सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक बाहिरिँदै
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका १० जना सेयरधनीहरुले कूल ३ लाख ३४ हजार ८७४ कित्ता संस्थापक सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक शिब लाल भण्डारीको नाममा रहेको १२ हजार २ सय कित्ता, गोबर्धन ढकालको २८ हजार कित्ता, दिन बन्धु कुँवरको १३ हजार १५० कित्ता, गोबर्धन अधिकारीको २३ हजार कित्ता र ज्योति पाण्डेको २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, बैंकले माधव प्रसाद मैनालीको ६९ हजार ७८५ कित्ता, सुलोचना अधिकारीको ७ हजार २६६ कित्ता, अनिश पालिखेको २३ हजार ५०३ कित्ता, पवित्र लाल चुकेको १ लाख ५० हजार कित्ता र उमेश कुमार मुडभरीको ५ हजार ९७० कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकको उक्त सेयर जोकोही सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको १५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ ।
१४५ रुपैयाँमा शाइन रेसुङ्गा बैंकको सेयर बिक्रीमा
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको साढे २० हजार कित्ता सेयर बिक्री गर्न लागेको जनाएको छ । बैंकका अनुसार संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकको सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । त्यसैले सो मूल्य नघट्ने गरी खरीद गर्न ईच्छुक संस्थापक तथा सर्वसाधारण लगानीकर्ताले आवेदन पेश गर्न सक्ने छन् । बैंकको सेयरमा आज चदौ ८ गतेदेखि भदौ १७ गतेसम्म आवेदन दिन सकिने छ । सेयर खरिद गर्न इच्छुक जोकोही सर्वसाधारण लगानीकर्ताले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलमा सम्पर्क गर्न सक्नेछन् ।
५ हजार कित्ता आवेदन दिन मिल्ने भगवती हाईड्रोको आईपीओ खरिद गर्ने आज अन्तिम मौका
काठमाडौं । भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि प्रिमियममा बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज भदो ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ५८ लाख ९ हजार ७ सय रुपैयाँको सेयर बिक्री गरेको हो । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको छ । सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ८५ हजार ८१० कित्ता सेयर विदेशमा रोजगार गरीरहेका नेपाली र ५ प्रतिशत अर्थात् ४२ हजार ९०५ कित्ता सामुहिक लगानी कोषलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ । अब कम्पनीले २ प्रतिशत अर्थात् १७ हजार १६२ कित्ता कम्पनीका कर्मचारी र बाँकी ७ लाख १२ हजार २२० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपि त्रीपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
जाम नेपालको अध्यक्षमा सागर गजुरेल चयन, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल)को अध्यक्षमा सागर गजुरेल चयन भएका छन् । बिहीबार सम्पन्न जाम नेपालको दोश्रो वार्षिक साधारण सभाले पत्रकार गजुरेललाई जामको अध्यक्षमा चयन गरेको हो । उनको नेतृत्वमा १२ जनाको नयाँ कार्यसमिति चयन गरिएको छ । त्यस्तै, उपाध्यक्षमा सुरेन्द्र पौडेल, महासचिवमा तोयानाथ पौडेल, सचिवमा प्रयास श्रेष्ठ, कोषाध्यक्षमा वसन्त अर्याल निर्वाचित भएका छन् । यता सदस्यमा ७ जना चयन भएका छन् । जसमा सौरभ नेपाल, युवराज बस्नेत, उज्वल घिमिरे, रोशन श्रेष्ठ, शुक्र गिरी, सुधिर भण्डारी र अरिष्मा लामा रहेका छन् ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । मन्त्रालयको परिवार कल्याण महाशाखाले यसै आर्थिक वर्षमा खोप अभियानका लागि भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई औपचारिकरूपमा प्रस्ताव पेश गरी पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एचपिभी’ माग गरेको हो । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ माग गर्दै गाभीलाई प्रस्ताव पेश गरिएको जानकारी गराए । ‘गाभीलाई हाम्रो यस कार्यक्रम मन पर्यो र नेपाललाई सहयोग गर्छु भनेपछि हामीले औपचारिकरूपमा खोप माग गर्दै प्रस्ताव पठाएका छौं’, उनले भने, ‘हाम्रो प्रस्तावलाई गाभीले स्वीकृत गरेर खोप पठायो भने हामी यही आर्थिक वर्षको अन्त्यसम्म खोप अभियान सञ्चालन गर्ने योजना रहेको छ ।’ उनले खोप अभियानका लागि भने आफूहरूले पूर्वतयारी गर्ने जानकारी दिए । महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले साउनको अन्तिम साता गाभीसँग १७ लाख मात्र ‘एचपिभी’ खोपको प्रस्ताव गर्दै पत्र पठाइएको जानकारी दिए । दश देखि १४ वर्ष उमेर समूहका बालबालिकाको सङ्ख्या १६ लाख ५० हजार रहेको छ । ‘हामीले गाभीसँग खोपका लागि औपचारिकरूपमा पत्र पठाएका छौं,’ उनले भने, ‘गाभीले हाम्रो पत्रलाई सकारात्मकरूपमा लिएको छ ।’ यसअघि शाखाले दादुरा-रुवेला रोग विरुद्धको खोप अभियानका लागि पनि गाभीसँग ५७ लाख मात्रा खोप माग गर्दै पत्र पठाएको थियो । शाखाका प्रमुख डा गौतमले क्रमशः पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपलाई प्रत्येक वर्ष अभियानका रूपमा सञ्चालन गरिने बताए । उनका अनुसार हरेक वर्ष साढे तीन लाख १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । “यसवर्ष हामीले गाभीबाट सहयोग प्राप्त गरे पनि प्रत्येक वर्ष नै लगाउने हाम्रो योजना छ,’ उनले भने, ‘खोपले महिलालाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउन सहयोग गर्दछ ।’ नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सबभन्दा बढी स्तन क्यान्सर हुने गरेको छ । सन् २०२२ को तथ्याङकमध्ये दुई हजार दुई सय ४४ महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो । शाखाका प्रमुख डा गौतमले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एक मात्रा लगाउन मिल्ने खालको माग गरिएको पत्र पठाइएको बताए । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाकारूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । सो अवसरमा कास्कीमा १० हजार नौ सय ३६ र चितवनमा १४ हजार ३५ किशोरीलाई एचपिभी खोप प्रदान गरिएको थियो । अहिले केही निजी अस्पतालले किशोरीलाई उक्त खोप पाँचदेखि छ हजार रुपैयाँ तिरेर लगाइने दिने गर्दछन् । सरकारले गत असारमा पाठेघरको मुखको क्यान्सरविरुद्ध ल्याएको २० हजार मात्रा एचपिभी खोप नीतिगत निर्णय नभएकाले अहिलेसम्म लगाएको छैन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही ‘ह्युमन प्यापिलोमा भाइरस’ को कारणले पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताउँछन् । उनका अनुसार उक्त भाइरसको कारणले ९९ प्रतिशत र असुरक्षित यौन सम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । दुई सय प्रजातिका ‘ह्युमन प्यापिलोमा भाइरस’ मध्ये १६ र १८ प्रजातिको भाइरसले बढी सङ्क्रामक हुने गरेको र उक्त प्रजातिका भाइरसले महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने उनको भनाइ छ । क्यान्सर रोग विशेषज्ञ डा शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको बताउँछन् । “नेपालमा हरेक दिन छ जनाको यसै क्यान्सरको कारणले मृत्यु हुने गरेको छ । अझ यस क्यान्सरबाट दुर्गम क्षेत्रका महिला बढी नै रहेका छन्”, उनले भने, “यो क्यान्सरबाट बचाउनका लागि खोप नै आवश्यक पर्दछ ।” उनी असुरक्षित यौन सम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको बताउँछन् । रासस
गाडीका शोरूमहरू बन्द हुने अवस्थामा पुगे, हजारौंले रोजगार गुमाउने छन् : महासचिव उप्रेती
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनका महासचिव सुरेन्द्र कुमार उप्रेतीले सवारी साधन अर्थात गाडीहरुका शोरुमहरु बन्द हुने अवस्थामा पुगेको बताएका छन् । जोर्नालिष्ट एशोसियसन अफ अटोमोबाइल एण्ड मोबिलिटी (जाम नेपाल) को दोश्रो वार्षिक साधारण सभाको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गाडीको शारूमहरू बन्द हुने अवस्थामा छन्, शोरूम बन्द हुँदा हजारौंले रोजगार गुमाउने छन्,’ उनले भने । यातायात क्षेत्रलाई चलायामान बनाउन कठिन भएको बताउँदै उनले सरकारले ल्याएको जोखिम भारले बैंकहरुले गाडीमा लगानी नगरेको बताए । ‘सरकारको खराब नीतिले व्यवसाय धरापमा हुँदै गएको छ, यातायात क्षेत्र चलायमान भएको छैन, सरकारले व्यवसायीलाई निरूत्साहित गर्ने काम गरेको छ, सरकारले ल्याको विभिन्न नीतिले गाडी व्यापारमा धक्का लागेको छ,’ उनले भने । साथै, उनले अटो व्यवसाय सुधारको निमित्त सबै मिलेर लाग्नु पर्ने समेत बताए ।
आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग
टोकियो । जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आज राजधानी टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै समुद्री उत्पादनमाथि लगाइएको आयात प्रतिबन्ध तत्काल हटाउन चीनसँग माग गरेको बताए । ‘हामीले कूटनीतिक माध्यममार्फत चीनसमक्ष उजुरी गर्दै तत्काल प्रतिबन्ध हटाउन आग्रह गरेका छौँ,’ उनले भने । चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी आज बिहानदेखि प्रशान्त महासागरमा प्रवाह गरेको हो । रासस/एएफपी
पर्यटकले अनलाइनबाटै बसको टिकट पाउने, टिवानले ल्यायो मोबाइल एप्स
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने व्यवस्था मिलाएको हो । यसअघि विभिन्न अनलाइन माध्याममार्फत टिकट खरिद गर्दै आएका पर्यटकको सुविधाका लागि टिवानले ‘टुरिष्ट बस नेपाल’ एप्समार्फत टिकट काट्न मिल्ने व्यवस्था गरेको टिवानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । ‘आन्तरिक तथा बाह्य पर्यटक नझुक्किउन र उनीहरुलाई टिकट खरिदमा सहजता होस् भन्ने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएका हौं,’ उनले भने- ‘यस एप्समार्फत आफू जान चाहेको बसको टिकट, सिट नं र स्थानको सहजै टिकट लिन सकिनेछ ।’ हाल काठमाडौंबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुर तथा पोखरादेखि लुम्बिनी र सौराहामा झण्डै एक सय पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका टिवानका उपाध्यक्ष भीष्म न्यौपानेले जानकारी दिए । टिवानले आगामी असोजदेखि पोखरादेखि मुक्तिनाथसम्म पर्यटकीय बस सञ्चालन गर्ने तयारी थालेको उनले बताए । उनका अनुसार हाल काठमाडौंमा पर्यटकीय बसका लागि छुट्टै बसपार्क नहुँदा अस्थायी रुपमा सोह्रखुट्टेस्थित सडकबाट सञ्चालन हुँदै आएका छन् । रासस