विकासन्युज

२० हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  सम्झौताअनुसार महानगरले अस्पताललाई ३० लाख रुपैयाँ प्रदान गर्नेछ । विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रदान गर्नुपर्नेछ ।     

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो ।  गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३ पर्यटक आएका थिएभने यो वर्ष एक लाख ६८ हजार ६९५ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार फागुन मसान्तसम्ममा निकुञ्जमा एक लाख चार हजार ९६ जना नेपाली पर्यटक आएका थिए । यो सङ्ख्या गत वर्ष ८१ हजार २४६ रहेको थियो । यस्तै सार्क मुलुकका नौ हजार ५४४ जना, अन्य देशका ५५ हजार ५५ जनाले यस वर्ष निकुञ्ज भ्रमण गरेको उनले जानकारी दिए । गत वर्ष यो सङ्ख्या क्रमशः १४ हजार २०७ र ६० हजार ८३० रहेको थियो । निकुञ्जमा एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती, चित्तल, घडीयाल गोहीलगायतका वन्यजन्तु र चराचुरुङ्गी हेर्न पर्यटकहरु आउने गर्दछन् । निकुञ्जले चालु आवमा १७ करोड ५७ लाख ५६ हजार ३२५ रुपैयाँ राजस्व संकलन गरेको छ ।  काठ दाउरा बिक्रीबापत ७१ हजार ३५० रुपैयाँ, गैरकाठ वन पैदावर बिक्रीबापत ७० लाख ६८ हजार ७६६ रुपैयाँ, पर्यापर्यटनबाट १६ करोड ६३ लाख २४ हजार १०० रुपैयाँ, दण्ड सजायबाट सात लाख ५९ हजार ७०४ रुपैयाँ र अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ रकम राजस्व संकलन भएको उनले जानकारी दिए ।

ट्रम्पले भने - इरानमा सेना पठाउने छैन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानमा सेना नपठाउने बताएका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्ध चर्किँदै गएको बेला उनले यस्तो टिप्पणी गरेका हुन् । ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले यो कुरा बताए । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा आक्रमण शुरु गरेका  थिए । जसले विश्वव्यापी ढुवानीमा बाधा पुर्याएको छ, तेलको मूल्य बढाएको छ र विश्व अर्थतन्त्रलाई हल्लाएको छ ।    

घानामा ‘ट्री–फर–लाइफ’ कार्यक्रम शुरु

काठमाडौं । घानाका भूमि तथा प्राकृतिक स्रोत मन्त्री इमानुएल आर्मा–कोफी बुआकाअनुसार देशले बिग्रिएको जमिन पुनरुत्थान गरेर दिगो अर्थतन्त्रमा संक्रमण गर्न वृक्षारोपणको उपयोग गरिरहेको छ ।  बुआले २०२६ ‘ट्री–फर–लाइफ’ वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरिएको बताएका हुन् । २०२६ को कार्यक्रमले अघिल्लो वर्ष जस्तै कम्तिमा ३ करोड बिरुवा रोप्ने लक्ष्य राखेको छ । जबकि पहिले रोपिएका बिरुवाहरूलाई हुर्काउने र संरक्षण गर्ने प्रयासहरू जारी राखिनेछ ।   

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी । धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।     सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल तीन करोड १५ लाख रुपैयाँको लागतमा बनेका हुन् । पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र र खोला किनारमा  तटबन्ध पनि गरिएको छ । निर्माण कम्पनीले दुवै पुल धनगढी–खुटिया–विपीनगर–दीपायल सडक आयोजना कार्यालयलाई गत साता हस्तान्तरण गरेको इन्जिनियर देवकोटाले जानकारी दिए ।  

गाजर किलोको ३० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो प्रतिकिलो रु २२, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६५, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, बोडी (तने) प्रतिकिलो रु १७०, मटरकोसा प्रतिकिलो रु ४५, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु ५०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु १४०, घिरौँला प्रतिकिलो रु ७५, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ४० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकेजी रु ११०, चमसुर प्रतिकिलो रु ११०, तोरीसाग प्रतिकिलो रु ४५, मेथी प्रतिकिलो रु ११०, हरियो प्याज प्रतिकिलो रु ७०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु ७५, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, निगुरो प्रतिकिलो रु ८०, ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ६५, सजीवन प्रतिकेजी रु १६०, कोइरालो प्रतिकिलो रु २६०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु २००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १२०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३२० र रूखटमाटर प्रतिकेजी रु ३०० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २१०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २२०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, रुखकटहर प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १४०, अदुवा प्रतिकिलो रु ११०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी (हरियो) प्रतिकिलो रु १३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी (माछे) प्रतिकिलो रु ८०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८००, भेडे खुर्सानी प्रतिकिलो रु १४०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ७०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।  

श्रीलङ्कन एयरलाइन्सको साढे १७ करोड डलरको ऋणपत्र नवीकरण

काठमाडौं । ऋणमा डुबेको राष्ट्रिय ध्वजावाहक (श्रीलङ्कन एयरलाइन्स) ले उसका ऋणदाताहरूले १७ करोड ५० लाख डलरको ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका बिहीबार घोषणा गरेको छ । ऋणदाताहरूले ऋणपत्रमा मूल्यमा १६ प्रतिशत कटौती स्वीकार गर्न सहमत भएका छन्, जसले देशको ऋणपत्र पुनर्संरचनालाई पूरा गरेको छ। देशले आफ्नो ४६ अर्ब डलर बाह्य ऋण तिर्न नसकेपछि राज्यको स्वामित्वमा रहेको ‘श्रीलंकन एयरलाइन्स’ले पनि आफ्नो १७ करोड ५० लाख डलरको सन् २०२४ मा परिपक्व हुने ऋणपत्र तिर्न सकेको थिएन । सरकार र श्रलिङ्कन एअरलाइन्सले एक संयुक्त विज्ञप्ति जारी गरी भनेका छन्, ‘बाँकी रकमको ९७ प्रतिशत प्रतिनिधित्व गर्ने ऋणपत्रधारकहरूले १६ प्रतिशत ऋणपत्र मूल्यमा कटौती स्वीकार गर्न सहमत भएका छन् ।’ पत्रमा अन्तर्राष्ट्रिय ऋणपत्रधारकहरूलाई या त तत्काल नगद भुक्तानी प्रस्ताव गरिएको छ वा चार प्रतिशत कुपन भएको नयाँ ऋणपत्र प्रस्ताव गरिएको छ र यो सन् २०२८ मा परिपक्व हुनेछ। सहमतिपछि एयरलाइन्सका अध्यक्ष सरथ गानेगोडाले भने, ‘सम्झौता पूरा हुनु एक महत्वपूर्ण कदम हो, जसले हामीलाई नयाँ आशावादका साथ कम्पनीको भविष्यमा ध्यान केन्द्रित गर्न अनुमति दिन्छ ।’ श्रीलङ्काले गत वर्षको सुरुमा निजी र आधिकारिक ऋणदाताहरूसँग आफ्नो ऋण पुनर्संरचना पूरा गरिसकेको थियो किनकि देश सन् २०२२ मा सबैभन्दा खराब आर्थिक मन्दीबाट बाहिर आएको थियो।   अत्यावश्यक खाद्यान्न, इन्धन र औषधिका लागि समेत विदेशी मुद्राको अभाव भएपछि उसले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट २.९ अर्ब डलरको बेलआउट ऋण प्राप्त गरेको थियो ।   अभावलाई लिएर महिनौँसम्म सडक प्रदर्शनका कारण कुव्यवस्थापन र भ्रष्टाचारको आरोप खेपिरहेका तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे अपदस्थ भएका थिए । आईएमएफले सरकारले श्रीलङ्काली एयरलाइन्सलाई राष्ट्रिय ‘ब्यालेन्स शीट’मा बोझ नपरोस् भन्ने कुरा सुनिश्चित गर्न आवश्यक थियो, तर यसलाई बेच्ने प्रयासहरू अहिलेसम्म खरीददारलाई आकर्षित गर्न असफल भएका छन् ।   गत वर्षको मार्चको अन्त्यसम्ममा करिब ५९६ अर्ब रुपैयाँ (१.९ अर्ब अमेरिकी डलर) घाटामा रहेको उक्त ध्वजाबाहक कम्पनीको ठूलो ऋण रहेको छ ।

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च, ७.८१ अर्ब माग गरेकोमा ६.७६ अर्बको स्रोत सहमति

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च रुपैयाँ भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र प्रतिवेदनसहितको निर्वाचन परिणाम राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेपछि बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको जानकारी दिए ।  निर्वाचन सामग्री खरिदमा सरकारको स्वामित्वमा रहेका सङ्गठित संस्थासँग सम्झौता गरी खरिद गरिएको पनि उनको भनाइ छ । ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय बाटै खरिद गरिएको थियो । १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको थियो ।  निर्वाचन प्रयोजनका लागि आयोगबाट ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरिएकोमध्ये अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको थियो । प्राप्त रकममध्ये हालसम्म ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी आयोगले गराएको छ । निर्वाचनमा स्वदेशी र विदेशी पर्यवेक्षकले पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएकामा अन्तरराष्ट्रिय पर्यवेक्षणतर्फ २२ वटा कूटनीतिक निकायका १६४ जना प्रतिनिधि र तीन वटा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूले पर्यवेक्षण गरेका थिए । राष्ट्रियतर्फ ३५ वटा गैरसरकारी संस्थाले पर्यवेक्षण गरेका थिए ।