हरित बैंकिङ प्रवर्द्धन गर्न कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीच साझेदारी

काठमाडौं । कुमारी बैंक लिमिटेडले हरित बैंकिङ र दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले मिनर्जी इन्निसियटिभ्ससँग रणनीतिक साझेदारी गरेको छ ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकका अनुसार साझेदारीले पर्यावरण संरक्षण तथा हरित बैंकिङ प्रवर्द्धनसँगै समुदायलाई बैंकिङ सेवाका लागि सक्षम बनाउने, लक्षित समुदायको आवश्यकता अनुसार बैंकको क्षमता अभिवृद्धि गर्ने तथा वित्तीय समावेशीकरणलाई विस्तार गर्ने क्षेत्रमा सहकार्य गर्नेछ ।

कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबीचको दूरी घटाउन समुदायको वास्तविक अवस्था र बैंकिङ जोखिम दुवैलाई गहिरो रूपमा बुझ्ने सुदृढ प्रणाली आवश्यक रहेको बताए ।

उनले यो साझेदारीले क्षमता अभिवृद्धिलाई व्यवहारिक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कुमारी बैंकले दिगो विकास, हरित बैंकिङ तथा वातावरणमैत्री वित्तीय अभ्यासलाई प्राथमिकतामा राख्दै यस्ता रणनीतिक सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

Share News