बजेटमा निजी क्षेत्रको प्रतिक्रिया : सन्तोषजनक भएपनि कार्यान्वयनमा चुनौती

<p>काठमाडौं । उद्योगी व्यवसायीहरूले बजेटमा नयाँ विषय केही नसमेटिएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषमयमा विकासन्युजसँग प्रतिक्रिया दिँदै बजेटमा नयाँ र प्रभावकारी नसमेटिएको बताएका हुन् । नेपाल उद्योग परिसंघ (सीएनआइ) का उपाध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र चलायमान बनाउने किसिमको बजेट नआएको बताए । उनका अनुसार बजेटमा [&hellip;]</p>

काठमाडौं । उद्योगी व्यवसायीहरूले बजेटमा नयाँ विषय केही नसमेटिएको बताएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका विषमयमा विकासन्युजसँग प्रतिक्रिया दिँदै बजेटमा नयाँ र प्रभावकारी नसमेटिएको बताएका हुन् ।

नेपाल उद्योग परिसंघ (सीएनआइ) का उपाध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र चलायमान बनाउने किसिमको बजेट नआएको बताए । उनका अनुसार बजेटमा उद्योग व्यवसायको विकास र विस्तारका लागि प्रभावकारी कार्यक्रमहरू ल्याइएको छैन ।

‘हामीले औद्योगिक क्षेत्र पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा गर्ने भन्ने विषय गत वर्षको बजेटमा पनि आइसकेको छ, यो बजेटमा सोही विषय राखिएको छ, राम्रो पक्ष बजेटमा बनमा इआइए गर्दा ३० दिन भित्र निर्णय दिनुपर्छ भन्ने कुरा आएको छ, यसको अध्ययन गरेपछि थप नयाँ कुरा आउला,’ उनले भने ।

पूर्वाधारका योजना धेरै घटाउने भनिएता पनि थपिएर आएको उनको भनाइ छ । ‘बजेटमा पुराना कार्यक्रम बढी समेटिएका छन्, नयाँ नारा ल्याइएको छ, त्यो नारामै सीमित हुन्छ जस्तो मलाई लाग्छ,’ उनले भने ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले उत्पादन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताए । ‘बजेटलाई धेरै वितरणमुखी गर्दा अर्थतन्त्र चुनौतीपूर्ण र स्थायित्व लिन गाह्रो हुने होकि भन्ने हामीलाई लागेको छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघको एसोशिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले बजेट राम्रो नै आएको भएता पनि कार्यान्वयन चुनौतीपूर्ण हुन सक्ने बताइन् ।

बजेटले स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र साना तथा घरेलु उद्योगलाई सहुलियत दिँदा व्यवसायीलाई राहत मिल्ने बताइन् ।
‘स्टार्टअप बिजनेस तथा सीप विकासको लागि बजेट राम्रो नै देखिन्छ, यसको थप अध्ययन गरी हामी प्रतिक्रिया दिने छौं,’ उनले भने ।

Share News