विकासन्युज

रिलायन्स स्पिनिङ मिल्सले ५ सय प्रतिशत बढायो कर्मचारी बोनस, नेटवर्थ ४९०.५४ रुपैयाँ पुगेको दाबी

काठमाडौं । तीन दशक लामो यात्रामा मजदुरद्वारा न बन्द-हड्ताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्ना कर्मचारीलाई ६ करोडभन्दा बढी रकम बोनस बाँडेर खुसी थपेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्षमा कर्मचारीलाई ६९ दिन बराबरको ६ करोड २ लाख ४७ हजार ९६३ रुपैयाँ बोनस वितरण गरिएको छ । कम्पनीले खुद नाफामा बढोत्तरी भएसँगै कर्मचारीलाई दिने बोनस पनि करिब ५ सय प्रतिशतले बढाएको हो । वार्षिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा १ करोड १ लाख ८ हजार ३१६ रुपैयाँ बोनस वितरण गरिएको थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीमा कार्यरत जनशक्तिको पारिश्रमिकमा ११ करोड ६० लाख ३३ लाख १९८ रुपैयाँ खर्च भएको छ । यो रकम अघिल्लो वर्षको भन्दा ५५ लाख ८० हजार ९१४ रुपैयाँले बढी हो । रिलायन्स उत्कृष्ट रोजगारदाता कम्पनीको रुपमा स्थापित छ । कम्पनीमा कार्यरत ४ हजार जनशक्तिमध्ये करिब करिब १ हजार ३ सय महिला छन् । उद्योग परिसरमा महिलाका लागि स्तनपान कक्ष, बालबालिकाका लागि डे केयर सेन्टर र कर्मचारीका छोराछोरीका लागि १२ कक्षासम्म अध्ययनको व्यवस्था दिइँदै आएको छ । उद्योग परिसरमै कर्मचारीका लागि सुविधा सम्पन्न लेवर कोलोनी, खेल मैदान, आधुनिक क्यान्टिन, एम्बुलेन्ससहित विशेषज्ञ डाक्टरको सुविधा पनि उपलब्ध छ । रिलायन्सले गत आर्थिक वर्षमा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ रहेको थियो । दुई आर्थिक वर्षको तुलना गर्दा कम्पनीको खुद नाफामा ८४५ प्रतिशतले वृद्धि भएको देखिन्छ । कम्पनीको कूल नाफा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा ४२ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल नाफा १ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ रहेको थियो । एक महिनाअघि मात्र आईपीओ निष्काशन प्रक्रिया सम्पन्न गरी धितोपत्र बजारमा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स पछिल्लो समय निरन्तर नाफामा गइरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल ४ अर्ब ७९ करोड २ लाख ९१ हजार १६३ रुपैयाँ आम्दानी गरेको छ । माघ अन्तिम साता सार्वजनिक वित्तीय विवरण अनुसार उक्त अवधिमा १३ करोड ७४ लाख ३५ हजार ४१४ रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर नेटवर्थ पनि बढेर ४९० रुपैयाँ ५४ पैसा पुगेको छ ।  २०५४ सालमा स्थापित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्यान समूहको अभिन्न अंगको रुपमा रहेको छ । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । रिलायन्सको नेतृत्व हाल गोल्यान समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्यानले गरिरहेका छन् । यस उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । ९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८२४ स्पिन्डलको जडित क्षमतासहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुइवटा धागो कारखाना रहेका छन् । 

कपनमा खुल्यो ‘करेन्ट मार्ट’को दोस्रो आउटलेट

काठमाडौं । यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को काठमाडौं उपत्यकाभित्र दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले कपनस्थित रिलायन्स कलेज नजिक नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा बलियो उपस्थितिसहित परिचित करेन्ट नुडल्सका उत्पादक यशोदा फुड्सले बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको सफलतापछि ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरेको जनाएको छ । नयाँ शाखाको उद्घाटनको अवसरमा ‘करेन्ट मार्ट’मा उपलब्ध सम्पूर्ण उत्पादन खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । आउटलेटको उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी.पी. शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा रिबन काटेर गरेका थिए । कार्यक्रममा कम्पनीका प्रतिनिधि, ग्राहक तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कपनस्थित नयाँ ‘करेन्ट मार्ट’मा उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण उत्पादन एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोटाटो क्र्याकर्स उपलब्ध छन् । साथै करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा जिरा, धनिया र रातो खुर्सानी पाउडरलगायतका मसला पनि बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर शाहले बानेश्वर शाखामा उपभोक्ताबाट प्राप्त माया र विश्वासले काठमाडौंका अन्य स्थानमा समेत सेवा विस्तार गर्न प्रेरणा मिलेको बताए । कपन तथा आसपासका उपभोक्ताले अब आफ्नै क्षेत्रबाट कम्पनीका ताजा तथा गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्ने उनले बताए ।

हरियो अङ्गुर किलोको २१० रुपैयाँ, यस्तो छ कृषिउपजको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २४, आलु रातो (भारतीय) प्रतिकिलो रु २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३५ छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ५०, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ३५, काउली तराई प्रतिकिलो रु ३०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम छ । यस्तै, मटरकोसा प्रतिकिलो रु ३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ३५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ६०, तिते करेला प्रतिकिलो रु १६०, लौका प्रतिकिलो रु ७०, परवर (तराई) प्रतिकिलो रु २००, घिरौंला प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु १५, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १४०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ४०, पिँडालु प्रतिकिलो रु ६० र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ । रायोसाग प्रतिकिलो रु १५, पालुंगाे प्रतिकेजी रु ६०, चमसुर प्रतिकिलो रु ६०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ४०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १००, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो रु ५००, ब्रोकाउली प्रतिकिलो रु ३५, चुकुन्दर प्रतिकिलो रु ७०, सजीवन प्रतिकेजी रु २५०, कोइरालो प्रतिकिलो रु ३५०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ५०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २८०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २३०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १७०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ३०० र रूखटमाटर प्रतिकेजी रु २८० तोकिएको छ । स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १९०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २१०, अङ्गुर (कालो) प्रतिकिलो रु ३२०, सुन्तला (भारतीय) प्रतिकिलो रु १६०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १३०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १२०, निबुवा प्रतिकिलो रु ६५, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु २८०, किनु प्रतिकिलो रु १३०, स्ट्रबेरी प्रतिकिलो रु ४००, किबी प्रतिकिलो रु ४०० र एभोकाडो प्रतिकिलो रु ४०० निर्धारण गरिएको छ । यसैगरी, अमला प्रतिकिलो रु १३०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४५०, खुर्सानी हरियो प्रतिकिलो रु २००, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ८५०, भेडे खुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु ५०, हरियो धनियाँ प्रतिकिलो रु ५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १२०, छ्यापी हरियो प्रतिकिलो रु ८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० कायम छ ।

फर्स्ट माइक्रोफाइनान्सको सवा ५ करोडको सेयर बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले करिब सवा ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले आज फागुन २६ गतेदेखि १ लाख ८६ हजार ४३३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । लघुवित्तका अनुसार उक्त सेयर फागुन २६ गतेदेखि चैत १० गतेसम्म बिक्रीमा रहनेछ ।  अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ भए पनि बिक्रीका लागि प्रतिकित्ता २८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । सो मूल्यका आधारमा करिब ५ करोड २२ लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । उक्त संस्थापक सेयरको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

सन् २००८ को आर्थिक सङ्कट नदोहरिने अर्थशास्त्री अघियोनको दावी

काठमाडौं । मध्यपूर्वमा जारी युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोनले सोमबार बताएका छन् ।  ‘यदि युद्ध लामो समय (धेरै हप्ता)सम्म रहेमा तेलको मूल्य प्रति ब्यारेल १५० डलरभन्दा माथि पुग्छ र यसबाट मुद्रास्फीतिलाई धेरै बढाउने छ र सन् १९७३ को जस्तो तेलको सङ्कटको अवस्था आउनेछ,’ अघियोनले आरटीएल रेडियोसँग भने ।  ‘म सम्भावित मन्दी देख्छु तर पतन देख्दिन । उदाहरणका लागि मैले सन् २००८ को वित्तीय सङ्कट जस्तो सम्भावना केही देख्दिन,’ उनले भने ।  सन् १९७३ को योम किप्पुर युद्धमा इजरायललाई समर्थन गर्ने राष्ट्रहरूमाथि तेल निर्यात गर्ने अरब सदस्यहरूको सङ्गठन ओपेकले लगाएको तेल प्रतिबन्धका कारण मूल्यहरू नाटकीय रूपमा बढेको र त्यसले मुद्रास्फीति र आर्थिक गतिरोधमा वृद्धि गरेको थियो । ‘यस्तो झट्काका लागि युरोपेली देशहरू, संयुक्त राज्य अमेरिका र अन्य विकसित देशहरूको समन्वयमा नीति बनाउने र प्रतिक्रिया दिने गर्नु आवश्यक हुनेछ,’ उनले भने ।  जी-७ का अर्थमन्त्रीहरूले सोमबार बजारलाई शान्त पार्न रणनीतिक तेल भण्डार जारी गर्ने विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ । ‘लामो र व्यापक द्वन्द्वले विश्वव्यापी वृद्धिलाई घटाउनेछ,’ रचनात्मक विनाशको माध्यमबाट दिगो वृद्धिमा आफ्नो कामका लागि सन् २०२५ को अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका अघियोनले भने ।  सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट अमेरिकी घरजग्गाको पतनको कारण उत्पन्न भएको थियो । 

शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । शिखर पावर डेभलपमेन्टको आईपीओमा आवेदन दिने आज फागुन २६ गते अन्तिम दिन रहेको छ । फागुन १७ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले जारी पुँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ८० हजार कित्ता आयोजना प्रभावित, सर्वसाधारणलाई छुट्याएको सेयरको १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ५ प्रतिशत अर्थात् १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ४४ हजार ४०० कित्ता कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँको १८ लाख ४२ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

आजदेखि निष्क्रिय भयो निर्वाचन आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आजदेखि लागू नहुने निर्णय गरेको छ । आयोगले सोमबार यस्तो निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।  गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) बमोजिम आचारसंहिताको व्यवस्था गत माघ ४ गते रातिदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू गरिएको थियो ।  गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आजदेखि निष्क्रिय भएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लामिछाने र बालेनलाई नरेन्द्र मोदीको टेलिफोन, नेपाल–भारत सम्बन्ध उचाइमा पुग्ने विश्वास

काठमाडौं । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले सोमबार उनीहरूसँग टेलिफोन संवाद गरी नेपालको निर्वाचनमा प्राप्त उनीहरूको विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।  साथै उनले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत नेपालसँग आपसी समृद्धि, प्रगति र दुवै देशका जनताको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश पनि दिए ।  प्रधानमन्त्री मोदीले दुवै देशको संयुक्त प्रयासबाट आगामी वर्षहरूमा नेपाल-भारत सम्बन्ध अझ नयाँ उचाइमा पुग्नेमा विश्वस्त व्यक्त गरे ।