बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण
काठमाडौं । आपत्कालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, “विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ । यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ ।” मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन् । सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलाशैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन् । मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । उनले “विपद्को बेला तत्काल हवाई उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका हुन् ।” यसका साथै विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहहरू तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल तथा खुला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने त्यस्ता क्षेत्रको पहिचान गरिएको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले राखेको छ । विपद्को समयमा परिचालन गर्नका लागि तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेको जनाइएको छ । रासस
एक वर्षमै पाथीभरा मन्दिरमा सवा ३ करोड भेटी सङ्कलन
काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ भेटी सङ्कलन भएको हो । नोट पैसा २ करोड ८५ लाख ६२ हजार ४९८ रुपैयाँ, सिक्का सटहीबाट ८ लाख १५ हजार ६ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार ४०३ रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार ३ सय रुपैयाँ सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने २ करोड १४ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो । उनले समितिको कोषमा ७ करोड ८८ लाख १० हजार २०५ रुपैयाँ जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए । भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ । ‘फाइवर ट्रस’ लगाइँदै पाथीभरा मन्दिरबाट माथिल्लो फेदीसम्म फाइवरको छहारी (ट्रस) लगाइने भएको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो । हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन थालेको समितिले जनाएको छ । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरी २ हजार ४ सय मिटर पर्छ । अहिलेसम्म एक किमी दूरीमा फाइवरको छहारी लगाउने कार्य पूरा भएको छ । बाँकी १ हजार ४ सय मिटर दूरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको समितिले जनाएको छ । समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य ३ हजार ७९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार चालु आवमा सङ्घीय सरकार, प्रदेश सरकार अन्य दाता तथा निकायसँग साझेदारी योजना अघि बढाइने छ । यो कार्य पूरा गर्न पाथीभरा क्षेत्र विकास समितिले आफ्नो खातामा रहेको मौज्दात रकम परिचालन गर्ने योजना बनाएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत अनुमान तयारीसहितको प्रारम्भिक कार्य अघि बढाएको छ । फाइबरको छहारी लगाउन ३ करोड ५० लाख रुपैयाँ हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ । पदमार्गलाई ३ मिटर चौडाइमा विस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छहारी लगाएको समिति सदस्य पालुङ्वाले बताए । उनका अनुसार पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको छ । पदमार्ग नै ढाक्ने गरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए । छहारी लगाउने कार्य पूरा भएमा हिउँ र पानी परेको समयमा पनि तीर्थालु मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको विश्वास छ । अहिले पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्मको दूरी ४.५ किलोमिटर छ । तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकाले यो क्षेत्रमा फाइबरको छहारी बनेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाइ छ । अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जाने केहीबाहेक अधिकांश माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव कम हुने गरेकाले तीर्थालुका लागि यो पदमार्ग छिचोल्न निकै सहज मानिन्छ । रासस
हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
काठमाडौं । हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेको थियो । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ । नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ सुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ । आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ । यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरूपमा बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यस्तै प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
लगानी तथा औद्योगीकरण प्रबर्द्धन गर्न जापान–नेपाल विकास मञ्चको स्थापना
काठमाडौं । नेपाली राजदूतावास र जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चको शनिबार संयुक्त रुपमा उद्घाटन गर्नुभएको जापानस्थित नेपाली दुताबासले जनाएको छ । उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थसहायक मन्त्री मोतोयुकी ओदाची र उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा हिरोयुकी फुकुयामा, डा. तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहेका छन् । जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहेका छन् । नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण प्रबद्र्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको हो । मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताए । जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै उनले यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा मञ्च एक कोशेढुङ्गा सावित हुने बताए । समारोहमा राजदूत डा.सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताए । नेपाल सरकारले मुलुकको आर्थिक विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उनले राजनैतिक स्थायित्व र सामाजिक रुपान्तरणका लागि नेपाल सरकार दिगो आर्थिक विकासका लागि प्रतिवद्ध रहेको उल्लेख गरे । नेपाललाई वैदेशिक लगानीको एक उच्चतम् र आकर्षक गन्तव्यका रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको र सोका लागि उदार आर्थिक नीतिका साथ लगानीमैत्री वातावरण निर्माण गर्न प्रयत्नशील रहेको राजदूत डा सुवेदीको भनाई थियो । समारोहमा मञ्चका नवनियुक्त अध्यक्ष तथा पूर्व अर्थसहायक मन्त्री मोतोयुकी ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रवद्र्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताए । जापान सरकारको परराष्ट्र मन्त्रालय, जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाईका) र जापान व्यापार संगठन (जेट्रो)का उच्च पदाधिकारीहरू उपस्थित उक्त समारोहमा नेपालमा लगानी तथा व्यापार र व्यवसायमा सम्लग्न जापानका उद्योगी, व्यवसायी र कम्पनीका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो ।
गण्डकी प्रदेश : १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम
गण्डकी । गण्डकी प्रदेशमा गत वर्षदेखि कार्यान्वयनमा आएको ‘विद्यालय नर्स’ कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार ११ जिल्लाका १८ विद्यालयमा यो कार्यक्रम सञ्चालित छ । विद्यालय तहमै प्राथमिक स्वास्थ्य सेवा, सरसफाइ, पोषण, महिनावारी तथा प्रजनन स्वास्थ्यजस्ता सेवाको पहुँच पुर्याई विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गरिएको हो । मन्त्रालयका सचिव डा विनोदबिन्दु शर्माले बालबालिकाको आनीबानी र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सो कार्यक्रमबाट टेवा पुगेको बताए । ‘छोटो समयमै विद्यालय नर्स कार्यक्रम प्रभावकारी देखिएको छ, यसबाट स्वास्थ्य शिक्षा प्रवर्द्धनमा समेत मद्दत पुगेको छ’, उनले भने, ‘बालबालिकाले व्यवहार परिवर्तन र स्वास्थ्यको आधारभूत ज्ञान विद्यालयबाटै पाएका छन् ।’ थप विद्यालयमा कार्यक्रम विस्तारका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्ताव पठाइएको सचिव डा शर्माले बताए । ‘सरकारको नीति, बजेट तथा कार्यक्रमले पनि यसलाई समेटेको छ, एकैसाथ धेरै विद्यालयमा लागू गर्न स्रोतले भ्याउने अवस्था नभए पनि कार्यक्रम विस्तार गर्नुपर्नेमा हाम्रो जोड छ’, उनले भने । विद्यार्थी संख्या धेरै भएको विद्यालय छनोट गरेर कार्यक्रम सञ्चालन गर्ने गरिएको मन्त्रालयका फार्मेसी अधिकृत साजन बरालले बताए । उनका अनुसार मुस्ताङको जनआदर्श, मनाङको प्रकाश ज्योति, म्याग्दीको जनप्रिय, पर्वतको पशुपति, बागलुङको नेपाल मावि र जनजागृति माविमा ‘विद्यालय नर्स’ कार्यक्रम सञ्चालनमा छ । यस्तै स्याङ्जाको पूर्णामृत भवानी, त्रि–सहिद नमूना, कास्कीको सहिद स्मृति आवासीय, भारती भवन, तनहुँको रामशाह, श्रीङ्ग, लमजुङको बागेश्वरी, इशानेश्वर, गोरखाको जीवनज्योति, चतुरमाला, नवलपुरको भानुदय नमूना र भीमसेन आदर्श माविमा सो कार्यक्रम सञ्चालित छ । मुस्ताङ, मनाङ, म्याग्दी र पर्वतका एक–एक विद्यालय र अन्य जिल्लाका दुई–दुईवटा विद्यालयमा कार्यक्रम लागू गरिएको अधिकृत बरालले उल्लेख गरे । ‘गत वर्ष माघदेखि कार्यक्रम सञ्चालनमा आएको हो, यो वर्ष पनि प्रदेशका ११ वटै जिल्लामा कार्यक्रमले निरन्तरता पाएको छ’, उनले भने । ‘विद्यालय नर्स’ कार्यक्रमका लागि मन्त्रालयले गत आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकामा यो वर्ष एक करोड रुपैयाँ बजेट छुट्याएको छ । बागलुङको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माविका प्रधानाध्यापक उमानाथ अधिकारीले विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणदेखि स्वास्थ्य शिक्षाका कार्यक्रम सञ्चालन भइरहेको बताए । ‘विशेषगरी किशोरीलाई यो कार्यक्रम बढी लाभदायी देखिएको छ, महिनावारीदेखि प्रजनन स्वास्थ्यबारे सचेतना बढेको छ, विद्यार्थीलाई सामान्य चोटपटक लाग्दा र बिरामी हुँदा प्राथमिक स्वास्थ्योपचार पनि विद्यालयमै हुन्छ’, उनले भने, ‘नर्समात्रै मन्त्रालयले खटाएको छ, अरु व्यवस्थापन विद्यालयले नै गर्छ, गाउँपालिकाले पनि औषधि दिएर सहयोग गरिरहेको छ ।’ नर्सिङ सेवाका लागि विद्यालयले छुट्टै कोठाको व्यवस्था गरेको प्रअ अधिकारीको भनाइ छ । मन्त्रालयले पाँचौँ तहका स्टाफ नर्सलाई छ महिनाको करार सम्झौता गरी विद्यालयमा खटाएको हो । मन्त्रालयले तलब पनि सिधँै उनीहरुको खातामा पठाउने गरेको छ । नेपाल माविमा सेवारत स्टाफ नर्स जीवना शर्माले स्वस्थ जीवनयापनका लागि अपनाउनुपर्ने आनीबानी र व्यवहारबारे विद्यार्थीलाई सिकाउने गरेको जानकारी दिए । ‘अरु विषयको कक्षा खाली हुँदा पनि स्वास्थ्य सुरक्षा र हेरचाहबारे विद्यार्थीलाई जानकारी दिने गरेका छौँ, व्यक्तिगत सरसफाइ, पोषण सुधार, प्रजनन स्वास्थ्यजस्ता विषयमा विद्यार्थी सचेत हुन थालेका छन्’, उनले भने, ‘किशोरीहरूलाई महिनावारी सरसफाइ तथा व्यवस्थापनबारेमा अभिमुखीकरण पनि गर्छौँ ।’ प्राथमिक उपचारसम्म विद्यालयमा गरे पनि एन्टिबायोटिक औषधि चलाउनुपर्ने अवस्थाका विद्यार्थीलाई भने स्वास्थ्य संस्थामा पठाउने गरिएको स्टाफ नर्स शर्माले बताए । “हामीले सुइँ लगाउन, एन्टिबायोटिक औषधि दिन मिल्दैन, विद्यार्थीमा कुनै त्यस्तो लक्षण देखिएका नजिकको स्वास्थ्य संस्थामा पठाउँछौँ’, उनले भने । रासस
बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण, आपत्कालीन उद्धारमा सहजता हुने अपेक्षा
फाइल फाेटाे बैतडी । आपत्कालीन उद्धारका लागि बैतडीका १२ स्थानमा ‘हेलिप्याड’ निर्माण गरिएका छन् । विपद्को समयमा सहजै हेलिकोप्टर अवतरण गराउन तथा हेलिकोप्टबाट उद्धारका लागि सबै हेलिप्याड निर्माण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । ‘विपद् बेला आपत्कालीन उद्धारका लागि सहजता होस् भनेर हेलिप्याड निर्माण गरेका हौँ, यसले तत्काल हवाई उद्धार गर्न मद्दत गर्छ’, उनले भने । मनसुन आपत्कालीन कार्ययोजना, २०८० अन्तर्गत सैनिक र गैरसैनिक गरेर १२ स्थानमा हेलिप्याड स्थापना गरिएका हुन् । सदरमुकामस्थित हनुमानध्वज गुल्म गढी र टुँडिखेलमा सैनिक हेलिप्याड निर्माण गरिएका छन् । यस्तै पञ्चेश्वर गाउँपालिका–३ कुलाउ, सिगास गाउँपालिका–९ चौखाम, सिगास–७ कै शिवलिङ्ग, पुर्चौडी नगरपालिका–१ हाट, पुर्चौडी–५ कुवाकोट, पुर्चौडी–३ नकाली, पाटन नगरपालिका–४ पाटन, डिलाशैनी गाउँपालिका–३ लेक, सुर्नया गाउँपालिका–२ सिउडे र दोगडाकेदार गाउँपालिका–१ रिममा गैरसैनिक हेलिप्याड निर्माण गरिएका हुन् । मनसुनको प्रभाव बढ्दै गइरहेकाले बाढी, पहिरो, चट्याङ र अन्य विपद् आइपर्दा आपत्कालीनरूपमा हेलिकोप्टर अवतरण गराउन सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरणका गर्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको पुर्चौडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । उनले भने, ‘विपद्को बेला तत्काल हवाई उद्धार र राहत वितरण गर्न पनि सहज होस् भनेर हेलिप्याड निर्माण गरिएका हुन् ।’ यसका साथै विपद्का घटनाबाट हुने क्षति न्यूनीकरणका लागि सबै स्थानीय तहहरू तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । विपद्बाट घरवारविहीन हुनसक्ने परिवारको उद्धार तथा व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहले आश्रयस्थल तथा खुला क्षेत्रको पहिचान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख गरिएको छ । स्थानीय तहमा रहेका विद्यालय, सार्वजनिक जग्गा, सामुदायिक भवन आदिलाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने त्यस्ता क्षेत्रको पहिचान गरिएको छ । मनसुनी वर्षालाई ध्यानमा राखेर यसबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्ने, सडक अवरुद्ध भएमा तत्काल खुलाउन मेसिन र औजार तयारी अवस्थामा राख्ने, त्यस्ता मेसिन र औजार सञ्चालन गर्नेको फोन नम्बरसहितको सूची जिल्ला आपत्कालीन सञ्चालन केन्द्रले राखेको छ । विपद्को समयमा परिचालन गर्नका लागि तीनवटै सुरक्षा निकायको तालिमप्राप्त जनशक्ति र एम्बुलेन्स पनि तयारी अवस्था रहेको जनाइएको छ । रासस
समृद्ध टेम्केमैयुङको सरोज सुत्र : कृषिमा आत्मनिर्भर, पूर्वाधारमा सबल
काठमाडौं । टेम्केमैयुङ गाउँपालिका, भोजपुरका अध्यक्ष सरोज बस्नेतले राजनीतिक पहिचान बनाउँला भनेर सायदै सोचेका थिए । उनका बुबा विद्यालयका शिक्षक थिए । बुबाको चाहना पनि छोरालाई शिक्षक नै बनाउने थियो । तर, परिस्थितिले उनको जीवन गोरेटोलाई राजनीतिक मैदानसम्म पुर्याइदियो । अहिले उनी गाउँमा विकास र समृद्धिको राजनीतिक नेतृत्व गरिरहेका छन् । बस्नेत भन्छन्, ‘सानोमा राजनीति नै गर्ने उद्देश्य थिएन, शिक्षक बुन्नुपर्छ भने कुरामा बुबाबाट प्रेरित थिएँ ।’ छोरो शिक्षक भएको हेर्ने बुबाको रहरमा बस्नेतले गाउँपालिका अध्यक्षकारुपमा आफुलाई उभ्याएर ‘शिक्षक रहर’ मेटाउने प्रयास गरिरहेका छन् । तर, शिक्षकको सट्टा राजनीतिक कार्यकर्ता बन्दा बुबाको रहर पूरा भयो कि भएन उनले खुलेर साेधेका छैनन् । हुन त विद्यालय तहबाटै उनी राजनीतिक अभियानमा आबद्ध भएका थिए । अहिलेको टेम्केमैयुङ गाउँपालिका–४ मा जन्मिएका सरोज बा–आमाका पाँच छोरा–छोरी मध्ये जेठा सन्तान हुन् । परिवारमा उनी साह्रै चञ्चले स्वभावको रहेको उनी बताउँछन् । बुबा शिक्षक भए पनि पारिवारिक जिम्मेवारी कृषि नै थियो । गोठभरी गाई भैसी थिए । जिविकोपार्जनको उपाय खेती थियो । विद्यालय समयबाहेक विहान बेलुका घाँस दाउरा गर्नु उनीहरुको बाध्यकारी दैनिकी थियो । बस्नेतले कक्षा पाँचसम्मको अध्ययन गाउँकै हुँगे विद्यालयमा गरेका हुन् । कक्षा ६ देखि ८ सम्म भने चन्देश्वरी विद्यालय र ९ र १० को पढाई अन्नपूर्ण माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । उनी कक्षा–८ मै हुँदा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिक अभियानमा लागेको बताउँछन् । ‘२०५५ सालबाटै नेपाल विद्यार्थी संघमा आवद्ध भएँ, त्यसबेला कक्षा–८ मा पढ्थें’, उनले भने । एसएलसीपछि उनी उच्च शिक्षा अध्ययनको लागि भोजपुर बहुमुखी क्याम्पस पुगे । भोजपुर बहुमुखी क्याम्पस राजनीतिक रापतापले खारिएकै थियो । उनको राजनीतिक रुचिलाई थप धारिलो बनाउन भोजपुर क्याम्पसकै संगतले योगदान गर्याे । उनले त्यहाँ कक्षा–१२ सम्म अध्ययन गरे । स्नातक तह अध्ययनका लागि भर्ना भए पनि अध्ययन पूरा गर्न भने भ्याएनन् । ‘पढ्दा पढ्दै २०६२/६३ को जनआन्दोलन भयो । जनआन्दोलनमा सहभागी भइयो । आन्दोलनका क्रममा राहत अभियानमा पनि सहभागी भयौं । त्यसपछि पढाइलाई थप गति दिन सकिएन’, उनले तत्कालिन अवस्था बताए । त्यसयता निरन्तर राजनीतिक अभियानमा रहेका उनले नेपाल विद्यार्थी संघ छाडेर नेपाली कांग्रेसकै भातृ संगठन नेपाल तरूण दलमा आबद्ध भए । २०७१ सालमा भएको जिल्ला अधिवेशन बाट उनले भोजपुरमा कांग्रेसमा आवद्ध युवाहरुको नेतृत्व गर्ने अवसर पाए । तरूण दलको जिल्ला अध्यक्ष बने । त्यो दुर्घटना र पीडा सरोजले सानै उमेरमा बिवाह गरेका रहेछन् । भन्छन्, ‘मैले बिवाह गर्दा १७ वर्षको थिएँ ।’ श्रीमतीको उमेर पनि सानै थियो । उमेर नपुगी गर्भवती हुँदा सुत्केरीमा समस्या भयो । छोरी जन्मिएकी थिइन तर, श्रीमतीले छोरी हुर्काउने र माया बाँड्ने अवसर नै पाइनन् । भर्खर जन्मिएकी छोरीलाई सरोजको जिम्मा लगाएर उनले संसार छाडिन् । दुर्गम ठाउँ भएकाले श्रीमतीको समयमा राम्ररी उपचार हुन पाएन । उनले आफ्नो प्रिय मान्छे सधैंको लागि गुमाउनुपर्याे । ‘त्यो मेरो जीवनकै सबैभन्दा ठूलो दुर्घटना र पीडादायी क्षण थियो’, उनले भने । त्यसपछि उनले २०६३ सालमा दोस्रो विवाह गरेका रहेछन् । दोस्रो विवाह पछि एक छोरा छन् । जीवनमा आफुले भोगेको पीडा र दुर्गम ग्रामिण क्षेत्रको अवस्थाले उनलाई सधैं पिरोल्थ्यो । राजनीतिक भूमिकाबाटै गाउँमा विकास र सुविधा ल्याउन पाइयोस् भन्ने उनलाई लाग्थ्यो । त्यहीँ अभिलाषामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार भए । निर्वाचन परिणाम उनको पक्षमा हुन सकेन् । उनका लागि २७ मत अपुग भयो । उनले, पाँच वर्षपछिको चुनावको तयारी त्यसैबेलाबाट सुरू गरे । २०७९ बैशाखको चुनावमा उनैले अध्यक्षको टिकट पाए । उनको तयारी राम्रो थियो । तीन हजार नौ सय ८० मत ल्याएर गाउँपालिका अध्यक्ष निर्वाचित भए । आत्मनिर्भरताको अभियान गाउँपालिकाको जिम्मेवारी आफ्नो काँधमा आएपछि गाउँलाई सुविधा सम्पन्न र आत्मनिर्भर बनाउने अभियानमा खटिएका छन् सरोज बस्नेत । उनले स्थानीयलाई तालिममार्फत विभिन्न सीप सिकाउने अभियान नै चलाएका छन् । उनी निर्वाचित भएपछि दर्जन बढी विकास निर्माणका कामको थालनी भएका छन् । अहिलेको अवस्थामा सडक बनाउने, सुधार्ने, स्वास्थ्य, खानेपानी लगायतको काम गर्ने स्थानीय तहको दैनिकी नै हो । त्यो भन्दा फरक र नयाँपन गाउँवासीलाई दिलाउनु पर्छ भनेर लागिरहेको छु,’ उनले भने । गाउँको स–साना कुराको सुधारमा केन्द्रीत भएको उनी बताउँछन् । उनले ‘एक घर एक करेसा बारी’को अभियान चलाएका छन् । खाने तेलमा गाउँलाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छन् । ‘हाम्रो गाउँपालिकामा तोरी र सूर्यमुखी धेरै उत्पादन हुन्छ । खाने तेलमा गाउँपालिकाका ५० प्रतिशतमा आत्मनिर्भर छ । अबको केही समयपछि खाने तेलका लागि पूर्ण आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौं’, उनले भने । उनले दुग्ध विकास संस्थानसँग सहकार्य गरी गाउँमै डेरी स्थापना गर्ने तयारी गरिरहेको बताए । कृषिमा निर्भर अर्थतन्त्रको विकासमा केन्द्रीत भएर काम गरिरहेको उनले बताए । ‘गाउँपालिका बासी सामान्य बिरामी पर्दा कृषिकै आम्दानीबाट उपचार गर्न सक्ने, कतै ऋण खोज्नु नपर्ने बनाउने लक्ष्यसहित काम गरिरहेका छौं’, उनले भने ।
अर्नाले घोषणा गरेको पुरस्कार पाउने क्रिकेट खेलाडी को-को हुन् ?
काठमाडौं । यती ब्रुअरीको उत्पादन अर्ना बियरले ५ जना क्रिकेट खेलाडीलाई साढे ८ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । अर्ना बियरले भारतसँगको खेलमा चौका र छक्का हान्ने खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो । भारतविरुद्ध १८ चौका र ४ छक्का प्रहार वापत अर्ना वियरले ५ जना खेलाडीलाई ८ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको हो । जसमध्ये सबैभन्दा धेरै कुशल भुर्तेलले ३ चौका र २ छक्का वापत २ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, आशिप सेफले ८ चौका वापत २ लाख रुपैयाँ, गुल्शन झाले ३ चौका वापत ७५ हजार रुपैयाँ, दिपेन्द्र सिंह ऐरीले ३ चौका वापत ७५ हजार रुपैयाँ र सोमपाल कामीले १ चौका र २ छक्का वापत २ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका हुन् । अर्ना बियरले आइतबार सामाजिक सञ्जालमार्फत भारतविरुद्ध नेपाली ब्याटरले प्रहार गर्ने प्रत्येक छक्का र बलरले लिने प्रत्येक विकेटबापत नेपाली टिमलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । यस्तै, अर्नाले प्रत्येक चौकामा २५ हजार रुपैयाँ प्रदान गर्ने बताएको थियो ।