पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र
काठमाडौं । वि.सं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो । प्रविधिको विकाससँगै चलचित्र निर्माणमा नयाँ र जनचासोका विविध विषयले स्थान पाउन थाले । वि.सं २०६५ पश्चात ‘कागबेनी’, ‘सानो संसार’बाट सुरु भएको डिजिटल चलचित्रको यात्राले ‘लूट’ को प्रदर्शनपश्चात गति लियो । यसले नेपाली चलचित्रमा स्थापित पुराना मान्यतालाई भत्काउन सफल भयो । अभिनेता, पहिरन, छायाँङ्कन, लवजसँगै प्रस्तुतिका हिसाबले अन्यभन्दा फरक चलचित्र ‘लूट’ ले नयाँ अध्यायको सुरुआत गर्यो । देशमा भइरहेका परिवर्तनले दिएका विषयवस्तु तथा उक्त परिवर्तनसँगै भित्रिएका आधुनिक प्रविधिले दिएको सहजताका कारण अहिले चलचित्रलाई समाजसँग जोड्ने गरिएको छ । सामाजिक विषय र बदलाको कथा कयौँ चलचित्रमा देखिए । किनकि ती दर्शकमार्फत अनुमोदित विषय थिए । त्यसलाई धेरै समयसम्म निर्देशक र पटकथाकारले परिवर्तन गर्न खोजेनन् । बजारकै अनुसार चलचित्र निर्माण भइरहेको निर्देशक ज्ञानेन्द्र देउजाले बताए । “त्यो समयमा फरक किसिमका चलचित्रले प्रदर्शनमा सहजता पाउथेनन्, गीत, द्वन्द्व र काल्पनिक कथा भएका चलचित्र दर्शकको रोजाइमा पर्थे । दर्शक फेरिएपछि चलचित्रको निर्माण फेरियो । अहिले बन्ने चलचित्रमा बढी यथार्थ खोजिन्छ, त्यो समय काल्पनिक कथा रोजाइमा पर्थ्यो”, उनले भने । मौलिक विषयवस्तुले चलचित्रमा स्थान पाएसँगै निर्माण शैलीमा परिवर्तन आएको निर्देशक प्रदीप भट्टराईले बताए । “पर्दामा हाम्रो मौलिकता र संस्कृतिले स्थान पाएका छन् । हामीसँग भएको कथालाई पर्दामा उतार्न पाएका छौँ, राम्रा भनिने चलचित्रले स्वदेशी बजारको मात्रै भर पर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, चलचित्र राम्रो बनाउन सके व्यावसायिकरूपमा विदेशमा पनि प्रदर्शन गर्न सकिन्छ”, उनले भने । उनको निर्देशनमा तयार हुने आगामी चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशका प्रायः देशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । प्रविधिझैँ निर्माणमा समेत नयाँ शैलीले मान्यता पाएको छ । अहिले चलचित्रका अभिनेता भन्नेबित्तिकै सुकिला वा सयौँ भिलेनलाई पिट्ने मात्र हुँदैनन्, आम मानिसझैँ शक्तिविहीन र पर्दा बाहिर देखिने पात्रले स्थान पाएका छन् । यहीँ कारण चलचित्रलाई विभिन्न धारको भन्ने पनि गरिन्छ । अधिकांश चलचित्रकर्मी भने चलचित्रको एउटै धार ‘दर्शकको मन जित्नु’ रहेको बताउने गर्छन् । यद्यपि कलात्मक र पूर्ण व्यावसायिक भनेर दुई विधामा चलचित्रलाई प्रस्तुत गर्ने गरिएको छ ।
बेइजिंगमा नेपाल चीन बिजनेस समिट आयोजना हुँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) को संयुक्त आयोजनामा बेइजिंगमा नेपाल चीन बिजनेस समिट हुने भएको छ । द्धिपक्षीय व्यापार प्रवद्र्धन र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले उक्त समिट आयोजना हुन लागेको हो । समिट सेप्टेम्बर २४ आइतबार सिसिपिआइटीको मुख्यालय बेइजिंगमा आयोजना हुनेछ । उक्त समिटमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ । समिटमा १२० जना चिनिया कम्पनीको सहभागिता रहनेछ । नेपालका तर्पmबाट महासंघ पदाधिकारी सहित करिब ५० जना व्यवसायीले समिटमा सहभागिता जनाउँदैछन् । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीह?को पनि सहभागिता रहनेछ । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ । समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन र निर्यात विस्तारका बिषयमा आप्mनो धारणा राख्नु हुनेछ । नेपालमा चिनिया लगानी बढाउन र निर्यात प्रवद्र्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले वताए । यसअघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्टिसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।
पर्यटन पूर्वाधार निर्माणमा ५ करोडका योजना
काठमाडौं । अन्नपूर्ण गाउँपालिकामा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र प्रवद्र्धनका लागि सो बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका, सङ्घीय र प्रदेश सरकारबाट रु पाँच करोड नौ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । “पर्यटनमार्फत गाउँपालिकालाई चालु आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँभन्दा बढी आम्दानी भइसकेको छ”, उनले भने, “साउन र भदौमा मात्र २ हजार ६९९ पर्यटकले गाउँपालिकाका पर्यटकीयस्थलको भ्रमण गरेका छन् ।” अध्यक्ष पुनका अनुसार सङ्घीय सरकारबाट २ करोड ५ लाख रुपैयाँ, गाउँपालिकाबाट १ करोड ७४ लाख रुपैयाँ र प्रदेश सरकारबाट १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारबाट विशेष अनुदान प्राप्त रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माणका लागि सर्वेक्षण सुरु गरिएको छ । सङ्घीयबाट ५०/५० लाख रुपैयाँ सशर्त अनुदान प्राप्त भुरुङ र सेकार्कु तातोपानीमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले थप ५०/५० लाख रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारको करिब २ करोड रुपैयाँको लागतमा भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरिसकेको छ । सङ्घीय सरकारको १५ लाख रुपैयाँ र गाउँपालिकाको १६ लाख रुपैयाँ बजेटमा खोपारा लेकमा पूर्वाधार बनाउन सम्झौता भइसकेको छ । गण्डकी प्रदेश सरकारले खोपारामा थप २० लाख रुपैयाँ विनियोजन गरेको छ । सो गाउँपालिकाका पर्यटकीयस्थलको नक्साङ्कन गर्न १५ लाख रुपैयाँ, अन्नपूर्ण आधार शिविरको पर्यटन गुरुयोजना बनाउन १५ लाख रुपैयाँ, समग्र पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमका लागि ८ लाख रुपैयाँ, पोर्टर, टे«किङ गाइडसम्बन्धी तालिमका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । पर्यटकीय स्थलहरूको जानकारीमूलक ब्रोसर बनाउन २ लाख रुपैयाँ र सूचना बोर्ड बनाउन ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले विनियोजन गर्न बाँकी बजेटबाट अन्नपूर्ण आधार शिविर जाने पदमार्ग र पूर्वाधारका लागि थप ७० देखि ८० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको अध्यक्ष पुनले जानकारी दिए । भुरुङ तातापानी, पाउद्वार तातोपानी कुण्ड र पुनहिललाई आय ठेक्का लगाएको गाउँपालिकाले खोप्रा, मोहरेडाँडा, घोरेपानीलगायतका पर्यटकीयस्थलमा सञ्चालित होटलबाट १ करोड ३० लाख रुपैयाँ बढी राजस्व उठेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । अन्नपूर्ण हिमाल, अन्नपूर्ण आधार शिविर, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, करवाकेली, खयरभारानी ताल, तातोपानी कुण्ड रहेको अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण चक्रीय, अन्नपूर्ण धवलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको छ । रासस
अष्ट्रेलियाको नयाँ नियमलाई लक्षित गर्दै ईडिएफ एडमिसन्सले २ दिने शैक्षिक मेला गर्दै
काठमाडौं । अमेरिकन ईन्टरनेशनल रिक्रुटमेन्ट काउन्सिल (एआईआरसी)बाट मान्यता प्राप्त एजुकेसन कन्सल्टेन्सी ईडिएफ एडमिसन्स विगत १५ वर्षदेखि उच्च शिक्षा लक्षित शैक्षिक परामर्श तथा तयारी कक्षा कार्यक्रममा सहजिकरण गर्दै आएको छ । पछिल्लो समयमा नेपाली विद्यार्थीहरुको पहिलो अध्ययन क्षेत्रको रोजाईको रुपमा रहेको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको निम्ती नयाँ नियम लागू गर्ने भनेसँगै धेरै विद्यार्थीहरुमा सो सम्बन्धी जिज्ञासाहरु पैदा भएका छन् । सोही विषयलाई मध्येनजर गरेर ईडिएफ एडमिसन्सले आफ्नो दुई दिने शैक्षिक मेला घोषणा गरेको जनाएको छ । खासगरी कक्षा १२ उत्तिर्ण गरेर बसेका वा स्नातक तहको अध्ययनपछि अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न चाहेका विद्यार्थीहरुलाई आवश्यक परामर्श वा जानकारीका लागि सो मेला आयोजना गरिएको ईडिएफले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा सञ्चालनमा रहेका विश्वविख्यात विश्वविद्यालयहरुबाट प्रतिनिधिहरु आउने छन् । मेलामा पछिल्लो समयमा विद्यार्थीको रोजाई रहेका आईटी, हस्पिटालिटी, मेडिकल बिजनेस, आदिको अध्ययन सन्दर्भमा आवश्यक जानकारी आदानप्रदान हुने बताइएको छ । ईडिएफका अनुसार मेला यही सेप्टेम्बर २५ र २६ अर्थात् आगामी सोमबार र मंगलबार आफ्नै प्रधान कार्यालय काठमाडौं न्यूप्लाजामा हुनेछ । विद्यार्थीको सुविधाका लागि मेला बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले मेलाको माध्यमबाट अष्ट्रेलियका प्रतिष्ठित विश्वविद्यालयहरु भिक्टोरिया विश्वविद्यालय, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, तस्मानिया विश्वविद्यालय, फेडरेशन विश्वविद्यालय, वेस्टर्न सिड्नी विश्वविद्यालय, क्यानबेरा विश्वविद्यालय र एपिआइसीको बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने ईडिएफले जनाएको छ । साथै ती विश्वविद्यालयमा अध्ययन गर्नको लागि आवश्यक मापदण्ड, सुविधा र खर्चको बारेमा समेत मेलाबाट जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । ईडिएफ एडमिसन्सका कार्यकारी निर्देशक कृष्ण अर्यालका अनुसार विद्यार्थीहरुका लागि शैक्षिक प्रोफाइल अनुसार उत्तम पाठ्यक्रम प्राप्त गर्न र विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा सुझाव दिन आफ्नो तर्फबाट उच्चतम् प्रयास हुने बताएका छन् । ईडिएफले प्रारम्भिक दिनहरुमा एकमात्र शैक्षिक गन्तव्य अष्ट्रेलियाको लागि विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको थियो भने पछिल्ला दिनमा अष्ट्रेलिया बाहेक अमेरिका, अष्ट्रेलिया, क्यानडा र युके जस्ता देशका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पनि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । साथै, आईएइएलटिएस, पिटिई, जिम्याट लगायतका भाषा कक्षा पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
३० देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
काठमाडौं । हिन्द-प्रशान्त क्षेत्रमा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज ८ देखि १० गतेसम्म भारतको राष्ट्रिय राजधानी नयाँदिल्लीमा यस क्षेत्रका सेना प्रमुखको सम्मेलन हुने भएको छ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भागलिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार सम्मेलनको मुख्य उद्देश्य हिन्द–प्रशान्त क्षेत्रका मुलुकबीच साझेदारी एवं सहकार्य, विचार आदानप्रदान र आपसी समझदारी विकास गर्नु हो । सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ । आपसी समझदारी, सुरक्षासँग सम्बन्धित सबै विषयमा विचार एवं आपराधिक/आतङ्कवादी गतिविधि हुन नदिन सूचना आदानप्रदान, यस क्षेत्रमा शान्ति एवं स्थायित्व प्रवर्द्धन, आपसी समझदारी र संवादको प्रक्रियालाई निरन्तररुपमा अघि बढाउन सम्मेलन महत्वपूर्ण हुने भारतीय सेनाले जनाएको छ । सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौंमा आगलागी हुँदा एक करोडको क्षति
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलस्थित चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाखभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भई आगालागी हुँदा कारखानामा रहेका मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर करिब ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए । यसैगरी गए राति नै काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ३८ लाख बढी चोरी प्रहरीका अनुसार काठमाडौँको तारकेश्वर नगरपालिका–७ डाँडागाउँ डेरा गरी बस्ने कास्की पोखरा महानगरपालिका–३३ घर भएकी ३५ वर्षीया देवी पुनको कोठाबाट नगदसहित गरगहना चोरी भएको छ । कोठामा कोही नभएको अवस्थामा ताला फुटाइ सुनका गरगहना र नगदसमेत गरी करिब रु एक लाख १४ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । यस्तै चन्द्रागिरि–१४ नैकाप प्रगति सङ्गम टोल बस्ने सुजित श्रेष्ठको घरबाट विभिन्न प्रकारका सुन तथा चाँदीका गरगहना, विदेशी मुद्रा, नेपाली रुपैयाँसमेत गरी करिब ३७ लाख ४५ हजार १५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो । नेपालसँग कोरलालगायतका विभिन्न थप ८ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमानाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ । नाकासम्म नै सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगाह, सुरक्षा पोस्ट, भन्सारलगायतको सम्पूर्ण तयारी गरिसकेको छ । कोरला नाका सञ्चालनको लागि चीनले सबै तयारी पूरा गरेको र नेपाल पक्षबाट समेत तयारी सँगसँगै सुरक्षा संवेदनशीलताको ‘ग्यारेन्टी’ चाहेको मुस्ताङका प्रदेशसभा सदस्य नाम्डु गुरुङले बताए । चीनले नाका सञ्चालनको सबै तयारी पूरा गरेकाले गण्डकी प्रदेशको आर्थिक विकासको ‘लाइफ लाइन’ मानिएको कोरला नाका सञ्चालनको लागि प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा सम्झौता हुनसक्ने आशा पलाएको उनले बताए । “यो नाका पारवहन र पर्यटन दुवै दृष्टिकोणमा महत्त्वपूर्ण छ । नाका सञ्चालनमा ल्याउन सकेमा अन्तरदेशीय व्यापार र धार्मिक पर्यटनको ओहोर–दोहोर सुरु हुन्छ । समग्रमा मुस्ताङ र गण्डकी प्रदेशको विकासमा यो नाकाले भूमिका खेल्छ । हामीले प्रदेश सरकार र प्रदेशसभामा यो विषयमा निरन्तर आवाज उठाउँदै आएका छौँ । सङ्घीय सरकारलाई समेत यो विषय जानकारीमै छ”, गुरुङले भने । उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर मात्रै सीमा क्षेत्रमा नेपालतर्फको देखिने चिनारी रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो । यसै नाकालाई लक्षित गरेर निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्त्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने गरी निर्माणाधीन कालीगण्डकी कोरिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो । घाँसादेखि जोमसोम हुँदै कोरलासम्मको सडक कालोपत्रे र ग्राभेलसहित स्तरोन्नतिको काम अन्तिम चरणमा पुगे पनि बेनीदेखि घाँसा खण्डमा निर्माण व्यवसायीको ढिलासुस्ती र बाढी, पहिरो तथा नदी कटानको कारण कालोपत्रेको काम प्रभावित भएको छ । दुई देशबीचको बहुप्रतिष्ठित कोरला नाका चर्चामा रहँदा परम्परागत रुपमा कोरला नाकामा अर्धवार्षिकरुपमा लाग्दै आएको व्यापार मेलासमेत चार वर्र्षदेखि बन्द भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । यो वर्र्ष नाका सञ्चालनको सम्पूर्ण पूर्वाधार निर्माणको काम सकेको चिनियाँ पक्षले व्यापार मेला नगरेर नाका नै खुलाउने इच्छा देखाएको र प्रधानमन्त्रीको भ्रमणका क्रममा समेत यो विषय समावेश हुने खबरले नाका सञ्चालनमा थप प्रगति हुनेमा मुस्ताङवासी विश्वस्त रहेको उनको भनाइ छ । कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ भने हालै माटो परीक्षणसमेत गरिएको छ । वाणिज्य मन्त्रालयबाट सर्वे र डिपिआरको लागि बजेट विनियोजन भएपछि माटो परीक्षण गरिएको हो । माटो परीक्षणको लागि आएको टोलीले गत असार १५ गतेदेखि कोरला नाकामा पूर्वाधार बनाउने सम्भावित ठाउँको माटो परीक्षण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । कोरला नाकालाई लक्षित गरेर लोमान्थाङमा सीमा प्रहरीचौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि करिब २० किलोमिटरयता नेचुङमा सशस्त्र प्रहरी बलको विओपी पोस्ट स्थापना भइसकेको छ । रासस
नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउँछु : नवनिर्वाचित अध्यक्ष चन्द
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पुर्याउने चुनौती रहेको बताएका छन् । क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बनेका चन्दले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । “आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसीमले बदल्नुपर्छ”, उनले भने । अध्यक्ष चन्दले पद पाएसँगै जिम्मेवारी पाएको उल्लेख गर्दै क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताए । अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उनको भनाइ छ । यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् । क्यानको सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी भएका छन् । क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित भएका हुन् । उनी क्यानको बागमती प्रदेशका अध्यक्षसमेत छन् । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गरे । उनका प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गरे । निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गरे । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उनको भनाइ छ । त्यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित भएका थिए । महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भइन् । सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन भए । अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी भए । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी भए । त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुनुभयो भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी भए । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी भए । खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित भए । त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गरे भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी भए । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गरे भने गोलाप्रथा गर्दा महतरा विजयी भए । पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गरेका थिए ।