्बुकी स्वर्गीय पासाङल्हामु शेर्पाले वि.सं २०५० वैशाख १० गते सगरमाथाको आरोहण गरी सगरमाथा चढ्ने प्रथम नेपाली महिला आरोहीको कीर्तिमान कायम गरेकी थिइन् । जापानी नागरिक स्वर्गीय जुन्को तावेई विश्वकै पहिलो महिला सगरमाथा आरोही मानिन्छिन् । सरकारले आरोहणका लागि हालसम्म ४१४ वटा हिमाल खुला गरेको छ । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा ८ वटा छन् । दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिख)को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रूपमा मनाउने गरेको छ । नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ दिवस मनाउँदै आइएको छ । आरोही हिलारीको सन् २००८ जनवरी ११ मा निधन भएको थियो । नोर्गेको सन् १९८६ मे ९ मा निधन भएको थियो । संयोग नेपालमा गणतन्त्र दिवस र सगरमाथा दिवस एकै दिन परेको छ ।

एशियन लाइफले संस्थापक सेयर बेच्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २४ हजार ८७१ कित्ता सेयर बिक्री गर्ने भएको हो । सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

गणतन्त्रले के दियो ?

काठमाडौं । भौगोलिकरूपमा नेपालको दुर्गम क्षेत्र कर्णाली प्रदेशका अधिकांश जिल्लामा गत वैशाखको पहिलो हप्ता नै पाठ्यपुस्तक पुगे । ती जिल्लाका हाम्रा समाचारदातालाई पनि यस वर्ष अचम्म लागेछ र हामीलाई ‘सेयर’ गरे । “सर, यसपटक त अचम्मै भयो, शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आएका छन्, विद्यालयलाई पुस्तक लिन आउन खबर पनि गरिएको छ”, उनीहरूको प्रतिक्रिया थियो । हामीले समाचार बनायौँ, धेरै सञ्चारमाध्यममा आयो पनि । प्रायः अभाव, आक्रोश र पीडा पोखिने गरेको सामाजिक सञ्चारमा यो समाचारले सकारात्मक सञ्चार गरिदियो । आफ्नै प्रचार र त्यसपछि सधैँ विरोध र आलोचनामात्र अभिव्यक्त भइरहने सामाजिक सञ्जालहरूमा पनि सो समाचारले स्थान पायो । कहिल्यै सकारात्मक सूचना सम्प्रेषण नगर्ने बानी परेका केही व्यक्तिका फेसबुकका भित्तामा पनि यो समाचारले ‘राम्रो’ भनेर स्थान पायो । उनीहरूको प्रतिक्रिया थियो– “होइन यो के आश्चर्य हो, अहिले त सरकारले समयअगावै हुम्ला, जुम्लामा पुस्तक पठाएछ त ?” यद्यपि, सरकारले गरेको यो कुनै उल्लेखनीय काम भने थिएन । बरु यो सरकारको कर्तव्य हो नागरिकप्रतिको र त्यो समयमै पूरा गरेको छ । कुनै पनि लोकतान्त्रिक र लोककल्याणकारी सरकारको पहिलो कर्तव्य नागरिकलाई शिक्षा र सूचना दिनु हो, त्यही काम सरकारले गरेको हो । सरकारको नियमित गर्नेपर्ने काममा विद्यालयलाई पाठ्यपुस्तक वितरण पर्दछ । तर, समाचारमा र देशका सामाजिक सञ्जालमा यो कामले सकारात्मक सञ्चार गर्यो रु किनभने बितेका केही वर्षदेखि सरकारले आफ्ना नागरिकप्रतिको यही आधारभूत कर्तव्य पनि पूरा गर्न सकेको थिएन । शैक्षिक सत्र सुरु भएदेखि नै विद्यार्थी र तिनका अभिभावकलाई पुस्तकको जोहो गर्न महाभारत हुन्थ्यो । कतै त यतिसम्म हुन्थ्यो कि पढाइ सकिइसक्थ्यो, विद्यार्थी पुस्तकै पाउँदैनथे । छोराछोरीलाई पुस्तक ल्याउन अभिभावक महिनौँ सदरमुकाम धाउनुपथ्र्यो तर पाउँदैनथे । उता सरकार बोल्दैनथ्यो, पुस्तक दिनुपर्ने दायित्व लिएर बसेका अधिकारी, पदाधिकारी जिम्मेवार हुँदैनथे । यो दृष्टान्तले सरकारले जनताको सेवाका क्षेत्रमा एउटा सानो काम गर्दा पनि त्यसले समाजमा राम्रो सन्देश दिँदोरहेछ भन्ने सन्देश दिन्छ । जनताको सरकारमा छ भन्ने भन्दा पनि आफ्ना हक, अधिकार र सरकारले गर्नुपर्ने ‘डेलिभरी’ चाहन्छन् । ‘डेलिभरी’ अर्थात् जनताले प्राप्त गर्न पाउनुपर्ने हर क्षेत्र र विषयका सेवा र सुविधा । जुन राजनीतिक प्रणाली या व्यवस्था होस्, जनताले अपेक्षा गर्ने भनेको आफ्नो अधिकार र आधारभूत सेवाकै हो । आज १६औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा यो दृष्टान्त मैले देशमा गणतन्त्रको उपलब्धिका रुपमा प्रस्तुत गर्न खोजेको भने होइन । देशमा यतिखेर गणतन्त्र किन चाहियो ? गणतन्त्रले के दियो ? भन्नेजस्ता प्रश्न बग्रेल्ती उठेका छन् । ती प्रश्नको जवाफ समयमै पाठ्यपुस्तकको वितरण हो भन्ने यो आलेखको आसय पनि होइन । बरु समाजमा नकारात्मक सोच र विचारले ठाउँ लिइरहेको तथा जनताले पाउनुपर्ने सेवा-सुविधा पनि सममयमा पाउन नसकिरहेको अवस्थामा यति सानो प्राप्ति अर्थात् विद्यार्थीले पाठ्यपुस्तक पाउँदा पनि जनताले खुसी मनाउँदा रहेछन् भन्ने सन्देश दिन खोजेको भने हो । यसपटकको पाठ्यपुस्तक वितरण अधिकांश सधैँ भएन र छैन भन्ने गरेको समाजमा सामान्य खुसीको सञ्चारको एउटा उदाहरण मात्र हो । पाँच वर्षअघि सरकारले नेपालमा अब लोडसेडिङ हट्छ भन्दा धेरैलाई विश्वासै थिएन । होस् पनि कसरी रु स्वयं राजधानी दिनमा १६ घन्टे लोडसेडिङमा थियो । त्यस समय नेपाल पनि लोडसेडिङमुक्त हुन्छ भनेर पत्याउन मुस्किल हुनु पनि स्वाभाविकै थियो । तर, यो कल्पना एकाध वर्षमै सम्भव भयो, यथार्थमा परिणत भयो । अहिले उज्यालो नेपालको केही वर्षमात्र मात्र बित्यो देशले वर्षमा अर्बौ रुपैयाँको बिजुली बेच्न नै सफल भएको छ । यतिखेर देशमा निर्माणाधीन बिजुली आयोजनाहरू पूरा भइसक्दा हामीलाई पुगेर धेरै उब्रिन्छ, बेच्ने बजारको जरुरत पर्दछ । त्यसपछि एकाध मात्र वर्षअघिसम्म मिथकजस्तो मानिएको बिजुली बिक्री गरेरै नेपालले कमाउने दिन पनि आउने छ । यसका लागि सुझबुझपूर्णरूपमा अघि बढ्ने सरकारको विवेक चाहिन्छ, बिजुली बिक्री गर्नका लागि भारतसँग व्यापारिक साझेदारितामा आफ्नो हात माथि पार्नसक्ने क्षमता चाहिन्छ । आज १६औँ गणतन्त्र दिवस । देशव्यापीरूपमा विविध कार्यक्रम गरेर यो दिवस मनाउने तयारी भइरहेको छ । यस अवसरमा मुलुकमा गणतन्त्रले के दियो ? भनेर बहस पनि भइरहेको छ । गणतन्त्रको आवश्यकता र औचित्यको यो बहस उनीहरूले सधैँ अपेक्षा गरिरहने डेलिभरीसँग जोडिएको छ । त्यसैले जनताको सोच र विचारमा गणतन्त्रको उपलब्धि उनीहरूले प्राप्त गर्न पाउनुपर्ने अधिकार, सेवा र सुविधा र समग्रतामा देशको विकास हुनुपर्छ भन्नेमा बढी केन्द्रित छ । जनताले आफ्ना विचार अभिव्यक्त गर्न पाएका छन्, आफ्ना अधिकारसँगै विकास र सेवा माग्न पाएका छन् । सरकारले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायतका धेरै क्षेत्रमा जनपक्षीय नीति अख्तियार गरेको छ । यद्यपि, ती नीति तथा कानुनहरू कतिपय अवस्थामा जनपक्षीय कार्यान्वनमा ल्याउनका लागि सरकार र यसका अवयवहरूको विवेक पुर्याउन भने बाँकी नै छ । जनताले लाभ लिन पाउने गरी लोककल्याणकारी कार्यक्रमहरूको घोषणा हरेक सरकारले गरेकै छन् । त्यसकारण पनि पहिलेको तुलनामा गणतन्त्रको डेढ दशकयता यस्ता धेरै क्षेत्रमा उल्लेखनीय काम भएका पनि छन् । यस अवधिमा किसानले सिँचाइ पाएका छन्, धेरै क्षेत्रमा सिँचाइ पुगेको छ । हालै सार्वजनिक एक तथ्याङ्कमा यस अवधिमा कम्तीमा पनि सरकारी र निजी क्षेत्रमा गरी ६० भन्दा बढी अस्पताल थपिएका छन् र तिनमा मात्र करिब १० हजार शय्या बढेका छन् । देशमा लोडसेडिङको अन्त्य भएको छ, मुलुकको ९० प्रतिशतभन्दा बढी नागरिकमा बिजुलीको पहुँच पुगेको छ । गणतन्त्र स्थापनाको डेढ दशकमा विश्वविद्यालय थपिएका छन्, जनशक्ति एवं पूर्वाधारको अभावमा विद्यार्थीले पढ्न नपाएको अवस्था छैन । देशमा विसं २०६५ सम्म काठमाडौँमा एउटैमात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकामा अहिले भैरहवा र पोखरा थपिएको छ । अन्य पूर्वाधारको कुरा गर्दा गणतन्त्र स्थापनापछि नै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गर्ने निकट भविष्यको पर्खाइमा छ । नागढुङ्गा सुरुङमार्ग निर्माणको अन्तिममा पुग्न लागेको छ । देशमा अन्तरदेशीय रेलमार्ग बनाउने कामको थालनी भएको छ । यसरी गणतन्त्र स्थापनापछि नेपालले शिक्षा, स्वास्थ्य, जलविद्युत् निर्माण र सञ्चालन, विद्युत् प्रसारण लाइनको निर्माण, सिँचाइ र खानेपानीमा पहुँच वृद्धि, सडक र हवाई सेवाको विस्तार, सेवा क्षेत्रका साथै केबलकारहरूको निर्माणको उल्लेखनीय विस्तारदेखि विविध क्षेत्रका पूर्वाधारमा निर्माणमा उल्लेख्य प्रगति भएको छ । गणतन्त्रअघिको तुलनामा यस अवधिमा सडक सञ्जाल दोब्बरले बढेको छ भने कालोपत्र सडकको विस्तार त्योभन्दा बढी छ । विकासका संरचना थपिने क्रम जारी छ । आफ्ना गाउँठाउँमा विकासका आयोजना ल्याउन नागरिकमा जागरुकता देखिएको छ । सेवा क्षेत्रका पूर्वाधार निर्माण आफ्ना गाउँठाउँमा ल्याउन सकिएमा यसले आफ्नो क्षेत्र बन्ने र स्थानीयलाई कुनै न कुनै रूपमा लाभ पुग्ने चेतना उनीहरूमा पलाएको छ । जसका कारण लगानीकर्ताहरूले पनि स्थानीय जनसहभागिताका मोडल ल्याएका छन् । यसबाट ती क्षेत्रका संरचना निर्माणका काम चाँडै सम्पन्न हुने तथा नागरिकले पनि त्यसमा हिस्सा प्राप्त गर्न सक्ने भएका छन् । नागरिकले पनि विकासका संरचनाहरूमा आफ्नो हिस्सेदारी माग्न सक्ने भएका छन् र निजी क्षेत्रले स्थानीय सहभागिताको मोडल अपनाएको छ । जसबाट पूर्वाधार निर्माण र विकासमा स्थानीय साझेदारिताको मोडल निजी क्षेत्रले अपनाएका छन् । यिनै हुन् गणतन्त्रका उपलब्धि । तर यतिले मात्र नागरिकमा उत्साह र सन्तोष देखिँदैन । विकास र संरचना निर्माणका काममा त देश अघि बढेकै छ तर त्यसमा आफू कहाँ छु र आफ्ना लागि के सहुलियत मिलेको छ भनेर जनताले खोजिरहेको छ । किसानले समयमै मल, बीउ तथा उत्पादनको उचित मूल्य खोजेको छ भने युवा जनशक्ति देशभित्रै रोजगार बन्ने योजना चाहेको छ । बिरामी सस्तो उपचारको पर्खाइमा छ भने श्रमिकले कामको समान र समयसापेक्ष ज्याला खोजेको छ । निजी क्षेत्रले लगानीको वातावरण तथा व्यावसायिक सुरक्षा खोजेको छ भने उत्पादकले बजार चाहेको छ । यसरी हरेक नागरिकले यही गणतान्त्रिक शासन व्यवस्थाभित्रै सबै प्रकारका नागरिक अधिकारहरूको सुनिश्चितता खोजेको छ । गणतन्त्र के हो रु गणतन्त्रमा हुनुपर्ने के नभएकाले आममानिसमा यसको विकल्पका स्वरहरू उठेका हुन् रु आजको विचारणीय प्रश्न हो यो । गणतन्त्र ल्याउन लागेका नेपाली नागरिकले नै अहिले यो प्रश्न उठाउन थालेका छन् भने किन आफूले ल्याएको उत्कृष्ट शासन व्यवस्थाप्रति उनीहरू सन्तुष्ट हुन सकेनन् भनेर यसका कर्ताहरूले आजका दिनमा सोच्नुपर्दछ । त्यसैले अब गणतन्त्र कुनै एक शासकीय मोडल अथवा देशमा शासन प्रशासन सञ्चालन गर्ने कुनै राजनीतिक प्रणालीमा मात्र सीमित राख्नु अब हुँदैन। मैले लडेर ल्याएको, मैले उचित ठानेको र संसारकै सबैभन्दा बढी लोकतान्त्रिक र जनमुखी शासन व्यवस्था भनेर गणतन्त्रको बचाउको पक्षमा जनता लाग्न अब यो व्यवस्थालाई नै जनताको जीवन पद्दतिसँग जोड्न सक्नुपर्छ । यसका लागि जनताले यो शासन व्यवस्थाले दिएका सेवाहरूको हिसाबकिताब नै खोज्दछन् । किनभने आफ्नो सहजतालाई नसघाउने शासन व्यवस्था स्वीकार्न अब नागरिक बाध्य छैनन् । त्यसैले जनताले यो व्यवस्थाबाटै ‘डेलिभरी’ चाहेका छन् । जनता शासन व्यवस्था होइन कि गणतन्त्रलाई जीवन पद्दतिसँग जोडेर परीक्षण गर्न चाहन्छन् । जबसम्म जनताले मेरो र मेरै आवश्यकताका लागि मैले ल्याएको व्यवस्था भनेर अपनत्व महसुस गर्न सक्दैन, तबसम्म जस्तोसुकै उन्नत र उत्तम व्यवस्था भए पनि जनताको मन, मुटुभित्र पस्न र बस्न सक्दैन । जनताले हिजोको राजनीतिक शासन व्यवस्थासँग आजको व्यवस्थाको रुप, स्वरुप र शैली तुलना गरेर हेरेका छन् । यो व्यवस्थामा उनीहरूले आफूलाई पाउन सक्नुपर्छ । त्यसैले शासन व्यवस्थामा बस्ने सबैले यो संवेदनशीलतालाई आजैका दिनमा आ–आफ्नो नाम सम्झेर म म भन्नुपर्दछ र कुनै पनि शासन व्यवस्थालाई जनताको जीवन पद्दतिसँग जोड्न सक्नुपर्छ । नेपालको गणतन्त्र पनि यसैमा दिगो बन्न सक्दछ ।रासस

आज सरकारले बजेट सार्वजनिक गर्दै

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश हुँदै छ । अपराह्न ४ बजे सरकारकातर्फबाट अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा आर्थिक वर्ष २०७८/८१ को बजेट प्रस्तुत गर्नेछन् । उनले संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय)को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा नबढेर आउने छ । अर्थमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा १५ जेठमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । यस वर्ष आर्थिक मन्दीका कारण बजेटमा नयाँ कार्यक्रम नराखिएको अर्थमन्त्री महतले बताए ।