सेवाग्राहीसँग १५ हजार घुस मागेको अभियोगमा नासुविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायबसुब्बा हेमबहादुर मस्राङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार घुस मागेको अभियोग लागेको छ । आरोपी नायबसुब्बालाई आयोगले घुस रकमसहित केही दिन पहिले पक्राउ गरेको थियो। आयोगका प्रवक्ता सुरेश न्यौपानेले आरोपी नायबसुब्बा मस्राङगीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ बमोजिम कैद सजाय र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको छ ।
बैंकका सीईओलाई राजीनामाको दबाब
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा विभिन्न संस्थामा राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ राजनीतिक पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गर्यो । एकैपटक यति धेरै पदमुक्त हुँदा अध्यादेशले नेपाल राष्ट्र बैंक, सरकारी बैंक र बीमा कम्पनीका पदाधिकारीलाई छोएन । आफ्नो पद जोगियो भन्दै अनौपचारिक कुराकानीमा उनीहरू खुशी व्यक्त गर्थे । तर, अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट सहजीकरण गरिदिनूहोस् भन्ने मौखिक निर्देशन आएपछि सरकारी बैंक तथा बीमा कम्पनीका अध्यक्ष र सञ्चालकहरूले धमाधम राजीनामा दिइरहेका छन् । एक बैंकका सञ्चालकका अनुसार मन्त्रालयमा बोलाएर राजीनामा दिएर सहयोग गरिदिनूहोस् भन्ने सन्देश आएपछि राजीनामा दिने तयारी छ । ‘अध्यादेशले हामीलाई छोएको थिएन,’ ती सञ्चालकले भने, ‘तर प्रधानमन्त्री र मन्त्रीज्यूबाट निर्देशन आएको छ । कानुनसम्मत रूपमा ट्रिट गर्ने भन्दै सहजीकरण गरिदिनूपर्यो भनियो ।’ ‘मन्त्रालयबाटै फोन गरेर दबाब दिइएपछि कसले काम गर्न सक्छ र ? राम्रो कामका लागि सहजीकरण गरिदिनूपर्यो भनेपछि बाटो खुला गर्छौं,’ उनले भने । अर्थमन्त्रालयको निर्देशनपछि कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल राजीनामा दिइसकेका छन् । नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मा, सञ्चालक साधना घिमिरे र माया आचार्यले राजीनामा दिने तयारीमा छन् । त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले पनि राजीनामा दिइसकेका छन् भने सञ्चालक लक्ष्मण घिमिरे, डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राणा र हरिकुमार सिलवालले पनि राजीनामा दिइसकेका छन् । सञ्चालक र अध्यक्षले राजीनामा दिन थालेपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको पद के हुन्छ भन्ने चासोको विषय बनेको छ । स्रोतका अनुसार मन्त्रालयबाट सीईओहरूलाई पनि मार्गप्रशस्त गर्न स्पष्ट रूपमा निर्देशन आइसकेको छ । राष्ट्रिय वाणिज्य बैंकका सीईओ देवेन्द्ररमण खनाललाई मन्त्रालयमै बोलाएर राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरिएको स्रोतको दाबी छ । तर, कृषि विकास बैंक र नेपाल बैंकका सीईओ बाहिर रहेका कारण मन्त्रालयमा उपस्थित हुन नसकेको उनले बताए । कृषि विकास बैंकका एक उच्च व्यवस्थापकका अनुसार अहिलेसम्म बैंकका अध्यक्षले मात्रै राजीनामा दिएका हुन् । मन्त्रालयले नियुक्ति गरेका कारण मन्त्रालयमै राजीनामा पत्र बुझाएको र सञ्चालक समितिमा पनि राजीनामा दिएको उनले बताए । तर, सीईओको राजीनामाको विषयमा भने आफू जानकार नभएको उनको भनाइ छ । ‘हाम्रो सीईओ विदेशतिर जानुभएको छ, एउटा कार्यक्रममा । तर, बैंकभित्र सीईओलाई समेत मार्गप्रशस्त गरिदिनूपर्यो भनेर फोन आइसकेको भन्ने चर्चा छ । तर वास्तविक के हो भन्ने थाहा भएन,’ उनले भने । नेपाल रिइन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीका अध्यक्ष, सञ्चालक र सीईओलाई राजीनामा दिएर सहयोग गरिदिनूहोस् भनेर मन्त्रालयमा बोलाइएको एक बीमा कम्पनीका उच्च व्यवस्थापकले बताए । उनले भने, ‘अर्थमन्त्रालयबाट मौखिक रूपमा सहजीकरणका लागि निर्देशन आएको थियो । सरकारलाई सहयोग गरिदिनूपर्यो भनिएको थियो ।’ सीईओहरूलाई पनि मौखिक रूपमा सहयोग गर्नुपर्यो भनेर मन्त्रालयबाट निर्देशन आएको उनले दाबी गरे । ‘अब प्रक्रिया पूरा गरेर अगाडि बढ्लान् । सरकारले मौखिक रूपमा भनेको मानेनन् भने नियुक्ति गर्दाको व्यवस्थामा नै संशोधन गरेर भए पनि हटाउने तयारीमा सरकार रहेको छ,’ उनले भने । तर, सीईओ खुला प्रतिस्पर्धाबाट आएकाले पद जान नसक्ने एक बैंकर बताउँछन् । उनले भने, ‘बैंकका सीईओ बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) अन्तर्गत सञ्चालक समितिले नियुक्त गर्ने हो । सीईओको सेवा-सुविधादेखि अन्य सर्तहरू सबै तोक्ने काम मन्त्रालयले नभई सञ्चालक समितिले गर्ने हो । यसमा मन्त्रालयको प्रभाव हुँदैन,’ उनले भने । तर, तालुकदार मन्त्रालयले मार्गप्रशस्त गरिदिनूहोस् भनेपछि छोड्न सक्ने अवस्था आउन सक्ने उनले बताए ।
कानुन दिवसमा उच्च अदालत जनकपुरले भोलि न्यायिक महोत्सव आयोजना गर्दै
काठमाडौं । कानुन दिवसको अवसरमा उच्च अदालत जनकपुरले शनिबार न्यायिक महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवअन्तर्गत विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनुका साथै न्याय क्षेत्रसँग सम्बन्धित स्टलहरूको प्रदर्शन समेत गरिने अदालतले जनाएको छ । उच्च अदालत जनकपुरका कामु न्यायाधीश टेकनारायण कुँवरले कार्यक्रमअन्तर्गत बिहान ७ बजे जनकपुरधाममा प्रभातफेरि आयोजना गरिने जानकारी दिए । त्यसपछि बिहान ९ बजेदेखि जनकपुरधामस्थित निधि भवनमा औपचारिक कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, दिउँसो १ बजेदेखि न्याय, कानुन र नागरिक सरोकारसँग सम्बन्धित विषयमा अन्तरक्रिया कार्यक्रम राखिएको मुख्य न्यायाधीश कुँवरले जानकारी दिए । उनका अनुसार कार्यक्रममा स्मार्ट कोर्ट, भर्चुअल हियरिङ र हेल्पलाइन सर्भिसबारे जानकारी दिइनेछ । महोत्सवमा मधेश प्रदेशका तीनवटै उच्च अदालत, आठवटै जिल्ला अदालत, सबै बार इकाई र सरकारी वकिल कार्यालयको उपस्थिति रहने जनाइएको छ । न्यायिक सचेतना अभिवृद्धि गर्ने तथा न्यायालय र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको मुख्य न्यायाधीश कुँवरले जानकारी दिए ।
प्रहरी दिनेश राउतले २० हजार घुस लिएको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिएबापत घुस लिएको अभियोगमा प्रहरी वृत्त मालीगाँउका काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक दिनेश राउतविरुद्ध आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ताको मुद्दा मिलाइदिने भन्दै प्रहरी नायब निरीक्षक राउतले सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको पाइएको छ । आयोगले टोलीले घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । आरोपी राउतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार, कैद सजाय र जरिवानाको माग गर्दै आयोगले मुद्दा दायर गरेको छ ।
चाँगुनारायणमा २५ लाख रुपैयाँ बराबरको सुनका गहना र नगद चोरी
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न गरगहना र नगद गरी २५ लाख ७७ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । सो घरमा डेरा गरी बस्ने सन्ध्या तामाङ, जगमाया फुँयाल, जय तामाङ र आनन्द कुमारको कोठाबाट उक्त मूल्य बराबरको धनमाल गएराति चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ । चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बागबजारको कल्भर्ट समयमै नबन्दा नागरिकलाई सास्ती
काठमाडौं । पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडकखण्डको टुकुचा खोलामा ‘सिंगल सेल बक्स कल्भर्ट निर्माण’ कार्य सुरु गरेको लामो समय बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । चैत मसान्तसम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिए पनि समयमै निर्माण हुन नसकेकाे हाे । काम समयमै सम्पन्न नभएपछि अहिले म्याद थपेर निर्माण कार्य भइरहेको हो । गत फागुनबाट निर्माण सुरु भएको कल्भर्ट हालसम्म पनि सम्पन्न नहुँदा उक्त सडक प्रयोग गर्ने सर्वसाधारणले दैनिक सास्ती खेप्दै आएका छन् । भक्तपुरमा बस्दै आएकी समीक्षा राई बागबजारस्थित पुरानो बसपार्क नजिकै रहेको एक कम्पनीमा कार्यरत छिन् । उनी दैनिक भक्तपुर-पुतलीसडक रुटमा सञ्चालन हुने बस चढेर कार्यालय आउने गर्छिन् । उनका अनुसार पुल निर्माण सुरु हुनुअघि गाडीले सिधै पुरानो बसपार्कसम्म पुर्याउने गरेको थियो । तर, अहिले भने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्दै पुतलीसडक-कमलादी हुँदै सञ्चालन गरिँदा यात्रामा बढी समय लाग्ने गरेको छ । यसले दैनिक आवतजावतमा झन्झट र समयको अतिरिक्त खर्च बढाएको भन्दै उनले गुनासो गरिन् । अनामनगरमा बस्दै आएका कमल भण्डारी पनि बागबजारस्थित एक कम्पनीमा कार्यरत छन् । बागबजार-पुतलीसडक सडकखण्ड सञ्चालनमा नआउँदा आफूले अहिले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको उनले बताए । भण्डारीका अनुसार वैकल्पिक बाटो प्रयोग गर्दा अनावश्यक रूपमा घुमेर जानुपर्ने बाध्यता छ । ‘पहिले पुतलीसडक हुँदै बागबजार पुग्न छोटो र सहज थियो । अहिले भने कम्तीमा पनि एक किलोमिटर बढी दूरी पार गरेर मात्रै कार्यालय पुग्नुपर्ने अवस्था छ,’ उनले भने । सुरुमा पुल निर्माणका लागि सडक भत्काइएपछि सवारीसाधन मात्र होइन, पैदल यात्रुहरूले समेत वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो । यसले दैनिक आवतजावतमा सर्वसाधारणलाई थप सास्ती खेप्नु परेको थियो । समय थप भएपछि काठमाडौं महानगरपालिकाले त्यहाँ अस्थायी रूपमा सानो पुल निर्माण गरेपछि पैदल यात्रुलाई केही राहत मिलेको छ । अस्थायी पुल सञ्चालनमा आएपछि पैदल हिँड्नेहरूलाई आवतजावत गर्न सहज भएको उनीहरूले बताएका छन् । जेठभित्र सञ्चालनमा आउने काठमाडौं महानगरका अनुसार कल्भर्ट निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । जनगुनासोलाई ध्यानमै राखेर छिट्टै नै सम्पन्न गर्नेगरी काम भइरहेको महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरेश राईले बताए । कल्भर्ट निर्माणको काम चैत मसान्तभित्र सम्पन्न गर्ने गरी महानगरले अचिभ्ड स्टार निर्माण सेवा प्राइभेट लिमिटेडसँग सम्झौता गरेको थियो । तर, नसकेपछि म्याद थपेर काम अगाडि बढाइएको हो । सम्झौता समयभित्र काम सम्पन्न हुन नसक्नुको मुख्य कारण नै समयमै काम सुरु नभएको प्रमुख राईको भनाइ छ । सम्झौताअनुसार निर्माण कार्य २०८२ साउन १४ गतेबाट सुरु गर्ने भनिएपनि ढिला गरी अर्थात फागुन महिनाबाट मात्रै भएको थियो । फागुनबाट सुरु भएको निर्माण कार्य विभिन्न कारणले निरन्तर अघि बढ्न सकेन । यसबीचमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह प्रतिनिधिसभा निर्वाचनमा व्यस्त भएपछि नेतृत्व परिवर्तन भएको थियो । त्यसपछि कार्यवाहक प्रमुखको जिम्मेवारी सुनिता डंगोलले सम्हालेकी थिइन् । आयोजनाका प्रमुख राईका अनुसार नयाँ नेतृत्वलाई आयोजनाबारे जानकारी गराउने तथा स्थानीयवासीको प्रतिक्रिया र सुझाव संकलन गर्ने प्रक्रियाले पनि काममा ढिलाइ भएको हो । उनका अनुसार कल्भर्ट निर्माणका लागि उपयुक्त साइटको अभावले समेत समस्या उत्पन्न भयो । ‘निर्माणका लागि सोचेजस्तो साइट रहेन । मेसिन सञ्चालन गर्न कठिनाइ भयो । मेसिन चलाउँदा पुराना पाइप निकालेर व्यवस्थापन गर्न पनि समय लाग्यो,’ उनले भने । अब कल्र्भट निर्माण सम्पन्न हुन धेरै समय नलाग्ने उनले बताएका छन् । उनका अनुसार जेठको पहिलो हप्तामा कल्भर्ट निर्माण सम्पन्न गरिसक्ने तयारी निर्माण पक्षले गरिरहेको छ । सवारीसाधन सञ्चालन भने जेठको अन्तिम सातातिर हुने उनले बताए । ‘मौसमले साथ दियो भने अब छिट्टै सम्पन्न हुन्छ,’ उनले भने । निर्माण कम्पनीका प्रबन्धक तारा गदैलीले हालसम्म करिब ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको र अब १५ प्रतिशत काम मात्रै बाँकी रहेको जानकारी दिए । ‘तलको स्ल्याब निर्माण सकिएको छ, अब माथिल्लो भागको काम मात्रै बाँकी छ,’ उनले भने । उनका अनुसार जेठ २ गते माथिल्लो स्ल्याब ढलान गर्ने योजना रहेको छ । ढलान सम्पन्न भएपछि पैदल यात्रुलाई आवतजावत गर्न मिल्ने उनले बताए । स्ल्याब ढलान ढलान गरेको २२ दिनपछि सवारी साधन पनि चलाउन मिल्ने प्रबन्धक गदैलीको भनाइ छ । ‘ढलान गरेको २१ दिनदेखि २८ दिनसम्ममा हल्का सवारीसाधन चलाउन मिल्छ, हेभी सवारी साधन तत्कालै मिल्दैन, उनले भने । यो आयोजना ५७ लाख ७२ हजार ६९४ रुपैयाँको लागतमा निर्माण भइरहेको हो । निर्माणाधीन कल्भर्ट पाँच मिटर चौडाइ र १४ मिटर लामो हुनेछ । टुकुचा क्षेत्रमा वर्षायाममा पानीको बहाव बढ्दा सडक जलमग्न भएर सवारी आवागमनमा समस्या हुने गरेको थियो । यो पुल निर्माणपछि पानी निकास व्यवस्थापन सहज बनाउने र सडकलाई थप सुरक्षित तथा दिगो बनाउने अपेक्षा महानगरले लिएको छ । महानगरले निर्माण कार्यअवधिभर डिल्लीबजार पुतलीसडक चोकबाट बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था मिलाइएको छ। महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख राई भन्छन्, ‘अहिले जनगुनासो छ । तर, हामीले वैकल्पिक बाटोबाट जाने व्यवस्था गरेका छौं, राम्रोको लागि केही समय कुर्नैपर्छ ।’
गरिब तथा विपन्न विद्यार्थीलाई कामना सेवा विकास बैंकको शैक्षिक सहयोग
काठमाडौं । कामना सेवा विकास बैंकले शाखा कार्यालय वालिङमार्फत श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिवकुमार ढकालले विद्यालयका विद्यार्थीलाई कापी, कलमलगायत विभिन्न स्टेशनरी सामग्री हस्तान्तरण गरेका थिए । विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल अर्यालले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामग्रीले विद्यार्थीको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । त्यस्तै, बैंकका पोखरा क्षेत्र प्रमुख ढकालले यस प्रकारको सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँग समन्वय र सहकार्य गर्दै यस्ता सामाजिक तथा साक्षरता सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
वरिष्ठता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै बारले बोलायो आकस्मिक बैठक
काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा संवैधानिक विधि र न्यायिक परम्परा मिचिएको भन्दै न्याय क्षेत्रमा तीव्र तरंग उत्पन्न भइरहेका बेला नेपाल बार एसोसिएसनले आकस्मिक बैठक बोलाएको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेपछि न्याय क्षेत्र तरंगित बनेको हो । उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै शुक्रबार सर्वोच्च अदालतको पेशी व्यवस्थापनसमेत प्रभावित भएको छ । प्रधानन्यायाधीशका न्याय परिषद्ले सिफारिस गरेका ६ जनामा उनी चौथो वरीयतामा थिए । चौथो वरीयतामा भएका व्यक्तिलाई प्रधानन्यायाधीश सिफारिस गरेकाे भन्दै अहिले नेपाल बार एसोसियसनले वरिष्ठ अधिवक्तासहित आकस्मिक बैठक आह्वान गरेको हाे । बैठकमा संवैधानिक परिषद्को पछिल्लो निर्णय, न्यायिक स्वतन्त्रता, वरिष्ठताको परम्परा तथा संवैधानिक प्रक्रियाका विषयमा विस्तृत छलफल भइरहेको नेपाल बार एसोसिएसनका अध्यक्ष वरीष्ठ अधिवक्ता प्रा.डा. विजय मिश्रले जानकारी दिए । उनका अनुसार बैठकले प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयबारे बारको आधिकारिक धारणा तय गर्नेछ । साथै सोही आधारमा आगामी रणनीति र आन्दोलनका कार्यक्रमबारे समेत निर्णय गरिने उनले बताए । प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठता र न्यायिक परम्परालाई बेवास्ता गरिएको आरोप लागिरहेका बेला कानुन व्यवसायी, पूर्वन्यायाधीश तथा न्याय क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूले समेत चासो व्यक्त गर्न थालेका छन् ।