विकासन्युज

पहिरोले कान्ति लोकपथ अवरुद्ध, सवारी आवागमनमा अवरोध

काठमाडौं । कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडामा गए राति पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार निरन्तर पानी परिरहेका कारण सो स्थानमा पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । मौसम सुधार भएमा आज अपराह्नसम्ममा पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पहिरो गएको स्थान मकवानपुर र ललितपुर जिल्लाको सिमानामा पर्दछ । यसैगरी त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा यातायात सञ्चालन भइरहेको प्रवक्ता कार्कीले बताए । रासस

देशैभर मनसुनी वर्षा

काठमाडौं । हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा अवस्थित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशको एक–दुई कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

विमानस्थलबाट मुद्रासहित विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार निजको साथबाट प्रहरीले एक सय दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, पाँच सय दरको एक हजार एक सय थान गरी आठ लाख ५० हजार रूपैयाँ नेपालीसहित बिहीबार पक्राउ गरिएको हो । फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा प्रहरीले जाँच गर्ने क्रममा उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । निजलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

टिमुरेमै रोकिए चीनबाट ल्याएका ४०० बढी विद्युतीय सवारी

रसुवा । रसुवागढी नाकाबाट नेपाल भित्र्याइएको चिनियाँ विद्युतीय सवारीसाधन टिमुरेमा रोकिएका छन् । टिमुरेबाट रोङ्गा दोभानसम्मका विभिन्न स्थान र भोटेकोसी पुल नजिक याङ्याङ पाखा, सानुभार्खु भिर एवं ठूलोभार्खु डाँडाको सडकखण्डमा अत्यधिक हिलोका कारण विद्युतीय कारलगायत साना सवारीसाधन रोकिएका हुन् । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार स्याफ्रु-रसुवागढी सडक खण्डमा अत्यधिक हिलो भएका कारण गत वर्ष र चालुआवको साउन महिनामा आयात गरिएका ४०० भन्दा बढी नयाँ कार, जीप, भ्यान टिमुरेमै रोकिएका छन् । यसबाट १ अर्बभन्दा बढी भन्सार शुल्क असुल गर्न बाँकी रहेको उनले बताए । सडकको नाजुक अवस्थाका कारण रसुवागढी क्षेत्रमा अहिले एमबी, बीवाइडी, किङलङ र नेटा कम्पनीले आयात गरेका सवारीसाधन रोकिएका जनाइएको छ । सडक सुधार गरी नेपाल–चीनबीचको मालसामग्री आयात निर्यातमा सहजता गरिदिन सडकसँग सम्बन्धित निकायमा अनुरोध भइरहेको भन्सार कार्यालयले जनाएको छ । मालवस्तु आयात–निर्यात गर्ने प्रमुख नाकाको सडकमार्ग संरक्षणमा सडक विभाग गम्भीर हुनुपर्नेमा स्थानीय बासिन्दाले समेत माग राखेका छन् । सडक विभागले हिलो फ्याँक्न सक्ने एउटा ठूलो उपकरण र बलौटे माटो बोक्ने टिपरसमेत राख्नुपर्ने स्थानीयको माग छ । यस्तै चालु आर्थिक वर्षको साउनमा आयातित चिनियाँ माल सामग्रीबाट १ अर्ब ३ करोड ९६ लाख ३७ हजार ९१ भन्सार शुल्कवापतको राजस्व सङ्कलन भएको छ । साउनमा लक्ष्यभन्दा ३०.२६ प्रतिशतले राजस्व वृद्धि भएको बताइन्छ । चीनबाट जुत्ता, चप्पल, रेडिमेट कपडा, विद्युतीय उपकरण, रोल कपडा, बच्चाका खेलौनालगायतका विविध सामग्री आयात भएको बताइएको छ । साउनमा ३५० वटा कन्टेनरमार्फत चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । माल सामग्री परीक्षण कार्यमा कडाइ गरिएको र आफूले मगाएको सामानमा ब्राण्ड फरक पारी गलत घोषणा गर्ने कम्पनी वा फर्मका प्रतिनिधिलाई थप मूल्यको ५० प्रतिशत जरिवानासमेत गर्न थालिइएको छ । यसबाट चालु आवको पहिलो महिनामै त्यस्ता गलत विवरण भर्ने व्यापारीका प्रतिनिधिबाट आठ करोडभन्दा बढी जरिवाना गरिसकिएको प्रमुख भन्सार अधिकृत पाठकले जानकारी दिए । रासस

‘आइफोन’ उपहारको आश गर्दा…

काठमाडौं ।  ‘आइफोन’ उपहार पाउने झुटा आश्वासनको लोभमा फस्दा महिलाहरू झन्डै आधा करोड रकम ठगीमा परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सुरुमा गिरोहले सामाजिक सञ्जाल टिकटक, फेसबुक, वाट्सएपलगायतमार्फत पीडितसँग सम्पर्क गरी विश्वास दिलाएर आइफोन उपहार परेको र त्यसका लागि ‘कष्टम क्लियरेन्स’ गर्न पैसा चाहिने भनेर रकम माग गरे । उक्त जानकारीपछि आइफोन पाउने लोभमा महिलाले धमाधम उसले भनेको बैंक खातामा पैसा पठाए । झन्डै आधा करोड रकम जम्मा गरेपछि ती व्यक्ति सम्पर्कविहीन भए । त्यसपछि ठगिएको चाल पाएका पीडितहरूले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा खोजतलास र अनुसन्धान गर्दा पीडितबाट झन्डै आधा करोड रकम ठगी भएको फेला परेको ब्यूरोका प्रहरी उपनिर्देशक प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए । “तपाईँ लक्की हुनुभएको छ, तपाईँले लक्की ड्रमार्फत आइफोन जित्नुभएको छ, हामी आइफोन पठाउँदैछौँ, कष्टम क्लियरेन्सका लागि हामीलाई पैसा पठाउनुपर्छ”, भनेर पीडित महिलालाई विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको ब्यूरोमा जाहेरी परेको रायले बताए । प्राप्त निवेदनमाथि प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा यसरी ठगीमा रौतहटको कटहरिया बस्ने ३० वर्षका उमेशकुमार यादव र पर्साका राजकुमार पण्डित संलग्न रहेको पत्ता लागेपछि ललितपुर कुपण्डोलबाट पक्राउ गरी उनीहरुबाट रु ४९ लाख ९५ हजार नगद तथा सञ्चार उपकरणसमेत बरामद गरिएको छ । उनीहरुको साथबाट रु ४९ लाख ९५ हजार, सात थान मोबाइल, एक सय ८३ थान सिमकार्ड र १२ थान एटिएम कार्डसमेत बरामद गरिएको छ । उनीहरूमाथि विद्युतीय माध्यमबाट ठगी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रोजगारीको नाममा ठगी यसैबीच वैदेशिक रोजगारीको नाममा इटाली पठाइदिने बहानामा पीडितबाट चार लाखभन्दा बढी लिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इटाली पठाइदिने र त्यसका लागि रु आठ लाख लाग्छ भने पैसा ठगी गर्ने कालिकोट घर भई काठमाडौँको कीर्तिपुर बस्ने विष्णुरिषी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आयात प्रतिबन्ध तत्काल हटाउन जापानको माग

काठमाडौं । जापानले आफ्ना समुद्री उपज आयातमा चीनले लगाएको प्रतिबन्ध तत्काल हटाउन माग गरेको छ । फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेपछि जापानी समुद्रका उपजमाथि चीनले आजैदेखि लागू हुने गरी आयातमा प्रतिबन्ध लगाइएको घोषणा गरेको थियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले राजधानी टोकियोमा पत्रकारहरूसँग कुरा गर्दै समुद्री उत्पादनमाथि लगाइएको आयात प्रतिबन्ध तत्काल हटाउन चीनसँग माग गरेको बताए । “हामीले कूटनीतिक माध्यममार्फत चीनसमक्ष उजुरी गर्दै तत्काल प्रतिबन्ध हटाउन आग्रह गरेका छौँ,” उनले भने । चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी आज बिहानदेखि प्रशान्त महासागरमा प्रवाह गरेको हो ।

मूल्यवद्धि र कोरोनाले ७ करोड एशियालीलाई चरम गरिबीतर्फ धकेलेको एडीबीको दावी

काठमाडौं । खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब ७ करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१७ को मुद्रास्फीतिमा समायोजित मूल्यका आधारमा मनिलास्थित यो ऋणदाताले दैनिक २.१५ डलरभन्दा कम खर्चमा जीविका चलाउनुलाई चरम गरिबीका रूपमा परिभाषित गरेको छ । एडीबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एशिया र प्रशान्त क्षेत्र कोभिड–१९ को महामारीबाट निरन्तर सुधार भइरहेको छ, तर जीवनयापनको बढ्दो सङ्कटले गरिबी उन्मूलनतर्फको प्रगतिलाई कमजोर बनाइरहेको छ ।” सन् २०२२ मा अनुमानित १५ करोड ५२ लाख मानिस अर्थात् यस क्षेत्रको जनसङ्ख्याको ३।९ प्रतिशत चरम गरिबीमा बाँचिरहेका थिए, जुन महामारी र उच्च खर्चबिनाको जीवनयापनभन्दा ६ करोड ७८ लाख बढी हो । विकासशील एसिया भन्नाले मध्य एसियाको कजाकिस्तानदेखि प्रशान्त महासागरको कुक टापुसम्म फैलिएको बहुपक्षीय ऋणदाताका ४६ उदीयमान सदस्य अर्थतन्त्रलाई बुझाउँछ । रिपोर्टमा भनिएको छ, “उच्च मुद्रास्फीतिका कारण गरिब जनता सबैभन्दा बढी मारमा परेका छन् । उनीहरूले आवश्यकताका लागि उच्च मूल्य तिर्न सक्दैनन् । यसले गर्दा धेरैले पैसा बचत गर्न, स्वास्थ्य सेवाको लागि भुक्तानी गर्न वा शिक्षामा लगानी गर्न सक्दैनन् ।” एडीबीका अनुसार महामारीले सन् २०२० मा ७ करोड ५० लाखदेखि ८ करोडभन्दा बढी मानिसलाई चरम गरिबीमा धकेलेको छ । सन् २०२२ को ४।४ प्रतिशतरहेको मुद्रास्फीति यस वर्ष ३।६ प्रतिशतमा खुम्चिने बैंकले जनाएको छ । विकासशील एशियाली अर्थतन्त्रले गरिबीविरुद्ध निरन्तर प्रगति गरिरहनुपर्ने भए पनि सन् २०३० सम्ममा अनुमानित एक अर्ब २६ करोड मानिस अर्थात् यस क्षेत्रको अनुमानित जनसङ्ख्याको करिब ३० प्रतिशतलाई अझै पनि ‘आर्थिक रूपमा कमजोर’ मानिएको छ । यो शब्दले सन् २०१७ को मूल्यमा आधारित दैनिक ३.६५ देखि ६.८५ डलरमा बाँच्ने व्यक्तिलाई ‘आर्थिक रूपमा कमजोर’ जनाउँछ ।

अन्नपूर्ण गाउँपालिकाको पर्यटनमार्फत १ करोड आम्दानी

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत १ करोड ३० लाख रुपैयाँ बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । गाउँपालिकाभित्र रहेका चर्चित पर्यटकीयस्थल भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट व्यवसाय कर सङ्कलन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । यस वर्ष अन्नपूर्ण –६ स्थित चर्चित पर्यटकीयस्थल पुनहिललाई ६३ लाख ११ हजार रुपैयाँ, वडा नं २ को भुरुङ तातोपानी कुण्डलाई ५५ लाख ९ सय रुपेयाँ र वडा नं ५ को पाउद्वार तातोपानी कुण्डलाई २० लाख १९ हजार ५ सय रुपैयाँमा आय ठेक्का सम्झौता गरेको छ । प्रतिस्पर्धामार्फत सबैभन्दा बढी रकम कबोल गर्ने पुनहिलमा माइलादाइ होटल एन्ड रेष्टुरेन्ट, भुरुङ तातोपानीमा उजाला कन्ट्रक्सन प्रालि र पाउद्धार तातोपानीमा स्थानीय प्रेम तुलाचनसँग अग्रिमरूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । “पर्यटकीयस्थलमा प्रवेश शुल्क, कफीसफ तथा रेष्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित आय ठेक्का सम्झौता गरेका छौँ, रातोपानीको तातोपानी कुण्डलाई समेत आय ठेक्काका लागि बोलपत्र आह्वान गरेका थियौँ, तर कसैको पनि बोलपत्र नपरेपछि पुनः सूचना प्रकाशन गर्ने तयारीमा छाँै”, उनले भने । गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई ३० हजार रुपैयाँ र सार्वजनिक जग्गा प्रयोग गरेवापत ३६ हजार रुपैयाँ वाहलबटौली कर लिने गरेको छ । गाउँपालिकाले मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ । चालु आर्थिक वर्षमा १ करोड ४७ लाख रुपैयाँ आन्तरिक आय सङ्कलन गर्ने लक्ष्य राखेको अन्नपूर्ण गाउँपालिकाले वर्षको सुरुआतमा नै लक्ष्य नजिकको राजस्व सङ्कलन गरिसकेको छ । गत आर्थिक वर्षमा १ करोड ४५ लाख रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी १ करोड ६१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवद्र्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।