विकासन्युज

सतप्रतिशत बायोइथानोलबाट चल्ने टोयोटा फर्च्युनर, पेट्रोल डिजेलको झन्झट अन्त्य हुने

काठमाडौं । टोयोटाले पाइलट प्रोजेक्ट स्वरुप हाइड्रोजन पावर सहितको मिराई कार ल्याएको छ । जापानी अटोमोबाइल कम्पनी टायोटाले इन्डोनेसिया आटो शो २०२३ मा फ्लेक्स फ्युल सहितको टोयोटा फच्र्युनर प्रस्तुत गरेको छ । यसलाई एसयुवीको २.७ लिटर एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिनको साथमा प्रस्तुत गरिएको छ । यसलाई शतप्रतिशत रुपमा बायोइथानोलमार्फत सञ्चालन गर्नको लागि फ्लेक्स इन्धनको लागि इन्जिनमा केही परिवर्तन गरिएको छ, जुन यसको फ्युल सिस्टम र इसियुमा प्रोग्रामिमार्फत गरिएको छ । यसको फ्लेक्स फ्युलको विषयमा कुरा गर्दा पेट्रोल भर्सनको तुलनामा केही कम पर्फमेन्स गर्न सक्छ । फ्लेक्स फ्युलमा इन्जिनले १६३ एचपी अधिकतम पावर र २४३ एनएम पीक टर्क जेनेरेट गर्छ भने पेट्रोलमा १६६ एचपी पावर र २४५ एनएम पीक टर्क जेनेरेट गर्छ। यसमा अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ, जसले पावरलाई रियर व्हिलमा सप्लाई गर्ने काम गर्र्छ । यसका साथै कम्पनीले हाइड्रोजनमा चल्ने गरी डिजाइन गरिएको कोरोला क्रस इ–१०० र कोरोला एचटु पनि सार्वजनिक गरेको छ । एजेन्सीको सहयोगमा ।

कागबेनी बाढी अपडेट : २९ घर पूर्णरूपमा ध्वस्त, १० मोटरसाइकल र २ गाडी बग्यो

ढोरपाटन । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । एक्कासी बजारमा बाढी आयो, बाढी आयो भन्दै हल्ला मच्चियो । एकैछिनमा बजारका सबै स्थानीय बजारभन्दा माथि सुरक्षित स्थानमा निस्किए । माथिपट्टि निस्किएको केही मिनेटमै कागबेनी बजारमा बाढी पस्यो, बाढीले हर्दाहेर्दै बजारलाई बगरमा परिणत बनायो । स्थानीय आफ्नो भएभरको सम्पत्ति आँखै अगाडि बाढीमा परेको देख्न विवश भए । केहीले लत्ताकपडा, सुन तथा गरगहना निकाल्न भ्याए भने धेरैले सामान्य लत्ताकपडा पनि निकल्न पाएनन् । बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन् । कागखोलामा करिब दुई घन्टा आएको बाढीले हेर्दाहेर्दै बजारलाई कालीगण्डकीमा मिसाएको स्थानीय धावा दोर्जे गुरुङले सुनाए । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका वडा सदस्यसमेत रहेका गुरुङले बाढीमा कुनै पनि मानवीय क्षति नभएको जनाउँदै भौतिक सम्पत्ति ध्वस्त बनेको बताए । यो बाढी अहिलेसम्मकै ठूलो भएको र क्षति पनि धेरै पुर्याएको उनले बताए । माथिल्लो क्षेत्रबाट बाढी आएको खबर नभएको भए यहाँका सयौँ मानिस बाढीमा पुरिन सक्ने उनले सुनाए । “दिनभरि काम गरेर साँझ खाना पकाउँदै थियौँ, एक्कासी मुक्तिनाथबाट कागखोलामा बाढी आयो भनेर आफन्तको फोन आयो, पकाउँदै गरेको खाना त्यत्तिकै छाडेर वरपरका छरछिमेकलाई हारगुहार गर्दै बस्तीभन्दा माथि पुग्यौँ, हेर्दाहेर्दै कागखोलामा आएको बाढी कागबेनी बजारमा बस्यो,” उनले भने, “एकै छिनमा सबै घर बगरमा परिणत भए, धन्न ज्यान बाँच्यो, मुक्तिनाथ क्षेत्रबाट धेरैले फोन गरेर बाढी आएको जानकारी गराइदिनुभयो र हामी बाँच्यौँ, नत्र सबै बाढीमा परिने रैछ ।” बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजीन नामगेल गुरुङले बाढीपीडितलाई सुरक्षित स्थानमा सारिएको बताए । उनका अनुसार बाढीले २९ घर बगरमा परिणत भएका छन् । तेह्र आंशिक क्षति भएको अध्यक्ष गुरुङको भनाइ छ । आंशिक क्षति भएका घरको पहिलो तलासम्म बाढी पसेको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई जारी राखेको उनको भनाइ छ । सोमबार रातिसम्मको विवरणअनुसार चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको उनको भनाइ छ । बाढीले प्रभु बैंकको घर नै बगाएको छ भने जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको अध्यक्ष गुरुङले जानकारी दिए । मर्धशाला, गुम्बालगायतका संरचना पनि बाढीमा परेको उनी बताउँछन् । उनका अनुसार करिब २०–२५ वटा पशुचौपाया पनि पुरिएको आकलन गरिएको छ । कागबेनीमा जिल्ला बाहिरबाट सडक तथा विभिन्न ठाउँमा काम गर्ने ६० मजदुरको उद्धार गरी जोमसोम सामुदायिक हलमा स्थानान्तरण गरिएको अध्यक्ष गुरुङको भनाइ छ । बाढीपीडितलाई अहिले आफन्तकहाँ राखिएको भन्दै नेपाल सरकारको नीति नियमानुसार राहत सहायता दिने उनी बताउँछन् । तत्कालका लागि गाँसबास, कपासको व्यवस्था गाउँपालिकाले गर्ने उनले बताए । “अप्रत्यासित घटना भयो, बजारका घर देखिसक्नु छैनन्, धेरै घर बाढीले बगायो, बाढीले क्षति पुर्याएका घर पनि भत्किरहेका छन्, अहिलेसम्म मानवीय क्षति भएको पाइएको छैन, भौतिक क्षतिको त धेरै भएको छ, अहिले भर्खरै मूल्याङ्कन गर्न सक्ने अवस्था छैन, बाढीपीडितलाई अहिले अग्लो स्थानमा सुरक्षितरूपमा राखेका छौँ”, अध्यक्ष गुरुङले भने, “यहाँ धेरै कामदार पनि बस्थे, उनीहरूलाई घरपझोङ गाउँपालिकाले खाना बस्नको व्यवस्था गर्ने गरी जोमसोम सारिएको छ ।” बाढी कागखोलाको सहायक तिरीखोलामा पहिरो आएर थुनिएको आकलन गरिएको छ । मुक्तिनाथबाट सुरु हुने कागखोला कागबेनीमा आएर कालीगण्डकीमा मिसिन्छ । बाढीले पोल बगाउँदा विद्युत् अवरुद्ध भएको सहायक जिल्ला अधिकारी चन्द्रकान्ता बस्नेतले जानकारी दिइन् । खानेपानीको पाइपलाइन पनि बगाउँदा खानेपानी अभाव भएको उनको भनाइ छ । विद्युत् र खानेपानी सञ्चालनका लागि काम सुरु भएको उनी बताउँछिन् । बाढीले पुल बगाउँदा उपल्लो मुस्ताङसम्मको यातायात ठप्प छ भने मान्छे हिँड्नका लागि अस्थायी काठको पुल निर्माण गरिएको उनले जानकारी दिइन् । अहिले बाढी रोकिए पनि स्थानीय त्रसित छन् । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भनिन्, “बाढीले बिजुलीका पोल र पाइप लाइन पनि बगाएको छ, त्यसलाई तत्काल सञ्चालनमा ल्याउनका लागि विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेर काम सुरु भएको छ, उपल्लो मुस्ताङ जाने सडक त ठप्पै भएको छ, अहिले भर्खरै यो सडक खुलाउन सक्ने अवस्था पनि कम छ, विस्तारै यातायात सञ्चालनका लागि प्रयास गर्छौँ ।” वर्षा रोकिएको भए पनि कागबेनीवासी कागखोला हेर्दै झस्किने गरेका छन् । प्रशासनले तटीय क्षेत्रका बस्तीलाई सजगता अपनाउन आग्रह गरेको छ । रासस

मेलम्ची खानेपानी मुहान जाने सडक बाढीले अवरुद्ध

सिन्धुपाल्चोक ।  मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले अवरुद्ध बनाएको छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्याएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनले गुनासो गरे । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनले बताए । ‘हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्याइरहेको अवस्थामा आएको बजेट विकासमा खर्च गरौँ कि खोलामा लगेर हालौँ  ?’, उनले प्रश्न गरे । अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने जनाउँदै उनले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजनास्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताए। अध्यक्ष शेर्पाका अनुसार अहिले पाटीभञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ ।  बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए । अध्यक्ष शेर्पाले काठमाडौँबाट साँखु, भोटेचौर, हैबुङ, पाटीभञ्ज्याङ हुँदै हेलम्बुको ग्याल्थुमसम्म पुग्न सकिने सडक सञ्चालनका लागि काम भइरहेको बताए । गत हिउँदमा नदी नियन्त्रण तथा व्यवस्थापनका लागि गरिएको सबै प्रयास असफल भएपछि अहिले तनाव सिर्जना भएको उनले बताए । ‘खोलालाई पुरानै धारमा फर्काउनका लागि करोडौँ बजेट खर्च भयो तर अहिले उपलब्धि केही छैन, आगामी दिनमा हेलम्बुमा दीर्घकालीन योजनाबिना जथाभावी खोलामा मेसिन हाल्न रोक लगाउँछु’, अध्यक्ष शेर्पाले भने । रासस

‘ब्रेक सु’ भित्रको सुन आज गालिँदै

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन आज गालिने भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ । यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने पनि उनले बताए । त्यसका लागि केही दिन लाग्नेछ । त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ । राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई दिएको थियो । उक्त घटनामा अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ ।

चितवनका शिवले कृषि पेसामा मासिक डेढ लाख कमाउँदै

भरतपुर । नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुन् चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उनले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल भएका छन् । उनले मासिक एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । झन्डै डेढ करोडको लगानीमा पौडेलले शुभलक्ष्मी कृषि तथा पशुपक्षी फार्म सुरु गरेका हुन् । विसं २०७२ देखि सुरु भएको उनको फार्ममा अहिले कुखुरा, हाँस, माछा, बाख्रा, गाईभैँसी छन् । उनको फार्ममा अहिले झन्डै पाँच हजार ब्रोइलर कुखुरा र तीन सय स्थानीय जातका कुखुरा छन् । यस्तै दुई कठ्ठामा निर्माण गरिएको पोखरीमा पौडेलले माछा पालेका छन् । गाईपालनबाट कृषि पेसा सुरु गरेका उनले केरासमेत व्यावसायिकरूपमा लगाएका थिए । पछि जनशक्ति अभावका कारण गाईपालन, बाख्रा र केराखेती कम गर्दै उनले कुखुरा, हाँस र माछापालनमा जोड दिए । कृषि पर्यटनको अवधारणास्वरुप उनले फार्म निर्माण गरेका हुन् । फार्ममा पाहुनालाई समेत ल्याउन मिल्ने गरी संरचना तयार गरिएको छ । ‘यहाँ आउने पर्यटकले आफैँ माछा मारेर खान पाउनुहुन्छ’, उनले भने, ‘लोकल कुुखुरा आफँ पकाएर खान सकिन्छ’ । उनको फार्म छ हजार ब्रोइलर र एक हजार लोकल कुखुरा अट्ने क्षमताको छ । पौडेलले माछाका लागि भुरा उत्पादन आफैँ गर्छन् । ‘माछामा त्यति धेरै लगानी छैन । सुरुमा लगानी भयो, अहिले नियमित प्रतिफल दिइरहेको छ’, उनले भने । माछामा लगानीको १५ प्रतिशत पनि खर्च नहुने उनको भनाइ छ । कुखुरा र गाईवस्तुले फालेका दाना माछालाई खुवाउने गरेको पौडेलले बताए । उनले वार्षिक तीन क्विन्टल माछा निकाल्ने गरेको जानकारी दिए । उनको पोखरीमा कमनग्रास र सिलर्भर जातका माछा छन् । पौडेलको फार्ममा जडीबुटी खेतीसमेत छ । उनले दुई हेक्टर जमिनमा हर्रो, बर्रो, अमला, टिमुर, सिल्टिमुरलगायतका जडीबुटी लगाएका छन् । उनले कबुलियत मृगस्थली वनको जमिनमा जडीबुटी खेती गरेका हुन् । यसका लागि जिल्ला वन कार्यालयले दुई लाख रुपैयाँसमेत दिएको थियो । कृषि फार्ममा नियमित तलब दिएर कामदार राखिएको छैन । ‘सबै काम श्रीमान्–श्रीमती मिलेर गर्ने गरेका छौँ’, उनले भने, ‘आवश्यकतानुसार ज्यालादारी कामदार खोजेर लगाउने गरेका छौँ ।’ बैंकबाट ऋण लिएर कृषि पेसामा लागेका शिवले फार्मकै आम्दानीबाट ऋण तिरेको बताउँछन् । उनले यो फार्मलाई अब कृषि पर्यटनका रूपमा विकास गर्ने लक्ष्य राखेका छन् । अहिलेसम्म राज्यको कुनै पनि निकायबाट सहयोग नलिएको उनी बताउँछन् । ‘कृषि पेसा चुनौतीपूर्ण छ’, उनले भने, ‘कहिले के हुन्छ भन्ने ठेगान नै हुँदैन ।’ कृषि पेसा आशाको पेसा भएको भन्दै उनी वातावरण, बजार र मूल्यमा भर पर्ने बताउँछन् । ‘ब्रोइलरको दाना र चल्लाको मूल्य कहिल्यै घट्दैन । मासुको मूल्य सधैँ तलमाथि हुन्छ’, उनले भने, ‘भुस किन्न पनि महँगो छ ।’ किसानलाई प्राकृतिकरूपमा आउने विपत्ति र बजारीकरणको समस्या रहेको उनी बताउँछन् । उनले ठूला व्यवसायीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण साना किसान समस्यामा पर्ने गरेको गुनासो गरे । कृषि पेसाअघिका सङ्घर्ष पौडेल रोजगारीका लागि नेपालमै केही गर्न सकिन्छ भनेर विभिन्न पेसामा लागे । उनले कुरिनटारमा चार वर्ष पुस्तक पसलसमेत सञ्चालन गरे । तर भनेजस्तो आम्दानी नभएपछि अन्य युवाजस्तै उनी विदेशिन बाध्य भए । उनी कतारमा चार वर्ष बसे । तर आम्दानी भने सोचेजस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका पौडेलले नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्के । उनले कृषि पेसामा प्रशस्त सम्भावना देखेर आफ्नै पुख्र्यौली जमिनमा व्यावसायिकरूपमा कृषि गर्न थाले । विसं २०७२ देखि फार्म दर्ता गरेर व्यवसाय थालेका पौडेल आफ्नो कामप्रति गर्व गर्छन् । उनले छोरालाई डाक्टर र छोरीलाई नर्स पढाएका छन् भने परिवारलाई खुसी राखेका छन् । छोराछोरीले छात्रवृत्तिमा नाम निकालेको भन्दै उनले वार्षिकरूपमा हुने आम्दानीले आफू सन्तुष्ट रहेको बताउँछन् । ‘कृषि पेसाले मानिसलाई सन्तुष्टि पनि दिन्छ’, उनले भने, ‘अग्र्यानिक खानेकुरा खान पाइने भएकाले स्वस्थ्य पनि भइन्छ ।’ उनलाई यतिबेला बजारको खासै समस्या छैन । नजिकै रहेका मुग्लिन, कुटिनटार र फिस्लिङबाट उनले उत्पादन गरेका वस्तु बिक्री हुन्छ । कुरिनटारमा रहेको सशस्त्र प्रहरीको तालिम शिक्षालयमा पनि उनले उत्पादन गरेका वस्तु लैजाने गरिएको छ । सरकारले उत्पादित कृषिका सामग्रीलाई बजार व्यवस्थापनका लागि सहयोग गर्नुपर्ने उनको माग छ । ‘सरकारले कृषिमा उत्पादन र कृषिलाई विस्तार गर्न वार्षिकरूपमा अनुदान रकम बाँड्दै आएको छ । तर कृषकसम्म अनुदान रकम पुग्दैन । वास्ताविक कृषक अनुदानबाट बञ्चित छन्’, उनले भने, ‘कृषकका लागि ल्याएको कृषि अनुदान किसानले पाउँदैन । यो कतिसम्म विडम्बनाको विषय हो । सरकारले कृषि पेसामा लागेका कृषकलाई उत्साह होइन, विस्थापित गर्न मात्र खोजिरहेको देखिन्छ ।’ युवालाई सुझाव कामको खोजीमा विदेशिनेहरूलाई स्वदेशमै उद्यम गर्न उनको सुझाव छ । ‘विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ’, उनले भने, ‘त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाइ यहीँ गर्न सक्छौँ ।’ रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने पौडेलको सुझाव छ । स्थानीय सरकारले पनि आफ्नो गाउँठाउँमा भएका उत्पादनको प्रवर्द्धनमा जोड दिनुपर्ने पौडेल बताउँछन् । कृषि पेसामा आउन चाहने युवालाई बजारसँग जोडिएर काम गर्न पौडेलको सुझाव छ । ‘कृषि पेसामा चुनौतीका बाबजुद पनि आशाका किरण प्रशस्त छन्’, उनी भन्छन् । रासस

पोखराबाट ‘स्कुल ड्रेस’मा एकैदिन हराए तीन बालिका

कास्की । पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए पछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ । परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । “आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाइएका छौँ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भने।

आइजिआई प्रुडेन्सियलले ५२ प्रतिशत बढायो नाफा, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड १० लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनील १७ करोड १२ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५२ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ३२ प्रतिशत बढेर ८५ करोड ६७ लाख ३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड ७४ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ४३ करोड ३६ लाख ५७ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड ४९ लाख ३६ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ, जगेडा कोष ५६ करोड ८३ लाख रुपैयाँ र बीमा कोष १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १२.८५ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६५.१२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५८ गुणा रहेको छ ।

नाफामा १८५ प्रतिशत छलाङ् मारेको हिमालयन एभरेष्टको ईपीएस १७.४१ रुपैयाँ

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४० करोड ६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६ लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १८५ प्रतिशत नाफा बढाएको हो । गत असारसम्म कम्पनीको खुद बीमा शुल्क ३८ प्रतिशत बढेर १ अर्ब १७ करोड ७५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८५ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको खुद दाबी भुक्तानी ३ प्रतिशत बढेर ६० करोड १५ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ३७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४.९५ प्रतिशत घटेर २ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ६४ प्रतिशत बढेर ६९ करोड ८ लाख रुपैयाँ र बीमा कोष १२.८४ प्रतिशत बढेर १ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७.४१ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १७१.०५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.४७ गुणा रहेको छ ।