काठमाडौं । बंगलादेश सरकारले शेख हसिनासँग सम्बन्धित ६.२ अर्ब डलर (९ खर्ब ४२ अर्ब नेपाली रुपैयाँ) बराबरको सम्पत्ति जफत गरेको छ । बंगलादेशी मुद्रामा यसको मूल्य करिब ७६० अर्ब टका बराबर रहेको बताइएको छ ।
हसिनाले यसै वर्षको अन्त्यसम्म बंगलादेश फर्किने घोषणा गरेको केही दिनपछि यो कदम चालिएको हो । सरकारका अनुसार हसिनाको स्वदेश फिर्तालाई स्वागत गरिनेछ, तर उनले कानुनी प्रक्रियाको भने सामना गर्नुपर्नेछ ।
यस वर्ष फेब्रुअरीमा सम्पन्न आमनिर्वाचनपछि सत्तामा आएको तारिक रहमान नेतृत्वको सरकारले शेख हसिनामाथि आफ्नो १५ वर्षे शासनकालमा भ्रष्टाचार गरी अवैध रूपमा ठूलो सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ ।
सरकारले हसिनाले गैरकानुनी माध्यमबाट सम्पत्ति जोडेको र आफ्ना आफन्त तथा उनीसँग सम्बन्धित व्यावसायिक समूहलाई अनुचित लाभ पुर्याएको दाबी गरेको छ ।
बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू) का अनुसार देशभित्र रहेको ५७० अर्ब टका र विदेशमा रहेको १९० अर्ब टका बराबरको सम्पत्ति जफत गरिएको छ ।
एजेन्सीका प्रमुख इख्तियार मोहम्मद मामुन ले विदेशमा पठाइएको सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया जारी रहेको जानकारी दिँदै यसै वर्षको अन्त्यसम्म सकारात्मक प्रगति हुने अपेक्षा व्यक्त गरेका छन् ।
हसिनाले आन्दोलनपछि देश छाडेकी थिइन्
विद्यार्थी समूह, जमात–ए–इस्लामी तथा अन्य कट्टरपन्थी समूहहरूको हिंसात्मक आन्दोलनपछि अगस्ट २०२४ मा शेख हसिनाको सरकार पतन भएको थियो । त्यसपछि उनी भारत पुगेकी थिइन् र हालसम्म निर्वासनमै बसिरहेकी छन् ।
त्यसपछि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । अन्तरिम सरकारको कार्यकालमा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलमा हसिनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाइएको बताइएको छ । साथै अन्तरिम सरकारले बंगलादेशको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल अवामी लिग माथि पनि प्रतिबन्ध लगाएको थियो ।
हसिनाले भने आफू स्वदेश फर्केर आत्मसमर्पण गर्ने, आफूमाथि र आफ्नो पार्टीमाथि लगाइएका आरोपहरूको कानुनी रूपमा सामना गर्ने बताएका छन् ।
उनले ती आरोपहरूलाई झुटा र राजनीतिक उद्देश्यले प्रेरित भएको दाबीसमेत गरेकी छन् ।