मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य पूरा हुँदैन : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चालु आर्थिक वर्षको मौद्रिक नीतिले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । मंगलबार आईतबार राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको विषयमा प्रतिक्रिया दिँदै उनले यस्तो बताए । उनले गत वर्षको मौद्रिक नीतिले लिएको कर्जा बिस्तारको लक्ष्यभन्दा पनि अहिले कम गर्नु राम्रो नभएको बताए । उनले गत वर्ष १२.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्य भन्दा पनि घटेर चालु आर्थिक वर्षमा ११.५ प्रतिशत कर्जा बिस्तार गर्ने लक्ष्यले अर्थतन्त्र चलायमान र ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसकिने दाबी गरे । अध्यक्षले ढकालले निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा दिएका सुझावहरुको सम्बोधन नभएको बताए । उनले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा भएपनि निजी क्षेत्रको अपेक्षा अनुसार मौद्रिक नीति नआएको बताए । ‘निजी क्षेत्रका तीन वटा छाता संस्थाहरु उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा सुझावहरु दिएका थियौँ । निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीतिमा सम्बोधन हुन्छ भन्ने अपेक्षा थियो । निजी क्षेत्रले दिएका केही सुझावहरु समेट्ने प्रयासहरु गरेको छ । मौद्रिक नीतिले कर्जा बिस्तारलाई ११.५ प्रतिशत गर्ने लक्ष्य राखेको छ। जसमा गत वर्षको मौद्रिक नीतिको लक्ष्य भन्दा पनि कम हो । सरकारको बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुन सक्दैन । निजी क्षेत्रले राष्ट्र बैंकलाई नीति बनाउन दिने सुझावहरु मुलुकको अर्थतन्त्र चलायमान र मुलुकमा नै रोजगारी,सिर्जना होस् र राजश्व संकलन बढ्ने गरी दिने हो’, उनले भने ।
कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उनले भने,’पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन ।’
आजको मौसम : चट्याङसहित भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । यसैगरी आज राति देशभर सामान्य बदली रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।
मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिने हो । कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि बिक्री खुला गरेको आईपीओमा आज साउन ९ गतेसम्म आवेदन दिन सक्ने छन्। कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र दोलखाको गौरीशंकर गाउँपालिका ५, ६, ७ र ८, बिगु गाउँपालिका ४ र कालिञ्चोक गाउँपालिका ३ का स्थानीयलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि।ओ।के। क्यापिटल मार्केट रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, गौरीशंकर गाउँपालिकाको कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ ।
सानिमा बैंकले साढे २ लाख कित्ता सेयर बेच्दै, मूल्य कति ?
काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको २ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
विशाल बजारले सञ्चालक र कर्मचारीसहित भवनको १६ करोड बढीको बीमा गर्ने
काठमाडौं । विशाल बजार कम्पनीले भवन लगायत कर्मचारी र सञ्चालकहरुको १६ करोड बढीको बीमा गरिदिने भएको छ । कम्पनीले व्यापारिक भवन, फर्निचर तथा मेशिनरी सामान, कम्पनीका सञ्चालक र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा लगायत मेडिकल बीमा वापत १६ करोड १९ लाख ५२ हजार रुपैयाँको बीमा गर्ने जनाएको छ । कम्पनीले एक सूचना जारी गरी व्यापारिक भवन, फर्निचर फिक्चर्स, कार्यालय उपकरण, मेशिनरी सामान तथा अन्य हुलदंगा, मेलेसियम, आतंकवाद भूकम्प आदि वापतको १४ करोड ४० लाख ५२ हजार ६८ रुपैयाँ र कम्पनीका अध्यक्ष, संचालकहरु र कर्मचारीहरुको सामूहिक दुर्घटना बीमा १ करोड ४० लाख रुपैयाँ बीमाङ्क रकमको बीमा गर्ने जनाएको छ । साथै, कर्मचारीको स्वास्थ्य (मेडिकल) बीमा बीमांक वापत ३९ लाख रुपैयाँ बीमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार व्यापारिक भवनको प्रिमियम ८ करोड ६८ लाख १ हजार ४०९ रुपैयाँ रहेको छ । यस्तै, ६ थान स्केलेटर, ३ थान जेनेरेटर, २ थान लिफ्ट र अन्य मेशिनरीको ४ करोड ९१ लाख ६१ हजार २५२ रुपैयाँ, फर्निचरको १५ लाख २ हजार ७७४ रुपैयाँ र कार्यालय उपकरणको ६५ लाख ८६ हजार ६३३ रुपैयाँको बीमा गर्ने भएको हो । सो वापतको बीमा गर्न इच्छुक बीमा कम्पनीले ७ दिनभित्र सिलबन्दी बोलपत्र पेश गर्न विशाल बजारले आग्रह गर्को हो ।
नेप्सेमा एक कम्पनीको ८ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
३७५ रुपैयाँमा सेयर बेचेर एनआईसी एशिया बैंकका संस्थापक बाहिरीदैँ
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको आज साउन ९ गतेदेखि ४ लाख कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको छ । बैंकको सेयरमा इच्छुक सर्वसाधारण लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नछन् । बैंकको सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआइएमबि क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।