एक वर्षमै पाथीभरा मन्दिरमा सवा ३ करोड भेटी सङ्कलन

<p>काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ भेटी सङ्कलन भएको हो । नोट पैसा २ करोड ८५ लाख ६२ हजार ४९८ रुपैयाँ, सिक्का सटहीबाट ८ लाख १५ हजार ६ सय रुपैयाँ, दाताले [&hellip;]</p>

काठमाडौं । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा ३ करोड रुपैयाँभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा ३ करोड १९ लाख १६ हजार ८ सय रुपैयाँ भेटी सङ्कलन भएको हो । नोट पैसा २ करोड ८५ लाख ६२ हजार ४९८ रुपैयाँ, सिक्का सटहीबाट ८ लाख १५ हजार ६ सय रुपैयाँ, दाताले बैंकमा जम्मा गरिदिएको १४ लाख ५४ हजार ४०३ रुपैयाँ र भेटीवापतको भारु १० लाख ८४ हजार ३ सय रुपैयाँ सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने २ करोड १४ लाख रुपैयाँ भेटी सङ्कलन भएको थियो । उनले समितिको कोषमा ७ करोड ८८ लाख १० हजार २०५ रुपैयाँ जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए ।

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ ।

‘फाइवर ट्रस’ लगाइँदै 

पाथीभरा मन्दिरबाट माथिल्लो फेदीसम्म फाइवरको छहारी (ट्रस) लगाइने भएको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो ।

हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन थालेको समितिले जनाएको छ । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरी २ हजार ४ सय मिटर पर्छ । अहिलेसम्म एक किमी दूरीमा फाइवरको छहारी लगाउने कार्य पूरा भएको छ । बाँकी १ हजार ४ सय मिटर दूरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य ३ हजार ७९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार चालु आवमा सङ्घीय सरकार, प्रदेश सरकार अन्य दाता तथा निकायसँग साझेदारी योजना अघि बढाइने छ ।

यो कार्य पूरा गर्न पाथीभरा क्षेत्र विकास समितिले आफ्नो खातामा रहेको मौज्दात रकम परिचालन गर्ने योजना बनाएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत अनुमान तयारीसहितको प्रारम्भिक कार्य अघि बढाएको छ । फाइबरको छहारी लगाउन ३ करोड ५० लाख रुपैयाँ हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ ।

पदमार्गलाई ३ मिटर चौडाइमा विस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छहारी लगाएको समिति सदस्य पालुङ्वाले बताए । उनका अनुसार पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको छ । पदमार्ग नै ढाक्ने गरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए ।

छहारी लगाउने कार्य पूरा भएमा हिउँ र पानी परेको समयमा पनि तीर्थालु मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको विश्वास छ । अहिले पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्मको दूरी ४.५ किलोमिटर छ ।

तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकाले यो क्षेत्रमा फाइबरको छहारी बनेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाइ छ ।

अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जाने केहीबाहेक अधिकांश माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव कम हुने गरेकाले तीर्थालुका लागि यो पदमार्ग छिचोल्न निकै सहज मानिन्छ । रासस

Share News