विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार (आज) बिहान बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको हो । त्यसैगरी, सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ र १९४७ को नम्बर ८१ अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
चौथो वरीयतामा रहेकालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सर्वोच्चमा रिट पेस गरेका छन् । संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको भन्दै त्रिपाठीले रिट पेस गरेका हुन् । यसरी सिफारिस गर्दो यसले न्यायिक स्वतन्त्रतामा गम्भीर हस्तक्षेप हुने जिकिर उनले रिटमा गरेका छन् । अहिले उक्त रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतको प्रशासनले जनाएको छ । संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै अहिले सरकारको आलोचना भइरहेको छ ।
वैदेशिक रोजगारीमा जानेले ‘श्रम स्वीकृति’ साथमा नलगे अध्यागमनले फर्काउने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले साथमा श्रम स्वीकृत नलगे अध्यागमन विभागले फर्काउने भएको छ । वैदेशिक रोजगारीमा जानेले अनुमति पत्रको आवेदन दिएको भन्दै सेवाग्राहीहरू अध्यागमन पुग्ने गरेका छन् । त्यसैले विभागले श्रम स्वीकृति नलगे फर्काउने भएको हो । श्रम स्वीकृति भइसकेको छ भन्दै श्रम स्वीकृतिका लागि अन्य व्यक्तिमार्फत निवेदन मात्र दिएको भन्दै अध्यागनले यस्तो कदम चालेको हो । श्रमिक भिसामा विदेश जाने नेपालीले वैदेशिक रोजगार विभागको श्रम स्वीकृति साथमा लिएर विमानस्थलको अध्यागमनले जानसमेत विभागले अनुरोध गरेको छ । श्रम स्वीकृतिको आवेदन दिएकालाई प्रस्थानको अनुमति नदिने अध्यागमन कार्यालयले जनाएको छ ।
लालीबजार महिलाले छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो : अभिनेत्री खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय चरित्र बाच्ने अभिनेत्रीको रुपमा परिचित छिन् । ‘होस्टेल रिटन्स’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री खड्कालाई चर्चित गीत ‘कुटुमा कुटु’ ले आम दर्शकमाझ परिचित गरायो । उनलाई ‘कुटुमा कुटु गर्ल’ भनेर उपनाम समेत दिइयो । सुन्दरीका रूपमा मात्र नभई गम्भीर र चरित्रप्रधान भूमिकामा पनि स्थापित गर्न सफल अभिनेत्री खड्कालाई ‘बुलबुल’ को ट्याम्पो चालक र ‘चिसो मान्छे’ मा सुदूरपश्चिमको लवजसहितको सशक्त भूमिकाले मात्र बाच्ने अभिनेत्रीको रुपमा स्थापित गर्यो । यिनै अभिनेत्री खड्काले अभिनय गरेको चलचित्र ‘लालीबजार’ पछिल्लो समय चर्चामा छ । आजदेखि प्रदर्शन हुने उक्त चलचित्रमा अभिनेत्री खड्काले आमाको भूमिका निर्वाह गरेकी छन् । हिजो साँझ कलाकार, चलचित्र निर्माता र सञ्चारकर्मीहरुको उपस्थितिमा राजधानीमा यस चलचित्रको प्रिमियम–शो भएको थियो । उक्त चलचित्रमा अभिनेत्री खड्काले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छन् । उक्त चलचित्रको सार्वजनिक पहिलो पोस्टरमै अभिनेत्री खड्काको चर्चा भएको थियो । गर्भवती महिला ढोकामा शृङ्गार गरेर उभिरहेको पोस्टरमार्फत अभिनेत्री खड्काले चर्चा बटुलेकी थिइन् । प्रस्तुत छ, उनै अभिनेत्री खड्कासँग उनको कला यात्राका बारेमा गरेको कुराकानीको सम्पादित अंश : अभिनयप्रतिको लगाव कसरी भयो ? सायद टेलिभिजन हुनसक्छ । म सानी छँदा टेलिभिजनमा धेरै शृङ्खला आउथ्यो, हामी सबै परिवार बसेर टिभी हेथ्र्यों । त्यतिबेलादेखि हामी टेलिभिजनमा देखिएजस्तै अभिनय गर्ने गथ्र्यौं । त्यसैले मलाई कलाकारितामा आकर्षित गरेको हुनसक्छ । चलचित्रमार्फत अभिनय यात्रा कसरी सुरुआत भयो ? म अध्ययन नै गरिरहेकी थिएँ । सोही क्रममा म सौन्दर्य प्रतियोगिता ‘मिस टिन’ मा सहभागी भएँ । त्यसपछि म ‘मोडलिङ’ गर्दै थिएँ, केही ‘म्युजिक भिडिओ’ मा समेत अभिनय गरेँ । तर, त्यो विस्तारै भइरहेको थियो । सोही क्रममा निर्माता सुनिल रावलले मलाई चलचित्रमा अभिनय गर्न प्रस्ताव गर्नुभयो । मैले अभिनय गर्ने मनसाय बनाएको थिइन्, तर एक पटक भेटेर कुरा गर्ने भन्ने भयो । भेटघाटका क्रममा चलचित्रको कार्यशाला भइरहेको थियो । त्यो माहोलले मलाई चलचित्रमा अभिनय गर्न प्रेरित गर्यो तर त्यो अर्कै चलचित्रको लागि थियो, पछि मेरो सहकार्य सोही समूहसँग ‘होस्टल रिटन्स’मार्फत भयो । ‘कुटुमा कुटु’ गीतमा कसरी नृत्य गर्ने अवसर जुर्यो ? मैले विस्तारै अभिनय यात्रा प्रारम्भ गरेकी थिएँ । मेरो विवाह निर्देशक निश्चल बस्नेतसँग भइसकेको थियो । ‘कुटुमा कुटु’ गीत रहेको चलचित्र ‘दुई रुपैयाँ’ मा मेरो श्रीमान् निश्चल पनि निर्माण र अभिनयमा सहभागी हुनुहुन्थ्यो । उक्त समयमा एउटा गीतमा अतिथि भूमिका गर्नुपर्ने भएकाले मलाई नै प्रस्ताव गरिएको थियो । त्यो समयमा विस्तारै लोक गीतसङ्गीत चलचित्रमा प्रयोग हुन् थालेको थियो । चलचित्रको दृश्य सकिएपछि हामीले इटहरीमा उक्त गीतको छायाङ्कन गरेका थियौँ । केही पारिवारिक कारणले पनि उक्त गीतको छायाङ्कनको समयमा धेरै कठिनाइ भएको थियो । तर, त्यो गीतले मलाई बृहत् रुपमा चिनाउन मद्दत गर्यो । चलचित्र ‘बुलबुल’ ले तपाइँको अभिनय क्षमतालाई प्रस्ट्यायो, त्यो चलचित्र गर्ने निर्णय कसरी लिनुभयो ? मलाई मेरो श्रीमान् बस्नेतमार्फत नै ‘बुलबुल’ को प्रस्ताव आएको थियो किनकि त्यो चलचित्रका लेखक तथा निर्देशक मेरो श्रीमान्सँग चलचित्रसम्बन्धी अध्यन गर्नुभएको थियो । मलाई त्यो पटकथा पढ्नेले तिमीलाई सुहाउँदैन होला की भन्ने गर्थे । त्यही कारण नै मैले त्यो चलचित्र गरे । त्यस अगाडि मैले गरेका कामको आधारमा मैले यो सक्छु, यो सक्दिन वा यो मात्र गर्नुपर्छ भन्ने मानसिकता बनाउनु सही होइन । त्यसलाई मैले एउटा ‘च्यालेञ्ज’ को रुपमा लिएँ । म भन्दा त्यो पात्र भिन्न थियो । त्यसकारण पनि मैले यसलाई निर्वाह गर्न मेहनत गरेँ । ‘बुलबुल’ को पात्रले तपाइँलाई के दियो ? म बिहान टेम्पो चलाउन सिकेर दिउँसो चलचित्रको कार्यशालामा सहभागी पात्रलाई तयार गरेकी हुँ । त्यो पात्रले मलाई भिन्न जीवन र जीवनशैलीसँग परिचित गरायो । त्यो मेरा लागि नयाँ अनुभूति थियो । तपाइँले अभिनय गर्नुभएको ‘चिसो मान्छे’ पनि पोस्टरकै कारण चर्चामा आएको थियो । त्यो पात्र निर्माण कसरी भएको थियो नि ? ‘बुलबुल’ चलचित्रपछि मलाई निकै चर्चामा ल्याएको पात्रलाई मैले ‘चिसो मान्छे’ चलचित्रमा निर्वाह गरेकी थिएँ । त्यो चलचित्रका लागि मैले सुदूरपश्चिममा बोल्ने भाषा नै सिकेकी थिएँ । म अहिले त्यताको भेगको मान्छे भेट्दा यो ठाउँको हुनहुन्छ भनेर म चिन्न सक्छु । त्यो पात्रले पनि मलाई भिन्न छाप छाडेको छ । यसलाई मैले मनदेखि नै ‘इञ्जोय’ गरेकी थिएँ । त्यो पात्रले मलाई केही सिकाएको छ । चलचित्र निर्मात्री बन्न के कुराले प्रेरित गर्यो ? मलाई चलचित्र बनाउँछु भन्ने लागेको थिएन् । म निर्मात्रीभन्दा पनि निर्देशनमा सोच बनाएकी थिएँ । म तत्कालै नभई भविष्यमा निर्देशन गर्छु भन्ने सोच बनाएकी थिएँ तर मलाई एउटा पटकथा आयो, त्यो केवल अभिनयको लागि थियो । त्यतिबेला त्यसको नाम ‘बेहुली फ्रम मेघौली’ थिएन तर मलाई पटकथाले तान्यो । मैले पटकथा पढेको देखेर मेरो श्रीमान्ले पनि चासो लिनुभयो । त्यसपछि हामीले नै चलचित्र निर्माणमा सघाउने प्रस्ताव राखेका थियौँ । कहिलेकाहीँ निर्देशक र पटकथा राम्रो हुँदा हुँदै पनि सही तरिकाले बजारसम्म पुग्दैन । त्यसैले हामी निर्माणमा जोडिएका हौँ । एउटा राम्रो कथालाई सही तरिकाले दर्शकसम्म पुर्याएको आभाष भएको छ । अभिनय गर्न थालेको एक दशकपछि ‘लालीबजार’ का लागि ‘अडिसन’ नै दिनुभयो, किन नि ? मैले पहिलो चलचित्रको लागि पनि ‘अडिसन’ दिएको थिइन् । कार्यशालामै कुरा भएर चलचित्रमा अभिनय गरेकी थिएँ तर मलाई कहिले पनि ‘अडिसन’ हो वा ‘लुक टेस्ट’ गर्नु हुँदैन भन्ने लागेन । किनकि जो आफ्नो काममा गम्भीर छ, उसले यस्ता जाँच गरेर नै चलचित्र निर्माण सुरु गर्छ । मलाई ‘लालीबजार’ को नामले नै आकर्षित गरेको थियो । चलचित्रको निर्माण घोषणा हुँदा म आबद्ध थिइन । यसको विषयवस्तु नौलो भएकाले नै मैले पनि ‘लुक टेस्ट’ गरेर मेरो पात्रलाई बुझ्न खोजेकी थिएँ । पहिलो सार्वजनिक पोस्टरले नै पाएको चर्चाले हामीलाई झनै गम्भीर भएर काम गर्नुपर्छ भन्ने दायित्व बोध गरायो । हामी छायाङ्कनस्थलमा पुगेर वादी समुदायका महिलालाई भेटेर, अनुसन्धान गरेर चलचित्रलाई तयार गरेका छौँ । अहिले आफूलाई चाहिने जानकारी डिजिटल माध्यममार्फत लिने प्रचलन छ, तर हामीले वादी समुदायसँग जोडिएका डिजिटल सूचना निकै कम पायौँ । हामी समुदायकै महिलासँग पुगेर बुझ्दा केही रहेका जानकारी पनि भ्रामक रहेको आभाष भयो । सम्भवतः यो चलचित्र आगामी पुस्ताका लागि एउटा ‘डिजिटल दस्ताबेज’ पनि हुनेछ । ‘लालीबजार’ कस्तो खालको चलचित्र हो ? चलचित्रमा आमा र छोरीको कथा देखाइएको छ तर आमा वादी समुदायकी महिला हुन्छिन् । यो एउटी महिलाले आफ्नो छोरीका लागि गाउँ, समाज र समुदायसँगै राज्यसँग गर्ने सङ्घर्षको कथा हो । यसले वादी समुदायमा रहेकी महिलाको बाध्यता, विवशता र सङ्घर्षलाई चित्रण गरेको छ । यो गम्भीर विषयमा बनेको छ तर यसले समुदायलाई चोट पुर्याउने नभई गर्व गर्ने कथा देखाउने छ भन्नेमा विश्वस्त छु । तपाइँको भूमिका कस्तो छ चलचित्रमा ? चलचित्रमा मेरो पात्रको नाम ‘मधुवाला’ हुन्छ । यसलाई मैले बर्दियामै रहनुभएका वादी समुदायको महिलासँग कुराकानी गरेर तयार गरेकी हुँ । साथै, हाम्रो निर्देशक यम थापा त्यहाँकै हुनुहुन्छ, जसले उक्त समुदायलाई बाल्यकालदेखि नै देख्दै र बुझ्दै आउनुभएको छ । निर्देशक थापाको बुझाइ र हाम्रो अनुसन्धानलाई मिश्रण गरेर पात्र तयार गरेका छौँ । मधुवालाले आफ्नो आफ्नो परिवारको जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष नै चलचित्रको कथा हो । अहिले दर्शकले सार्वजनिक श्रव्यदृश्य सामग्रीमार्फत गरिरहनुभएको अनुमानभन्दा चलचित्र भिन्न छ । तपाइँका लागि ‘लालीबजार’ कतिको महत्वपूर्ण छ ? मैले धेरै वर्षपछिसम्म सम्झिने चलचित्र हो, ‘लालीबजार’ किनकि यसमा मैले वादी समुदायको महिलाको भूमिका निर्वाह गरेकी छु । हाम्रो पहिलो सार्वजनिक पोस्टर नै चर्चामा आएको थियो, जहाँ एउटी गर्भवती महिला शृङ्गार गरेर ढोकामा उभिएकी थिइन् । पेटमा रहेको बच्चाका लागि उनले आफूलाई आराम दिन सकेकी छैनन् । त्यहीँबाट यो एउटी आमाको कथा हो भन्ने प्रस्ट भएको थियो । मेरो अभिनय यात्रामा ‘बुलबुल’ र ‘चिसो मान्छे’पछि मलाई चिनाउने चलचित्र ‘लालीबजार’ बन्नेमा विश्वस्त छु । मेरो चर्चा हुँदा यी तीन चलचित्रको चर्चा पनि धेरै वर्षसम्म हुनेछ । रासस
उपसभामुखसँग रिसाए हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया र त्यसमा आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रुवीकुमारीको संलग्नताप्रति आपत्ति जनाएका छन् । शुक्रबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले सरकारले संसद्लाई छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु र वरिष्ठतालाई मिचेर चौथो नम्बरका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नु ‘गलत र आपत्तिजनक’ भएको ठहर गरेका हुन् । वरिष्ठताको क्रममा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्ने सरकारको कदमलाई साम्पाङले ‘ठूलो गल्ती’ को संज्ञा दिएका छन् । सहकारी ठगी प्रकरण, भदौ २३–२४ को जेनजी आन्दोलन जस्ता विषयमा आफ्नो पक्षमा निर्णय गराउन राजनीतिक र कानुनी स्वार्थ राखेर यो नियुक्ति गरिएको विज्ञप्तिमा उल्लेख छ । श्रम संस्कृति पार्टीकै तर्फबाट उपसभामुख बनेकी वीकुमारीले वरिष्ठता मिचेर गरिएको उक्त निर्णयमा हस्ताक्षर गर्नुलाई साम्पाङले ‘खेदपूर्ण’ भनेका छन् । नियुक्ति प्रक्रियाको बैठकमा एमसीसी र एसपीपी जस्ता विवादित विषयहरू ल्याएर दबाब र प्रभाव सिर्जना गरिएको दाबी समेत गरिएको छ । साम्पाङले सुशासन र विधिको शासनको आश्वासन दिएर सत्तामा पुगेको दलले नै विधि मिचेको भन्दै यस्तो प्रवृत्तिको सदासर्वदा विरोध गर्ने पनि बताएका छन् । प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा सिफारिस भएका छन् । संवैधानिक नियुक्तिबारे छलफल गर्न बिहीबार बोलाइएको संवैधानिक परिषद्को बैठकले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको हो । प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेकाे भन्दै अहिले सरकारकाे आलाेचना भइरहेकाे छ ।
‘हान्ताभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हान्ताभाइरस प्रकोप अझ फैलिन सक्ने जोखिम रहेको चेतावनी दिएको छ, यद्यपि समयमै कडा स्वास्थ्य सावधानी अपनाइएमा यो प्रकोप सीमित स्तरमै नियन्त्रण गर्न सकिने अपेक्षा गरिएको छ । हालसम्म यस प्रकोपका कारण तीन जनाको मृत्यु भइसकेको छ भने पाँच वटा पुष्टि भएका र तीन वटा शंकास्पद सङ्क्रमणका केसहरू देखिएका छन् । सङ्क्रमित तथा शंकास्पद बिरामीहरूलाई बेलायत, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्याण्ड र दक्षिण अफ्रिकामा उपचार वा आइसोलेसनमा राखिएको छ । यो सङ्क्रमण एमभी होन्डियस नामक क्रुज जहाजसँग जोडिएको छ, जसले अर्जेन्टिनाको उसुआइआबाट यात्रा सुरु गरी क्यानरी टापुहरूतर्फ समुद्री यात्रा गरिरहेको थियो । यात्राका क्रममा केही यात्रुहरूमा अचानक गम्भीर लक्षण देखिन थालेपछि स्वास्थ्य अधिकारीहरूले जहाजमा फैलिएको संक्रमणबारे अनुसन्धान सुरु गरेका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार एक यात्रु अर्जेन्टिनामा जहाज चढ्नु अघि नै संक्रमित भएको हुन सक्ने र पछि जहाजमा अन्य यात्रुहरूमा संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससका अनुसार हान्ताभाइरसको इन्क्युबेशन अवधि छ हप्तासम्म हुन सक्ने भएकाले आगामी दिन वा हप्ताहरूमा थप सङ्क्रमणका केसहरू देखिन सक्ने सम्भावना रहन्छ । उनले यस रोगको विकासक्रमलाई नजिकबाट निगरानी गरिँदैछ र अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको बताए । डब्ल्यूएचओका आपतकालीन प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले यदि सबै देशहरूले समयमै परीक्षण, सङ्क्रमित व्यक्तिहरूको पहिचान, सम्पर्क ट्रेसिङ र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरू प्रभावकारी रूपमा लागू गरे भने यो प्रकोप ठूलो स्तरमा फैलिन नदिई नियन्त्रण गर्न सकिने बताए । उनका अनुसार अहिलेको अवस्था ‘सीमित तर सतर्क रहनुपर्ने’ प्रकृतिको छ । यसबीच अर्जेन्टिनाका स्वास्थ्य अधिकारीहरूले सङ्क्रमणको स्रोत पत्ता लगाउन उसुआइआ क्षेत्रमा मुसा परीक्षण गर्ने तयारी गरेका छन्, किनकि हान्ताभाइरस सामान्यतया संक्रमित मुसाको सम्पर्कबाट फैलिने गर्छ । जहाजमा यात्रा गरेका सबै यात्रु र चालक दलको विस्तृत सम्पर्क ट्रेसिङ पनि भइरहेको छ । जहाज सञ्चालक कम्पनी ओशनवाइड एक्सपेडिसनका अनुसार हाल जहाजमा कुनै पनि लक्षण देखिएका यात्रु छैनन् र जहाज आफ्नो गन्तव्य स्पेनको टेनेरिफतर्फ अघि बढिरहेको छ, जहाँ आइतबार पुग्ने तालिका छ । यात्रुहरूलाई विभिन्न देशमा पठाइएपछि स्थानीय स्वास्थ्य निकायहरूले उनीहरूको स्वास्थ्य निगरानी गरिरहेका छन् । डब्ल्यूएचओले यो प्रकोपलाई नियन्त्रणमा राख्न अन्तर्राष्ट्रिय सहयोग, समयमै परीक्षण र कडा आइसोलेसन उपायहरू अत्यन्त आवश्यक छन्, अन्यथा संक्रमण थप देशहरूमा फैलिन सक्ने जोखिम रहने जनाएको छ । रासस
युद्ध जोखिम बढ्दै : तेल मूल्य उकालो, सेयर बजार ओरालो
काठमाडौं । अमेरिका र इरानबीच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख सेयर बजारहरू घटेका छन् । यस घटनाले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र महत्त्वपूर्ण समुद्री मार्ग पुनः खोल्ने आशामा धक्का पुगेको छ । पछिल्ला केही हप्तादेखि बजारमा युद्ध चाँडै अन्त्य हुने र कच्चा तेल आपूर्ति सामान्य हुने अपेक्षामा सकारात्मक माहोल थियो, जसले गर्दा तेलको मूल्य पनि केही घटेको थियो । तर बिहीबार अमेरिका र इरानबीच पुनः तनाव चुलिएपछि स्थिति फेरिएको हो । अमेरिकी सेनाले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भएको प्रतिक्रियास्वरूप इरानी सैन्य लक्ष्यहरूमा हवाई हमला गरेको बताइएको छ । यो घटनाले एक महिनादेखि कायम रहेको युद्धविराम कमजोर बनाएको छ । इरानको सेनाले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गर्दै तेल ट्याङ्कर र अर्को जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । यसले दुवै देशबीचको तनाव झनै बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भने,'यदि उनीहरूले सम्झौता छिट्टै गरेनन् भने हामी अझ कडा र धेरै हिंसात्मक रूपमा जवाफ दिनेछौं ।' तर पछि उनले वासिङ्टनमा बोल्दै युद्धविराम अझै कायम रहेको दाबी गरे । उनका अनुसार, 'हो, युद्धविराम छ । उनीहरूले आज हामीलाई उक्साए, हामीले कडा जवाफ दियौं ।' यो झडप त्यतिबेला भयो जब ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगिएको सङ्केत दिएको थियो र हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्भावना छलफलमा थियो । यो समुद्री मार्गबाट विश्वको करिब पाँच भागको एक हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ । यस्तै, अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ नामक कार्यक्रम पुनः सुरु गर्नेबारे विचार गरिरहेको समाचार पनि आएको छ, जसको उद्देश्य वाणिज्य जहाजहरूलाई सुरक्षित मार्ग दिने हो । तर यसले इरानसँग थप तनाव बढाएको छ । तनाव बढेसँगै कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । पछिल्ला तीन दिनमा भने तेलको मूल्य करिब १० प्रतिशत घटेको थियो । एशियाली बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाको शेयर बजार १ प्रतिशतभन्दा बढी घटेको छ भने टोकियो, हङकङ, सिड्नी, साङ्घाई, सिंगापुर, वेलिङ्टन, ताइपेई, मनिला र जाकार्ता जस्ता प्रमुख बजारहरू पनि ओरालो लागेका छन् । यसै क्रममा अमेरिकी वाल स्ट्रिटमा पनि गिरावट आएको छ । एस एन्ड पी ५०० र नास्डाक सूचकाङ्क रेकर्ड उच्चबाट तल झरेका छन् । विश्लेषकहरूका अनुसार लामो समयको तीव्र वृद्धि पछि यस्तो गिरावट अस्वाभाविक होइन । बजार विश्लेषक क्रिस वेस्टनका अनुसार, 'यो द्वन्द्व समाधानतर्फको बाटो सीधा हुँदैन भन्ने कुरा फेरि स्पष्ट भएको छ । लगानीकर्ताहरूले परिस्थिति फेरि मूल्यांकन गर्न थालेका छन् ।' यसैबीच, ब्रिटिस मुद्रा पाउन्ड पनि अमेरिकी डलरको तुलनामा कमजोर भएको छ । युकेमा भइरहेका स्थानीय चुनावका कारण पनि लगानीकर्तामा अनिश्चितता बढेको छ । जापानमा भने सरकारले हालै यन (जापानी मुद्रा) स्थिर गर्न करिब ६४ अर्ब अमेरिकी डलर बराबरको हस्तक्षेप गरेको समाचार आएको छ । यन केही समयका लागि कमजोर भएर फेरि केही सुधार देखिएको छ । अर्कोतर्फ, लगानीकर्ताहरू अब अमेरिका रोजगारी सम्बन्धी नयाँ तथ्याङ्कको प्रतिक्षामा छन्, जसले युद्ध र बढ्दो मूल्य वृद्धिको असर अर्थतन्त्रमा कस्तो परेको छ भन्ने सङ्केत दिने अपेक्षा गरिएको छ । रासस
छहारी र ओमकार ब्रान्डको तेल उत्पादक विजय श्रेष्ठ पक्राउ
काठमाडौं । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन् । सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमाबाट सञ्चालक श्रेष्ठसँगै ९०५ कार्टुन तेलसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।