समृद्ध टेम्केमैयुङको सरोज सुत्र : कृषिमा आत्मनिर्भर, पूर्वाधारमा सबल

<p>काठमाडौं । टेम्केमैयुङ गाउँपालिका, भोजपुरका अध्यक्ष सरोज बस्नेतले राजनीतिक पहिचान बनाउँला भनेर सायदै सोचेका थिए । उनका बुबा विद्यालयका शिक्षक थिए । बुबाको चाहना पनि छोरालाई शिक्षक नै बनाउने थियो । तर, परिस्थितिले उनको जीवन गोरेटोलाई राजनीतिक मैदानसम्म पुर्&#x200d;याइदियो । अहिले उनी गाउँमा विकास र समृद्धिको राजनीतिक नेतृत्व गरिरहेका छन् । बस्नेत भन्छन्, ‘सानोमा राजनीति [&hellip;]</p>

काठमाडौं । टेम्केमैयुङ गाउँपालिका, भोजपुरका अध्यक्ष सरोज बस्नेतले राजनीतिक पहिचान बनाउँला भनेर सायदै सोचेका थिए । उनका बुबा विद्यालयका शिक्षक थिए । बुबाको चाहना पनि छोरालाई शिक्षक नै बनाउने थियो ।

तर, परिस्थितिले उनको जीवन गोरेटोलाई राजनीतिक मैदानसम्म पुर्‍याइदियो । अहिले उनी गाउँमा विकास र समृद्धिको राजनीतिक नेतृत्व गरिरहेका छन् । बस्नेत भन्छन्, ‘सानोमा राजनीति नै गर्ने उद्देश्य थिएन, शिक्षक बुन्नुपर्छ भने कुरामा बुबाबाट प्रेरित थिएँ ।’

छोरो शिक्षक भएको हेर्ने बुबाको रहरमा बस्नेतले गाउँपालिका अध्यक्षकारुपमा आफुलाई उभ्याएर ‘शिक्षक रहर’ मेटाउने प्रयास गरिरहेका छन् । तर, शिक्षकको सट्टा राजनीतिक कार्यकर्ता बन्दा बुबाको रहर पूरा भयो कि भएन उनले खुलेर साेधेका छैनन् ।

हुन त विद्यालय तहबाटै उनी राजनीतिक अभियानमा आबद्ध भएका थिए । अहिलेको टेम्केमैयुङ गाउँपालिका–४ मा जन्मिएका सरोज बा–आमाका पाँच छोरा–छोरी मध्ये जेठा सन्तान हुन् । परिवारमा उनी साह्रै चञ्चले स्वभावको रहेको उनी बताउँछन् ।

बुबा शिक्षक भए पनि पारिवारिक जिम्मेवारी कृषि नै थियो । गोठभरी गाई भैसी थिए । जिविकोपार्जनको उपाय खेती थियो । विद्यालय समयबाहेक विहान बेलुका घाँस दाउरा गर्नु उनीहरुको बाध्यकारी दैनिकी थियो ।

बस्नेतले कक्षा पाँचसम्मको अध्ययन गाउँकै हुँगे विद्यालयमा गरेका हुन् । कक्षा ६ देखि ८ सम्म भने चन्देश्वरी विद्यालय र ९ र १० को पढाई अन्नपूर्ण माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । उनी कक्षा–८ मै हुँदा नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिक अभियानमा लागेको बताउँछन् ।

‘२०५५ सालबाटै नेपाल विद्यार्थी संघमा आवद्ध भएँ, त्यसबेला कक्षा–८ मा पढ्थें’, उनले भने । एसएलसीपछि उनी उच्च शिक्षा अध्ययनको लागि भोजपुर बहुमुखी क्याम्पस पुगे । भोजपुर बहुमुखी क्याम्पस राजनीतिक रापतापले खारिएकै थियो । उनको राजनीतिक रुचिलाई थप धारिलो बनाउन भोजपुर क्याम्पसकै संगतले योगदान गर्‍याे । उनले त्यहाँ कक्षा–१२ सम्म अध्ययन गरे । स्नातक तह अध्ययनका लागि भर्ना भए पनि अध्ययन पूरा गर्न भने भ्याएनन् ।

‘पढ्दा पढ्दै २०६२/६३ को जनआन्दोलन भयो । जनआन्दोलनमा सहभागी भइयो । आन्दोलनका क्रममा राहत अभियानमा पनि सहभागी भयौं । त्यसपछि पढाइलाई थप गति दिन सकिएन’, उनले तत्कालिन अवस्था बताए ।

त्यसयता निरन्तर राजनीतिक अभियानमा रहेका उनले नेपाल विद्यार्थी संघ छाडेर नेपाली कांग्रेसकै भातृ संगठन नेपाल तरूण दलमा आबद्ध भए । २०७१ सालमा भएको जिल्ला अधिवेशन बाट उनले भोजपुरमा कांग्रेसमा आवद्ध युवाहरुको नेतृत्व गर्ने अवसर पाए । तरूण दलको जिल्ला अध्यक्ष बने ।

त्यो दुर्घटना र पीडा

सरोजले सानै उमेरमा बिवाह गरेका रहेछन् । भन्छन्, ‘मैले बिवाह गर्दा १७ वर्षको थिएँ ।’ श्रीमतीको उमेर पनि सानै थियो । उमेर नपुगी गर्भवती हुँदा सुत्केरीमा समस्या भयो । छोरी जन्मिएकी थिइन तर, श्रीमतीले छोरी हुर्काउने र माया बाँड्ने अवसर नै पाइनन् । भर्खर जन्मिएकी छोरीलाई सरोजको जिम्मा लगाएर उनले संसार छाडिन् । दुर्गम ठाउँ भएकाले श्रीमतीको समयमा राम्ररी उपचार हुन पाएन । उनले आफ्नो प्रिय मान्छे सधैंको लागि गुमाउनुपर्‍याे । ‘त्यो मेरो जीवनकै सबैभन्दा ठूलो दुर्घटना र पीडादायी क्षण थियो’, उनले भने ।

त्यसपछि उनले २०६३ सालमा दोस्रो विवाह गरेका रहेछन् । दोस्रो विवाह पछि एक छोरा छन् ।

जीवनमा आफुले भोगेको पीडा र दुर्गम ग्रामिण क्षेत्रको अवस्थाले उनलाई सधैं पिरोल्थ्यो । राजनीतिक भूमिकाबाटै गाउँमा विकास र सुविधा ल्याउन पाइयोस् भन्ने उनलाई लाग्थ्यो ।

त्यहीँ अभिलाषामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षको उम्मेदवार भए । निर्वाचन परिणाम उनको पक्षमा हुन सकेन् । उनका लागि २७ मत अपुग भयो । उनले, पाँच वर्षपछिको चुनावको तयारी त्यसैबेलाबाट सुरू गरे ।

२०७९ बैशाखको चुनावमा उनैले अध्यक्षको टिकट पाए । उनको तयारी राम्रो थियो । तीन हजार नौ सय ८० मत ल्याएर गाउँपालिका अध्यक्ष निर्वाचित भए ।

आत्मनिर्भरताको अभियान

गाउँपालिकाको जिम्मेवारी आफ्नो काँधमा आएपछि गाउँलाई सुविधा सम्पन्न र आत्मनिर्भर बनाउने अभियानमा खटिएका छन् सरोज बस्नेत ।

उनले स्थानीयलाई तालिममार्फत विभिन्न सीप सिकाउने अभियान नै चलाएका छन् । उनी निर्वाचित भएपछि दर्जन बढी विकास निर्माणका कामको थालनी भएका छन् । अहिलेको अवस्थामा सडक बनाउने, सुधार्ने, स्वास्थ्य, खानेपानी लगायतको काम गर्ने स्थानीय तहको दैनिकी नै हो । त्यो भन्दा फरक र नयाँपन गाउँवासीलाई दिलाउनु पर्छ भनेर लागिरहेको छु,’ उनले भने ।

गाउँको स–साना कुराको सुधारमा केन्द्रीत भएको उनी बताउँछन् । उनले ‘एक घर एक करेसा बारी’को अभियान चलाएका छन् । खाने तेलमा गाउँलाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छन् ।

‘हाम्रो गाउँपालिकामा तोरी र सूर्यमुखी धेरै उत्पादन हुन्छ । खाने तेलमा गाउँपालिकाका ५० प्रतिशतमा आत्मनिर्भर छ । अबको केही समयपछि खाने तेलका लागि पूर्ण आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौं’, उनले भने ।

उनले दुग्ध विकास संस्थानसँग सहकार्य गरी गाउँमै डेरी स्थापना गर्ने तयारी गरिरहेको बताए । कृषिमा निर्भर अर्थतन्त्रको विकासमा केन्द्रीत भएर काम गरिरहेको उनले बताए ।

‘गाउँपालिका बासी सामान्य बिरामी पर्दा कृषिकै आम्दानीबाट उपचार गर्न सक्ने, कतै ऋण खोज्नु नपर्ने बनाउने लक्ष्यसहित काम गरिरहेका छौं’, उनले भने ।

Share News