पूर्वाधारमा फड्को मार्दै महाभारत गाउँपालिका
धुलिखेल । नागरिकले प्रत्यक्षरुपमा अनुभूति गर्न पाउने गरी परिवर्तन हुन्छ भन्ने आशा सायद यहाँका अघिल्लो पुस्ताका नागरिकमा थिएन । तर, संघीयतापछि काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका नागरिकलाई दैनिक हातमुख जोड्नका लागि पाखापखेरी खनीखोस्री गरेर उब्जाउ गरेको अन्नपात र बस्तुभाउ घरगोठ भरी राखेर नुन, तेल र मरमसला किन्नका लागि घटौँको बाटो हिँड्नुपर्ने बाध्यता विस्तार दूर हुँदै गएको छ । विगतमा यहाँका बासिन्दाको लागि उत्पादन गरेको कृषिजन्य वस्तुको विक्री तथा आङ छोप्न आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न एक/दुई दिनको पैदल यात्रापछि मात्रै मुख्य सहर र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । अहिले स्थानीय तहको नेतृत्वमा युवा जनशक्तिले विकासको बागडोर सम्हालेपछि जिल्लाको विकट क्षेत्र डाँडापारिको महाभारत गाउँपालिकाको बल्ल मुहार फेर्दै गएको हो । यसअघि केही अन्तर्राष्ट्रिय दातृ निकायको सहयोगमा सामाजिक संस्थामार्फत शौचालय, पैदलयात्रीको लागि सिंढी निर्माण, खानेपानी धारा र झोलुङ्गे पुललगायतका एक टोलदेखि अर्को गाउँसम्म जाने सुविधा मात्रै उपभोग गर्दै आएका यहाँका नागरिकका लागि विद्युतीकरणमा केन्द्रीय प्रसारण लाइन र पक्की मोटरबाटोले गाउँदेखि शहरसम्म जोड्ने कार्यको थालनीसँगै नयाँ मुहार फेर्नुका साथै सुविधासमेत उपभोग गर्दै आएको स्थानीय बासिन्दा बताउँछन् । पछिल्लो समयमा भने सञ्चारको सहज पहुँचसँगै सडक सञ्जालको पहुँच, ‘एक घर, एक खानेपानीसहितको धारा र केन्द्रीय विद्युत् प्रसारण लाइनको विद्युतीकरण यहाँको नागरिकको लागि प्रत्यक्ष अनुभूति हुने विकासका आधारहरु भएको उनीहरुको भनाइ छ । नेकपा (माओवादी केन्द्र) का महाभारत गाउँपालिका कमिटी इञ्चार्ज एवं स्थानीयवासी सुजन तामाङले संघीय संरचनामा गएपछिको पहिलो पाँच वर्ष र अहिलेको दोस्रो कार्यकालको सुरुआतसम्म आइपुग्दा डाँडापारिका नागरिकले प्रत्यक्ष अनुभूति हुने खालको विकास आयोजना महसुश हुने गरी उपभोग गर्न पाएको बताए । ‘पहिला हामीले भूगोलले विकासलाई छेक्न सकिदैन, इच्छाशक्ति र त्यसको सही नेतृत्व पाउने अवस्थामा गाउँघरको मुहार फेर्न सकिने विचार र योजना जनतालाई सुनाएका थियौं, अहिले त्यही अनुसारको काम गरेर परिणाम देखाइरहेका छौं, ‘उनले भने, ‘त्यो हाम्रो सपना थियो, अहिले विपनामा परिणत गरेर नागरिकको जीवनस्तरमा परिवर्तन हुने खालको काममा सहयोग पुर्याइरहेका छौं ।’ गाउँको विकास निर्माण र नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजना बल्ल सुरु भएको महाभारत गाउँपालिका–५ का पूर्ववडाध्यक्ष रविन मोक्तानले बताए । ‘महाभारत, रोशी, खानीखोलालगायतका पालिका एवं जिल्लाकै लागि बहुप्रतिक्षित आयोजना निर्माणमा महाभारत गाउँपालिका अनि जिल्लास्थित कार्यालयको समन्वयमा जुट्दै अघि बढेको छ, ‘ उनले भने, ‘अझ धेरै नयाँ विकाय आयोजनाका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार यसरी नै आवश्यक सहयोग र समन्वय गरेर अगाडि बढ्न आवश्यक छ ।’ महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको योजना बोकेर अगाडि बढिरहेको बताए । पछिल्लो समयमा दोस्रो चरणको पक्की सडकखण्ड निर्माणका लागि आवश्यक सहयोग र समन्वयमा खटिरहेको पनि जानकारी दिए । ‘हामी निरन्तर काममा नै लागिरहेको छौं र लागिरहने पनि छौं, मिसन २०८४ मात्रै होइन, बिपी राजमार्गदेखि मदन भण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक (जनमुक्ति मार्ग)को निर्माण गर्नुछ,’ उनले भने । उनका अनुसार महाभारत गाउँपालिकाको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमि सडकका लागि करिब ९८ करोड विनियोजन भएकामा ६० करोड ९७ लाख रुपैयाँको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ साल कात्तिकसम्ममा सम्पन्न गर्ने गरी सम्झौता भएर ढलान तथा कालोपत्रेसमेतको कार्यलाई छिटै निर्माण कार्य अगाडि बढाइने भएको छ । यसअघि पालिकाको तीनखुट्टे–देवीटार सडकखण्डको आठ किमिमध्ये केही भाग कालोपत्रे भइरहेको र बाँकी काम निरन्तर रहेको छ भने केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरणको लागि केही वडाहरुमा बत्ती बालिसकेको र बाँकी वडाहरुमा काम द्रूतगतिमा भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै पक्की सडक सञ्जालले नछोएको डाँडापारिका गर्भवती र सुत्केरीका बेलामा महिलालाई हुने जटिलतामा नयाँ जीवन दिनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार गर्ने कार्य प्रशंसनीय बनेको छ । एक घर एक खानेपानी धाराअन्तर्गत ६ र ५ मा आयोजना सम्पन्न भइसकेको र वडा नं. १ र २ मा निर्माणाधीन अवस्थामा रहेको छ । नागरिकको आर्थिक विकासको लागि कृषि उत्पादनमा सहयोगअन्तर्गत आव २०७९/८० मा मात्रै करिब एक लाख कफीको बिरुवा रोप्ने काम भएको गाउँपालिका अध्यक्ष जिम्बाले बताए । रासस
गुरुकूलमा अनुशासनसँगै व्यावहारिक ज्ञान
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकूलमा भर्ना भए । गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकूलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए । ‘यहाँ बिहान ४ बजे उठ्ने नित्यकर्म गर्ने, १५ मिनेट ध्यान, पाँच मिनेट प्रणायम र महर्षी पूजा गर्ने, पूजापछि अखण्ड रुद्राभिषेक पाठ बिहान ६ बजेभित्र नै गरिसक्छौं, ‘उनले भने, ‘जीवनमा अनुशासन, समयको महत्व, सरसफाइ र कर्मको ज्ञान मिलेको छ ।’ मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटमार्फत मन्दिर परिसरमा सञ्चालित संस्कृत विद्यापीठ गुरुकूलमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । गुरुकूललाई धर्मशास्त्र सिकाउने केन्द्रका रूपमा धेरैले बुझ्ने गर्दछन् । यसको गहिराइ बुझ्दा धर्मशास्त्रसँगै व्यावहारिक ज्ञान एकै ठाउँमा सिकाउने थलो भएको अधिकारीले बताए । गुरुकूलमा अध्ययनरत विद्यार्थीमा संस्कृतप्रतिको मोहमात्र होइन, जीवन र जगतसँग परिचित हुने अभ्यासको विकास भएको अध्ययनरत विद्यार्थीको भनाइ छ । अर्घाखाँचीका १४ वर्षीय दिनेश पौडेल अहिले गुरुकूलको कक्षा ८ मा अध्ययनरत छन् । कक्षा ५ सम्म अर्घाखाँचीकै गाउँको स्कुलमा पढेका पौडेल कक्षा ६ देखि गुरुकूलमा पढ्न थालेका हुन् । सामान्य विद्यालयको पढाइभन्दा गुरुकूलका कक्षाहरू उनका लागि विशेष भएको छ । गुरुकूलको पढाइ, रहनसहन, खाने, बस्ने सबै कुरा बेग्लै लाग्ने गरेको पौडेलले बताए । ‘म यहाँ आफ्नै इच्छाले पढ्न आएको हो, यहाँ आएपछि जीवनशैलीमा निकै परिवर्तन भयो, ‘उनले भने, ‘दैनिक कर्मले गर्दा अनुशासन र स्मरण क्षमतामा पनि परिवर्तन आएको छ ।’ गुरुकूल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ । प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ । गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरुकूल शिक्षाका रूपमा बुझिन्छ । पछिल्लो समय गुरुकूलको अस्तित्व मेटिँदै गएको बेला मौलाकालिका संस्कृत विद्यापीठ यसको नमूनाका रूपमा रहेको समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए । गुरुकूल शिक्षाबाट धर्मशास्त्रसँगै व्यावहारिक ज्ञानले सानै उमेरमा असल मान्छे बनाउन सहयोग पुग्ने उनको भनाइ छ । यहाँ वैदिक धर्म संस्कृतिको संरक्षणका लागि बेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड विषयका साथै वैदिक संस्कारलाई आधुनिकतर्फ लैजानका लागि अङ्ग्रेजी, गणित र नेपाली विषय पनि अध्यापन हुँदै आएको सापकोटाले जानकारी दिए । ‘कक्षा ८ सम्म अध्ययन हुँदै आएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्ने गरी भवन निर्माण भएको छ, विद्यार्थीको उत्साह र बढ्दो महत्वले गुरुकूल सञ्चालनमा उत्साह मिलेको छ,’ उनले भने । गुरुकूलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाई जीवन दर्शन र धर्मशास्त्रको ज्ञान दिइने सापकोटाले बताए । विद्यार्थीहरूलाई बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म व्यस्त राख्ने गरिन्छ । ‘खाने, बस्ने, खेल्ने, सुत्ने, पढ्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, योग गर्ने, घर जाने सबै कुराको समय तोकिएको हुन्छ, समयको पालना गर्नु पनि अनुशासन हो, सामान्य स्कुलमा पढाइ हुने गणित, सामाजिक, अङ्गे्रजी जस्ता विषय यहाँ पनि अध्यापन गराइन्छ,’ उनले भने । गुरुकूलमा धर्मसंस्कार पढाइने भएकाले पनि विद्यार्थीलाई असल काम गर्न प्रोत्साहित गरिन्छ । ध्यानले स्मरणशक्ति मात्र नभई दिमाग तेज हुनुका साथै गुरुकूलले अनुशासित हुन मद्दत गरेको विद्यार्थीहरूको अनुभव छ । नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्नेबारे सानै उमेरमा सिक्न पाउँदा असल नागरिक बनाउन गुरुकूल शिक्षा उदाहरणीय शिक्षा रहेको अध्यक्ष सापकोटाले बताए । रासस
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपका लागि समय थप, कहिलेसम्म लगाउन पाइन्छ खोप ?
काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिए । उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो । ‘लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्, त्यही भएर लक्षित किशोरीलाई खोप लगाउनका लागि समय थप गरिएको हो,’ उनले भने । तीज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको पनि गौतमले बताए । डा. गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका पनि गौतमले जानकारी दिए । कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरञ्गजस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमामा एक सय ९३ जना किशोरीले एचपिभी खोप लगाइसकेका डा गौतमले जानकारी दिए । उनका अनुसार सबभन्दा कम प्रसूति अस्पतालमा २७ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन् । यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले दिइने र छ महिनापछि दोस्रो मात्रा दिइनेछ । एचपिभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा। गौतमले बताए । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । रासस
साताको शेयर बजार : चार दिनमा सात अर्ब ३६ करोड बढीको कारोबार
काठमाडौं । यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ रुपैयाँ बराबरको धितोपत्र खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा साताकोे कारोबारको पहिलो दिन आइतबार कुल दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । आइतबार नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा आएको थियो । त्यस्तै दोस्रो दिन सोमबार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलव १८ मा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर ८७ करोड चार लाख ४४ हजार एक सय ५६ रुपैयाँमा खरिद बिक्री भएका थियो । कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अङ्कले बढेको थियो । यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको थियो । कूल दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार सात सय ५७ रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको थियो । यो दिन दुई सय ७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक खरिदबिक्री भएको थियो । जसमा तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ रुपैयाँ बराबरको कारोबार भएको थियो । रासस
मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन् । समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको शनिवार उद्घाटन गर्दै अध्यक्ष नेपालीले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताएका हुन् । समानुपातिक निर्वाचन प्रणालीका कारण एउटै दलले बहुमत ल्याउन कठिनाइ रहेकाले गठबन्धनको संस्कृति दीर्घकालीन रुपमा रहने बताउँदै नेपालले लोकतान्त्रिक शक्ति एकताबद्ध हुनुपर्ने पनि बताए । अध्यक्ष नेपालले मुलुकमा भएका विभिन्न आन्दोलनबाट राजनीतिक परिवर्तन सम्पन्न भए पनि जनताको आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउँदै जनजीविकाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरे । वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको उनको भनाई छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालीले भौगोलिक अखण्डता, मुलुकको स्वाभिमान रक्षा तथा अन्यायविरुद्ध सङ्घर्ष गर्ने आदर्शलाई कम्युनिष्टहरुले अवलम्बन गर्ने गरेको बताए । राष्ट्रियता, जनताको हितलाई केन्द्रमा राखेर सामाजिक न्याय सम्पादनमा कानुन व्यवसायी क्रियाशील हुनुपर्ने उनको भनाइ थियो । अध्यक्ष नेपालले मुलुकमा विद्यमान गरिबी न्यूनीकरणका बेरोजगारीको अन्त्य गर्नुपर्ने भन्दै त्यसका लागि औद्योगीकरणतर्फ लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । देशमा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताउँदै उनले समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । रासस
शिक्षकहरु घर फर्कंदै, छुटेको कक्षा बिदामा पढाइने
काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने जनाएको छ । महासघंका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाउँदै महासंघले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् । विद्यालय शिक्षासम्बन्धी संसद्मा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो । रासस
कामनपाको श्रम बैंकमा चार सयले दिए आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार चार सय आवेदन परेका महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिए । राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । सोही अनुसार महानगरले आवेदन माग गरेको हो । ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी शुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ,’ प्रमुख राईले भनिन् । महानगरका ३२ वटै वडामा आवेदन आएको बताउँदै राईले महानगरले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको जनाउँदै सङ्कलन भएका आवेदनबाट प्राथमिकिकरण र वर्गीकरणको काम भइरहेको पनि बताइन् । ‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैङ्कमा श्रमिकलाई आबद्ध गराइएको हो, महानगरले तयार गरेको श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ, जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नं.र श्रमिक कहाँ बस्नेलगायत विवरण उल्लेख गरिएको हुन्छ,’ उनले भनिन् । कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लागाई उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताइन् । उनका अनुसार चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ । राईका अनुसार आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । फाराम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने पनि जानकारी दिइन् । ‘श्रम बैङ्कमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौंमा बसोबास भएको हुनुपर्ने छ, ‘प्रमुख राईले भनिन्, ‘यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ ।’ राईका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ । रासस
‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आयोजना गरेको ‘नागरिक सुनुवाइ-२०८०’ मा शनिवार उनले काठमाडौं, भक्तपुर र ललितपुरलाई सुरक्षित बनाउने अभियानमा प्रहरी लागेको बताएका हुन् । ‘काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन नागरिकसँग हातेमालो गर्दै अपराध नियन्त्रण गर्ने र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरामा ल्याउनका लागि योजना बनाएका छौं,’ उनले भने । उपत्यकाको सुरक्षाका लागि १२ हजार प्रहरी तैनाथ रहेको पनि थापाले जानकारी दिए । थपाले काठमाडौंमा हुने आपराधिक घटनामा संलग्नलाई कारबाही गर्न प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताउँदै उपत्यकाभित्र सिसी क्यामरा जडानका लागि उपत्यकाका विभिन्न पालिकासँग सहकार्य भइरहेको पनि बताए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताए । ‘समाजमा हुने विकृति, विसङ्गति र चोरीका घटनाको अन्त्यका लागि सबैको साथ र सहयोग आवश्यक छ,’ उनले भने । खत्रीले जनताले अपेक्षा गरेअनुरुपको शान्तिसुरक्षा प्रदान गर्न काठमाडौं प्रहरी तत्पर रहेको पनि बताए । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले चण्डोल, धुम्बाराही, बालुवाटार, चुनदेवी, टुँडालदेवी लगायतको क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको बताए । उनले चाडपर्वको समयमा हुने चोरी, लुटपाटका घटना कम गर्नका लागि सबै लाग्नुपर्ने बताए । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टुँडालदेवीको विकासका लागिसमेत सामुदायिक सेवा केन्द्रले काम गर्दै आएको उनको भनाइ छ । काठमाडौं महानगरपालिका–४ का वडाध्यक्ष दिनेश महर्जन, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक अमरसिंह शाह लगायतले समाजमा हुने आपराधिक क्रियाकलाप अन्त्यका लागि प्रहरी र स्थानीयवासीबीच सहकार्यको खाँचो रहेको बताए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल सरकारका पूर्वसचिव, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृत लगायतको सहभागिता थियो । रासस