विकासन्युज

सुत्केरी खोज्दै जनप्रतिनिधि घर घरमा

काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् । सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । बर्थिङ सेन्टरमा सुत्केरी गराउन उत्प्रेरीत गर्ने उद्देश्यले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याएको नवराजपुर गाउँपालिका उपाध्यक्ष पुनमकुमारी यादवले बताइन् । ‘सुत्केरी खोज्दै हामी घर घर जाने गरेका छौँ । घरमै पुगेर सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएका छौँ । यसका लागि स्थानीय स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएकाले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन भइरहेको छ,’ उनले भने । नवराजपुर–३ फूलवरियाकी पुष्पा यादवले ‘सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ बच्चालाई कुपोषण हुनबाट कसरी जोगाउन सकिन्छ भन्ने जानकारी पनि प्राप्त हुनेहुँदा कार्यक्रम उपलब्धिमूलक भएको बताइन् । नवराजपुर–१ देवीनगरकी गनिताकुमारी दासले कार्यक्रमबाट बच्चाका लागि कपडा र रकम पाएपछि निकै खुसी लागेको सुनाइन् । पोषिलो खानेकुरा किन्नका लागि रकम र बच्चाका लागि कपडा लिएर उपाध्यक्ष यादव घरमै पुगेकी थिइन् । स्वास्थ्यचौकी देवीनगरका प्रमुख सञ्जीव यादवले शिशु अस्पताल वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्म प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि अधारमा सेवा उपलब्ध गराइरहेको जानकारी दिइन् । ग्रामीण भेगमा अझै पनि महिला घरमै सुत्केरी हुने गरेको पाइन्छ । यसका कारण शिशु मृत्युदर तथा पोषणसमबन्धी जानकारी अभावमा कुपोषित बच्चा जन्म हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । नवराजपुर गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि आर्थिक वर्ष २०७९÷८० का लगि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।रासस

११ प्रतिशत ब्याजमा लुम्बिनी विकास बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । लुम्बिनी विकास बैंकले आज जेठ १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि भएको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवर र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये २० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी ३ लाख ८० हजार कित्ता ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बैंकको ऋणपत्र छिटोमा जेठ १९ गते र ढिलोमा जेठ ३० गतेसम्म खरिद गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालय र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।

एफपीओ र मर्जरबाट हुने आम्दानीमा कर लगाउने सरकारको घोषणा

काठमाडौं । फर्दर पब्लिक अफरिंग (एफपीओ)बाट हुने आम्दानीमा पनि कर लगाउने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् यस्तो आम्दानीमा कर लगाउने घोषणा गरेका हुन् । सरकारले एफपीओ जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको उनले बताए । ‘कुनै निकायले एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस सेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ,’ अर्थमन्त्री महतले भने । यस्तै, सरकारले बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिमा जाँदा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)बाट भएको आम्दानीमा कर लगाउने घोषणा गरेको उनले बताए । निकायहरु आपसमा मर्जमा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने अर्थमन्त्री डा.महतले बताए ।

ब्याजदर बढाउने बजेट आयो

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले सरकारको बजेटले बैंकको ब्याजदर बढ्न सक्ने बताएका छन् । अर्थमन्त्री डा.प्रकाश शरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा विकासन्युजसँग प्रतिक्रिया दिँदै अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् । ‘सरकारले २४० अर्ब रुपैयाँ बैंकहरुबाट आन्तरिक ऋण उठाउँदा बैंकिङ्ग क्षेत्रमा तरलता झनै भयावह बन्न सक्छ, झनै बैंकहरुले कर्जा दिएन भनेर टार्गेटमा राख्न सक्छन्,’ उनले भने, ‘यदि त्यो रकम तुरुन्तै उठायो भने ब्याजदर अटोमेटिक बढ्छ ।’ आफूहरुले अपेक्षा गरे अनुसार बजेट नआएको उनको भनाइ छ । तर, पूँजी बजारलाई चलायमान गर्ने व्यवस्था बजेटमा उल्लेख भएको उनले बताए । ‘सरकारको बजेटले पूँजी बजारलाई चलायमान गर्ने गरी व्यवस्था गरेको छ, गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश गर्न दिनु सकारात्मक छ, साथै, एफडीआईमा अटो सिस्टममा ल्याउने भनिएको छ, यो कार्यान्वयन भयो भने सकारात्मक नै हुन्छ,’ उनले भने, ‘बैंकिङ्ग क्षेत्रका लागि नकारात्मक पनि छैन, सकारात्मक पनि छैन, कुनै पुरानो व्यवस्था छ भने कुनै नयाँ थप गरेको छ ।’

बजेटमा निजी क्षेत्रको प्रतिक्रिया : सन्तोषजनक भएपनि कार्यान्वयनमा चुनौती

काठमाडौं । उद्योगी व्यवसायीहरूले बजेटमा नयाँ विषय केही नसमेटिएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषमयमा विकासन्युजसँग प्रतिक्रिया दिँदै बजेटमा नयाँ र प्रभावकारी नसमेटिएको बताएका हुन् । नेपाल उद्योग परिसंघ (सीएनआइ) का उपाध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र चलायमान बनाउने किसिमको बजेट नआएको बताए । उनका अनुसार बजेटमा उद्योग व्यवसायको विकास र विस्तारका लागि प्रभावकारी कार्यक्रमहरू ल्याइएको छैन । ‘हामीले औद्योगिक क्षेत्र पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा गर्ने भन्ने विषय गत वर्षको बजेटमा पनि आइसकेको छ, यो बजेटमा सोही विषय राखिएको छ, राम्रो पक्ष बजेटमा बनमा इआइए गर्दा ३० दिन भित्र निर्णय दिनुपर्छ भन्ने कुरा आएको छ, यसको अध्ययन गरेपछि थप नयाँ कुरा आउला,’ उनले भने । पूर्वाधारका योजना धेरै घटाउने भनिएता पनि थपिएर आएको उनको भनाइ छ । ‘बजेटमा पुराना कार्यक्रम बढी समेटिएका छन्, नयाँ नारा ल्याइएको छ, त्यो नारामै सीमित हुन्छ जस्तो मलाई लाग्छ,’ उनले भने । यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले उत्पादन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए । ‘बजेटलाई धेरै वितरणमुखी गर्दा अर्थतन्त्र चुनौतीपूर्ण र स्थायित्व लिन गाह्रो हुने होकि भन्ने हामीलाई लागेको छ,’ उनले भने । नेपाल उद्योग वाणिज्य महासंघको एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेट राम्रो नै आएको भएता पनि कार्यान्वयन चुनौतीपूर्ण हुन सक्ने बताइन् । बजेटले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र साना तथा घरेलु उद्योगलाई सहुलियत दिँदा व्यवसायीलाई राहत मिल्ने बताइन् । ‘स्टार्टअप बिजनेस तथा सीप विकासको लागि बजेट राम्रो नै देखिन्छ, यसको थप अध्ययन गरी हामी प्रतिक्रिया दिने छौं,’ उनले भने ।

पुँजी बजारलाई बजेट : सुबिधाभन्दा दुबिधा

काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पुँजीबजारलाई बजेट सुबिधाभन्दा दुबिधा बढी रहेको बताएकी छिन् । अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेका आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रतिकृया दिँदै उनले सो बताएकी हुन् । ‘क्यान्सर भएको पूँजीबजारलाई सामान्य मलपट्टी मात्र लगाइएको छ। यसर्थ २०८०/०८१ को बजेट पुँजीबजारलाई ‘सुबिधा भन्दा दुबिधा’, उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर भारत भ्रमण गर्न लागेको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय हितलाई केन्द्रमा राखेर आफूले भारत भ्रमण गर्न लागेको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा यही जेठ १७ गतेदेखि गर्न लागेको भारत भ्रमणका बारेमा जानकारी दिँदै उनले मुलुकको राष्ट्रिय हितलाई केन्द्रमा राखेर द्विपक्षीय भेटवार्ता गर्ने र महत्त्वपूर्ण सहमति तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यसूची रहेको जानकारी दिए । उनले आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, अर्थमन्त्री, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, नेपाल सरकारका सचिवहरू, वरिष्ठ सरकारी अधिकारी सम्मिलित हुने बताए । भ्रमणका क्रममा आपसी हितका विविध पक्षमा छलफल तथा सम्झौताका साथै समझदारीपत्रमा हस्ताक्षर हुने भएकाले सोहीअनुसारको प्रतिनिधिमण्डल तय गरिएको प्रधानमन्त्रीले उल्लेख गरे । नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर क्षेत्रगत विज्ञ, पूर्वप्रधानमन्त्री परराष्ट्रमन्त्रीलगायतसँग आफूले छलफल गरेको र सकेसम्म राष्ट्रिय सहमति बनाउने प्रयास गरेको प्रधानमन्त्रीको भनाइ छ । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै, भारतका राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा नेपाल भारत सम्बन्धका विविध पक्षमा महत्त्वपूर्ण छलफल हुने जानकारी दिँदै प्रधानमन्त्रीले द्विपक्षीय व्यापार पारवहन, ऊर्जा व्यापार, अन्तरदेशीय प्रसारण लाइन, बाढी नियन्त्रण, हवाई मार्ग र एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपोलगायतका विषयमा समझदारी गरिने बताए । सुदूरपश्चिम प्रदेशमा भारतसँग मोटरेबल र झोलुङ्गे पुल निर्माणका बारेमा पनि छलफल गर्ने कार्यसूची तय भएको छ । नेपालको हित सुनिश्चित हुने गरी ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने उद्देश्य राखिएको उनको भनाइ छ । जलविद्युत् लगानीका लागि आधार सुनिश्चित गर्ने, बङ्गलादेशमा बिजुली बिक्रीका बारेमा ठोस कुराकानी हुने तथा महाकाली सन्धि भएको लामो समयसम्म पनि अगाडि बढ्न नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई अन्तिम रूप दिने प्रधानमन्त्रीको भनाइ छ । सीमा समस्यालगायतका कतिपय विषय सम्बोधन गर्न ठोसरूपमा विश्वासको वातावरण बनाउने प्रयास आफूले भ्रमणको क्रममा गर्ने प्रधानमन्त्रीको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले संयुक्तरूपमा आयोजना गर्ने नेपाल–भारत बिजनेश समिटलाई सम्बोधन गर्नुका साथै दुवै देशका उद्योगी व्यापारीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको प्रधानमन्त्रीले सदनलाई जानकारी दिए । उनले भारतको मध्यप्रदेशको इन्दोर र उज्जैनको भ्रमण गर्ने कार्यक्रमसमेत तय भएको बताए । इन्दोरमा स्वच्छ भारत अभियानअन्तर्गतको फोहर प्रशोधन परियोजनाको अवलोकन गर्ने र आइटी पार्कको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

बीमा क्षेत्रको लागि बजेट सन्तोषजनक

काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बजेट समग्रमा ठिकै रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा विकासन्युजलाई प्रतिकृया दिँदै उनले सो बताएका हुन् । ‘बजेटमा बीमाको पहुँच बढाउने, शाखा खोल्न प्रोत्साहन गरिने भनिएको छ, तर यसमा स्पष्टता छैन,’ सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका सीईओ समेत रहेका क्षेत्रीले विकासन्युजसँग भने । तर सरकारले कृषि क्षेत्रलाई छुट्याएको बजेट भने कम रहेको उनको भनाई छ । त्यस्तै, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बीमा क्षेत्रको लागि धेरै विषय नसमेटिए पनि समग्र अर्थतन्त्रलाई एड्रेस गर्ने खालको रहेको बताएका छन् । सोमबार सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा विकासन्युजलाई प्रतिकृया दिँदै उनले अर्थतन्त्र सुध्रियो भने बीमा क्षेत्र पनि सुध्रिने बताए । ‘बजेटले दावी भुक्तानीमा शीघ्रता र ग्रामीण क्षेत्रमा पहुँच विस्तारको विषय उठाएको छ, सामाजिक सुरक्षाको कार्यक्रममा स्वास्थ्य बीमालाई जोड गरेको भएर यो बजेटले बीमाको लागि ठिकै गर्छ,’ सिटिजन लाइफका सीईओ समेत रहेका पौडेलले विकासन्युजसँग भने । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन् । समग्र क्षेत्रलाई समेटेको उक्त बजेटले बीमा क्षेत्रलाई पनि केही हदसम्म एड्रेस गरेको पाइएको छ । बीमा क्षेत्रको लागि के छ बजेटमा ? सरकारले बीमा दावी प्रकृयालाई सरलीकरण गरी भुक्तानी प्रकृयालाई चुस्त रुपमा अघि बढाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै गुणस्तरीय बीमा सेवा विस्तार गर्नुकासाथै दावी भुक्तानीलाई चुस्त रुपमा अघि बढाउने बताएका हुन् । त्यस्तै, सरकारले बीमा क्षेत्रको नियमन तथा सुपरीवेक्षणलाई सुदृढ र प्रभावकारी बनाउने भएको छ । बजेटमा ग्रामीण तथा दुर्गम क्षेत्रमा बीमा कम्पनीको शाखा स्थापना गर्न प्रोत्साहन गरिने छ, बीमा प्राधिकरण, स्थानीय तह लगायत सरोकारवालाहरुसँगको सहकार्यमा दुर्गम तथा ग्रामीण क्षेत्रमा बीमा सम्बन्धी साक्षरता अभिवृद्धि गरिने भनिएको  छ । त्यसैगरी, सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरि दीगो गर्ने भएको छ । सरकारी, सामुदायिक र सहकारी अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य बीमा सम्बन्धी सामाजिक कार्यक्रम र स्वास्थ्य बीमाबीच दोहोरो नहुने गरी चालु आवभित्रै कार्यविधि तर्जुमा गरिने छ । सामाजिक सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने बजेटमा उल्लेख छ ।