स्तनपान सप्ताह : ‘कार्यालय स्तनपानमैत्री हुन आवश्यक’
काठमाडौं । नेपालमा कार्यालयमा नै स्तनपान कक्ष नभएकाले छ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको बताइएको छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको छ । परोपकार प्रसुति गृह तथा स्त्रीरोग अस्पतालका प्रमुख बालरोग विशेषज्ञ डा कल्पना उपाध्याय सुवेदीले आमाहरुले घरमा शिशुलाई स्तनपान गराए पनि कार्यालय समयमा स्तनपान गराउन नपाएकाले छ महिनासम्म स्तनपान गर्ने शिशुको सङ्ख्या घट्दै गएको बताइन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरुपमा स्तनपान गराइएको छ । जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको छ महिनाभित्रमा स्तनपान गराएको थियो । यसरी १० प्रतिशतमा कमी आएको छ । ‘आमाहरुले घरमा हुँदा शिशुलाई आफ्नो दूध खुवाउनुहुन्छ, तर काममा फर्किसकेपछि कार्यस्थलको वातावरण स्तनपानमैत्री नभएकाले आमाहरुले शिशुलाई अन्य दूध खुवाउन बाध्य हुनुहुन्छ’, उनले भनिन्, ‘त्यसैले पहिलेभन्दा कम शिशुले स्तनपान गर्न नपाएका हुन् ।’ कामकाजी महिलाले पनि सुत्केरीपछि काममा फर्केपछि पनि छ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने प्रमुख बालरोग विशेषज्ञ डा सुवेदीको भनाइ छ । आमाहरुले घरमा हुँदा आफ्नो दूध खुवाउने, स्तनपान गराउने र काममा जाने बेलामा आफ्नो स्तनबाट दूध दुहेर सफा भाँडोमा राखेर शिशुलाई दिउँसो खुवाउनका लागि छाडनुपर्ने उनी बताउँछिन् । उनका अनुसार यदि आमाको घरमा फ्रिज छ भने दुहेको दूधलाई २४ घण्टासम्म सुरक्षित राख्न सकिन्छ । यहि फ्रिज छैन भने पनि कोठाकै तापक्रममा छदेखि आठ घण्टा सुरक्षित दूध रहन सक्छ । उनले कार्यस्थल पनि स्तनपानमैत्री हुन जरुरी रहेको बताइन्। कार्यालय समयमा बीचबीचमा स्तनपान गराउन केही समयका लागि बिदा लिन सकिने उनको भनाइ छ । कार्यालयमा स्तनपान कक्षको व्यवस्था हुन पनि आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार स्तनपान कक्षमा हात धुने ठाउँ, स्तन निचोरेर दूध राख्ने व्यवस्था, फ्रिजको व्यवस्था भयो भने आमाले आफ्नो दूध निचोरेर पटकपटक (दुई–तीन) घण्टाको फरकमा दूध खुवाउन सक्नुहुन्छ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले धेरै महिला आर्थिक गतिविधिमा संलग्न भएकाले काममा जानुपर्ने भएको र स्तनपान मैत्री कार्यस्थल नभएकाले शिशुलाई स्तनपान गराउन नपाएको बताए । उनले कार्यस्थलमा आमाले स्तनपान गराउन नपाएकाले बाध्य भएर अरु वस्तुहरु खुवाउन परेको बताए। ‘शिशुलाई अरु कुरा खुवाउँदा शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर पर्दछ’, उनले भने, ‘समग्र आर्थिक तथा सामाजिक विकासमा पनि यसको नराम्रो र प्रतिकूल असर पार्दछ ।’ उनले शिशु र आमाको स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले कामकाजी आमालाई कार्यस्थलमा नै स्तनपान गराउने उपयुक्त वातावरण रोजगारदाताले बनाउनुपर्नेमा जोड दिए । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा सबै रोजगारदाताले नवजात शिशुका आमालाई दुई वर्षसम्म कार्यस्थलमा स्तनपान गराउने व्यवस्था उल्लेख गरिएको छ । उनले कार्यस्थललाई स्तनपानमैत्री बनाउन आवश्यक रहेको बताए । नेपालसहित विश्वभरि नै यही साउन १६ देखि २२ गतेसम्म ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ‘विश्व स्तनपान सप्ताह’ मनाइँदै छ । स्तनपानबाट बच्चालाई कुपोषण, उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्नबाट बचाउँछ भने आमालाई रक्तश्राव कम, डिप्रेसन, तथा डिम्बासय र स्तन क्यान्सरबाट बचाउन मद्दत गर्ने गर्दछ ।
निर्माण व्यवसायी चन्दको लोभलाग्दो बाख्रापालन
बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेश चन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् । ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेको बाख्रापालन सबैलाई आकर्षित गर्ने लोभलाग्दो किसिमको छ । व्यवसायका लागि पाँच करोड लगानी भइसकेको चन्दले बताए। उनका अनुसार फार्ममा हाल एक सय ५० उन्नत जातका बाख्रा छन् । भारतको राजस्थानबाट ल्याइएका सिरोही, तोतापरी, अजमेरी, बोयर, गुज्री जातका बाख्रा फार्ममा रहेका चन्दले जानकारी दिए। सिरोही जातको ‘भीम’ नाम गरेको बोकासमेत फार्ममा रहेको उनले बताए। उक्त बोकाको तौल एक सय ८० किलो छ । चन्दले भने, ‘पाँच÷छ उन्नत जातका बाख्रा फार्ममा छन् । उन्नत जातका बाख्रा छिटो बढ्ने र फाइदा पनि राम्रो हुने भएकाले स्थानीय जातभन्दा उन्नत जात छनोट गरिएको हो ।’ उनले गत वर्ष ‘ग्वाल्लेक एग्रो फार्म प्रालि’स्थापना गरी स्थानीय खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेका थिए । ‘बाख्रा पाल्नका लागि चार तलाको पक्की घर निर्माण गरेर गत वर्षदेखि खरी जातका बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’, चन्दले भने, ‘अहिले सिरोही, तोतापरीलगायत पाँच÷छ उन्नत जातका गरी एक सय ५० बाख्रा छन् ।’ कम्पनी दर्ता गरेर बाख्रापालन सुरु गर्नुभएका चन्दले छ जनालाई रोजगारीसमेत दिएका छन् । उनका अनुसार बाख्रा फार्ममा अहिले पशु प्राविधिकसहित छ जनाले रोजगारी पाएका छन् । उनले भने, ‘यहाँ भएका बाख्राको बिहान नियमितरुपमा स्वास्थ्य जाँचका लागि पशु प्राविधिक राखेका छौँ । बाख्राको स्याहार, सरसफाइ तथा चरनका लागि अन्य पाँच जनालाई रोजगारी दिएका छौँ ।’ बर्खायाममा चरनको समस्या हुने भएकाले फार्ममै मकैको साइलेज, गहुँको भुसा, स्थानीय घाँस र पिना खुवाउने गरिएको चन्दले बताए। पेसाले निर्माण व्यवसायी भए पनि कृषि क्षेत्रमा केही गर्ने उद्देश्यले गाउँमा बाख्रा पालन थालेको उनको भनाइ थियो । ‘गाउँमा मलामी र विवाहका लागि युवा भेटिन छोडेका छन् । सबै युवा विदेश पलाएन भएका छन् । स्वदेशमै व्यवसाय गरेर पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि पनि बाख्रापालन थालेको हुँ’, चन्दले भने। बाख्रापालनसँगै आगामी दिनमा कालिज, गाई, भैँसी र बङ्गुरपालन पनि गर्ने योजना रहेको उनले बताए। स्थानीयस्तरमा मासु र दूधमा आत्मनिर्भर बन्नुपर्नमा उनले जोड दिए । बुवाबाजेको आठसय रोपनी जमिन रहेको बताउँदै चन्दले उक्त खाली जमिनलाई संरक्षण गरी बाख्रालाई चरनका लागि उपयोग गरिरहेको बताए । ‘नेपाल कृषि प्रधान देश भएकाले कृषिमै आत्मनिर्भर बन्ने उद्देश्यले बाख्रापालन थालेको हुँ’, उनले भने । रासस ।
प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित रह्यो : ओली
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको दाबी गरेका हुन् । पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा मात्रै उनले नेपाली आवश्यक्ता, नेपाली हीत, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरुको देखाएको जिकिर गरे । अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘अहिलेका प्रधानमन्त्री अस्ती भर्खर भारत जानुभयो, कुन–कुन सम्झौंता गर्नुहुन्छ, केही पनि बताउनु भएन यहाँ । जे गर्नुपर्ने, त्यो केही पनि काम गर्नुभएन । दुई देशका बीचमा त्यत्रो सहमतिका साथ प्रवुद्ध व्यक्ति समूह बनाइयो । १९५० को सन्धिलगायतका विभिन्न सन्धि, सम्झौता र सम्बन्धहरुका विविध पक्षहरुको अध्ययन गरेर नेपाल र भारतबीचको सम्बन्धलाई आजको समयानुकुल न्याय र समानतामा आधारित उचित सम्बन्धि, सुमधुर र सदृढ सम्बन्ध कसरी बनाउने ? कसरी त्यसरुपमा विकास गर्ने, जो पारस्परिक लाभ र समानताको आधारमा होस् । यस हिसावले इपिजी गठन गरिएको थियो । त्यस सम्बन्धमा कुरा गर्नुपर्दथ्यो । कुरा गर्नु भनिएको थियो । प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनु भएन ।’ उनले राष्ट्रिय हीतलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने अडान समेत राखे । सरकारले मनपरी र बेठिक ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाई थियो । ‘हाम्रो भुगोलको बारेमा, हाम्रो सीमाको बारेमा जो भारतले विवादित बनाउन खोजेको छ । त्यस सम्बन्धमा टुंगो लगाउनु पर्दथ्यो । त्यो लागेन । यस्ता थुप्रै कुराहरु, आवश्यक्ता र भावना, नेपाली आवश्यक्ता, नेपाली हीत नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुको सन्दर्भमा यति कमजोरी देखाइयो, सत्तास्वार्थ प्रधान भयो, राष्ट्रिय स्वार्थ प्रधान भएन’, ,उनले भने । राष्ट्रिय हितको पक्षमा जोसुकैले अगाडि बढाएका विषयलाई समर्थन गर्ने अध्यक्ष ओलीको भनाइ छ । ‘अब सरकारले मनपरी र बेठिक गर्दै जाने, सरकारले बेठिक गर्दै जाने, हामीले समर्थन गर्दै गएर राष्ट्रिय सहमति हुने त होइन । राष्ट्रिय हीतमा अडिएर राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रिय हीतको पक्षमा सरकारले कुरा ल्याओस् । सरकार पक्षले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन । हामी राष्ट्रिय हीतको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौं । र, एकतावद्ध भएर अगाडि तयार छौं । राष्ट्रिय हीत छोडेर सहमती हुने कुरामा नेकपा एमाले तयार हुँदैन । र, नेपाली जनता, देशभक्त जनता पनि तयार हुन सक्दैनन् । यसको अर्थ हामी कसैको बिरोध हौं, कसैको अहित चिताउँछौं भन्ने होइन’, अध्यक्ष ओलीले भने । उनले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताए । उनले आफ्ना जायज मागहरु पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने पनि दोहो¥याए ।
सुडानमा १ करोड ४० लाख बालबालिकालाई मानवीय सहयोगको आवश्यकता : युनिसेफ
एजेन्सी । सुडानमा १ करोड ४० हजार बालबालिकालाई मानवीय सहयोगको ‘गम्भीर आवश्यकता’ रहेको संयुक्त राष्ट्रसंघ बाल एजेन्सीले शुक्रबार उल्लेख गरेको छ । जारी द्वन्द्वले भोकमरीको सङ्कटलाई थप गहिरो बनाएको पनि सीएनएनले जनाएको छ। सुडानका १७ लाखभन्दा बढी बालबालिका भोक, रोग, हिंसा र परिवार पृथकताको जोखिमको सामना गर्दै घरबाट विस्थापित भएका छन्। यो सङ्ख्या पछिल्लो सङ्कट अघि सुडानमा विस्थापित भएका १९ लाख बालबालिकाको अतिरुक्त सङ्ख्या हो । पाँच वर्ष मुनिका ३० लाख बालबालिका कुपोषित छन् भने ७ लाख गम्भीर कुपोषण र मृत्युको जोखिममा छन्। एक वर्ष मुनिका १७ लाख बालबालिका महत्त्वपूर्ण खोपहरूबाट वञ्चित छन् । अप्रिलको मध्यमा सुडानमा द्वन्द्व शुरु भएदेखि युनिसेफका अनुसार कम्तिमा ४३५ बालबालिका मारिएका छन् र २,०२५ भन्दा बढी घाइते भएको पनि सीएनएनले रिपोर्ट गरेको छ। सुडानमा २ करोड भन्दा बढी मानिसहरूले गम्भीर भोकमरीको सामना गरिरहेका छन् जुन सङ्ख्या गत वर्षको तुलनामा झन्डै दोब्बर भएको पनि संयुक्त राष्ट्रसंघले बिहीबार चेतावनी दिएको छ। अप्रिल १५ मा सेना र र्यािपिड सपोर्ट फोर्सबीच युद्ध शुरु भएको थियो। यस द्वन्द्वले गर्दा सुरक्षाको खोजीमा छिमेकी देशहरूमा गएका ८४४,००० सहित करिब ३५ लाख मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
चक्कु प्रहार गरी श्रीमतीको हत्या
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदका अनुसार दोधारा चाँदनी– ७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षेत्रीले २१ वर्षीया द्रोपती बुढाक्षेत्रीको चक्कु प्रहार गरी हत्या गरेका हुन् । प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ । ‘प्रारम्भिक अनुसन्धानबाट घरायसी बिबादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ’, प्रहरी निरीक्षक साउँदले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथिमक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
अभिभावकहरुले एकपटक हेर्नैपर्ने चलचित्र ‘तारे जमीन पर’
काठमाडौं । जब अभिभावकहरुबीचमा आफ्ना बालबालिकाहरुको पढाइको बारेमा उत्प्रेरणामुखी चलचित्रको विषयमा कुराकानी हुन्छ तब अवश्य पनि हिन्दी चलचित्र ‘तारे जमीन पर’को अवश्य पनि नाम आउँछ । सन् २००७ मा प्रदर्शनमा आएको सो चलचित्र बलिवुडका नायक अमिर खानको उत्कृष्ट चलचित्र मध्येमा पर्छ । चलचित्र तारे जमीन पर करोडौं दर्शकहरुले हेरे तर सिमित व्यक्तिहरुले मात्रै सो चलचित्रको शन्देशलाई ग्रहण गरेको अनुमान गरिएको छ । सो चलचित्रमा संघर्ष, सफलता, जीवन र शिक्षकको जीवनको विषयमा निकै सन्देशमूलक विषय रहेका छन् । आफ्ना बालबालिका विद्यालयमा पढाउन शुरु गरेका वा पढाइरहेका अभिभावकहरुका लागि यो चलचित्र निकै उपयोगी एवं सन्देशमूलक रहेको छ । एक सही शिक्षकले विद्यार्थीको जीवन नै बदल्न सक्छ तारे जमीन पर चलचित्रले पहिलो सन्देश शिक्षकको महत्वको बारेमा दिएको छ । हामी धेरैले विद्यालय तथा कलेज जीवनमा शिक्षकको महत्वको विषयमा अवश्य पनि निवन्ध लेखेका छौं । सायद त्यो निवन्ध केवल परीक्षाको लागि मात्रै बनेको छ । विद्यार्थीसँग भएका हिनतावोधका भावनाको जिम्मेवार वास्तवमा शिक्षक नै हुन् । कतिपय विद्यार्थी शिक्षकको डरका कारणले विद्यालय जान नचाहने र शिक्षकबाट नै मुक्त हुन चाहेका हुन्छन् । सही शिक्षकको अर्थ निश्चित रुपमा फरक हुन्छ, शिक्षकहरुले यो मान्न अनिवार्य हुन्छ की उनीहरु विद्यार्थीको दोस्रो आमाबुवा हुन् । एक विद्यार्थीको समस्यालाई बुझेर समाधान गर्नुको सट्टा उसमा हिन भावना भर्ने व्यक्ति अवश्य पनि शिक्षक हुन सक्दैनन् । एक वास्तविक शिक्षक त्यो हो जसले विद्यार्थीको अद्वीतीय क्षमतालाई कमजोर नठानेर सम्मान गर्न सक्छ । चलचित्र तारे जमीन परले एक शिक्षकले विद्यार्थीलाई अँध्यारोबाट उज्यालोमा लैजान सक्षम हुन्छ, तर शिक्षकमा त्यो विषयमा सोच्ने इच्छा र क्षमता हुनुपर्छ भन्ने सन्देश दिएको छ । साथै चलचित्रले एक सही शिक्षकले आफ्ना सम्पूर्ण विद्यार्थीका फरक क्षमताहरुलाई सम्मानपूर्वक हेर्ने गर्छ भनेर सन्देश दिएको छ । हरेक बालबालिका खास हुन्छन् यो उपशिर्षक आफैँमा असाधारण रहेको छ ‘हरेक बालबालिका खास हुन्छन्’ । तर, यसको वास्तविकता हर कोही व्यक्तिले बुझ्न र ग्रहण गर्न सक्दैन । कोही बालबालिकाले विद्यालयको सिमित कक्षामा कति अंक प्राप्त गरेको छ भनेर उसलाई मूल्यांकन गर्नु अवश्य पनि न्यायसंगत हुँदैन । जस्तो ३० जना विद्यार्थी भएको एउटा कक्षाकोठाको एकजना विद्यार्थी भौतिक विज्ञानको शिक्षक हुनसक्छ, अर्को विद्यार्थी विश्वस्तरीय कलाकार हुनसक्छ भने अर्को विद्यार्थी उत्कृष्ट लेखक बन्न सक्छ । एकपटक विद्यार्थीमा भएको अन्तरनिहित रुचीको क्षेत्रमा अगाडि बढ्न अभिभावक, शिक्षक र समाजले साथ दिने हो भने सोचौं की विद्यार्थीले कति प्रगति गर्न सक्छ होला ? यस्तो वास्तविकता हाम्रो शैक्षिक क्षेत्रमा कार्यान्वयन हुन सकिरहेको छैन । तारे जमीन पर चलचित्रको मुख्य पात्र इशानलाई परम्परागत रुपमा पढ्न लेख्नमा कत्तिपनि रुची हुँदैन, तर उनी वास्तवमा निकै सिर्जनशील विद्यार्थी हुन् । रुचीलाई पेशा बनाउँदा नै सफल हुन सकिन्छ चलचित्र तारे जमीन परले हामीलाई आफ्नो रुचीलाई पछ्र्याउन सिकाएको छ । यदि हामीले हाम्रो रुची अनुसारको क्षेत्रलाई पेशा बनाउन खोज्यौं भने हामी निकै उत्कृष्ट हुन सक्छौं भन्ने विचार यो चलचित्रले दिएको छ । चलचित्रमा अभिनेता आमिर खानले पनि आफ्नो पढाउने रुची अनुसार शिक्षक पेशालाई रोजेर आफूलाई उत्कृष्ट शिक्षकको रुपमा प्रस्तुत गरेका छन् । रुचीलाई पेशा बनाउन खोज्दा कठिनाई पनि आइपर्छन्, कैयौंपटक आफैप्रति अविश्वास समेत पैदा हुन्छ । तर, यदि तपाईंले आइपर्ने समस्याहरुलाई हल गर्न सक्नुभयो भने तपाईंले ती सबै गर्न सक्नुहुन्छ, जो तपाईंले आफ्नो जीवनमा गर्न चाहनुभएको थियो । अभिभावकहरुले ‘ख्याल’को परिभाषा बुझ्न जरुरी चलचित्र तारे जमिन परले दिएको एउटा महत्पूर्ण सन्देश भनेको अभिभावकले बालबालिकालाई प्रदान गर्ने अभिभावकत्वको विषयमा हो । अभिभावकहरुले आफ्ना बालबालिकालाई दुई छाक खान दिएर कैयँन गाली दिइरहेका हुन्छन् । फेरि उनीहरुले भनिरहेका हुन्छन् की उनीहरु आफ्ना बालबालिकाहरुको ख्याल गरिरहेका छन् । दुई छाक खाना बालबालिकालाई दिनुभन्दा धेरै ठूलो विषय वास्तविक अभिभावकत्वको बारेमा बुझ्नु हो । जुन सन्देश चलचित्रले दर्शकलाई प्रदान गर्ने कोसिस गरेको छ । चलचित्रका मुख्य पात्र इशानका बुवाले उनको विषयमा वास्तविक ख्याल गर्दैनन् । बच्चाहरुबीचमा तुलना गर्नु निकै खराब काम हो कतिपयले आफ्ना बालबालिकालाई सचेत गराउन वा उत्प्रेरणा प्रदान गर्ने नाममा अरुसँग तुलना गरेर भन्ने गर्छन्, वास्तवमा यस्तो तुलनाले कुनै सकारात्मक काम गर्दैन । बरु बालबालिकामा हिनताबोध सिर्जना गर्ने काम गर्छ । साथै उनीहरुमा रिस र ईष्र्या पैदा गर्ने काम गर्छ । चलचित्रमा इशानका बुवाले उनलाई सँधै उनको दाजुसँग तुलना गरेको देखाएको छ । बुवालाई त्यो भनाइले इशानमा प्रोत्साहन हुनसक्ने सोचे तापनि उनीमा पहिलेदेखि नै अलग प्रकारको क्षमता भएकाले उनलाई बुवाको भनाइले हिनताबोध गराउने मात्रै काम गर्छ । बुवाको निरन्तर भनाइले इशानलाई उ दाजु भन्दा कम क्षमता भएको र केही गर्न नसक्ने भावना भर्न मात्रै सघाउने काम गर्छ । आवश्यक भन्दा बढी अपेक्षा राख्नु हानिकारक हाम्रो जीवनको धेरै समस्या भनेको आवश्यकता भन्दा बढी अपेक्षा राख्नु हो । अपेक्षा अनुसार नतिजा प्राप्त नभएपछि मन भावना एकदिन टुट्न पुग्छ । चलचित्रमा मुख्य पात्र इशानका बुवाले आफ्नो अपेक्षा पुरा गर्नको लागि उनीमाथि क्रुर व्यवहार समेत प्रदर्शन गर्छन् । कतिपय सम्बन्धहरु आवश्यक भन्दा अधिक अपेक्षा राखेका कारणले नै बिग्रेका हुन्छन् । चलचित्र तारे जमीन परले दोस्रो व्यक्तिबाट अधिक अपेक्षा कम गर्न प्रेरित गरेको छ ।
कीर्तिमानी पर्वतारोहीलाई स्वागत
काठमाडौं । तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिवार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो । शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए । पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभन्नि पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए । हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन् ।
राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरु न्ययाधीश बिहीन भए : प्रधानन्यायाधीश कार्की
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन् । कार्की लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि गत असार १ गते प्रधानन्याधीश बने । लामो समय वकालत गरेका कार्कीले नेपाल बार एशोसिएशन र नेपाल सरकारको महान्यायाधिवक्ता भएर काम गरिसकेका छन् । २०७३ साल साउन १७ गते सर्वोच्चको न्यायाधीशमा नियुक्त कार्की अवकाशको समयसम्म आउँदा कुनै गम्भीर विवादमा आएनन् । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोग लागेपछि न्यायाधीश कार्की सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश बने । कायममुकायम प्रधानन्यायाधीश कार्की १० महिनाअघि उमेरहदका कारण अवकाशमा गएपछि सर्वोच्चको नेतृत्व हरिकृष्ण कार्कीले गरे । साउन २० गते उमेरहदका कारण अवकाशमा जान लागेका प्रधानन्यायाधीश कार्कीसँग न्युज एजेन्सी नेपालले गरेको अन्र्तवार्तालाई यहाँ प्रस्तुत गरिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरु न्यायाधीश बिनाको हुन पुग्ने अवस्था आएको बताएका छन् । प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरु रित्तिँदै गएको बताउनुभएको हो । जिम्मेवार निकायले समयमा नै निर्णय नगर्दा अदालतमा न्यायाधीशको कर्मीलै संकट व्यवस्थापन गरे जसरी न्यायालय चलाउनुपरेको बताए । उनले भने ‘अहिले हामी न्यायाधीश बिनाको अदालतबाट चलाउनुपर्ने हो की भन्ने अवस्थासम्म पुगिसकेका छौँ । कतिपय ठाउँमा हामी क्राइसिस म्यानेजमेण्टबाट चलाइरहेका छौँ । संकट व्यवस्थापन गर्नेगरी । कुनै अदालतमा चार जना न्यायाधीश हुनुपर्ने ठाउँमा दुईजना मात्रै राखेर चलाउनु भनेको संकट व्यवस्थापन हो नि । १० जनाको ठाउँमा ५ जना मात्र राखेर काम गर्नु संकट व्यवस्थापन हो नि । अहिले हामी यो तहमा लाँदैछौँ । यसमा जिम्मेवार निकाय जिम्मेवार नभइदिँदाको परिणाम हो । त्यसैले सबै निकाय जिम्मेवार हुनुपर्छ । सबैले जवाफदेहीता लिनुपर्छ । आफ्ना काम समयमै सम्पन्न गर्नुपर्छ । बहानाबाजी गर्नु हुँदैन । न्यायालयमा जब मुद्दाअनुसार कर्मचारी र न्यायाधीश हुन सक्दैन, वास्तवमा त्यसको लागि आवश्यक पर्ने श्रोत र साधनको व्यवस्थापन गर्न सक्दैनौँ । एउटा तामेलदारलाई तामेल गर्न कति वटा ठाउँको जिम्मा लिएको हुनुपर्छ, उुलाई कुनै सवारी साधन पनि दिएको छैन, केही पनि दिएको छैन । अनि एकदमै न्युनतम जुन वास्तवमा उसलाई त्यहाँ गएर दुई तीन वटा काम भन्दा सम्पन्न हुन नसक्ने खालको भत्ता दिएको छ । त्यसले उसले महिनाभर पु¥याउनुपर्ने हुन्छ । यस्तो खालको अवस्थामा हामी गुज्रिरहेका छौं। यी चिजहरु अहिले हामी यहाँ आएर अनुभव गर्दैछौँ । यहाँका कठिनाइहरु सम्बोधन गर्न सकेनौँ भने बाहिरका गुनासाहरु सम्बोधन गर्न सक्दैनौँ । त्यो ढंगले हामी लैजान सक्दैनौँ । हामीलाई फाइनान्सियल अटोनोमिको जरुरी छ । स्वतन्त्रताको जरुरी छ । फाइनान्सियल अटोनोमि नभए न्यायपालिकाको स्वतन्त्रतामा पनि असर पुग्नसक्छ । वित्तीय स्वतन्त्रता पनि ठूलो कुरा हो । स्वायत्तता पनि ठूलो कुरा हो । यसमा हामीले सामान्य कुरा पनि गराउन सकेका छैनौँ । न्यायाधीशलाई अतिरिक्त काम गरेको पारीश्रमीक चाहिएन तर कर्मचारीलाई त दिऔँ । किन नदिने ? दिनुपर्छ । भन्दा त्यो पारिश्रमीक लिन पनि हामीलाई पहाड फुटाउनु भन्दा गाह्रो भइसक्यो । अहिलेसम्म प्राप्त गराउन सकेनौँ । यसले गर्दा हामी बाध्य बनाएर तपाईहरु तीनदेखि ५ बजेसम्म बसेर काम गर्नुहोस् भन्न नसक्ने अवस्थामा पुग्यौँ । गर्न सकेनौँ । हाम्रो कामको प्रकृति नै यस्तो छ न त कर्मचारी न त न्यायाधीशहरुले यदी अफिस टाइममा मात्रै काम गर्ने हो भने अहिले जति काम गरेका छाँै, त्यो कामको ५० प्रतिशत काम पनि हुँदैन ।’ उनले सर्वोच्च अदालतमा विचौलिया हटेको दाबी गरे । सर्वोच्च अदालतले मुद्दाको सुनुवाई गर्न गोलाप्रथाको चलन ल्याएपछि न्यायालय भित्रको विचौलियाको भागाभाग जस्तै भएको टिप्पणी गरे । वर्षौंदेखि जरा गाडेर बसेको सेटिङ समेत गोलाप्रथा लागू भएपछि हटेको बताए । उनले भने, ‘हामीले न्यायाधीशको नियुक्तिमा कर्मचारीहरुको बढुवामा हामी पारदर्शिता हुन सकेनौँ । हामीले वस्तुनिष्ठता अपनाउन सकेनौँ भन्ने आएको छ । त्यहाँ नातावाद, कृपावाद, संरक्षण, राजनीति हाबी भयो भन्ने कसैको कृपाबाट भयो, कसैको कार्यकर्ता भर्ती गर्ने ठाउँ भयो भन्ने लगायतका यी विभिन्न आरोपहरु सुनिने गर्दथे । यसलाई हामीले कसरी हेर्ने ? हुन त सक्छ, कुनै राजनीतिक दलप्रति पनि आस्था राख्नसक्ने मान्छे होला । त्यो नै उसको अयोग्यता हो र ? त्यो उसको अयोग्यता होइन । त्यसरी अयोग्यता बनाउने हो भने यो देशमा को मानिसलाई ल्याएर काम गराउने ? सबै मानिस एउटा न एउटा आस्थामा आधारित छन् । दलीय राजनीतिक व्यवस्थामा त्यो कुरा हुनुलाई अस्वभाविक मान्नु हुँदैन। हामीले कर्मचारीलाई त त्यो छुट दिएका छौँ । त्यसमा अब मेरिटलाई आधार बनाउनसके यो खालको अवस्था हुँदैन । हामीले शुरुवात गरिसकेका छौँ । एउटा न्यायपरिषद्बाट निर्देशिका जारी गरिसकेका छौँ न्यायाधीश नियुक्तिको सवालमा । हिजो गम्भीर यिनै आरोपहरु लाग्ने गरेको थियो । हामी हेरौँ न त । सरकारलाई ट्याक्स तिरेको लगायतका केही क्षेत्राधिकार राखेका छाँै । यो क्राइट एरिया राखेर नियुक्तिका लागि निवदेन माग्दा पनि पर्याप्त निवेदन परे । ति निवेदन २० वर्ष कटेका कानून व्यवसायीहरुको परेको छ । समावेशितालाई सम्बोधन गर्नसकिने गरी परे । मान्छेको खाँचो त रहेन छ नि । मैले जो नजिकका छन्, जसलाई चिनेको छ, त्यो न्यायाधीश नियुक्ति गर्ने गरिन्थ्यो पहिला अहिले त्यसैले समस्या आएका हुन् । तर हामीले अहिले निर्देशिका बनाएर एप्लीकेशन माग्दा पर्याप्त परे । २० वर्ष काम गरिसकेकाको परेको छ । उनीहरु सरहका मानिसहरु जिल्ला न्यायाधीश भइसकेका छन् । तर हामीले त्यो हिजो गरेनौँ । १० वर्ष पुग्न केही समय बाँकी रहेका मानिसलाई समेत कुरेर समेत लगियो भन्ने चर्चा चल्यो, त्यसैले त यो विवाद भयो, त्यसका अन्त्यका लागि हामीले यो गरेका छौँ । यस निर्देशिकालाई पूर्ण कार्यान्वयन गरेर जाने हो भने न्यायाधीश नियुक्तिमा आएका गुनासा समाधान गर्नसक्छौँ । त्यसो गर्दा न्यायाधीशहरुमा पनि योग्य, इमान्दार, सक्षम, आचारणमा बसेको न्यायाधीश ल्याउन मद्दत गर्छ । हामीले १५ दिनको नोटिस दिएर सार्वजनिक सुनुवाई गरेर बल्ल न्यायाधीशको नियुक्ति गर्ने प्रणाली निर्देशिकाले गरेको छ ।’ प्रधानन्यायाधीश कार्कीले आफ्नो कार्यकालमा राजनैतिक दबाब खेप्नु नपरेको बताए । उनले आफू भन्दा अगाडिको नेतृत्वले नै राजनैतिक दबाब र हस्तक्षेपलाई निमन्त्रणा दिने काम गेरको हुनसक्ने बताए । आफूले राजनैतिक आग्रहलाई कुनैपनि समय स्थान नदिएको बताए । स्वतन्त्रतालाई अन्तस्करणबाट ग्रहण गरेर व्यवहार गर्नसके हस्तक्षेप नहुने बताए । उनले भने, ‘सायद यो मैले त पहिला पनि भन्ने गरेको थिएँ । कतै न्यायपालिकाको नेतृत्वले नै हस्तक्षेपलाई निमन्त्रणा दिएको पो हो की ? भन्ने गरेको थिएँ । त्यो अवसर मैले दिइनँ । त्यो नदिएको कारणले गर्दा मलाई कसैले पनि कुनै मुद्दामा यसो गर्नुप¥यो, वा यस्तो मान्छेलाई नियुक्ति, सरुवा गर्नुप¥यो भन्नेकुरा सुन्नु परेन । आफूले न्यायपालिकाको सवतन्त्रतालाई अन्तस्करणबाट ग्रहण गरेर यदी व्यवहार गर्नसके अरुले आँट गर्दैनन् ।’ प्रधानन्यायाधीश कार्कीले अदालतको फैसलाबिरुछ सडकबाट समाधान खोज्न राम्रो नभएको बताए । उनले न्यायालयको प्रक्रियाबाट हुने फैसलालाई सम्मान गर्नुपर्ने बताए । नागरिकको मौीलक हक अधिकार र संविधानको रक्षा प्रक्रियामा सबैले विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘यो रुल होइन, यस्ता कुरा अपवादमा आएका छन् । तर अपवादमा पनि यस्ता कुराहरु आउनु हुँदैन । कसैले पनि अदालतको फैसलाको समाधान सडकबाट खोज्नु हुँदैन । यसका आफ्ना प्रक्रिया छन् । त्यो प्रक्रियाबाट नै खोज्नुपर्छ । जिल्ला अदालतको फैसला उच्चमा जानुपर्छ । त्यहाँबाट पनि चित्त बुझेन भने सर्वोच्च अदालतमा आउनुपर्छ । यहाँ पनि दुई जनाले गरेको चित्त बुझेन भने खास अवस्थामा बाहेक पुनरावलोकनमा ३ जना न्यायाधीश कहाँ जान सकिन्छ । यसका धेरै बाटाहरु छन् । ती बाटा प्रयोग गर्ने हो । त्यो संविधानअनुसार, कानूनअनुसार हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिक अधिकारको संरक्षण गर्ने कुरामा अदालतको काम हुन्छ । अदालत नै प्रमुख संस्था हो जसले संविधान र नागरिक अधिकारको संरक्षण गर्छ । त्यो संस्थाले गरेको चिजलाई नै हामीले विवादास्पद बनाइदियौँ, सडकमा लग्यौँ भनेदेखि काम गर्न कठिनाइ हुन्छ । आफ्नो भुमिका निर्वाह गर्नसक्दैन । दबाबमा पर्नुपर्ने अवस्था आउनसक्छन् । चर्चामा रहेका मुद्दा फैसला गर्न डराउनुपर्ने अवस्था आउनसक्छ । त्यसले अन्ततः सेवाग्राहीलाई असर पर्छ । न्यायका आकंक्षीहरुलाई असर पर्छ । स्वतन्त्रतापूर्वक न्याय सम्पादन गर्न दिनुपर्छ । त्यसको लागि सबैको भुमिका अहं रहन्छ र त्यो भुमिका सबैले आफ्नो तर्फबाट निभाउनु पर्छ ।’ प्रधानन्यायाधीश कार्कीले छोटो सयम प्रधानन्यायाधीश भएर काम गर्दा केही कठिनाइ भएपनि कामु भइसकेकाले कठिन भने नभएको बताए । उनले आफ्नो कार्यकालमा न्यायपालिकाको सुधारका लागि लागेको र केही पहल भएको बताए । उनले भने, ‘छोटो समयमा काम गर्नुपरेको कारणले सोचेजस्तो काम गर्न कठिनाइ उत्पन्न हुन स्वभाविक हो । त्यो कठिनाइ मलाई पनि भयो । तर म कायममुकायमको हैसियतले काम गर्न पाएको हुनाले त्यो कामुको हैसियतले काम गर्दा पनि प्रधानन्यायाधीशकै हैसियतले काम गर्नसक्ने र सम्पूर्ण अधिकार त्यही रुपमा पाउनसक्ने भएकाले त्यही पिरियडमा न्यायपालिकाको सुधार अभियानलाई सञ्चालन गर्नेकुरामा भुमिका निर्वाह गर्न पाएँ । त्यसमा सबै श्रीमानहरुको, यहाँको प्रशासनको सहयोग पाएँ । त्यसबाट न्यायपालिकाका सुधारका केही पाइला चाल्न सक्यौँ ।सुधार शुरु गरेका छौँ । धेरै कुरा गर्न बाँकी छन् ।’ प्रधानन्यायाधीश कार्कीले बारसँगको सहकार्य बिना न्यायालय सञ्चालन गर्न कठिन हुने बताए । उनले न्यायालय चुस्त बनाउनका लागि बारसँग सहकार्य गरेर नै अघि बढ्दा उचित हुने बताए । उनले आफ्नो कार्यकालमा समेत आफूले बारको सहकार्य र समन्वयमा नै काम गरेको बताए । उनले भने, ‘मेरो हिजो बारमा बस्दा र आज न्यायपालिकाको नेतृत्व गर्दाको अवस्थामा एउटै मान्यता छ, न्यायपालिका र बार एशोसिएशन एकअर्काका परिपूरक हुन् । एक अर्काको सहयोगमा मात्रै न्यायपालिकाले आफ्ना सम्पूर्ण योजनाहरु सफलतापूर्वक सम्पन्न गर्नसक्छ । मैले हिजो पनि भनेको थिएँ र आज पनि यही भनिरहेको छु र भोलिको नेतृत्वलाई पनि यही भन्छु की बार एशोसिएशनको सुझाव लिएर अघि बढ्ने हो भने हामी हाम्रा योजना सफलतापूर्वक लागू गर्न सक्छौँ । अहिले हरेक समितिमा बार एशोसिएशनको प्रतिनिधित्व हुने गर्छ । त्यसले योजना निर्माणदेखि लिएर त्यसका कार्यान्वनयका चरणसम्म पुग्न सक्छौँ । अहिले मैले नेतृत्व गरिरहँदा हिजो मैले कामु हुँदा वा अहिले नेतृत्व लिइरहँदा बार एशोसिएशनको पूर्ण सहयोगबाट नै न्यायपालिकाका काम अघि बढेका छन्, यसले धेरै सहयोग पनि भएको छ । बार एशोसिएशनलाई समेत बोलाएर मुद्दा व्यवस्थापन समितिमा छलफल गरेर पुराना मुद्दा व्यवस्थापन र मुद्दाको वक्यौतालाई न्युनिकरण गर्ने सवालमा बार एशोसिएशनले महत्वपूर्ण भुमिका निभाएको छ ।’ प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले न्याय परिषद्को संरचनाका कारण पनि न्याय सम्पादनमा कतिप स्थानमा समस्या आइरहेको बताए । उनले भने, ‘न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा त मैले मेरो नेतृत्वको प्रतिवेदनले पनि देखाएको छ । त्यसकारण न्याय परिषद्को संरचनाका कारण पनि वास्तवमा बैठक गर्नलाई कठिनाइ उत्पन्न भएको कुरा सत्य हो । त्यसको पुनरावलोकन हुन जरुरी छ । मैले वास्तवमा लोकतान्त्रिक संस्कार एउटा, संविधानले नै कोरेको गोरेटो हो । दोस्रो न्यायपरिषद्मा रहने व्यक्तिहरुको जुन पदीय हैसियतको हुनुहुन्छ, त्यसको मर्यादाको हिसावले, शिष्टताको हिसावले सबैको समयानुकुलनबाट बैठक गर्नुपर्छ भन्ने मान्यताका कारणले बैठक हुन कठिन भयो ।’ प्रधानन्यायाधीश कार्की साउन २० गतेबाट उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।