नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो : डा राणा
जनकपुरधाम । नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा डा. राणाले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् । ‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो’, उनले भनिन्, ‘यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो’ उनले भने। उनले यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको धारणा पनि राखे । नेपाली कांग्रेस र कांग्रेसका नेताहरुले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा. राणाले मधेस प्रदेश नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताए । उनले मधेस प्रदेशमा कुषोषणको स्थिति राष्ट्रिय सूचकाङ्कभन्दा निकै तल रहेकाले त्यसका लागि पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीहरुले काम र प्रचारप्रसार दुवै गर्न सुझाव दिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, मधेस प्रदेश सभापति एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्र सिंहका साथै पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
विद्यार्थीको आकर्षणमा ‘पढ्दै कमाउँदै कार्यक्रम’
पोखरा । अधिकांश सामुदायिक विद्यालयमा वर्षे बिदा भए पनि जानकी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सावित्री नेपाली भने स्कुल आउन छोडेकी छैनन् । विद्यालयले बिदामा पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका विभिन्न सामग्री बनाउने सीप सिकाउने भएकाले उहाँ विद्यालय आइरहेकी छिन् । ‘खेतीको मौसम छ, विद्यालय पनि बन्द छ, काममा सहयोग गरिदिएहुन्थ्यो भनेर अभिभावकले आशा गर्नु स्वभाविकै हो’, सावित्री नेपालीले भनिन्,’पढाइसँंगै सीप सिकेर भविष्यको आधार बनाउने इच्छा गरेपछि आमाबुबाले मलाई विद्यालय जान सहयोग गर्दै आउनुभएको छ ।’ चक्कुको सहयोगले बाँसका चोया काट्ने क्रममा धेरै सुरुआती दिनमा पटक–पटक हात काट्दा त काम नगरौँ कि भन्ने पनि लाग्थ्यो रे उनलाई । तर सीप सिक्दै जाँदा अहिले पढाइसँगै बाँसका सामग्री बनाउने काम गर्न उत्साह बढेर आएको उनको भनाइ छ । सावित्री नेपालीसँगै सीप सिक्दै आएका पोखरा– १५ अमिनतराका सुभाष विश्वकर्मालाई आफूले बुनेका बाँसका सामग्री विद्यालयले मायाको चिनो भन्दै कोसेलीका रुपमा प्रयोग गरेको देख्दा भने आफूलाई निकै खुसी लागेको अनुभव सुनाए । विद्यालयमा मात्र होइन घरमा पनि बाँसका सामग्री बनाउने गरेको र यसमा अभिभावकको पनि सहयोग भएको उनको भनाइ छ । कक्षा १० मा अध्ययनरत विश्वकर्माले आफूहरूको समूहले पछिल्ला दिन सामूहिक रुपमा व्यवसाय गर्ने सोच समेत बनाउने जानकारी दिए । नेपाली र विश्वकर्मा त प्रतिनिधि पात्र मात्रै हुन् । विद्यालयले बर्षे बिदामा सञ्चालन गरेको उक्त सीपमूलक तालिममा यतिखेर कक्षा ९ र १० मा अध्ययनरत २० जना छात्रछात्राले लाभ लिएका छन् । बाँसका सामग्री निर्माणसँगै विभिन्न स्थानमा हुने मेला महोत्सवमा पनि स्टल राख्न पाउँदा खुसी लाग्ने गरेको विद्यार्थीहरुको भनाइ छ। विद्यालयको वार्षिकोत्सवमा बाँसका सामग्री निर्माण गर्ने विद्यार्थीलाई नगद वितरण गरिएको थियो । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित पर्वतीय महोत्सवमा राखिएको विद्यालयको बाँसको सामग्रीको कक्ष सबैका लागि आकर्षक बनेको विद्यालयका सहायक प्रधानाध्यापक एवम् तालिमका प्रशिक्षक कमलप्रसाद आचार्यले जानकारी दिए । सो अवसरमा विद्यालयले सामग्री बिक्री गरे १८ हजार आम्दानी गर्न सफल भएको थियो । उनका अनुसार विद्यार्थीले बाँस, करौती, चक्कु, कैची जस्ता घरेलु साधन प्रयोग गरेर घरयासी एवम् होटलमा प्रयोग गर्ने कमल होल्डर, मन्दिर, ट्स्यु पेपर बक्स, फोटो फ्रेमलगायतका आकर्षक सजावटका सामग्री तयार गर्दै आएका छन्। बिदाको समयमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सीप विकास तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले आफूले सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । विद्यालयले दुई वर्षअघिदेखि उक्त तालिम सञ्चालन गर्दै आएको हो । पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले विद्यालयले यसवर्ष सञ्चालन गर्ने बाँसका सामग्री बनाउने तालिमको आज एक समारोहकाबीच उद्घाटन गर्दै विद्यार्थीलाई पढाइसँगै जीविकोपार्जनमा सहयोग पुग्ने यस्ता सीपमूलक कार्यक्रमका लागि वडास्तरबाट आवश्यक आर्थिक सहयोग गर्ने बताइन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको हौसलाका लागि वडामा हुने औपचारिक कार्यक्रममा विद्यार्थीद्वारा उत्पादित बाँसका सामग्री उपहारमा प्रयोग गर्ने थप बजारिकरणमा सहयोग गर्ने उनको प्रतिबद्धता थियो । प्रधानाध्यापक अर्जुन कँडेलका अनुसार विद्यालयले पढ्दै कमाउँदै अन्तर्गत सञ्चालित बाँसका सामग्री बनाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । साथै कास्की जिल्लामा प्राविधिक विषय अन्तर्गत पहिलो पटक वन विज्ञानको पढाइ सुरु गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र प्राविधिक शिक्षा तथा व्यावसायिक तादिम परिषद् (सिटिइभिटी)को अनुमतिमा गत वर्षदेखि उक्त पढाइका कक्षा सञ्चालन गरिएको बताउँदै उनले पहिलो वर्षमा १६ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए विषयगत आठ जना शिक्षक शिक्षिकाले आंशिक शिक्षकका रुपमा अध्ययापन गराउँदै आएका छन् । विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको वन विज्ञान विषयको पढाइलाई प्रभावकारी र गुणस्तरीय बनाउनका लागि पोखरा महानगरपालिकाको २२ लाख ५० हजारको आर्थिक सहयोगमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ । तीन वर्षे डिप्लोमा तहको उक्त पढाइका लागि प्रतिविद्यार्थीबाट एक लाख २५ हजार शुल्कको व्यवस्था गरिएको र त्यसमध्ये पहिलो वर्ष ४० प्रतिशत र दोस्रो र तेस्रो वर्षमा ३०/३० प्रतिशतका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको वन विज्ञान संयोजक शंकर भण्डारीले जानकारी दिए । विद्यालयले वन विज्ञान विषयमा लिने प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एकजना विद्यार्थीलाई बहुप्राविधिक शिक्षालय एवम् पोखरा महानगर, सिटिभिटी र पोखरा १७ वडा कार्यालयबाट पनि छात्रवृत्तिको व्यवस्था भएको उनको भनाइ छ । वन विज्ञान अध्ययनका लागि विद्यालयले प्रत्येक वर्ष ४० जना विद्यार्थी भर्ना गर्न पाउने अनुमति प्राप्त गरेको छ । वन विज्ञान विषयलाई गुणस्तरीय र थप प्रभावकारी बनाउनका लागि सोही स्थानको भित्री गाउँमा रहेको विद्यालयको खेल मैदानमा सुविधा सम्पन्न पक्कि भवन निर्माण भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको लागतमा निर्माणाधीन चारकोठे उक्त भवनमा वन विज्ञानका दोस्रो र तेस्रो वर्षका कक्षा सञ्चालन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । विसं २०२३ सालमा स्थापना गरिएको विद्यालयले २०३५ सालमा मान्यता प्राप्त गरेको थियो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् । गुणस्तरीय शिक्षा कायम गर्दै प्राविधिक एवम् सीपमूलक पढाइले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत सोमनाथ भण्डारीले जानकारी दिए । पछिल्लो सामुदायिक विद्यालयमा सात प्रतिशत विद्यार्थी भर्नादर बढेको उनको भनाइ छ ।
केपिलासगढीमा तोरी फलाउने किसानलाई डेढ लाख रकम वितरण
खोटाङ । केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी उत्पादन गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउन थालेको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले व्यवसायिकरूपमा तोरी उत्पादन किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा मूल्याङ्कन गरेर अनुदान बापतको रकम उपलब्ध गराउन थालेको हो । गाउँपालिकाले वडा नं. १ स्थित फेदीका २७ किसानका लागि एक लाख ३२ हजार २५०, खार्ताम्छाका २८ किसानका लागि एक लाख ३४ हजार २५० र बास्पानीका ४५ किसानका लागि एक लाख ६६ हजार ५०० वितरण गरेको जनाइएको छ । फेदीबाट थालिएको अनुदान बापतको रकम वितरण अभियान सबै वडामा पुगेर सम्बन्धित किसानको हातमा पु¥याइने गाउँपालिकाले जनाएको छ । व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेल विस्थापित गर्ने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समिर राईले बताए । ‘किसानलाई व्यवसायिकरूपमा तोरी खेती गर्न उत्प्रेरित गर्ने, तोरीको उत्पादन बढाउने, बजारीकरण गर्ने र गाउँपालिकालाई खाने तेलमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘तोरी किसान अनुदान कार्यक्रम’ अघि सारिएको हो’, उनले भने, ‘गाउँपालिकाको गौरवको योजनाकारूपमा ल्याइएको तोरी खेती प्रवद्धन कार्यक्रमले कृषकको आयआर्जनमा टेवा पुग्नाका साथै वातावरण सन्तुलनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’ तोरी खेती प्रोत्साहनका लागि तयार गरिएको अनुदान कार्यक्रमअन्तर्गत गाउँपालिकाबाट अनुदान पाउन किसानले कम्तीमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने वा कम्तीमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । गाउँपालिकाका प्रमुख संयोजक रहेको अनुगमन तथा मुल्याङ्कन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैङ्क खातामा अनुदान उपलब्ध गराइने भएको छ । कम्तीमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी एक हजार र कम्तीमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी दुई हजार ५०० का दरले अनुदान उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ । गाउँपालिकाबाट अनुदान पाउनका लागि कम्तिमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्छ अथवा कम्तिमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने हुन्छ । तीन रोपनीभन्दा थोरै जग्गामा दुई मुरीसम्म तोरी उत्पादन गर्ने किसानले पनि अनुदान पाउने गाउँपालिकाले जनाएको छ । जग्गाको क्षेत्रफलको आधारमा अनुदान लिने की तोरी उत्पादन गरेर मुरीको आधारमा अनुदान लिने भन्ने निर्णय किसानले नै गर्नेछन् । गाउँमा खपत भएपछि बाँकी रहेको तोरीको तेल निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिका प्रमुख राईले जानकारी दिए । सात वडा रहेको उक्त गाउँपालिकाका सबैजसो ठाउँमा तोरी खेती हुने कृषि शाखाले जनाएको छ । कतिपय किसानले तेलकै लागि पनि तोरी खेती लगाउने गरेका छन् । खाने तेलमा आत्मनिर्भर भए वार्षिक करिब सात करोड गाउँपालिकाबाट बाहिर नजाने वडा नं १ स्थित फेदीका बासिन्दा लक्ष्मण साम्पाङ ‘समिप’ले बताए । हालको जनसङ्ख्यालाई आधार मान्दा केपिलासगढीमा वार्षिक छ करोड ५० लाखदेखि सात करोड रुपैयाँको हाराहारीमा खाने तेल भित्रिने गरेको गाउँपालिकाको तथ्याङ्कले देखाएको छ । खाने तेलमा बाहिरिने रकमलाई आफ्नै गाउँपालिकामा राख्ने वातावरण बनाउन तोरी खेती गर्ने कृषकलाई अनुदान बापतको रकम उपलब्ध गराउने कार्यक्रम लागू गरिएको गाउँपालिका उपप्रमुख गुरुराज राईले बताए । ‘प्राङ्गारिक तोरीको तेललाई गाउँपालिकाको पहिचानको रूपमा स्थापित गर्ने लक्ष्यसमेत लिइएको छ । हामीले युवापुस्तालाई आफ्नै गाउँमा स्वरोजगार बनाउन अभियान शुरु गरेका छौँ’, उनले भने, ‘निर्वाहमुखी कृषि प्रणालीलाई उत्पादनसँग जोडेर कृषकको आयआर्जन वृद्धि गर्दै गरिबी घटाउने गाउँपालिकाको योजना हो ।’ अनुदान कार्यक्रमका लागि गाउँपालिकाले तोरी खेती सूचीकरण फारमदेखि निवेदनको ढाँचासमेत तयार पारेको छ । उक्त फराममा किसानको नाम, ठेगाना, कित्ता नम्बर, खेती गरिएको जमिनको क्षेत्रफल उल्लेख गर्नुपर्ने छ । रासस
प्रहरी नायब निरीक्षकको रहस्यमय मृत्युबारे अनुसन्धान सुरु
बलेवा । बागलुङको वडिगाड गाउँपालिका–६ मा रहेको आशा होटलमा वरिष्ठ प्रहरी नायब निरीक्षक उज्ज्वल पौडेल मृत भेटिएको विषयमा अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको समूहले घटनाका विषयमा अनुसन्धान थालेको हो । सोमबार राति १२ बजे आशा होटल तथा खाजा घरमा पौडेल मृत भेटिएका थिए । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि सदरमुकाम बागलुङ बजारदेखि हिँडेको प्रहरी टोली मङ्गलबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो । ‘इलाका प्रहरी कार्यालयले होटल सिल गरेर राखेको थियो, हामी आएपछि परिवार बोलाएर बाँकी अनुसन्धानको काम थालेका छौँ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘घटनाबारे छिट्टै जानकारी बाहिर आउँछ ।’ इलाका प्रहरी कार्यालय भीमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेल नजिकैको सो होटलमा मृत फेला परेका थिए । पौडेलको शव होटलकाले भुइँतल्लामा भुइँमा लडेको अवस्थामा रहेको खड्काले बताए । प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गस्तीमा निस्केको प्रहरीचौकीले जनाएको छ । राति १० बजे अन्य प्रहरी जवानलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थाहा भएपछि तत्कालै प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।रासस
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाएको बताइएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन १० गते अपराह्न ४ बजे बस्ने तय भएको छ । झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै भोलि समापन गर्ने तयारी छ ।
टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो
काठमाडौं । सिप्रदी कम्पनीले ग्राहकको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टसहरुको मूल्य समायोजन गरेको छ । सिप्रदी र टाटा मोटर्सकाे संयुक्त पहलमा टाटा कमर्सियल गाडीको जेन्यूइन् पार्ट्सहरुको मूल्य समायोजन गरिएको हो । अब ग्राहकले पहिलेको दाँजोमा कम मूल्यमै टाटा जेन्यूइन पार्ट्सहरु प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार सिप्रदीको ग्राहकमुखि अवधारणा अनुरुप टाटा जेन्यूइन पार्ट्सको मूल्य घटाइएको हो । अब टाटा कमर्सियल गाडीका ग्राहकले सिप्रदीका वर्कशपहरुमा अनुभवि तथा दक्ष प्रविधिकहरुबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्यूइन पार्ट्सको प्रयोगबाट गुणस्तरिय सर्भिसिंगको फाइदा उठाउन सक्नेछन् । यस मूल्य समायोजन पश्चात ग्राहकवर्गको व्यवसाय तथा मुनाफामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ । समायोजित मूल्य श्रावण महिनाबाट नेपालभरि रहेका सिप्रदीको सम्पूर्ण नेटवर्क – सिप्रदी सर्भिस सेन्टर, आधिकारिक सर्भिस सेन्टर, टाटा जेन्यूइन् पार्टस् को डिलर नेटवर्क, च्याम्पियन जोन, सर्टिफाइड ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रमा लागु भएको छ । साथै, सिप्रदी सर्भिस सेन्टरमा फेरिएका टाटा जेन्यूइन् पार्टस्हरुमा ६ महिना वा ५० हजार कि.मि. सम्मको वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आईरहेको छ ।
एक वर्षमा १८ सचिव अवकाशमा जाँदै
काठमाडौं । एकैपटक १८ जना सचिवले अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखानाको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा मात्रै २ हजार २ सय ६१ जना निजामती कर्मचारीले अवकाश पाउदैँ छन् । जसमा चालु आर्थिक वर्षको अन्त्यसम्ममा १८ विशिष्ट श्रेणी (सचिव) ले अवकाश पाउन लागेका हुन् । कार्यालयको तथ्यांक अनुसार विशिष्ट श्रेणीबाट सबैभन्दा पहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले तीन दिनअघि उमेर हदका कारण अनिवार्य अवकाश पाइसकेका छन् । यस्तै, १४ दिनपछि महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक राममाया कुँवरले विशिष्ट श्रेणीको पाँच वर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाश पाउँदैछन् । एक महिनापछि कर्णाली प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल एक वर्षे सचिवको कार्यकाल पूरा गरी जाँदैछन् । महालेखा परीक्षकको कार्यालयमा कार्यरत उपमहालेखा परीक्षक महेश्वर काफ्ले माघ १२ गतेदेखि अवकाशमा जाने छन् । महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायव महान्यायाधिवक्ता विश्वराज कोइराला वैशाख १७ गते, उच्च अदालत पाटनमा कार्यरत नायव महान्यायाधिवक्ता नारायण प्रसाद पौडेल पुस ९ गते कार्यकाल पूरा गरी अवकाशमा जाँदैछन् । त्यस्तैगरी जल तथा उर्जा आयोग, काठमाडौंमा कार्यरत सचिव शुशिल चन्द्र तिवारी आगामी असार १३ गते, सहरी विकास मन्त्रालयमा कार्यरत सचिव रबिन्द्रनाथ श्रेष्ठ असोज ११ गते, उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा कार्यरत सचिव दिनेश कुमार घिमिरे पुस ९ गते, वन तथा वातावरण मन्त्रालयमा कार्यरत सचिव रेवती रमण पौडेल आगामी वैशाख २८ गते अवकाश हुँदै छन् । कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव धनराज ज्ञवाली साउन ५ गते अवकाशमा गएका छन् । परराष्ट्र मन्त्रालयमा कार्यरत सचिव भरतराज पौडेल आगामी मंसिर २० गते, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव दामोदर रेग्मी आगामी कात्तिक ११ गते, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा कार्यरत सचिव सुरेश अधिकारी आगामी वैशाख १७ गते अवकाश हुँदै छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सचिव केवल प्रसाद भण्डारी चैत ११ गते, सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सचिव देव कुमारी गुरागाई फागुन २६ गते, युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव सूर्य प्रसाद गौतम फागुन ६ गते अवकाश हुँदै छन् । संघीय संसद सचिवालयमा कार्यरत सचिव पद्मप्रसाद पाण्डेय असोज २१ गते अवकाशमा जाँदै छन् । त्यस्तै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर माघ २९ र सर्वोच्च अदालतका सह रजिष्ट्रार नारायणप्रसाद पन्थी आगामी वैशाख १७ गते अवकाश हुँदै छन् ।
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरपालिकाको अवरोध
काठमाडौं । सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकका ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो । स्थानियले सो स्थानमा श्रावण १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिइ अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो । पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृती समेत नलिइ गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे । उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न अनुरोध गरे । यता स्थानीयले भने सो स्थल धार्मिक स्थल नै भएकाले आफुहरुले महोत्सव गरेको बताएका थिए । नगरप्रहरी र स्थानीयका बिचमा केहीबेर भनाभन समेत भएको थियो । आफूहरुले लिखित रुपमा अनुमति लिएर भएपनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।