विकासन्युज

बलेवा विमानस्थल : जहाज चढ्न कहिले पाइने टुङ्गो छैन

बागलुङ । बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो । धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन । विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो । विसं २०४८ मा बागलुङ–पोखरा–राजमार्ग निर्माण भएर गाडी चल्न थालेपछि विमानस्थल बन्द भयो । छब्बीस वर्षदेखि बन्द भएको विमानस्थल बागलुङ नगरपालिकाले २०७४ चैत ९ गतेदेखि  पुनः सञ्चालनमा ल्यायो । त्यसबेला नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना नियमित उडान भरे । धावनमार्ग कच्ची हुँदा विमान उडाउन समस्या आएपछि उडान रोकिएको थियो । लामो समयदेखि बन्द रहेको बलेवा विमानस्थल सञ्चालनका लागि धावनमार्ग कालोपत्र गरेपछि स्थानीयमा नियमित विमान सञ्चालन हुने आश पलाएको थियो । तर अहिलेसम्म सञ्चालनका लागि कुनै पहल नहुँदा उनीहरु निराश छन् । विसं २०७८ चैतमा विमानस्थलको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिएको थियो । धावनमार्ग कालोपत्रसँगै पेन्टिङ र छेउछाउ तारबारसमेत गरिएको छ । धावनमार्ग नागरिक उड्डयन प्राधिकरणको रु सात करोड लागतमा काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी बल्खुले कालोपत्र गरेको थियो । लामो समयसम्म पनि विमानस्थलमा जहाज नआउँदा प्रयोग नभई जीर्ण बन्ने जोखिम छ । राज्यले चासो नदिँदा करोडौँ रुपैयाँका पूर्वाधार प्रयोगविहीन बनेका स्थानीय कुमार पौडेलले बताए । पछिल्लो समय बलेवा क्षेत्रबाट बसाइँसराइ तीव्ररूपमा भइरहेकाले विमानस्थल सञ्चालनमा आए त्यो क्रम रोकिने पौडेलको भनाइ छ । उनी भन्छन्, ‘विमानस्थल सञ्चालन गर्नकै लागि राज्यले यति ठूलो रकम खर्चेको छ, तर जहाड उडानको कुनै टुङ्गो छैन ।’ बलेवा बजारका रूपमा विकास भएको छ । पर्यटकीय हिसाबले उत्तिकै फड्को मार्दैछ, तर जहाज नचल्दा यहाँका स्रोतसाधान गुमानाम छन्, यस क्षेत्रका स्रोत र साधानको प्रयोग गरी आर्थिक उपार्जन, पर्यटन विकास र अन्य सुविधाका लागि विमानस्थल सञ्चालन गर्न जरुरी छ । बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले धवनमार्ग बनेको यतिका समयसम्म विमान सञ्चालन नहुनु दुःखद् भएको बताए । विमानस्थल सञ्चालनका लागि मन्त्री, सांसदहरूसँग पटक–पटक माग गरे पनि सुनुवाइ नभएको गुनासो गरे । यहाँदखि नियमित विमान सञ्चालनमा आए बलेवावासीको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका बन्दै रोजगारका अवसर सिर्जना हुने र धार्मिक पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । ‘पहिले यहाँका स्थानीयले खनेरै यति ठूलो विमानस्थल बनाए, उतिबेला अहिलेको जस्तो मेसिन आएका थिएनन् तर पनि विमान चलेको थियो, अहिले मेसिन आए काम पनि भयो तर विमान आएन’, अध्यक्ष खत्रीले भने । विमानस्थलबाट २०४८ सालसम्म काठमाडौँ, पोखरा, भैरहवा र जोमसोमका लागि जहाजले उडान भर्ने गरेको थियो । बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का सातामा एकपटक भए पनि उडानको योजना रहेको बताउछन् । कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारबाट १२ किलोमिटर सडक कच्ची छ । कालीगण्डकी करिडोर कालोपत्र हुन सकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने उनको भनाइ छ । विमानस्थल सञ्चालनमा आए बागलुङ, पर्वत र म्याग्दीका नागरिकलाई यातायातमा सहज पहुँच हुनुका साथै यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।  रासस

बजेटमा सुदूरपश्चिम : स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि सुक्खा बन्दरगाहसम्म

कञ्चनपुर । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमका महत्वपूर्ण आयोजना तथा कार्यक्रम समेटिएका छन् । कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने सरकारले बजेटमार्फत उक्त विषयलाई सम्बोधन गरेको छ । एकीकृत जाँचचौकी, सुक्खा बन्दरगाह, कन्टेर यार्ड निर्माण, प्रयोगशाला स्तरोन्नतिलगायत व्यापार पूर्वाधार निर्माण र सञ्चालन गर्न आवश्यक बजेट विनियोजन भएको हो । डेढ दशकअघि प्रस्ताव भएको दोधारा चादँनी सुक्खा बन्दरगाहको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा समेत सुक्खा बन्दरगाह निर्माणका लागि भारतीय पक्षसित सम्झौता (एमओयु) मा हस्ताक्षर गर्ने एजेण्डा छ । सुक्खा बन्दरगाह निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) हालै सरकारले स्वीकृत गरिसकेको छ । सुक्खा बन्दरगाह र महाकाली नदीमा पक्की पुल बनेपछि सीमा जोडिएको भारतीय क्षेत्रमा समेत अन्तरदेशीय आर्थिक क्षेत्र निर्माणका लागि पहल सुरु भएको छ । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विस्तार गर्ने उद्देश्यका साथ अघि बढेको महाकाली करिडोरलाई समेत सरकारले बजेटमार्फत सम्बोधन गरेको छ । बजेटमा महाकाली करिडोरको बह्मदेव–झुलाघाट–दार्चुला र दार्चुला–तिङ्कर सडक खण्डको स्तरोन्नतिका लागि रु ४५ करोड विनियोजन गरिएको छ । करिडोरअन्र्तगत हाल कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा सडक निर्माण अघि बढेको छ । केही समय रुख कटानलगायत प्रक्रियागत उल्झनमा ढिलाइ भएको उक्त आयोजना निर्माणको गाँठो सरकारले खोलिसकेको छ । त्यसै गरी सेती राजमार्गको टीकापुर–लोडे–चैनपुर र चैनपुर–तक्लाकोट खण्ड निर्माण गर्न रु ३० करोड विनियोजन गरिएको छ भने कैलालीको खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ सडकलाई प्राथमिकताका साथ अघि बढाउन रु २५ करोड बजेटको व्यवस्था गरिएको छ । लामो समयदेखि अलपत्रजस्तै रहेको कञ्चनपुरको दैजी–जोगबुढा–डडेल्धुरा सडक स्तरोन्नतिका लागि ३० करोड रुपैयाँ रकम छुट्याएको छ । तर विगतमा यहाँ निर्माण कम्पनीको लापरबाहीले काममा ढिलासुस्ती हुँदै आएको छ । सरकारले प्रस्तुत गरेको १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेटमा सुदूरपश्चिमको पर्यटन, जलविद्युत् र जडीबुटीलाई प्राथमिकतामा नराखिएको गुनासो छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले औद्योगिक क्षेत्रको स्थापनाका साथै यहाँका आर्थिक गतिविधिलाई बढावा दिने खालका योजना बजेटमा नसमेटिएको गुनासो गरे । ‘यसअघि नै केही वर्षअघि प्रधानमन्त्रीस्तरबाट शिलान्यास भएको दैजी–छेला औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरिएको पाइएन’, वरिष्ठ उपाध्यक्ष मल्लले भने, ‘यहाँका पर्यटन, ठूला जलविद्युत् र जडीबुटीको विषयले सधैँ चर्चा पाउने तर निर्माण अघि बढाउनका लागि बजेट विनियोजन नगरिनु दुःखद् कुरा हो ।’ पञ्चेश्वर र सेती जलविद्युत् परियोजना चर्चामै सीमित रहनु सुदूरपश्चिमका लागि नोक्सानको विषय भएको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका सम्भाव्य स्थानीय तहमा गुणस्तरीय बिरूवा उत्पादन र पकेट क्षेत्र विकास गर्न बजेट छुट्याएको भए पनि विगतमा पनि बजेट कार्यान्वयनको अवस्था फितलो थियो । त्यसैगरी कैलालीको गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइने भनिएको छ । गेटा अस्पताललाई एक सय शैंयाको अस्पतालका रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट विनियोजन भएको छ भने डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न समेत बजेट विनियोजन गरिएको छ । त्यसैगरी कञ्चनपुर र कैलालीको केही भू–भागमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित अघि बढिरहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणलाई गति दिइने भएको छ । उक्त सिँचाइ आयोजनाको कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको दुई हजार नौ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउन शाखा नहर निर्माणकार्य अगाडि बढाउने बजेटमा उल्लेख छ । सिँचाइ आयोजना तेस्रो चरणका लागि सरकारले आगामी वर्षका लागि रु एक अर्ब १७ करोड बजेटको व्यवस्था गरेको छ । महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमबाट राष्ट्रिय गौरवको आयोजनामा समेत समेटिएको छ । त्यसैगरी खेलकुदतर्फ बैतडीको दशरथ चन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माण कार्य अघि बढाउन बजेटको व्यवस्था गरिएको छ । यता सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महेन्द्रनगरमा निर्माण गर्ने भनेको बहुउद्देश्यीय कभर्डहल शिलान्यासको अझै सुरसार देखिएको छैन । त्यसैगरी यहाँको धार्मिक पर्यटनको क्षेत्र बडिमालिका, घटालथान, खप्तड र मणिका मन्दिरको संरक्षण तथा पूर्वाधार विकास एवं सौन्दर्यीकरण गर्ने विषय बजेटमा समेटिएको छ । यहाँका वरिष्ठ समाजसेवी लीलाध्वज बस्नेतले सुदूरपश्चिमका ठूला परियोजनादेखि जनजीविकाका सवाल अगाडि बढाउन जनप्रतिनिधिदेखि नेता एकजुट हुनुपर्नेमा जोड दिए । ‘जहिल्यै सुदूरपश्चिम पिछिएको भनेर गीत गाएर मात्रै भएन’, उनले भने, ‘सुदूरपश्चिमलाई जहिल्यै पनि बजेटमा पछाडि पारिनु राम्रो विषय होइन ।’ त्यसैगरी सुदूरपश्चिमका पर्यटन व्यवसायी अमरबहादुर शाहीले यहाँका मुख्य पर्यटकीय गन्तव्य खप्तड, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, अपि र साइपालको टे«किङको विषय बजेटमा उच्च प्राथमिकतामा आउनुपर्ने बताए । ‘बजेटमा पर्यटकीय गन्तव्य अटाएर मात्रै विकास र पर्यटकको ओइरो लाग्दैन’, उनले भने, ‘बजेट नतिजामुखी भए मात्रै त्यसले सार्थकता पाउँछ ।’ सुदूरपश्चिमका मुख्य पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमै जोड दिनुपर्ने शाहीको भनाइ छ । ‘अन्तर्राष्ट्रियस्तरमा पर्यटकीय क्षेत्रको बजारीकरण पनि त्यत्तिकै आवश्यक हुन्छ’, उनले भने, ‘तर त्यसका लागि सबै सरोकारवाल निकाय जाग्नुपर्छ ।’ रासस

खोटाङमा ६ पटक म्याद थप्दा पनि स्वास्थ्यचौकी अधुरै

खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ । वि.सं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो । यसबीचमा निर्माणका लागि छ पटक म्याद थपिएको छ । दुई करोड १६ लाखको लागतमा भवन निर्माणको सम्झौता गरिएको थियो । भवन निर्माण गर्न २०७५ वैशाख, २०७५ माघ, २०७७ असार, २०७७ पुस, २०७८ चैत र २०७९ पुसमा म्याद थपिएको वडाध्यक्ष जीवन न्यौपानेले जानकारी दिए । ‘पछिल्लो पटक म्याद नथपिएपछि भवन निर्माणको टुङ्गो लागेको छैन’, उनले भने । हालसम्मको काम पनि गुणस्तरिय नभएको उनको आरोप छ । ‘भवनको भित्री भागको धेरै काम बाँकी नै छ । झ्यालको सिसा, भित्री भागको रङरोगन, शौचालय तथा स्नानगृहमा धारा, टायल बिछ्याउनेलगायत काम बाँकी छ’, न्यौपानेले भने । निर्माणाधीन अवस्थामै रहेको स्वास्थ्यचौकी भवनको सिलिङबाट पानी चुहिने गरेको छ । गुणस्तरहीन कामका बारेमा निर्माण कम्पनीलाई जानकारी गराइएको छ । निर्माण कम्पनीको लापरवाहीले निर्माणाधीन स्वास्थ्यचौकी भवनको काम बेलामा नसक्दा उपचार सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्यचौकीबाट दिइने सेवा पुरानो गाविस भवनमा र बर्थिङ सेन्टरको सेवा स्थानीय महिला सशक्तीकरण समूहको भवनबाट सञ्चालित छ । ठेक्का लिने निर्माण कम्पनीले सुजन भट्टलाई पेटी ठेक्का दिएको, भट्टले पनि स्थानीय सन्तोष राईलाई काम लगाएको र उनीहरूबीच लेनदेनको विषय नमिलेकाले यो समस्या आएको स्थानीयको भनाइ छ । ठेकेदारबीचको किचलोका कारण निर्माण कम्पनीले कामदारको पैसासमेत नदिएकाले निर्माण ठप्प बनेको हो । ठेकेदार कम्पनीले तोकिएको समयमा भवनको काम सम्पन्न नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाइएको सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख डा. युवराज पौडेलले बताए । रासस

झापामा गर्मी बढेपछि विद्यालय बन्द

झापा । झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् । दुवै गाउँपालिकाले यसबारे सूचना जारी गरेका छन् । कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवद्वारा जारी सूचनामा उल्लेख छ । आजदेखि सो गाउँपालिकाका सबै सामुदायिक विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । यसैगरी मेचीनगर नगरपालिकाले पनि गर्मीकै कारण दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले जानकारी दिए । झापामा बुधबारको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।

ग्लोबलले बि.ओ.के. क्यापिटललाई गाभ्ने, बोलाए विशेष साधारण सभा

काठमाडौं । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई गाभ्ने भएको छ । माउ संस्था (ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू)एक आपसमा मर्ज भएपछि ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के.क्यापिटललाई गाभ्ने भएको हो । ग्लोलब आइएमई क्यापिटलले बि.ओ.के. क्यापिटललाई सेयर स्वाप अनुपात १००ः५३.१७ रेसियोमा प्राप्ति गर्नेछ । अर्थात् ग्लोबल आइएमई क्यापिटलको ५३ कित्ता सेयर बराबर बि.ओ.के. क्यापिटलको १०० कित्ता हुनेछ । दुवै कम्पनीबीच एकआपसमा मर्ज हुने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमई क्यापिटलको जेठ १४ गते र बि.ओ.के. क्यापिटलको जेठ १२ गते बसेको सञ्चालक समितीको बैठकले असार ३ गते विशेष साधारण सभा बोलाएका हुन् । विशेष सभाले दुवै क्यापिटल एक आपसमा मर्जरमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । बि.ओ.के.क्यापिटललाई प्राप्ति पश्चात् अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

छत्रपाटी चिकित्सालयमा काठमाडौंका वृद्धवृद्धाहरुले अप्रेसन सहितको उपचार निःशुल्क पाउने

काठमाडौं । काठमाडौं स्थित छत्रपाटी निःशुल्क चिकित्सालयमा काठमाडौं महानगरभित्र वृद्ध भत्ता बुझ्ने सबै वृद्धवृद्धाहरुले निःशुल्क उपचार पाउने भएका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का अनुसार महानगर र चिकित्सालयबीचमा भएको सम्झौताअनुसार परिचयपत्रको आधारमा सम्पूर्ण सेवा निःशुल्क प्राप्त गर्ने भएका हुन् । प्रमख शाहका अनुसार चिकित्सालयमा वृद्धवृद्धाहरुले विभिन्न प्रकारका अप्रेसन सहित २९ प्रकारका सेवा निःशुल्क प्राप्त गर्न सक्छन् । निःशुल्क प्राप्त गर्न सकिने सेवाहरु निम्न रहेका छन् । २४ सै घण्टा आकस्मिक सेवा ल्याप्रोस्कोपीक शल्यक्रिया सर्जरी फिजिसियन / इन्टरनल मेडिसिन नाक, कान, घाँटी रोग स्त्री रोग पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी) चर्म तथा यौन रोग बाल रोग अल्ट्रासाउण्ड टि.एम.टी/हल्टर अडियोग्राम टिम्पानो मिटर इको मनोचिकित्सा २४ सै घण्टा प्याथोलोजी, डिजिटल एक्सरे, पिसाब नलीको पत्थर चिरफार नगरीकन शल्यक्रिया आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया हाड, जोर्नी र नशा रोग जनरल हेल्थ चेकअप ईण्डोस्कोपी र कोलोन्स्कोपी दन्त रोग मुटु रोग ड्रेसिङ्ग ई. सी. जी. स्त्री रोग शल्यक्रिया र हार्डजोर्नी शल्यक्रिया ।

हिमालयन बैंकले धितोमा रहेको कार बेच्दै

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन पुनः लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको चाहबिल शाखा कार्यालयबाट ऋणी एम.एस.ब्रदर्श इन्टरप्राइजेज प्रालिका सञ्चालक मनिराज अर्याल र सन्जिव दिवालीलाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंक धनी भएको ऋणी एम.एस.ब्रदर्श इन्टरप्राइजेज प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१–०२५ च ५५७८ नम्बरको टाटा नेक्सन एक्सजेठप्लस नीजि कार बिक्रीमा राखिएको हो । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

पैसाको जोहो गर्नुहोला ! कुथेली बुखरी स्मल हाइड्रोले शुक्रबारदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले भोलि (जेठ १९ गते, शुक्रबार)देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १० प्रतिशत स्थानिय बासिन्दा र सर्वसाधारण लगानीकर्तालाई छुट्याइएको सेयर १० वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्ने भएको हो । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख २१ हजार ८६८ कित्ता सेयर दोलखाको कालिञ्चोक गाउँपालिका ९ ९साविकको सुद्रावती गाविसका सम्पूर्ण वडा० र भिमेश्वर नगरपालिका १ का ९साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा० स्थानिय बासिन्दालाई बिक्री गर्नेछ । यस्तै, सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १२ लाख १८ हजार ६ सय रुपैयाँ प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ हजार १८६ कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छटोमा असार १ गतेसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ढिलोमा असार १७ गतेसम्म समय दिइएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानिय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइन मार्फत् आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।