प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुँदै
काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज बिहीबार भारतका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् । बुधवार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबिच भेटवार्ताको कार्यसूची तय भएको छ । कार्यसूची अनुसार दुई समकक्षीबिच आधा घण्टा भेटवार्ता हुनेछ । त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ । उपराष्ट्रपतिसँग अपराह्न ४ बजे र राष्ट्रपतिसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ । प्रधानमन्त्री प्रचण्डलाई बुधवार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन् । उक्त क्रममा प्रधानमन्त्री प्रचण्डलाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा भव्य स्वागत गरिएको हो । प्रधानमन्त्री प्रचण्डको स्वागतमा नयाँ दिल्लीका सडकसहित प्रमुख स्थलमा उहाँको फोटो अङ्कित स्वागत गेट, ब्यानर र होडिंग बोर्डहरू राखिएको थियो । प्रधानमन्त्री प्रचण्ड चौथो दिन अपराह्न ४ः२० बजे दिल्लीबाट काठमाडौँ फर्कने कार्यक्रम छ ।
भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग
काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो । नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ । नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम)आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए । स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उनले बताए । नेपालले चिवाभञ्ज्याङसम्म एक दशकअघि नै सडक पुर्याएको थियो । मध्यपहाडी लोकमार्गको ट्र्याक खोलिएसँगै यहाँसम्म सवारीसाधन पुग्न थालेका थिए । दुई वर्षअघि भारतको सिक्किम राज्य सरकारले पनि चिवाभञ्ज्याङसम्म सडक विस्तार गरिसकेको छ । यहाँ राज्यको उपस्थिति छैन । नेपालका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलसम्म जान चाहने पर्यटकले यो बाटो प्रयोग गर्न पाएका छैनन् । ‘सिक्किमबाट पाथीभरा मन्दिरको दर्शन गर्न र पूर्वी पहाडका विभिन्न स्थानमा रहेका आफन्त भेट्नका लागि आउने भारतीय नागरिकले बाटो प्रयोग गर्न पाएका छैनन्, यहाँबाट सिक्किम जान चाहनेले पनि बाटो प्रयोग गर्न पाएका छैनन्,’ याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङले भने । पाँचथर र ताप्लेजुङका सयौँ परिवारको सिक्किमसँग पारिवारिक सम्बन्ध छ । अहिले पनि वारिपारि बिहेवारी हुने गरेको छ । प्रहरीले उपलब्ध गराएको प्रवेश अनुमतिपत्र बोकेर मात्र आफन्त भेट्नुपर्ने स्थानीयवासीको बाध्यता छ । ‘सरसामान ल्याउन तथा लैजान उत्तिकै कठिन छ,’ वडाध्यक्ष खालिङले भने । चिवाभञ्ज्याङको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल तैनाथ छ । नेपालतर्फ पनि तीन वर्षअघि बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । दुवैतर्फ सुरक्षाकर्मी तैनाथ गरिएको अवस्थामा नाकालाई व्यवस्थित गरिनुपर्ने गाउँपालिकाका अध्यक्ष योङ्याको भनाइ छ । यहाँ भन्सार कार्यालय स्थापना गर्न माग गरिएको छ । नाका सञ्चालन भए पाँचथर र ताप्लेजुङका सीमावर्ती गाउँपालिका याङवरक, फालेलुङ, सिरिजङ्घा, सिदिङ्वाका ग्रामीण क्षेत्रको उत्पादनले भारतमा बजार पाउने स्थानीयवासी बताउँछन् । मध्यपहाडी लोकमार्गसँग याङवरक–६ गणेशचोकमा मेची राजमार्ग र हिलिहाङ–१ फेदापामा तमोर करिडोर जोडिन्छ । नाका खुलेमा सामग्री आयात गर्न सहज हुने, राजस्व सङ्कलनमा वृद्धि हुने अध्यक्ष योङ्या बताउँछन् । चिवाभञ्ज्याङबाट याङवरक–४ दारिम्बासम्म मध्यपहाडी लोकमार्गको ५१ किलोमिटर सडक कालोपत्र गर्न बाँकी नै छ । कालोपत्रका लागि ठेक्का आह्वान गरिएको छ । सीमानाका सहजरुपमा सञ्चालनमा आए भारतीय पर्यटक भित्र्याउन ससहज हुने देखिन्छ । अहिले पनि दिनहुँ भारतीय पर्यटक पाथीभरा मन्दिर पुग्ने गर्छन् । उनीहरू झापाको काँकरभिट्टा नाका हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन् । नाका सञ्चालनका लागि भारत सरकारसँग सम्झौता गरी चिवाभञ्ज्याङलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्नुपर्ने गाउँपालिकाको माग छ ।
नेप्सेमा एक लघुवित्तको बोनस सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको ११ प्रतिशत बोनस बापत ९४ हजार ३८० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
सिंगटी हाइड्रोले १ सय प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको जेठ १७ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले अन्य जलविद्युत आयोजनामा लगानी गर्न तथा ऋण चुक्ता गर्न हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले नियमनकारी निकायबाट सहमति प्राप्त भएपश्चात आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सो दरमा हकप्रद सेयर निष्काशन गरिने पनि निर्णय गरेको छ ।
पूँजी बजारमा लाग्ने करमा परिवर्तन गरिएको छैन : आन्तरिक राजस्व विभाग
काठमाडौं । आन्तरिक राजस्व विभागले पूँजी बजारमा लाग्ने कर पुरानै रहेको स्पष्ट पारेको छ । विभागले आर्थिक विधेयक, २०८० को दफा २९ लाई प्रष्ट पार्दै धितोपत्र कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । आर्थिक विधेयक २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा केही द्विविधा उत्पन्न भएको विषयमा थप स्पष्ट पारिएको विभागले जनाएको छ । ‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ, त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ विभागले जारी गरेको सुचनामा उल्लेख छ ।
रावा इनर्जिको आईपीओ बिक्री खुला, १० हजार कित्ता किन्न पाइने
काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले आज जेठ १८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बााँडफाँट गर्दा बाँकी रहेको १ लाख ९२ हजार ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसमध्ये १५ हजार ४७ कित्ता कर्मचारी, ३७ लाख ६१६ कित्ता सामूहिक लगानी कोष र ६ लाख ४३ हजार ६६७ कित्ता सेयरमा सर्वसाधारण लगनीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा जेठ २२ गते र ढिलोमा जेठ ३२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
अष्ट्रेलियामा भेटियो १० करोड ७० लाख वर्ष पुराना हड्डी
सिड्नी । अष्ट्रेलियामा दश करोड सत्तरी लाख वर्ष पुरानो जीवाश्म हड्डी भेटिएको छ । सन् १९८० को दशकमा भिक्टोरिया राज्यमा भेटिएका दुई वटा जीवाश्म हड्डीको परीक्षण गरेका वैज्ञानिकहरूले आफ्नो अनुसन्धानको निष्कर्ष सुनाउँदै उक्त जानकारी दिएका हुन् । असीको दशकमा भेटिएका ती जीवाश्म हड्डी आकाशमा उड्ने विशाल सरीसृपको भएको र तिनको उत्पत्ति दश करोड सत्तरी लाख वर्षअघि भएको बताएका छन् । हिस्टोरिकल बायोलोजी जर्नलमा मङ्लगलबार प्रकाशित एक अध्ययनअनुसार कर्टिन युनिभर्सिटी अस्ट्रेलियन एज अफ डाइनोसर म्युजियम अफ नेचुरल हिस्ट्री, मोनाश युनिभर्सिटी र म्युजियम्स भिक्टोरिया रिसर्च इन्स्टिच्युटका अन्वेषकहरूले भिक्टोरियमा भेटिएका जीवाश्म टेरोसरको भएको पुष्टि गरेका छन् । ‘यी हड्डीहरूको विश्लेषण गरेर, हामी लगभग दश करोड सत्तरी लाख वर्ष पहिले भिक्टोरियाको जङ्गलमा बसोबास गर्ने टेरोसरको अस्तित्वको पुष्टि गर्न सक्षम भएका छौं,’ पेन्टल्याण्डले जर्नलमा उल्लेख गरेका छन् । रासस/सिन्ह्वा
आन्तरिक कार्यविधि मस्यौदा तयार पार्न उपसमिति गठन
फाइल फोटो काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकले समितिको बैठक सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधिको मस्यौदा तयार पार्न एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । सांसद राजेन्द्रकुमार केसी संयोजक तथा ऋषिकेष पोखरेल, रामकृष्ण यादव, डा अमरेशकुमार सिंह र हरि ढकाल सदस्य रहने गरी कार्यविधि मस्यौदा निर्माण उपसमिति गठन गरिएको समितिका सचिव एकराम गिरीले जानकारी दिए । कार्यविधिको मस्यौदा तयार पारेर समितिको अर्को बैठकमा पेस गर्न भनिएको छ । समितिको बुधबारको बैठकमा बैठक सञ्चालन कार्यविधि तयार पार्ने, समिति सभापति चयन गर्ने र समितिमा विचाराधीन तथा फर्छ्र्योट हुन बाँकी रहेका उजुरीका विषयमा छलफल भएको थियो । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएका बेरुजु फर्छ्र्योट, आर्थिक सुशासन, सरकारी कोषको प्रभावकारी र मितव्ययी खर्च भए/नभएको जाँच पड्ताललगायतका महत्त्वपूर्ण क्षेत्राधिकार पाएको लेखा समितिको सभापति चयनमा ढिलाइ गर्न नहुने धारणा समिति सदस्यहरूले राखेका थिए । ज्येष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गरेका सांसद अर्जुन नरसिंह केसीले सार्वजनिक लेखा समितिका काम कारबाहीमा कुनै आग्रह पूर्वाग्रह तथा पक्ष विपक्ष नहुने बताउनुभयो । त्यस्तै, समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रूपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने उनले बताए । समितिको बुधबारको बैठकमा २०७६ साल वैशाख ३ गतेयता दर्ता भएका एक सय २१ उजुरीमाथिको छलफल तथा छानबिन टुङ्गाउने विषयमा पनि छलफल भएको छ । समिति सचिव गिरीका अनुसार हालसम्म एक सय २१ उजुरी समितिमा दर्ता भएर विचाराधीन अवस्थामा रहेका छन् । त्यस्तै, नयाँ संसद् आएपछि गठन भएको लेखासमितिमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ । समितिका सदस्यहरू राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बाँस्कोटा, रामकृष्ण यादव, योगेश भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्त्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखे । रासस