काठमाडौं । मलेसियामा रहेका नेपाली कामदार तथा पर्यटक भिसामा पुगेका नेपालीले राहदानी साथमा राख्नुपर्ने भएको छ ।
मलेसियास्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत सम्पूर्ण नेपाली नागरिकहरूलाई आफ्नो राहदानी (पासपोर्ट) आफैसँग राख्न आग्रह गरेको हो ।
मलेसियाको प्रचलित कानुन र नियमहरूको पालना गर्दै यात्रा गर्दा वा बस्दा आइ पर्ने कानुनी झन्झटबाट बच्न दूतावासले यस्तो अनुरोध गरेको हो ।
दूतावासले सूचना जारी गर्दै नेपाली श्रमिकहरूलाई रोजगारी प्रदान गर्ने सबै रोजगारदाताहरूलाई समेत आफ्ना श्रमिकको राहदानी उनीहरूकै साथमा रहने व्यवस्था मिलाउन र त्यसको सुनिश्चितता गर्न आग्रह गरेको छ ।
नेपाली राजदूतावासले मलेसियाका रोजगारदाताहरूलाई कानूनले अनुमति दिएको अवस्था र सम्बन्धित श्रमिकको स्पष्ट सहमति भएको अवस्थामा बाहेक श्रमिकको राहदानी आफ्नो नियन्त्रणमा नराख्न सचेत गराएको छ।
श्रमिकको परिचयपत्र र कानुनी दस्तावेजका रूपमा रहेको राहदानी रोजगारदाताले जफत गर्नु मलेसियाको कानुनविपरीत हुने समेत दूतावासले स्पष्ट पारेको छ ।
यदि कुनै नेपाली नागरिकको राहदानी निजको सहमतिबिना रोजगारदाता वा अन्य कुनै पक्षले आफ्नो नियन्त्रणमा राखेको खण्डमा तुरुन्त राजदूतावासमा उजुरी गर्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।