निजामती अस्पताललाई सुपर स्पेशालिटी अस्पताल बनाइने
काठमाडौं । सरकारले निजामती अस्पतालाई सुपर स्पेशालिटी अस्पताल बनाउने भएको छ । आज अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । सरकारले संघीय अस्पतालहरुको प्रयोगशालाको स्तर वृद्धि गर्ने, एकीकृत स्वास्थ्य विज्ञान ऐन निर्माण गर्ने, लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि तर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको मन्त्री महतले बताएका छन् ।
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने, तीन अस्पतालबाट सञ्चालन गरिने
काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरि दीगो गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सो बताएका हुन् । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बीमा सम्बन्धी सामाजिक कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरो नहुने गरी चालु आवभित्रै कार्यविधि तर्जुमा गरिने छ । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने उनले बताए ।
बढ्यो पर्यटन मन्त्रालयको बजेट, नयाँ पर्यटकीय पूर्वाधार निर्माणदेखि वायुसेवा कम्पनीलाई छुट
काठमाडौं । सरकारले पर्यटन क्षेत्रको बजेट बढाएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि २ अर्ब ५८ करोड रुपैयाँले बजेट बढेको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै पर्यटन मन्त्रालयका लागि ११ अर्ब ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका छन् । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकता राखेको भन्दै बजेटसँगै नयाँ योजनाहरु राखिएको बताए । पर्यटन क्षेत्रका लागि चालु आवमा ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए । विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय तथा पोखरामा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई छुट दिने घोषणा गरेको छ । लामो समयदेखि उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै सरकारले उक्त विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलीङमा छुट दिने घोषणा गरेको हो । उनले उक्त दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित रुपमा हुने व्यवस्था गरिएको उनले बताए । नयाँ पर्यटकीय पूर्वाधारका लागि २ करोड सरकारले नयाँ पर्यटन पहिचान तथा पूर्वाधार विकासका लागि २ अर्ब १३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. महतले पर्यटन पहिचान, पूर्वाधार विकास तथा अन्य पर्यटन पूर्वाधार विकासका लागि उक्त रकम विनियोजन गरिएको बताए । ८ विमानस्थल स्तरोन्नति गरिने सरकारले विभिन्न ८ वटा विमानस्थलको स्तरोन्नति गरिने घोषणा गरेको छ । बजेट मार्फत विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने घोषणा गरिएको हो । यस्तै, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ। दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।
सरकारले लामखुट्टे र लार्भा मार्न अभियान सञ्चालन गर्ने
काठमाडौं । सरकारले लामखुट्टेको लार्भा मार्नका लागि अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै डेंगी रोग सार्ने लामखुट्टे र लार्भाको वास स्थान खोज र नष्ट गर अभियान सञ्चालन गरिने बताएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन
काठमाडौं । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए । चालु आवमा शिक्षातर्फ संघमा ७० अर्ब ५ करोड रुपैयाँ बजेट विनयोजन गरिएको थियो । त्यस्ते प्रदेशमा ५ अर्ब ३२ करोड र स्थानीय तहमा १ खर्ब २१ अर्ब १ करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
८ विमानस्थल स्तरोन्नति गरिने, हवाई यातायातलाई सहज र सुलभ बनाइने
काठमाडौं । ८ वटा विमानस्थलको स्तरोन्नति गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगर, भरतपुर, नेपालगंज र धनगढी विमानस्थलहरूको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गरिने जनाएका छन् । त्यस्तै, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा, जुम्लाको खलङ्गा लगायतका विमानस्थलको स्तरोन्नति गरिने उनले बताए । दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ ।
देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्न बजेट विनियोजन
काठमाडौं ।सरकारले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा मेडिकल कलेज स्थापना गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न आवश्यक बजेट निनियोजन गरेको बताएका हुन् ।